शहीदको टुहुरो सपना
शहीदको सपना कुल्चिएरको माथि उठेको छ र ? देशको भाग्यमा आगो लगाएर कस्को विरासतमा ठडिएको छ र ? म शहीद भएँ, देशका लागि तिमी नेता भयौ, आफ्नै स्वार्थको लागि !
सुभाषचन्द्र देवकोटा :
म शहीद नभएको भए,
देशकोलागि रगत नबगाएको भए,
न तिम्रो राजनीति अनुहार चम्किन्थ्यो
न तिम्रो सत्ता ढोका खुल्थ्यो,
मैले त देशका लागि,
मृत्यु स्वीकार गरेको थिए !
कलिलै उमेरमा बा, आमाको काख र
आफन्तहरूको माया त्यागेको थिए !
तर तिमीले त,
मेरै लासमाथि राजनीति गर्यौ !
स्वार्थको रोटी सेकायौ !
जनताको टाउकोमा गीर हानेर
आफ्नोलागि सुनको लङ्का बनायौ !
सत्ताको भर्याङ ठड्यायौ !
म त शहीद !
तर मेरा सपना त मरेका थिएनन् !
मेरो शरीर ढले पनि,
मेरो सिर ढलेको थिएन !
तर तिमीले त अति गर्यौ !
छेपारो जस्तै रङ्ग फेर्यौ
मेरै नाउमा
मेरै सपनाको हुर्मत लियौ,
मेरो ठाडो शिरमा छिनो चलाएर
कुशासनको अग्लो आसन बनायौ !
शहीद !
देशको स्वप्न द्रष्टा
देशको भाग्य विधाता
शहीदको सपना कुल्चिएर
काे माथि उठेको छ र ?
देशको भाग्यमा आगो लगाएर
कस्को विरासतमा ठडिएको
छ र ?
म शहीद भएँ, देशका लागि
तिमी नेता भयौ, आफ्नै स्वार्थको लागि !
०००
काठमाडौं