साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुर्पुरोमा पिएचडी

हो हजुर हो, साह्रै मनासिब मर्जी बक्स्यो हजुर । मैले पनि हजुरकै आशीर्वाद पाएर गधाको जिन्दगीलाई गज्जब बनाउन पाएँ । अब कृतज्ञताको सलामी ठोकेर मर्न मन छ हजुर । आशीर्वाद पाऊँ ।

Nepal Telecom ad

भोजराज रेग्मी ‘मुखाले’ :

सधैँ अरूका कुरा मात्रै कत्ति गर्नु । कत्ति लेख्नु ? हुन पनि वैरी उद्योग नै खोलेझैँ भैसक्यो भन्या । जेमा पनि घोँचपेँच गर्‍या छ, जल्लाई पनि घुयेँत्रो हान्या छ । हुँदाहुँदा अब त अड्डा-अदालततिर पेश्ने निवेदन फिरादमा मात्र हैन, यसो मुड चल्या बेला गर्ने चण्डी र गायत्री पाठमै पनि पो गुट्मुटिएर व्यङ्ग्य आउला जस्तो भएर सपनामा पनि ऐंठन हुन थाल्यो । म मूला धसिङ्गरेको त यो गति, भैरव बाजेको त के बखान गर्नु ।

यसो घोरिन्छ मनले भन्छ- अब त बुढेसकाल लाग्यो नि बज्जे । मलामी घट्दै जालान् नि, ख्याल गरेस् । अब आफ्नै अन्तर्मनले यसरी घण्टी बजाएपछि नमानी सुख्ख । त्यही भएर यसपटक (सायद जिन्दगीमै पहिलो) आफ्नै आङ कन्याएर छारो उडाउन मन लाग्यो । आफैलाई खनिखोस्री गरेर अरूलाई स्वाद फेराउन मन लाग्यो । भविष्यमा लाटोको खुट्टा बाटोमा परेर आफ्नै आन्द्राभुँडी दुहेर लेख्नसक्ने इमानदार लेखक भनेर कतै गिनिजबुकमा नाम लेखिने पो हो कि । अथबा नोबेल पुरस्कारै भिडाइदिने हुन् कि । (सास छउन्जेल आस गर्ने पर्‍यो । मनमा लागेपछि लाग्यो, लाग्यो । आखिर मनको बाउको के जान्छ र ?

महाशिवरात्रिको छेक पारेर म जन्मिएकोले छैटीको दिन भावीले पक्कै पनि भाङ वा धतुरो लगाएकै हुनुपर्छ (माताजीको ठोकुवा हो यो । नत्र मजस्तो अन्भार नपरेको मुसुमुन्द्रेले यत्रो भाग्य कसरी पाउनु । रूपरङ्गमा झुसे भए पनि खुवीमा चै घुसघुसे नै भएँछु म ।

पैसाले पैसा तान्छ, कुराले कुरा । हाम्रा देशाँ खाइलाग्दा दामरेडहरू बग्रेल्ती छन् । तीमध्येका वरिष्ठ एक दामरेडको एउटा बिछट्टको मौलिक विशेषता रहेछ । ती महामनुवा सार्वजनिक शौचालयको समुद्घाटन गर्दा पनि ब्रह्माण्डको उत्पत्तिदेखि बङ्गुरको व्युत्पत्तिसम्म धाराप्रवाह भाषण ठोक्छन् । तिनका ज्ञानको दायरा र ज्यानको मुसायरा देखेर छक्क नपर्नेलाई ‘छक्का’ भन्दिँदा पनि पक्का फरक पर्दैन । मलाई पनि सानैदेखि यस्तै महापुरुषहरूको प्रभाव परेर होला, यसरी आफ्ना कुरा थाल्यो कि कुखुरे बैंसदेखिका कच्याककुचुक पच्याकपुचुक पोख्दा हुने ठाउँमा कोकादेखिकै कहिरन गर्न आइहाल्छ भन्या । बरू कराईको कालो जाला, नानीदेखिको बानी छुटाउनै गाह्रो ।

‘अरु कुरा छोडम्, पोइल जाने कुरा गरम्’ भनेझै मेरा खाइलाग्दा खुबीतिरै तेर्सिऊ होला । खुबी भएपछि कुरूप भए पनि केही लछार्दैन भन्ने कुराको जिउँदो जाग्दो उदाहरण चैँ टाढामा हलिउडे, बलिउडे र कलिउडेका भालेपोथीहरू र नजिकको चैँ म स्वयम् छु भन्दा कसैको टाउको टन्किन्छ भने पनि टन्किराखोस् । अरुका खस्रा खुबी पर्गेलेर खर्च चलाउन त उही हो अब, पाङ्दुरे फिलिम बनाएर बक्स अफिसमा बबाल गर्नु बराबर ।

अँ, साँच्ची ! मेरो यही अद्भूत खुबी भएकैले आजीवन जोइटिङ्ग्रे भएरै बाँच्ने गोप्पे शर्तमा चिटिक्क परेकी चन्द्रमा (चिनाको नाउँ चैँ चन्चलीमैयाँ) लाई च्याँखेमा बल्झाउन पाएँ । अरुका त के कुरा गर्नु । मेरो चिता लेखिदिने चपुरे ज्योतिषी बा पनि औँसीको भाग्यमा पूणर्िमा भनेर तीन चीत् पर्नु भएछ । खसखस लाग्या खास्सा कुरो चैँ के भन्देखि राम्री स्वास्नीको पोइ हुँदाका सयौँ साइड इफेक्टहरूमध्ये एउटो पर्फेक्ट इफेक्ट चैँ रूपवतीको बहालवाला बुढो हुन पाएर छातीमा गाँठो पार्दै गद्गद् भएको देखाएर बाँच्नु । बजैका बेलाको खसम खुइलिएर खतम भएको र घरेलु श्रीमानमा उत्तरआधुनिकताको उगाल आएर चलनचल्तीमा ‘बुडा’ र ‘बुढा’ मै लालमोहर लागेकोले अरु केही भनिरहनु परेन ।

भाग्यमानीको भूतै कमारो । त्यसै त भन्या होइन रैन्छ नि गठि। बाघको हजार गोठ भन्छन् नि, म डुकुलण्ठुलाई एक्कासि अफिसर बनाइदिने पनि मेरीको त्यही ‘गोठ’ ले नै हो भन्दा खेरी ऐले पनि नाकको पोरा फुलेर आउँछ । यो महान् घटनापछि उनी मेरी बुढी कम, कुलायन (पाञ्चायन, सिमेभूमे) सप्पै भइन् । म उनको धामी र पुजारी भएँ । यसपछि उनकै रुटिन अनुसार सम्धीका बुहारी र ज्वाई गरेर चार थान व्याजको बाउ बन्ने अहोभाग्य पनि उनैले दिलाइन् । ती सप्पैको अन्भार मन्त्री, सांसद, मास्तलका हाकिमसँग काटीकुटी मिले पनि मैले अत्यन्त गौरवान्वित हुँदै न्वारान, पास्नीदेखि अन्य कर्मादि सप्पै गरी आकै छु । मेरा यस्ता उदारताका हाताहाती हाइड्रोजका फाइदा भने ‘ठाउँ’ बाट ‘ठाउँ’ मै सरुवा भइरहनु हो ।

यसरी म बेरोजगार लण्ठुबाट दिव्य बाह्र वर्षभित्रै लष्ठुरका बाउ र करोडौंपतिको साहू बन्न सफल भएँ भन्नुपर्‍यो । हेर्नुस्, स्वास्नी देब्रे परे भने भगवान् दाहिना भए पनि खालो सर्दैन, तर स्वास्नी दाहिना भए चैँ भने नि हाइसन्चो । सप्पै कुरा पुगीसरी आउँछ । यो मेरो जिन्दगीको थेसिस हो ।

मेरा गन्धनले गाँड हालेर तपाईंलाई पक्कै पनि निख्खर जाँड लागेभन्दा बढ्ता भइसक्यो होला । नानीभन्दा आची ठुलो भनेझैँ हुन्छ कोही बेला भूमिका पनि । नु, भैगो अब म मेरा पाठक परमेश्वरलाई सरासर सवारी गराउँछु ठाउँमै ।

मेरो भाग्यको यात्रा कुरूप अन्भारदेखि एयरपोर्ट भन्सार हुँदै साहित्य-संसारसम्म आइपुग्या छ । पैलेपैले म साहित्यको ‘स’ उच्चारण गर्नेलाई पनि सिस्नोपानी लाएर ठिक पार्थे । व्यवस्थाविरोधी उग्र मनुवाहरू यस्तै साहित्यफायित्य आदि इत्यादिमा लागेर मेरा देउदेउताहरूलाई सरापिरहेछन् । सकसमा पारेर ऐंठन गराइरहेछन् भन्ने मेरो जब्बर धारणा थियो। समय सधैँ एकनाससँग किन चल्थ्यो र । जागिरकै क्रममा एकपटक सुनकाण्डमा मुछिएर केही महिना ‘मावल’ र तेईस महिना अति घरमै ओयारी बस्या बेला ट्याम्पास गर्न लेखनाथ बाजेको ‘बुद्धिविनोद’, देवकोटाको ‘मुनामदन’ अनि घिमिरेको ‘गौरी’ पढ्न थालेपछि साहित्यप्रति अनुराग पलाएर आयो । सकसक लागेर सिको गर्दै म पनि कविता कोर्न थालेँ । हुँदाहुँदा अल्लेलि चोर्ने, अल्लेलि कोर्ने कवि भएँ । बला परेको मेरो समय उठेर बस्ने मात्र हैन, सौरो टेकेर हिँड्न सक्ने भो ।

तिनताक मुलुकमा नानीको नाम गरेका बाबुको हालीमुहाली थियो । उनको घर र मेरी मैच्याङको कुप्रा बाजेको मावली घर एउटै परेछ । त्यही गोरेटोरूपी हाइवे समातेर मेरी मन्दाकिनी ठाउँ मै पुगिन् र मलाई सकुशल उद्धार गरिन् । ससम्मान मेरी पुनर्बहाली मात्र भएन, सबभन्दा रोज्जा ठाउँमै पदस्थापन भो । जब त मेरा दुवै हातमा लड्डु । यता आफ्नो जिन्दगीले काँचुली फेर्‍यो, उता आफ्नो गुप्तवासका रुन्चेपिन्चे मिलोकने गीत, गजल र कविताको मोहिनीरूप धारण गरेर सबैलाई उदेक, उल्का र अचम्मै पारिदिए । रेडियो र अखबारका पिन्चे पत्रकारहरू मेरा हवेलीमा बारम्बार आएर डाँको छाडेर रुन्चे र एक हातले घरखर्च, अर्को हातले मेरा टिपनटापन र कोरकार बोकेर ह्याकुलामा चेपी नान्ये अनि सिंगारपटार गरेर बजाइदिन्थे छपाइदिन्थे ।

हेदाहेर्दै यसरी मेरी ’नाम को नेप्से उकालो लाग्यो ।
आगोले जित्दै गएपछि काँचो मान्दैन, खाँचो जान्दैन ।

मेरो उन्नतिको आगोले पनि उग्र रूप लियो । एकातिर मेरो आर्थिक हैसियत ‘ओभरफ्लो’ भएर खाँदबारीको मीतछोराको वगुरफार्मदेखि चाक्सीचारीकी सालीको ब्युटीपार्लरसम्म फैलियो भने साहित्यको करना छड्डर गर्दै बाजेको सेकुवा पसलदेखि बान्द्रेको कमेडी क्लबसम्मी पुगेको छ । साहित्यकै विकासका लागि भनेर केसम्म गरेको छैन र मैले आफ्ना कृपा बाजेदेखि बुढीका बुढीफुपूको नाममा समेत आकर्षक राशिको पुरस्कार कोष खडा गरेर भजन मण्डलीलाई ‘लाइन’ मा राखेको छु र दाह्रा किट्नेहरूलाई ‘देखाइदिने’ गरेको छु । यसैगरी छुपेरुस्तम मिडिया कल्याणकोष बनाएर दुब्लापातला विल्पारीहरूलाई आजीवन दुध, हर्लिक्स र बलियाबाङ्गा जतिलाई बेलामौकामा नजराना र बक्सिस दिएर गौडा गलछेँडाहरू दुरुस्त राखेको छु ।

यसरी मैले पुरस्कार पजनीमा पनि देखाउने दतिले उम्मेदवार छनौट समिति बनाएर चपाउने दाँतले आफ्नै तजबिजी अधिकार प्रयोग गर्दै ‘जीहजुरी’ मा रेकर्ड राखेका मायालु लेखकहरूलाई आकर्षक खामभित्र ‘आधी’ पुरस्कार हालेर साहित्यिक बजारमा हङ्गामा गर्ने गरेको छु । (त्यतिन्जेलसम्म तपाईंले पक्कै पनि सातचोटि जिब्रो निकालेर, सत्रचोटि भृकुटी खुम्च्याएर सत्ताईसपटक बुक निलिसकेको हुनुपर्छ ।)

यस भूखण्डका भुक्तभोगी र लोभीपापीहरूको पापपुण्यको ‘बहीखाता’ लिएर बसेकाहरूलाई पनि पालैपालो गरी धेरैले राल काढ्ने ‘श्री हनुमान्सेवा सर्वोत्कृष्ट स्वच्छ पुरस्कार’ र ‘भजनलाल स्मृति दिलखुश सम्मान’ प्रदान गरेर सम्भाव्य दुर्घटनाका दुलाहरू टालेको छु ।

यो सँगसँगै मेरो सिर्जनात्मक गतिविधि पनि उसैगरी मौलाइरहेको छ । मेरो रुचि र दखल एउटै क्षेत्रमा छैन । म अरुजस्तो एउटा विधामा अर्किएर र गम्किएर बस्ने लेखक हैन, बुझ्नु भो । मेरा अहिलेसम्म बालकवितादेखि यौनकथासम्मका एक दर्जन, इन्द्रसाहित्यदेखि छन्दलालित्यसम्मका डेढ दर्जन गीतिकाव्य ‘चुम्बनचर्चा’ (भाग १,२,३), व्यङ्ग्यवर्षा (१), गीत, गजल हाइकु र तासका तीनवटा पुस्तक प्रकाशित भइसकेका छन् । १९ बर्खपछि आउने हाम्रो ३९ औँ एनिभर्सरीमा लोकार्पण हुने गरी महाकाव्य, खण्डकाव्य, भ्याउरेलहरी र उपन्यास लेख्न थालिसकेको छु । यसैगरी मोर्निङ वाकदेखि इभिनिङ ट्वाँकसम्म र ग्याङ्फाइटिङदेखि घोस्टराइटिङसम्मका अनुभवहरू समेटेर मेरो आत्मसंस्मरण लेख्न एउटो चेलोलाई अह्राएको छु ।

यत्रो महाबिस्कुनमा पनि मेरा पुरस्कार र सम्मान नभेटेर तपाईंले पक्कै पनि ओठ लेप्याइसक्नु भो । ए, बाबा । आफ्नै होलसेल र खुद्रा दोकान भएको ठुलो साहू अर्कासँग आश गर्छ ? मलाई अफर गर्न कसैको आँट पुग्नुपर्‍यो नि । अब त कुरो छ्याङ्ङै बुझ्नु भो होला ।

अरुलाई पाठक र बजारको कत्रो पीर छ । आफू त उसै पनि यो मामलामा अरुभन्दा दस कदम अगाडि भन्दा नि हुन्छ । पाठकको कुरा गर्नुहुन्छ भने मेरा ससुराली पाठक, मावली पाठक । भालेसम्धी पाठक, पोथीसम्धी पाठक । पाठकै पाठक । यत्ति भनिसकेपछि अरू कुरा थप्न पर्दैन नै होला । बजार र प्रचारप्रसारको त झन् फिटिक्कै पीर छैन मलाई । आफ्नै मीतसालोको छोरो र उसका लगौँट्यारहरूले सातोटा एफएममा सत्रचोटिसम्म फुकेर फलाकेर पनि नपुगेर आफ्नै कान्छा ज्वाई र जन्तरे भानिजले टीभीमा तेरपटकसम्म ‘लाइभ’ गराइसके । फुपूकी नातिनी र सालाको पनि सालोका आआफ्नै युट्युव च्यानल छन् । आँ ! गर्दा अलङ्कार बुझ्छन्, मिसकल हान्दा पनि दौडेर आइपुग्छन् ।

मेरा बा ऽऽऽ । फेसबुकतिरको त भो त कहाँ गरौँ । हामी जोइपोइले एकेकवटा काम भाग लाका छौँ । उनले टिकटक पूरै सम्हालेकी छन्, मैले फोटा र स्टाटस । मेरै नुन खाकाले मात्रै लाइक र कमेन्ट त वैशाखको असिनासरी । साथीभाइको छुट्टै ।

त्यति मात्रै हो र ! यो सामाजिक सञ्जाल भने जञ्जालमा पसेपछि त उत्पातै गरेर देखाउने भूत सवार भो । आफ्ना टोलछिमेकका सप्पैको फेक आइडी बनाएर पनि चित्त नबुझेर सिलिगुडीकी सालीदेखि नैनीतालकी नानीका न्वारानका नाउँमा समेत आइडी बनाएर पनि मटक नमरेर मीत सालीको गर्ने नातिको नाममा समेत एकाउन्ट खोलेर इन्द्रकी अप्सराकी प्रोफाइल फोटो हालेर रोमान्टिक गजल, लघुकथा (भैया र दैयाहरूको चोरचार र हाइकुहरू पोस्ट्याइराखेको छु ।

यत्तिका बगुन्द्रो कुरा थाहा पाएपछि तपाईंका मनमा पक्कै जिज्ञासा भन्ने एउटा जन्तुले हान्न खोज्या होला । अनि तपाईंका पुस्तक त बजारमा कतै भेटिँदैनन् त । तपाईंले यही भन्न खोज्नु भा होला हैन त हेर्नुस्, हाम्रो सानो मुलुकको स्यानो बजार त दुईचार वर्ष लगाएर मरेर बल्लतल्ल एउटो पुस्तक निकालेर वर्षीवर्ष त्यसैमा दाइ गर्नेलाई नै ठिक्क हुन्छ । आफ्ना त एकाध वर्षभित्रै सँगुरका पाठापाठीकै छ्यापछ्याप्ती । बजारमा त गाडीहर्ले हानेर मार्देलान् नि । त्यहीँ भएर गाउँतिरकै नातापाताका चर्न जान्छन् । यसरी मेरा पुस्तकरूपी पाठापाठीहरूले साहित्यमा बगाल बढाएर बबाल मच्चाइरहेको देखेर शत्रु जस्ता मित्रहरू र राक्षस जस्ता छिमेकीहरूलाई समेत माइग्रेनले भेट्टाएको छ ।

‘खुदा ने छप्पर फारके देता है और चमडा उतारकर लेता है’ । भन्थ्यो मियाँ टोलको हविमुल्ला । हो पो रैछ गाँठे । देउताको दिने लिने विधान र रुटिन नभएरै त यो संसार चलिरहेको छ भने मास्तलका मनुवाहरूले नियम् कानुनको धोती लाए भनेर किन उफ्रिनु नि भुइँतलाका धसिङ्गरेहरू । यस्तै यस्तै केके सोचिरहेको थिएँ, मिडियाको एउटा मुसुमुन्द्रेले मोबाइलमा कल गर्‍यो ः

“हजुर, दर्शन ।”
“भाग्यमानी भएस् । के छ ए सिसी मुनि, भन् त ।”
“हजुरको आशीर्वादले राम्रै छ भन्नुपर्‍यो हजुर ।”
“खर्चपर्च चाहिएरै त होला नि, हैन ?”
“हेहेहे ! आँ गर्दा अलङ्कार नै बुझिसिन्छ हजुर ।”
“धनुष्टङ्कारको अलङ्कार बुझ्नु परिगो नि त ।”
“अन्तर्हृदयको एउटा बिन्ती बिसाऊँ कि हजुर ?”
“मसँग पनि तैले अप्ठेरो मान्नुपर्छ र ? भन् न त ।”
“हजुरको व्यक्तित्व र कृतित्वमा पिएचडी गर्न तीव्र इच्छा भयो मलाई । हजुरको आशीर्वाद र अनुमति पाऊँ ।”
“दुई पाङ्ग्रे आशीर्वादले चित्त नबुझेर चार पाङ्ग्रे चाहिएको होला नि हैन ?”
“हेहेहे, हजुर पनिऽऽऽ… !”
“लौ लौ, तँलाई एउटा मिलाइदिउँला ।”
“मालिकको जय होस् ।”
“हेर न, म पनि अचेल पूरै फुर्सदमा छु त्यही भएर मैले त आफैँ पो… । यो जिन्दगीमा दाम पनि कमाइयो, नाम पनि कमाइयो। त्यही पनि केके नपुग्या जम्ती भइरा’छ भन्या ।”

“हो हजुर हो, साह्रै मनासिब मर्जी बक्स्यो हजुर । मैले पनि हजुरकै आशीर्वाद पाएर गधाको जिन्दगीलाई गज्जब बनाउन पाएँ । अब कृतज्ञताको सलामी ठोकेर मर्न मन छ हजुर । आशीर्वाद पाऊँ ।”

“औँलो दिँदा डुँडुलो निल्न खोज्ने तिमी पत्रकार मोराहरूलाई आशीर्वादको खोलो नै बगाइदिए पनि भुक्न र म्याउँ म्याउँ गर्न छोड्दैनौ ।”

“हेहेहे ! सोह्रै आना सही हुकुम भो हजुर ।”

“मलाई फेरि तेरो सहयोग चाहियो । मलाई आफ्नो नामको अगिल्तिर डाक्टर झुण्ड्याउने रहर छ, बुझिस् ।”

“यो बुढेसकालमा त्यत्रो लण्ठो बेसाइबक्सन्छ र ?” “तैँले बुढो देख्दैमा म बुढो हुने हो र ? मेरो यो धोको पूरा नहुन्जेल बुढो हुन्ने म बुझिस् केटा ?”

“अनि पिएचडी चै केमा गर्न लागिबक्स्या हजुरले ?”
“अरु केमा हुन्थ्यो ? आफ्नै पुर्पुरोमा नि ।”
“हेहेहे ! हजुर पनि ।”

०००
पेप्सीकोला, काठमाडौं
समकालीन साहित्य (२०७६)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भ्यागुताको भ्यासेक्टोमी

भ्यागुताको भ्यासेक्टोमी

भोजराज रेग्मी ‘मुखाले’
चङ्खे र नक्कली

चङ्खे र नक्कली

भोजराज रेग्मी ‘मुखाले’
पाँच थप्पड

पाँच थप्पड

भोजराज रेग्मी ‘मुखाले’
छोप्ने भर्सेस् देखाउने

छोप्ने भर्सेस् देखाउने

भोजराज रेग्मी ‘मुखाले’
धन्य होस् भौमान् !

धन्य होस् भौमान् !

भोजराज रेग्मी ‘मुखाले’
जो आशलाग्दो उही जेठाजु

जो आशलाग्दो उही जेठाजु

भोजराज रेग्मी ‘मुखाले’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x