सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सत्य र ज्ञानको शत्रुता

पुस्तकका चरित्र र व्यवहारका चरित्रबीच ठूलो विरोधाभास पो देखा पर्‍यो । त्यसपछि मलाई पुस्तकमा लेखिएका कुराहरूप्रति अविश्वास पो जागेर आयो, किनकि कार्लमार्क्सका बारेमा जति लेखिएको थियो त्यो वास्तविकता नभएर कथा पो हो कि भन्ने शङ्का उठ्न थाल्यो ।

Nepal Telecom ad

युवराज मैनाली :

अर्काको धर्कामा नकुल्चिई आफ्नो धर्कामा मात्र हिँड्नु प्रजातन्त्रको विशेषता हो । प्रजातन्त्रको यस्तै परिभाषा गरेर हामीलाई पनि त्यही मार्गमा हिँड्न सिकाउने मेरा गुरु अहिले हुनुहुन्न । उहाँले हामी धेरैलाई प्रजातन्त्रको लत लगाइदिनुभयो । उहाँ प्रजातान्त्रिक पान खानु हुन्थ्यो र हामीलाई पनि त्यसैको बानी पारिदिनुभयो ।

प्रजातन्त्रको लागि सङ्घर्ष चलिरहेको समयको कुरा हो यो । त्यस बेला उहाँले हामीलाई विभिन्न पुस्तकहरू पढ्ने उपदेश दिनुभयो । चाणक्यदेखि मेकियावेलीसम्म पढ्ने सनक उहाँले नै बढाइदिनुभएको हो हामीलाई । त्यो सनकले गर्दा तत्कालै पुस्तकपसलमा गई पुस्तक किनिन्थ्यो र रातभरि नसुतीकन पडिन्थ्यो । परीक्षामा राम्रो अङ्क प्राप्त हुन्थ्यो । यसरी प्रजातन्त्रबारे थुप्रै पुस्तक चाटियो तर हिजोआज प्रजातन्त्रको लागि सङ्घर्ष गर्नुपर्ने स्थिति छैन । प्रजातन्त्र प्राप्त भइसकेको छ । कथंकदाचित् केही समयका निम्ति प्रजातन्त्र निलम्बन भए पनि त्यसको केही समयपछि निलम्बन फुकुवा हुने गर्दछ । यस्तै परिस्थितिले गर्दा प्रजातन्त्र पुनस्थापनापछि सडकमा बेग्लै खालका तडकभडकको रजाइँ चल्न थालेको छ ।

यसरी यस्तो तडकभडक देखेर मेरो पापी मन पनि प्यासी हुन थाल्यो । प्यास मेटाउन पानी पिएँ तर मेटिएन । त्यसपछि बियर खाएँ, त्यसैले पनि भएन । कोक, फ्यान्टा र पेप्सीकोला आदिको त कुरै भएन । हुँदा हुँदा हिवस्की नै तन्काएँ । प्यास त झन्झन् बढ्याबढ्यै भयो । यसपछि म यो प्यासीरोग निको पार्न डाक्टरकहाँ गएँ, तर डाक्टरको उपचार त अर्थ न बर्थ गोविन्द गाई, कपाल दुखेको औषधि नाइटोमा लाई भएझै भयो । उसले त मेरो अगाडि शिवपुरी बाबाको प्रवचन पो दिन थाल्यो । डाक्टरको प्रवचन सुनेर म दिक्क भएँ । म त औषधि पाइन्छ कि भनेर पो उसको क्लिनिकमा गएको थिएँ। के गर्नु मङ्गले आफ्नै ढङ्गले । त्यहाँ पनि मेरो प्यास निको हुन सकेन ।

त्यसपछि म त्यहाँबाट फर्किएँ । ठक्कर लागेपछि बुद्धि बढ्छ भनेर पूर्खाले भनेका छन् । मलाई पनि त्यस्तै भयो । त्यसै बेला मैले मेरा भूमिगत कालखण्डका प्रजातान्त्रिक गुरुलाई स्मरण गरेँ । अब ममा ज्ञानको ढोका खुल्नै आँटेकोजस्तो अनुभव भयो । अन्ततः सबै कुराको रहस्य पुस्तकमा निहित रहेछ भन्ने यथार्थलाई पनि मेरो गोज्याङ्ग्रो दिमागले ठम्यायो ।

यसरी मेरो जीवनमा पुनः पुस्तकपूजाको चरण आरम्भ भयो । मैले प्रजातन्त्रका निम्ति लेखेका कैयौँ पुस्तकहरू पढेँ । अमेरिकाका हन्टिङ्टनदेखि नेपालका लोकराज बरालसम्मका विचारहरूमा म चुर्लुम्म डुब्न थालेँ । यस क्रममा मैले कार्लमार्क्स पढेँ, गान्धी पढेँ, मण्डेलाको जीवनचरित्र सबै पढेँ, अनि आफ्नो देशको राजनेताहरूको अनुहारमा उनीहरूको अनुहार खोज्न थालेँ तर यसले झन् खतराको स्थिति पो निम्त्यायो किनभने अब झन् म पहिलेभन्दा बढी तिर्खाउन थालेँ । मेरो प्यासको सीमा अझ बढेर गयो । पुस्तकका चरित्र र व्यवहारका चरित्रबीच ठूलो विरोधाभास पो देखा पर्‍यो । त्यसपछि मलाई पुस्तकमा लेखिएका कुराहरूप्रति अविश्वास पो जागेर आयो, किनकि कार्लमार्क्सका बारेमा जति लेखिएको थियो त्यो वास्तविकता नभएर कथा पो हो कि भन्ने शङ्का उठ्न थाल्यो । गान्धीका बारेमा जे पढियो त्यो कथा थियो या उपन्यास ? के मण्डेला महाभारतकै अर्का महान् पात्र त होइनन् ? मदर टेरेसा भन्ने नाम कतै हाम्रो रामायणमा त थिएन ?

यसरी मैले जति पढेँ, पढेअनुसारका पात्रहरू वर्तमानमा पाउन सकिनँ । अहिले मलाई आफ्ना भूमिगत गुरुको शिक्षादीक्षाप्रति शङ्का लाग्न थालेको छ ।

०००
काठमाडौं
‘भ्रष्टाचारको भाङ’ (२०६५)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
काउसो ब्रह्माण्ड

काउसो ब्रह्माण्ड

युवराज मैनाली
पत्रकार जय जयकार

पत्रकार जय जयकार

युवराज मैनाली
साधक सम्मानमण्डली

साधक सम्मानमण्डली

युवराज मैनाली
मान्छेमात्र मान्छे

मान्छेमात्र मान्छे

युवराज मैनाली
प्रजातन्त्रको दीर्घायु कामना

प्रजातन्त्रको दीर्घायु कामना

कृष्णचन्द्र सिंह प्रधान
भरी खल्ती जता पनि चल्ती

भरी खल्ती जता पनि...

कृष्ण शर्मा सुमु
मलाई गाह्रो छ

मलाई गाह्रो छ

अशोककुमार शिवा
0
Would love your thoughts, please comment.x
()
x