साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अष्टाचार ओलम्पिक-२०२३

उनीहरूले न्याय, जवाफदेहिता र अष्टाचारविरुद्ध कुर्लिने मेसो मिलाएका थिए । २०२३ को अष्टाचार ओलम्पिक खेलले वास्तवमा अष्टाचारको संसारमा एक व्यङ्ग्य र हास्य झलक प्रदान गरेको थियो ।

Nepal Telecom ad

युवराज मैनाली :

पिर्थिवी लोकमै सदाचारसम्पन्न मानिने जम्बुद्वीप नामक महाद्वीपको एक उपमहाद्वीपमा मानव विकासको गतिले चरम रूप लिएर भुइँमान्छे जति अगति पर्दैथिए । कतै अधिक वर्षा र भूकम्पले देश अस्तव्यस्त हुँदा कतै परङ्गति र दुर्गतिमा पनि थिए । त्यसै अस्तव्यस्त देशका सडक र महगी बजारहरूको बीचमा अष्टाचार नाउँको ओलम्पिक खेल पनि सुरु हुँदैरहेछ । अरू उपमहाद्वीपका कुनाकुनाबाट पनि ‘अष्टाचार’ खेलमा भाग लिन ख्यातिप्राप्त खेलाडीहरू र तिनका पछि अख्तियारीप्राप्त दर्शकहरू पनि भेला भइरहेका थिए । सबै खेलाडीहरूको अनुहार खेलमा हार नखाने दृढ अठोटसहितको सङ्कल्पले प्रफुल्ल देखिन्थ्यो । कोटका खल्तीहरू अष्टाचार खेलमा पाउने सम्भावित पुरस्कारबाट पहिले नै बेलून झैँ अटसमटस भरिएका थिए, मानौँ कुनै रक्तपिपाशु किर्नो भैँसीको रगत चुसेपछि अघाएर टम्म हुन्छ र गजधम्म परेर मदमस्त झुल्छ ।

रङ्गशालामा रङ्ग विरङ्ग र कुरङ्गका विभिन्न कलात्मक व्यानरहरू सजाइएका थिए । कुनैमा लेखिएको थियो ः “अष्टाचार महाखेलाडीहरूको खेल” । अनि अर्कोमा लेखिएको थियो ः “छल कपट र झेलहरू सुरु गरौँ, अनि खेलमा उठेको रकम ठेलमठेल गरेर भुँडी भरौँ ।” यस्तै यस्तै ब्यानरहरूले रङ्गशाला सजाइएको थियो । खेलका दर्शकहरू, उत्कृष्ट शिष्ट अधिकारीहरू, सेतो बजारीयाहरू, सुकिला नागरिकहरू अनि खेलका प्रतियोगीहरू पहिल्यै हर्षोल्लासका साथ ताली बजाइरहेका थिए । अष्टहरू भने यसलाई अष्टाचार भन्थे । अष्टाचार ओलम्पिक प्रतिस्पर्धामा पहिलो खेलको नाम थियोः “व्यापारिक सदाचार याने नजराना ।” कसैले छुच्चो बोली गरेर घूसखोरी पनि भन्दिन्थे यस क्रियालाई तर यस खेलमा विश्वकै ख्यातिप्राप्त नेता व्यवसायी सामेल थिए । यस खेलमा न्यून बीजक गर्ने, फरक बीजक भर्ने, गलत बीजक भएका फाइल ठाउँको ठाउँ दम्पच पार्ने र महाजनलाई मुसार्ने लगायतका असल कार्यको वैरोपैरो लागेको थियो ।

ठूलो ओहदाका कर्मचारीका जमात र व्यापारिक खेलाडीहरूको समूह यस कार्यमा जमजमाएको थियो । उनीहरूले उपल्ला अधिकारीहरूलाई पर्याप्त नजराना दिई खेलको ट्रफी हातपार्न सफल हुने विश्वास लिएका थिए । महाकुम्भ मेलाको अर्को प्रतिस्पर्धा चाहिँ “सम्पत्ति शुद्धीकरण म्याराथुन” थियो । सम्पत्ति शुद्धीकरणको खाका पनि अन्तर्राष्ट्रिय प्रकृतिको थियो । उतैको नक्कलमा डिजाइन गरिएकोले जटिल थियो । झेलको माध्यमबाट विश्वभरका खेलाडीहरूले नगदको भारी बोरा बोक्नुपर्ने थियो । नियमित कामकाजमा लुकेका नीतिगत भ्रष्टाचार, कर माफी, लेखा परीक्षण तथा ठूला ठूला ठेक्कापट्टाका फाइलहरूका भूलभुलैयाहरू समावेश थिए ।

यो खेल शुद्ध कुमार अष्टाचार्य नाम गरेको सेपालको मध्यपश्चिम भेगमा बस्ने खेलाडीले जित्यो । उसले आफ्नी श्रीमती र सालीको नाममा रहेका एक दर्जन उद्योगको आधा शेयर रेफ्रीलाई दिने उधारो शर्तमा खेल पूरा गरेको थियो । अष्टाचार ओलम्पिक खेलका अन्य आइटमहरूले विविध प्रकारका जाली घटनाहरूको शृङ्खला पनि प्रस्तुत गरेका थिए ।

प्रत्येक भ्रष्टाचारको विभिन्न क्षेत्रहरूबाट प्रेरित उद्घाटन समारोहमा अर्कै रौनक र भव्यताको प्रदर्शन पनि हुँदै थियो । आतिशबाजीले रातको आकाश उज्यालो पारेको थियो र अधिकारीहरूको परेडले गर्वका साथ उनीहरूले कमाएका लाभहरू प्रदर्शित गर्‍यो । समारोहमा बजाइएका राष्ट्रिय गानमा परम्परागत धुनमाथि शेयरदलाली, कृप्टोखेल र बैङ्क खाताहरूको आनन्दी स्वरसन्धानको मिश्रण पनि थियो ।

ओलम्पिक खेलको अर्को प्रतिस्पर्धा रहेको थियो ः “जबरजस्ती फिरौती” । यस खेलको नियम अनुसार टिमको एउटा सदस्यले उद्योग व्यवसायी तथा उच्च ओहोदामा रहेका व्यक्तिका चेलीबेटी अपहरण गर्ने र अर्को धुपौरे लगाएर सम्पर्क स्थापित गर्ने अनि अर्को सदस्यले उनीहरूसँग जबरजस्ती फिरौती असूल गर्ने रहेको थियो । अनिच्छुक पक्षहरूबाट बढीभन्दा बढी फिरौती जम्मा गर्न सक्ने खेलाडी नै विजयी हुने नियमअनुसार “खाओवादी” भनेर चिनिने प्रख्यात टिमले देशकै प्रसिद्ध उद्यमीहरूले गरेको धन उपार्जन र रासलीलाका तस्बिरहरू पहिला हतियार बनायो । अनि ती उद्योगीहरूलाई शङ्कास्पद वस्तुको विनिमय र व्यापार गर्ने सम्झौतामा बाध्य पारेर प्रतिस्पर्धाको ट्रफी हात पार्‍यो ।

प्रतिस्पर्धा नं. ३ मा “उपहार र आतिथ्य” रहेको थियो । उपहार र आतिथ्यता कार्यक्रममा स्वणर् द्विपका खेलाडीहरू खेल मैदानको केन्द्रमा आइपुगेका थिए । उनीहरूले लक्जरी कारहरूदेखि लिएर ३ महिने क्रुजयात्रासम्मका असाधारण उपहारहरू अधिकारीहरूलाई दिएर घूसखोरीको कलाबाजीमा आफ्नो निपुणता प्रदर्शन गरी खेल जिते । जितको घोषणा हुनासाथै हरूवा देश सेपालका एक जना खेलाडी चिच्याए ः “जब तपाईंसँग यति ठूलो क्रुजयात्रा अफर दिने क्षमता छ भने, इमानदारिता किन चाहियो ?”

“शुल्क र कमिसन” पनि अष्टाचार ओलम्पिक खेलको प्रतिस्पर्धाको सूचिमा समावेश गरिएको थियो । यस खेलमा निःशुल्क प्रदान गर्नुपर्ने सेवामा पनि शुल्क लिनुपर्ने अनि जिन्सी सामान खरिदमा नक्कली बिलमाथि अत्यधिक कमिसनसमेत प्राप्त गर्नुपर्ने नियम थियो । सबैभन्दा धेरै शुल्क र कमिसन असुल गर्न सक्ने अधिकारी नै विजयी हुन सक्थ्यो । नेपालका खेलाडीहरूले यस क्षेत्रमा स्थापित आफ्नो रचनात्मक उचाइबाट प्रेरित भएर दाबी पसारे । अरू छोडी कार्यालयका लागि पेपरक्लिप खरिद गर्दासमेत उनन्सत्तरी प्रतिशत कमिसन लिन सफल भएका पात्र छरपस्ट थिए । अष्टाचारको संसारमा सानातिना लेनदेनबाट पनि मनग्य नाफा कमाउन सकिन्छ भन्ने तथ्य थाहा पाएर रेफ्रीहरू स्वयम् लामो हात पसार्न तँछाडमछाडमा थिए । अनि दर्शकहरू पनि उनीहरूको बनिबनाउ आचारसंहिता र साहस देखेर छक्क परे ।

“ठेक्कापट्टा तथा चन्दा सहयोग”लाई पनि खेलको प्रतिस्पर्धाको सूचिमा सामेल गरिएको थियो । यस प्रतियोगितामा खेलाडीहरूले आपसी लाभका लागि प्रतिद्वन्द्वीहरूसँग षड्यन्त्रमूलक सहयोग लिनु-दिनु गर्नुपर्ने थियो । आवश्यकता अनुसार प्रतिद्वन्द्वीहरूलाई ठूलै रकमसमेत दिनुपर्ने हुन्थ्यो । सरकारी अधिकारीहरूलाई त खरिद प्रक्रियाको डकुमेन्ट बनाउँदादेखि नै ठूलो रकम दिनुपर्ने हुन्थ्यो । इन्जिनियर, सर्वेयर, गुणस्तर जाँचगर्ने ल्याब, बजार अनुगमन कर्ता इत्यादि पगरी भिरेका व्यक्तिहरू पनि रकम पाउनुपर्ने अधिकार प्राप्त अधिकारीहरूमा दरिएका थिए । टोले गुन्डादेखि चुल्ठे, मुन्द्रेहरूलाई पनि उनीहरूको हैसियतअनुसार रकम बाँड्नुपर्ने थियो । सरोकारवाला सबैलाई रकम बाँडेर ठेक्काको बोल अङ्कको कम्तीमा पचास प्रतिशत रकम बचत गर्न सक्ने, गुणस्तरको कार्य सम्पन्न गर्नमा माहिर नयाँ ओम्नी टिम नै यस खेलमा विजयी हुन सक्थ्यो । यो खेलमा प्रसिद्धि कमाएका कृष्णद्वीपका खेलाडीहरूले एक यस्तो चक्रव्युहको आयोजना गरे जहाँ सरकारले प्रदान गर्ने प्रत्येक ठेक्कापट्टा उनीहरूले सम्झौताबमोजिम पूर्व छनौटमा परेका कम्पनीहरूलाई मात्र पर्‍यो । यस खेलमा खेलाडीहरूको एकता देश खन्ने र भत्काउने दुवै कार्यमा प्रेरणादायी बन्यो । उनीहरूले संसारलाई कसरी अष्टाचारमा सहयोगले अतुलनीय सफलतातर्फ डोर्‍याउन सक्छ भन्ने देखाइदिएर खेलमा प्रथम स्थान प्राप्त गरी ट्रफी जिते ।

“सूचनाको व्यापार” नाम भएको अर्को खेलमा सूचनाको व्यापार प्रायःशान्त तर शक्तिशाली अष्टाचारको रूपमा रहेको थियो । खेलाडीहरूले आफ्नो खुफिया नेटवर्कहरू चालू गर्न र संवेदनशील जानकारी उच्चतम कबोलकर्तालाई बेच्न प्रयोग गर्ने गर्दथे । यो खेल जासुसीको अद्वितीय दाउजस्तै थियो जसमा साउती कुरा, कोड गरिएका सन्देशहरू, गोप्य इमेलहरू, जस्ता राष्ट्रिय सुरक्षाका लागि जोहो गरिएका विषयहरू पनि थिए । खेलाडीहरूले यस्ता अति संवेदनशील सूचनाहरूलाई व्यक्तिगत समृद्धिका लागि प्रयोग गर्दथे । यो खेलमा प्रथम स्थान हासिल गर्न पनि नेपाल देश नै सफल भएको थियो । “अनुचित प्रभावद्वारा व्यापार” नामको अनौठो खेलले पनि अष्टाचार ओलम्पिक, २०२३ मा आफ्नो स्थान जमाएको थियो । यस खेलमा ख्यातिप्राप्त भारतीय खेलाडीहरूले शानदार पुनरागमन गरेका थिए । तिनीहरूको एउटा ख्यातिप्राप्त खेलाडी “बुख्याँचा” थियो, जो मैदानमा कमै देखा पर्दथ्यो तर पर्दा पछाडिबाट खेलका सबै कलाबाजीको प्रदर्शन गर्ने गर्दथ्यो । ऊ पनि उच्च-स्तरीय अधिकारीहरूलाई खेलाडीहरूको हितको पक्षमा निणर्य गर्ने प्रभाव पार्न सफल भयो । उसले पाउने ट्र्फी भने आलु पिँडालुमा सीमित रह्यो ।

अष्टाचार ओलम्पिकको अर्को उत्कृष्ट प्रतिस्पर्धा “हिनामिना आचार” थियो । यो प्रतिस्पर्धा अष्टाचार ओलम्पिक खेलको भव्य फाइनल पनि थियो । डुबान द्वीपमा खेलाडीहरूले सार्वजनिक कोषलाई भर्ताल गर्नेगरी आफ्नै खल्तीमा जम्मा गरेर आफ्नो अभूतपूर्व प्रतिभा प्रदर्शन गरे । तिनीहरूको रचनात्मकताको कुनै साँध सीमा थिएन, किनकि तिनीहरूले खोला नभएका स्थलमा कागजी पुल निर्माण गर्ने योजना प्रस्तुत गरे, जुन निर्माणपश्चात् समुद्रको ज्वारभाटाले बगाएको थियो । त्यसै गरी कागजी सरकारी घर पनि २०८० साल कार्तिक महिनामा जाजरकोटमा भुईंचालो जाँदा काठमाडौँमा घर भत्किएको थियो । कतिपय सरकारी सामानहरू कागजी बिलमा मात्रै सीमित थिए । यस प्रकार अदृश्य निर्माण सामग्री तथा जिन्सी खरिदका बिलहरू तयार गरी यो खेलले पूरै जम्बुद्वीपको ध्यानाकर्षण गरायो ।

विनामेहनत कागज मिलाएर मात्र पनि खेल जित्न सकिने यो गज्जबको खेललाई सारा दर्शकहरूले मुक्तकण्ठले प्रशंसा गरेका थिए । त्यसैगरी ओलम्पिक खेलमा समावेश अनेकौँ खेलमध्ये सरकारी अधिकारीहरूको सेवाप्रवाह पनि एक थियो । कार्यालय समयमा चौरमा घाम ताप्दै सुन्तला र बदाम खाने, सेवाग्राहीसँग बोल्दा पनि पैसा तिर्नुपर्ला जस्तो गर्ने, जिब्रो चपाएर कुरा गर्ने अनि कपाल कन्याइरहने, ङिच्च हाँस्ने, झुस्स दाह्री पालेका, भुँडीवाल, सेवाग्राहीसँग कुरा गर्न दलाल नियुक्त गर्नेजस्ता विशेषण बोकेका सरकारी कर्मचारीहरू यस महान् खेलका प्रतिस्पर्र्धी थिए । उक्त खेलमा सबै प्रतिस्पर्धीले गणेश र कुमारको कथामा जस्तै गरी फूल, अबिर र पैसाले भरिएको खाम चढाउँदै रेफ्रीको परिक्रमा गरिरहे । अन्तमा सबैभन्दा गह्रौँ लगनगाँठो चढाउने खेलाडी विजयी घोषित भयो ।

भव्य समारोहको साथ खेलको समापन हुँदा, अष्ट अधिकारी र व्यवसायीहरूले आआफ्ना उपलब्धिमा खुसी मानेर रमाइलो गरे । तिनीहरूले करदाताको डलरद्वारा आयोजना भएको शैम्पेनको चुस्कीका साथ महङ्गो होटेलमा भोज खाँदै आफ्ना अष्ट प्रयासलाई अधिकतम सबल बनाउने सुझाव र युक्तिहरू आदानप्रदान गर्दै बिदा भए । यद्यपि, स्विन्डलरको अभयारण्य बाहिर, निडर कार्यकर्ताहरूको समूह पनि भेला भैसकेको थियो । प्लेकार्डसहित सशस्त्र र अष्टाचारविरुद्ध लड्ने दृढ सङ्कल्पका साथ उनीहरूले न्याय, जवाफदेहिता र अष्टाचारविरुद्ध कुर्लिने मेसो मिलाएका थिए । २०२३ को अष्टाचार ओलम्पिक खेलले वास्तवमा अष्टाचारको संसारमा एक व्यङ्ग्य र हास्य झलक प्रदान गरेको थियो । यसले योजनाहरूको निरर्थकता र संलग्न व्यक्तिहरूको दुस्साहसलाई हाइलाइट गरेर अष्टाचारविरुद्ध लड्न र पारदर्शिता र ऐक्यबद्धता प्रवद्र्धन गर्ने आवश्यकताको स्मरण गराउने काम पनि गर्‍यो ।

०००
‘सुरभी’ १३५, हास्यव्यङ्ग्य विशेष (२०८० मङ्सिर)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहासन र अनुहार

सिंहासन र अनुहार

युवराज मैनाली
गर्जन

गर्जन

युवराज मैनाली
पतन

पतन

युवराज मैनाली
चक्रवर्ती सम्राट

चक्रवर्ती सम्राट

युवराज मैनाली
ब्वाँसोको राज्य

ब्वाँसोको राज्य

युवराज मैनाली
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
न–याँ

न–याँ

ईरानराई
अपाङ्ग-दिवस

अपाङ्ग-दिवस

केशवराज आमोदी
पूजापाठ

पूजापाठ

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x