सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

‘हास्यव्यङ्ग्य महारथी : भैरव अर्याल’को कृति विश्लेषण (२)

ताना शर्माको ‘सम र समका कृति’, चूडामणि बन्धुको ‘देवकोटा’, गोपी मैनालीको ‘युगकवि सिद्धिचरण कृति र प्रवृत्ति’ विश्लेषणपछि आएको प्रस्तुत कृति पनि ‘हास्यव्यङ्ग्यका महारथी : भैरव अर्याल’ महत्वपूर्ण पछिल्लो कृति हो ।

Nepal Telecom ad

युवराज मैनाली :

‘टेढो ऐना’ भैरव अर्यालको छैटौँ निबन्धकृति हो । यसमा भैरव अर्यालको लेखनको प्रारम्भिक चरणदेखि अन्तिम समयसम्मका रचना समाविष्ट रहेका छन् । यस कृतिभित्र तेत्तिस गद्यलेखन रहेका छन् । ‘टेढो ऐना’भित्र रहेका आत्मपरक निबन्ध वा लेखहरू र ‘टेडो ऐना’भित्रका निबन्धहरूको संक्षिप्त चर्चा, ‘टेडो ऐना’भित्रका संस्मरणात्मक निबन्धहरूको सान्दर्भिकता, ‘टेडो ऐना’भित्रका कथाहरूको विषयगत सन्दर्भ, ‘टेडो ऐना’भित्रका कथामा पाइने सामाजिक यथार्थता, ‘टेडो ऐना’भित्रको प्रहसन एकांङ्की नाटक आदिको रूपमा विभाजन गरिएको छ । ‘टेडो ऐना’ भित्रका निबन्धहरूको शीर्षक-शीर्षकलाई लिएर विश्लेषण गर्दै भैरव अर्यालका निबन्धहरूको मूल्यांङ्कन गरिनुका साथै उनको ‘टेडो ऐना’भित्रका निबन्धमा पनि पहिलेका कृतिहरूकै प्रकृति र प्रवृत्तिलाई उजागर गरिएको सन्दर्भ यहाँ आएको छ ।

‘सरकारले दुलो खोज्नुपर्ला’मा परिवर्तनले वर्तन फेर्न नसकेको, पात्र फेरिए पनि प्रवृत्ति नफेरिएको कुरा देखाइएको छ र ‘प्रतिनिधिमण्डल फक्र्यो’ निबन्धमा पनि प्रतीकात्मक व्यङ्ग्य गरिएको, आधुनिक सङ्कल्प युग सुहाउँदो नभएको र त्यसमा सुधार हुनुपर्ने, दौरा सुरुवाल नपठाइदिने भएमा प्रजातन्त्र.पछिका फेसने प्रवृत्ति देखाइएको, आफ्नो फेसन र संस्कृतिमा ह्रास आएको भनाइ रहेको छ । ‘तमसुक’मा धनी राष्ट्रले गरीब राष्ट्रलाई प्रयोग गर्ने कुरा, सुटुक्क विभागको गुप्त विज्ञप्ति विभिन्न कार्यालयभित्र गरिने शासकीय विरोधाभासलाई चिरफार गरिएको प्रसङ्ग ल्याएर ठाकुर शर्माले भैरवलाई राम्ररी बुझेर, कृतिको केस्रा-केस्रा केलाएर मूल्याङ्कन गरेका छन् । भैरव अर्यालको कथामा कथा-कथन, शैली भावग्राही, कथा बढाइचढाइ नगरी निकै सन्तुलनका साथ कथाको संयोजन गरेको कुरा ठाकुर शर्मा भण्डारीको समालोचकीय दृष्टिकोणमा रहेको छ । त्यस्तै ‘टेडो ऐना’भित्रको प्रहसन एकाङ्की नाटकमा पनि पर्याप्त व्यङ्ग्यचेतको विश्लेषण गरिएको छ । पिपलबोटे नयाँसडकको हल्लामा देशभरि फैलिने कुरा ल्याइएको छ । कथामा गरिएको जस्तो निष्कर्ष यसमा पनि भइदिएको भए अझ राम्रो हुने थियो भन्ने लाग्छ ।

‘राजीनामा’ भैरव अर्यालको जीवनपछि प्रकाशनमा आएको कृति हो । यसमा निबन्ध र समीक्षात्मक दृष्टिकोणहरू रहेका छन् । भैरव अर्यालले जीवनमा भोगेका हण्डर ठक्कर अभाव अतृप्ति पनि यसका विषयवस्तु रहेका छन् । सङ्ग्रहित एक्काइसवटा निबन्धहरूमा हास्यव्यङ्ग्य र गम्भीर निबन्धहरूसमेत रहेका छन् । उनको आर्थिक दयनीय अवस्थाको विषयलाई पनि निबन्धमा उल्लेख गरिएको छ । कतिपय निबन्धहरू मार्मिक छन् । आफ्ना सृजनाहरू प्रकाशनका लागि साथीलाई पठाउँदा उसैको नाममा आएको र प्रकाशन भइसकेका सिर्जना पनि अर्कैले आफ्नो भनेर गोखापत्रमा पठाएको तत्कालीन साहित्यिक विसङ्गतिको चर्चा पनि यसमा गरिएको छ । गुरुप्रसाद मैनाली, हृदयचन्द्रसिंह प्रधान, भानुभक्त आचार्य, मोतीराम भट्ट, लक्ष्मीप्रसाद देवकोटाका सिर्जनामाथि सुन्दर समालोचना पनि यसमा समाविष्ट छन् । ‘राजीनामा’ उनले जीवनबाट विदा हुने केही दिनअघि गोरखापत्रको व्यवस्थापन समक्ष दिएको राजीनामा हो । यिनै सन्दर्भहरूको एक एक शीर्षकमा पसेर ठाकुर शर्मा भण्डारीले आफ्नो विश्लेषण प्रस्तुत गरेका छन् । यसमा भैरवको राजीनामालाई कतै हास्यको प्रमुखता, कतै व्यङ्ग्यको प्रमुखता, कतै हास्य र व्यङ्ग्य दुवैमा सूक्ष्मता र कतै मार्मिकतासमेत पाइन्छ भन्ने आफ्नो सटिक मूल्याङ्कन प्रस्तुत गरेका छन् ।

भैरव अर्यालको ‘प्रवेशिका निबन्ध’को सँगालो, माध्यमिक विद्यालय स्तरका विद्यार्थीहरूलाई पठन तथा निबन्धलेखन सिकाउनका लागि गाइड भए पनि यसमा उल्लिखित निबन्धहरूमा पनि हास्यव्यङ्ग्यकार भैरव अर्यालको शिल्पकारिताले यसलाई पनि अत्यन्त कलात्मक बनाएको ठाकुर शर्माको भनाइ रहेको छ । आमा, देशप्रेम, सङ्गीत, अनुशासनजस्ता अत्यन्त आवश्यक विषयदेखि वैज्ञानिक उपलब्धि आदि विषयका निबन्धहरू सरल-सहज रूपमा प्रस्तुत गरिएको र यी निबन्धहरू विद्यार्थीहरूका साथै स्वतन्त्र अध्ययन-अध्यापन गराउने सबैका लागि उपयुक्त रहेको कुरा समालोचक भण्डारीको निष्कर्ष रहेको छ ।

भैरव अर्यालको ‘समीक्षाको समीक्षण’मा उनका समीक्षाहरूको गहिराइ पहिल्याएर ठाकुर शर्मा भण्डारीले विश्लेषण प्रत्येक शीर्षक अनुसार गरेका छन् । भैरव अर्यालले लोककथा शीर्षक समीक्षामा कुनै पनि लोककथा समाज, धर्म, संस्कृति परम्परा अनुसार चलेको भनाइमा ठाकुर शर्मा भण्डारीको सहमति रहेको छ । ‘नेपाली कथाको कथा केही विचरण केही विवरण’मा कथा मानिससँगै गाँसिएर आएको खुवी स्मृति परम्पराबाट विकास र विस्तार हुँदै आधुनिक कालसम्म आएको भैरवको समीक्षालाई कथाविधाका विषयमा अत्यन्त महत्त्वपूणर् समीक्षा रहेको ठाकुर शर्मा भण्डारीको भनाइ रहेको छ । ‘निबन्ध एक प्रबन्ध’ निबन्ध र प्रबन्धको भेदलाई राम्ररी देखाइएको सन्दर्भलाई निबन्ध-प्रबन्धको विकासक्रमको सन्दर्भलाई सुन्दर समीक्षात्मक निबन्धको रूपमा देखाइएको छ । ‘सङ्गीत र शिक्षा’ शीर्षकको लेखलाई कठिनभन्दा कठिन विधालाई पनि सरस बनाएर अध्ययन-अध्यापन गर्न सकिन्छ भन्ने दृष्टिकोण प्रस्तुत गरेको देखिन्छ ।

‘एउटा धुन एउटा थाली’ शीर्षकमा छ्याकन प्रकाशनको आवश्यक महत्त्व देखाइएको र हास्यव्यङ्ग्य कविता क्षेत्रमा यसले नौलो आयाम थपेको अर्यालको भनाइमा समालोचक ठाकुर शर्माको सहमति रहेको देखिन्छ । ‘तपाईंको मपाइँ’ शीर्षकमा हास्यव्यङ्ग्यकार श्याम गोतामेको विषयमा लेखिएको लेखमा समीक्षामै हास्यव्यङ्ग्यको स्वरूप लिएको भन्ने ठाकुर शर्माको भनाइ रहेको छ । ‘मङ्गलाचरण’ शीर्षकको लेख ओमकुमार झाको किताब ’जय फेसन जय महिला‘को विषयमा लेखिएको भूमिकाको सन्दर्भ उठाइएको छ । त्यस्तै कुमारको ’सञ्चयन‘ भित्रको भूमिकालाई सुन्दर मानेका छन् । ‘डाढो’ शीर्षक एकले अर्कोलाई डाढ गर्ने ईष्र्या गर्ने कुरा देखाइएको छ । यो समीक्षाभन्दा विशुद्ध निबन्ध रहेको भन्ने समालोचक ठाकुर शर्माको भनाइ रहेको पाइन्छ । ‘माइतीघर एक नेपाली दर्शकको दृष्टिमा र हिजो आज र भोलि एक दर्शकको आँखामा’ एक दर्शकले चलचित्रलाई कसरी हेरेको छ भन्ने कुरा स्पष्ट पारिएको र विभिन्न चरित्र र निर्माताको विषयमा पनि चर्चा गरिएको प्रसङ्ग आएको कुरा देखाइएको छ ।

‘नेपाली साहित्यको समृद्धिमा श्री ५ महेन्द्रको चाख’मा राजा महेन्द्रले साहित्यको उन्नयनका लागि निर्वाह गरेको भूमिकाका विषयमा अर्यालले मुक्तकण्ठले राजाको प्रशंसा गरेका छन् र राजाको योगदान साहित्यमा रहेको कुरामा समालोचक भण्डारीको पनि सहमति रहेको छ । ‘बोल्ने इतिहासको ठेली’मा इतिहास शिरोमणि बाबुराम आचार्यलाई इतिहासको सम्पूणर् ज्ञाताको रूपमा हेरिएको कुरा समीक्षामा आएको सन्दर्भ उल्लेख गरिएको छ । यसरी भैरव अर्यालको समीक्षाहरूको सविस्तार समीक्षा गर्दै उनको समीक्षक व्यक्तित्वलाई राम्ररी प्रकाश पारिएको छ ।

‘नेपाली काव्यमा प्रकृतिभित्रको प्रकृति’ शीर्षकमा नेपाली काव्यमा प्रकृतिको के कसरी प्रभाव परेको छ ? त्यसलाई समीक्षक भैरव अर्यालले राम्ररी देखाएका छन् । काव्यमा पूर्वीय र पाश्चात्य सिद्धान्तमा भएको प्रकृतिको प्रयोग वणर्न गर्दै नेपाली साहित्यमा यसको महत्त्व देखाइएको र यो पछिल्लो प्रयोग भएको उल्लेख गर्दै तत्कालीन नेपाली राजकीय प्रज्ञा प्रतिष्ठानका कुलपति केदारमान व्यथित, उपकुलपति लैनसिंह वाङ्देल, समालोचक कृष्णचन्द्रसिंह प्रधानका भनाइहरू उद्धृत गरिएको छ ।

‘कविता काव्य’मा भैरव अर्यालको कविताको सविस्तार विश्लेषण गर्दै २०१८ सालमा प्रकाशित ‘उपवन’ कवितासङ्ग्रहको चर्चामा सुप्रसिद्ध नाटककार बालकृष्ण समको भनाइमा – भैरवप्रसाद अर्यालजीले आफ्नो ‘उपवन’मा सबै फूललाई स्थान दिनुभएको छ । विभिन्न रङका विभिन्न रूपका पुष्पलाई उमारेर उहाँले आफ्नो बगैँचा सुन्दर पार्नुभएको छ’लाई यहाँ उद्धरण गरिएको छ । ‘उपवन’मा नेपाली वीरता, प्राकृतिक सौन्दर्य, देशप्रेम, इतिहासप्रति गर्वबोध गर्दै नेपालीको परिचय दिएको भन्दै समालोचकले कविता स्तरीय भएको बताएका छन् । त्यस्तै ‘कामना’मा सत्यम्ं, शिवम् सुन्दरम्को भाव रहेको संसारका सबै मानिस सुखी, खुसी होऊन् भन्ने मानवीय भावनालाई व्यक्त गरेको उल्लेख छ । नेपाल आमाप्रति अगाध प्रेम भएको ‘श्रमिक कविता’मा संसारका जुनसुकै कुनामा गए पनि नेपालीहरू इमानदार वीर परिश्रमी भएको नेपाली श्रमिकहरूको वणर्न सुन्दर र कलात्मक भएको भण्डारीको भनाइ समय-सान्दर्भिक रहेको छ । ‘हावासँग’मा अर्याललाई प्रकृतिवादी कविको रूपमा पनि चित्रण गरिएको छ ।

‘शरद’ मा प्रकृति र जीवनको चित्र सबल रूपमा गरिएको छ । ‘नवनिर्माण’मा शब्द उत्थानका पवित्र भाव व्यक्त भएको प्रसङ्ग छ भने एटम कविता वैश्विक परिवेशमा लेखिएको हो भन्ने भनाइ छ । एटम बमको निर्माणबाट मानिसले विध्वंश मच्चाएर युद्धको भयानक ज्वालाबाट विश्वशान्ति खल्बलाएको सन्दर्भ देखाइएको छ । ‘मेरो सवाल’ शीर्षक कविता सांसारिक जीवनका हरेक पाइलामा सवाल मात्र छन् । जीवनभर पसिना बगाए पनि त्यसको मूल्य नभएको भन्ने समालोचक ठाकुर शर्माले ‘गोरु’ कविताका सम्बन्धमा उल्लेख गरेको देखिन्छ । ‘हुलिया’ कवितामा विकृति, विसङ्गति देखाइएको छ । ‘मेरो मूर्ति’मा निराशावादी स्वर औँल्याइएको छ । मृत्युसँग सङ्घर्ष गरिएको जीवनको कथा छ । खास कुराले निराशावादी स्वर गुञ्जाएको समालोचकको सङ्केत छ । ‘शर्त’ कवितामा प्रेमीलाई विविध शर्त राखिएको प्रति सङ्केत गरिएको छ । ‘धुवाँ’मा सिर्जना र ध्वंश देखाउदै ‘गुप्त गर्भबाट’मा अवैध गर्भको बच्चाको चीत्कार देखाएर सामाजिक विसङ्गतिप्रति व्यङ्ग्य गरिएको सन्दर्भ आएको देखिन्छ ।

‘काफल पाक्यो’ देवकोटाको मुना-मदनजस्तै झ्याउरे लयमा लेखिएको प्रेमी र प्रेमिकाको संवादले झझल्को दिन्छ भन्ने आशय ठाकुर शर्मा भण्डारीको रहेको छ । ‘मानव र शान्ति’मा मानवजीवनमा शान्तिको महत्त्व देखाइएको प्रसङ्ग र ‘भुइँतारा’ कवितामा प्राकृतिक सौन्दर्यको वणर्न गरिएको छ । ‘इच्छा’ शीर्षकको कवितामा उत्साहको स्वर उचालिएको छ । ‘आकाश’मा आकाशको विशालतावादी चर्चा गर्दै सूर्य र चन्द्रलाई आकाशको नयनको रूपमा चित्रण गरिएको कुरा उल्लेख छ । यसरी कवि भैरवप्रसाद अर्याल ‘उपवन’ कृतिमा छन्द, मुक्तछन्द, लोकलयमा पनि उनी सफल देखिएका छन् । भैरवमा महाकवि देवकोटा र युगकवि सिद्धिचरणको झझल्को आउँछ भनेर समालोचकले भैरव अर्याललाई सफल कविको रूपमा चित्रण गरेका छन् । ‘उपवन’ कविताको लेखनशैलीमा कविका धारणा स्पष्ट, जीवनवादी र हृदयस्पर्शी भएको कुरा बताइएको छ ।

‘कविताकृति राष्ट्रिय आह्वानको सामयिक सन्दर्भ’ शीर्षकमा कवि भैरव अर्यालको २०१८ सालमा प्रकाशित ‘राष्ट्रिय आह्वान’ लघुकाव्यको विश्लेषण गरिएको छ । नेपाल र नेपालीलाई नै मूल विषय बनाएको कृतिमा ‘आह्वान’देखि ‘संस्कृति’सम्म प्रत्येक शीर्षकहरू सशक्त रूपमा लेखिएको कुरा उल्लेख गरिएको छ । संसदीय व्यवस्थालाई असफल भएको भन्दै प्रथम निर्वाचित प्रधानमन्त्रीदेखि प्रजातन्त्रवादी नेताहरूलाई कारागारमा राखेर दललाई प्रतिबन्ध लगाउँदै जनतालाई त्यसको औचित्य पुष्टि गर्न आफ्नै माटोमा हुर्के, बढेको आफ्नै खालको मौलिक निर्दलीय पञ्चायती व्यवस्थाको घोषणा गरेपछि जनसमर्थनका लागि राजा महेन्द्रले गरेको राष्ट्रिय आह्वानको विषय बनाएर राजाको समर्थनमा कवि अर्यालबाट यस काव्यको सिर्जना भएको हो । यसमा समाविष्ट सम्पूणर् कविता राजाकै समर्थनमा आवाज बुलन्द गरेका छन् भन्ने समालोचकको भनाइ छ र यस सन्दर्भलाई समालोचक ठाकुर शर्मा भण्डारीले समयलाई हेरेर लेखेको भए पनि काव्यिक हिसाबबाट दोषमुक्त र विषयगत हिसाबबाट अप्रत्यक्ष असहमति जनाएको देखिन्छ । देशप्रेमले भरिएको शैली, भाव र आलाङ्कारिक दृष्टिकोणबाट काव्य उच्च कोटिको रहेको भन्ने समालोचक शर्माको भनाइ रहेको छ । केही केही भाषिक त्रुटी भने उनले देखाएका छन् ।

शोककाव्य ‘विरही रामको अन्तर्वेदना’ शीर्षकमा मर्यादापुरुष रामको विषयमा लेखिएको काव्य हो । रामले आफ्ना पिता दशरथको वचनलाई शिरोपर गरी चौध वर्ष वनवासको कठोर जीवन व्यतीत गरे । वनवाससँगै सीतालाई रावणले हरण गर्‍यो । रावणसित मुक्त गरी माता सीतालाई अशोक वाटिकाबाट ल्याइयो तर उनको पवित्रताका लागि अग्निपरीक्षा गरी अयोध्यामा राज्य सञ्चालन गरिरहेको समयमा एउटा धोवीले आप्mनी पत्नीसित झगडा गर्दा सीताका सम्बन्धमा प्रश्न उठाएपछि गर्भवती सीतालाई त्यागेको र यसले रामको मनमा पीडा भएपछि त्यस अवस्थाको रामको वेदनालाई अत्यन्त कलात्मक किसिमले प्रस्तुत गरिएको लघुकाव्यलाई ठाकुर शर्मा भण्डारीले नेपाल भारत सम्बन्ध, आर्य संस्कृति र रामराज्यको ऐतिहासिक विषयवस्तुमा प्रस्तुत गरिएको अत्यन्त महत्त्वपूणर् काव्यको रूपमा स्वीकार गरेका छन् ।

कविताकृति ‘कारिन्दाको दिनचर्या’ विभिन्न दृष्टिकोणले महत्त्वपूणर् भएको कुरा उठाइएको छ । अनुसन्धाता तथा कृति सम्पादक विष्णु प्रभात र भैरव पुरस्कार गुठीका अध्यक्ष रोचक घिमिरेको भनाइलाई साक्षीत्वको रूपमा राख्दै ‘कारिन्दाको दिनचर्या’ कविता-कृतिमा समाविष्ट अठचालिसवटा कविता, गीत र काव्यले समाजका अन्याय, असत्य, अन्धविश्वास, अशिष्टपन आदिलाई व्यङ्ग्य गरिएको कुरा बताइएको छ । कुनै कुनै कवितामा हास्यको शुष्कता र व्यङ्ग्यको प्रबलता भएको कुरा पनि ठाकुर शर्मा भण्डारीले उल्लेख गरेका छन् तर अर्यालका लेखनमा विद्रोही भावना सर्वत्र रहेको कुरा बताइएको छ । नेपाली समाजमा नारीले बेहोर्नुपरेको समस्या पनि उनका कवितामा रहेका छन् । कवितामा मन्दिर आएर पुण्य कमाउनेहरूप्रति पनि व्यङ्ग्य गरिएको कुरा उल्लेख गरिएको छ । छिमेकी देश भारतले नेपालका नदीनालालगायत महत्त्वपूणर् प्राकृतिक सम्पदा लगेको सन्दर्भ पनि कवितामा देखाइएको छ ।

कृषिप्रधान देशमा शुद्ध गाई भैँसीको घीउको सट्टा डाल्डा उत्पादनप्रति व्यङ्ग्य गरिएको कुरा देखाइएको छ । रमिते संसारबाटै भैरवको खबरदारी कवितामा उल्लेख गरिएको बताउँँदै ‘गधा’जस्ता कविताले मानिसको दासत्व प्रवृत्तिलाई उजागर गरेको उल्लेख छ । ‘कारिन्दाको दिनचर्या’का कवितामा ठाकुर शर्मा भण्डारीले परिष्कृत शैलीमा वक्ता, निम्नस्तरका जनताका बारेमा बोल्नु, ढोँगी र अत्याचारको पर्दाफास गर्नुका साथै अन्याय अत्याचार विसङ्गत कुराहरू खोल्दै मानवीय पक्षको वकालत गर्नु छोटो मीठो भनाइमा सरलता सरलतामा गम्भीरता, अभिव्यञ्जना दिनु, लयबद्धता र कविताको गेयात्मकता अझ प्रभावशाली रहेको र प्रयोगधर्मी कविताको बाहुल्य, नवीनताको आधारमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्न सक्ने शक्ति र सामथ्र्य रहेको कुरा बताएका छन् ।

‘के के भयो ? कृतिको सङ्क्षिप्त अवलोकन’ पनि गीतमा लेखिएको महेन्द्रमाला हो । राजा महेन्द्रको तटस्थ असंलग्न परराष्ट्र नीति, योजनाबद्ध विकासको शुरुवात, विभिन्न देशको भ्रमण, बाटाघाटाको निर्माण, देशदर्शन गरेर जनताका सुखदुःखको प्रत्यक्ष अनुभव, न्याय-इन्साफ आदिका सन्दर्भमा राजाको मुक्तकण्ठले प्रशंसा गरेका छन् । यस काव्यका सन्दर्भमा समालोचक भण्डारी भैरव अर्याल समयानुकूल प्रभावशाली लेखनक्षमता, पूर्वीय र पाश्चात्य साहित्यका अध्येता भएकोले उनको बारेमा जति चर्चा गरे पनि थोरै हुने भन्दै नेपाली हास्यव्यङ्ग्यको क्षेत्रमा शिखर चुमेका नेपाली साहित्यका शिखर पुरुष हुन् र महारथी हुन् भन्न पुग्छन् ।

खण्ड चारको विविध शीर्षकमा भैरव अर्यालका कृति ‘पञ्चायती प्रजातन्त्रको सन्दर्भ’ भैरव अर्यालको कृति शाही कदम किन ?’ को विषयगत चर्चा, ‘भैरव भन्छन्’ टेप रेकर्ड कृति चर्चा, शाश्वत व्यङ्ग्यशिल्पी ः एक चर्चा, सम्झनामा भैरव स्मृतिको सामान्य चर्चाका साथै अन्तिममा सन्दर्भ सामग्री राखिएको छ ।

२०१८ सालमा प्रकाशित ‘पञ्चायती प्रजातन्त्र’ पञ्चायतलाई एकतन्त्रीय शासन नभई नेपाली जनजीवनसँग सम्बन्धित नेपाली माटो सुहाउँदो, हिमाल प्रदेशको उपज, भनेर टोल छिमेकमा सानातिना झैँ-झगडामा पनि पञ्चायत राख्ने सन्दर्भ ल्याउँदै नेपाली पञ्चायतको अमिट छाप रहेको अर्यालले सङ्केत गरेका सन्दर्भलाई समालोचक भण्डारीले उल्लेख गरेका छन् ।

भैरव अर्यालको कृति ‘शाही कदम किन ? को विषयगत चर्चा’मा नेपालमा एक सय चार वर्षसम्म चलेको जहानियाँ राणा शासनलाई समाप्त गरी प्रजातन्त्रको घोषणाबाट संविधान अनुसार चुनाव गरी निर्वाचित सरकारबाट जनआकाङ्क्षा बमोजिम काम नहुनु, दलीय स्वार्थमा हिँड्नु, असंलग्न परराष्ट्रनीतिको मूल उद्देश्य बमोजिम विदेश-नीति चलाउन नसक्नु आदि कारणले देशमा संसदीय व्यवस्था अफाप सिद्ध भएको सन्दर्भ ल्याउँदै राजाले शाही कदम चाल्नुपरेको हो भन्दै महेन्द्रको कदमलाई भैरवले उपयुक्त ठहर्‍याएका छन् । यसमा समाजको यथार्थलाई हेरेर भैरव अर्यालले कलम चलाएको कुरा समालोचकले उल्लेख गरेका छन् ।

भैरव अर्यालसितको दाताराम, वासुदेव र विद्यादेवले गरेको संवार्र्तालाई होम सुवेदीद्वारा २०३४ सालमा भैरव भन्छन् शीर्षकमा कृति आएको छ । यसबाट भैरवले आफ्नो जीवनमा देखेभोगेका अनुभव र अनुभूतिको जानकारी हुन आउँछ । कालिदासको कुमारसम्भव अध्ययनबाट कवितालाई आकर्षित भएको, शुरुमा लेख्दै च्यात्दै गरेको, कतिपय कविता चोरी भएर अर्कैको नाममा छापिएको कुरा उल्लेख गरिएको छ । जयवागेश्वरीमा महाकवि देवकोटाको सभापतित्वमा कविसम्मेलन भएको, अच्युतराज रेग्मी पूणर्प्रसाद ब्राह्मणहरूको सङ्गतले कवितासिर्जना गरेको, रकम अभावले पढ्न नसक्दा युवराज महेन्द्रलाई विन्तिपत्र लेखेर पठाएको र बीस रुपैयाँको बक्सिस प्राप्त भएको सन्दर्भ उल्लेख गरिएको छ ।

हालखबर पत्रिकाबाट लेखन प्रारम्भ गरेको, प्रधानमन्त्री टंकप्रसाद आचार्यलाई साँखुमा शिक्षक रहँदा स्कुल चाहियो भनेको आदि कुराहरू पनि रोचक छन् । हालखबर पत्रिकाबाट हास्यव्यङ्ग्य लेख्न शुरु गरेको प्रसङ्ग आएको छ । यसमा ठाकुर शर्मा भण्डारीले भैरव अर्यालको लेखन जीवनमा जीवन निर्वाहका निमित्त उनले विद्यालयहरूमा, शिक्षकको रूपमा सेवा गरेको, पत्रपत्रिकामा संलग्न रहँदै गोरखापत्रमा काम गरेको सन्दर्भसमेत ल्याएर यसलाई रोचक बनाइएको छ । भैरवलाई जान्न खोज्नेलाई यसले ठूलो सहयोग पुर्‍याएको ठाकुर शर्मा भण्डारीको भनाइ रहेको छ ।

‘शाश्वत व्यङ्ग्यशिल्पी’ रोचक घिमिरेको सम्पादकत्वमा प्रकाशित ग्रन्थ हो । रचना पत्रिकामा विभिन्न समयमा लेखिएका र पुस्तकमा समावेश नभएका कृतिहरू, भैरव अर्यालका बारे साहित्यकार, समीक्षक, समालोचकहरूका संस्मरणमा विश्लेषण मूल्याङ्कन आदिलाई यसमा समावेश गरिएको र भैरव अर्यालले लेखेका चिठीपत्रहरूसमेतले भैरव अर्यालबारे धेरै जानकारी दिलाउन शाश्वत व्यङ्ग्यशिल्पी महत्त्वपूणर् रहेको छ भन्ने ठाकुर शर्मा भण्डारीको भनाइ छ । भैरव सम्झनामा भैरव स्मृतिग्रन्थको सामान्य परिचर्चा, विजय चालिसे, वद्रिप्रसाद अर्याल र वसन्त रिजालको सम्पादकत्वमा २०७८ सालमा प्रकाशित गरिएको स्मृतिग्रन्थ स्वयम् भैरवका साथै अन्य स्रष्टाहरूका रचना पनि समावेश गरेर यसलाई पठनीय बनाएको कुरा समालोचकले उल्लेख गरेका छन् ।

यसरी खोज, अनुसन्धान गरी अत्यन्त मिहिनेतका साथ भैरव अर्यालको जीवनी, व्यक्तित्व र कृतित्वका विविध पक्षलाई ठाकुर शर्मा भण्डारीले प्रस्तुत ग्रन्थमा प्रकाश पारेका छन् । विधागत, कृतिगत र शीर्षकगत विश्लेषण गर्दै प्रत्येक शीर्षकमा आफ्नो निणर्य दिनु यस कृतिको मुख्य विशेषता रहेको छ । कृतिमा सरल शैली र मीठो प्रस्तुतिको पाठक मैत्री बनाइनु यसको अर्को विशेषता मान्न सकिन्छ ।

‘हास्यव्यङ्ग्य महारथी ः भैरव अर्याल’ शीर्षकले आम कृतिको गरिमा अरू मजबुत बन्न पुगेको यथार्थ हो । भैरव अर्यालका विशेषाङ्कहरूको समेत चर्चा गरिनुले अरू समालोचनाभन्दा यसमा थप काम गरिएको मान्न सकिन्छ । यति कडा परिश्रम र अनुसन्धान गरेर यस्तो वृहद् ग्रन्थ निर्माण गर्दा अझ केही थप कुराको अपेक्षा अवश्य रहेको छ । भैरव अर्यालको परिचयखण्ड अलि वृहत् बनाउनु उपयुक्त हुन जान्थ्यो । यस्तो वृहद् विश्लेषण र मूल्याङ्कन हुँदा अन्तर्विधा तुलना गरिएको भए अझ सुनमा सुगन्ध हुन पुग्थ्यो । निबन्धमा विस्तृत सैद्धान्तिक चर्चा गरिएको र विकास र विस्तारसमेत देखाइएकोले यो शीर्षकमा जत्तिको मिहिनेत कविता, समीक्षा र अरू शीर्षकमा पनि गरिएको हुने थियो भन्ने लाग्छ । जेहोस् यस कृतिपछि कवि ठाकुर शर्मा भण्डारी समालोचकका रूपमा दह्रो उपस्थिति जनाउन पुग्छन् ।

समालोचक ठाकुर शर्मा भण्डारीले विमर्शनमा अठतीस, साहित्य यात्राका पदचापमा सोह्र, परिदर्शन अठार, विवेचनमा चौतिस, अभिव्यञ्जनमा पैतिस, पर्यालोचनामा छैसट्ठी, भूमिकाहरू करिब एक सय र पत्र-पत्रिकामा प्रकाशित करीब एक सय गरी तीन सयभन्दा बढी समालोचना लेखेको देखिन्छ । समालोचनामा विभिन्न छन्दको प्रयोग गर्ने एक मात्र र अहिलेसम्म उनी एक्लो समालोचक हुन्, जुन उनको आप्mनो निजत्व हो । समालोचनामा अभिव्यक्त विचारलाई उनका कविताले सम्पूणर् रूपमा निष्कर्षसहित प्रकाश पारेको देखिन्छ । पूर्व प्रकाशित समालोचनात्मक ग्रन्थहरूमा प्रभाववादी कित्तामा उँभिएका भण्डारी प्रस्तुत कृतिमा वस्तुवादी कित्तामा आएका छन् । उनका समालोचनाहरूमा कविताविनाको समालोचनाकृति ‘हास्यव्यङ्ग्य महारथी ः भैरव अर्याल’ मात्र रहेको छ ।

साहित्यकार रामप्रसाद पन्तका बारेमा व्यक्तिकेन्द्री समालोचनात्मक कृति ‘साहित्ययात्राका पदचाप’ लेखिसकेका ठाकुर शर्मा भण्डारीको भैरव अर्यालकेन्द्री समालोचनात्मक ग्रन्थ विभिन्न दृष्टिकोणबाट महत्त्वपूणर् देखिन्छ । नेपाली समालोचनामा कृष्णचन्द्रसिंह प्रधानको ‘कवि व्यथित र काव्य साधना’ ताना शर्माको ‘सम र समका कृति’, चूडामणि बन्धुको ‘देवकोटा’, गोपी मैनालीको ‘युगकवि सिद्धिचरण कृति र प्रवृत्ति’ विश्लेषणपछि आएको प्रस्तुत कृति पनि ‘हास्यव्यङ्ग्यका महारथी : भैरव अर्याल’ महत्वपूणर् पछिल्लो कृति हो । यसले भैरव अर्यालका विषयमा बुझ्न चाहनेलाई बुझाएको छ र बुझेकालाई अरू बढी बुझाउन सफल भएको छ । विश्व विद्यालयमा भैरव अर्यालबारे अध्ययन अध्यापन गर्न चाहनेहरूका लागि यो कृति अत्यन्त उपयोगी बनेको छ ।

सबै कृति विश्लेषणको सार खिचेर देखाउँदा त्यही शीर्षकबाटै भैरव अर्यालका विषयमा थोरैमा धेरै बुझ्न सकिन्थ्यो । नेपालका पूर्ववर्ती र समकालीन हास्यव्यङ्ग्यकारहरूसँग विस्तृत रूपमा भैरव अर्यालको तुलना गर्दै नेपाली हास्यव्यङ्ग्यमा उनको स्थान निर्धारणसमेत गरिएको भए कृति थप सुन्दर बन्न सक्ने थियो भन्ने लाग्छ । यस्तै हास्यव्यङ्ग्यकार भैरव अर्याल समाजका विकृतिप्रति तीव्र प्रहार गर्ने साहित्यकार भए पनि कतिपय उनका सिर्जनाहरूमा तत्कालीन राजा महेन्द्रको शाहीकदम, पञ्चायती व्यवस्थाको विषयमा समेत समर्थनको दृष्टिकोणबाट व्यापक चर्चा गरेका छन् र यो कदम समयानुकूल ठीक हो भन्ने उनको धारणा देखिन्छ किनकि भैरव अर्यालको वैचारिक विचलन लेखनमा आएको नदेखिएको होइन तथापि उनको लेखन अत्यन्त गहिरो र कलात्मक देखिएकोले समालोचक ठाकुर शर्मा भण्डारीले मूलतः यसको कला र व्यञ्जना पक्षलाई महत्त्व दिएको कुरा यस कृतिमा अनुभूत गर्न सकिन्छ भनेर पुष्टि गरेका छन् ।

०००
धुम्बाराही, काठमाडौँ ।
भर्खरै प्रकाशित ‘सुरभि’ साहित्यिक मासिकको १३५ औँ हास्यव्यङ्ग्य विशेषाङ्कबाट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मान्छेमात्र मान्छे

मान्छेमात्र मान्छे

युवराज मैनाली
अचम्मको पोको

अचम्मको पोको

युवराज मैनाली
ताप्के तात्दै छ !

ताप्के तात्दै छ !

युवराज मैनाली