चौकीपावर
तपाईंहरूलाई पनि कसैले चौकीको लोभमा फसाउँला याद गर्नुहोला । बरू कुल्ली काम गरेर खानुहोस् तर चौकी र चौकीपावरको लोभमा कृपया नफँसिनु होला नत्र आज मेरो जुन हाल छ भोलि तपाईको पनि हुनसक्छ ।
नगिता लेप्चा राई :
चौकी भन्ने बित्तिकै काठको या प्लाष्टिक, या त मोटो मोटो गद्दीवाला या स्टिल या त बेतको टी त घुमाउने चौकी भन्ने सम्झिन्छौँ । हेर्दा साधारण देखिने तर यसमाथि मान्छे गजधम्म बस्ने हो भन्ने सोंच्छौँ तर साधारण देखिने उक्त चौकीमाथि बपस्नेको पावर भने अचम्भको हुन्छ । मान्छे चौकीमाथि गजधम्म बसेर उसको पावर चिताउनै नसकिने पाराले बढ्ने भएको मेरो व्यङ्ग्य निबन्धको नाम चौकीपावर राखिदिएँ । अरुले मानुन् नमानुन् यो चौकीपावर शब्द, मैले पनि जे सुकै होस् भने मेरो व्यङ्ग्यपावर देखाइदिई त हालेँ ।
म आफू भगवान् गौतम बुद्धको भक्त ठहरिएँ । उनको वाणीलाई मुटुमै सिउरेर हिँड्ने तरुणी बाला म । तर जति सुकै बुद्धको वाणी खर्लप्पै निले पनि त्यही सामान्य चौकीको लोभले मेरो मनमा चौकी लोभ जगाइहाल्यो । समाजमा देखिने चौकी लोभे ठूला बडाजस्तै मलाई पनि चौकीमा गजधम्म बसाइ छोड्यो । आहा… यस्तो पावरवाल चौकीमा गजधम्म बसेर आफ्नो चौकीपावर देखाउनु क्या मज्जा आउँदोरहेछ ।
साँच्चै, भन्नु उसो होइन, यो साधारण चौकीमा गजधम्म बसेपछि मभन्दा ठूलो पावरवाल कोही छैनन् जस्तै लाग्दोरहेछ । आफूलाई जसले त्यो साधारण पावरवाल चौकीमा बसायो उसैलाई नै नचिन्ने भएँ म । मेरो जतिको पावर कसैको छैन, हुँदैन भने जस्तो अहमले म मात्तिनु मात्रै होइन पातिनुसम्म पातिनु मन लाग्न थाल्यो ।
म साधारण मान्छे हुँदा मलाई कसैले नपुज्ने, पत्तै नदिने तर यो पावरवाल चौकीमा आफ्नो टुइँके अढाएपछि गाउँका मान्छेहरूले मलाई भगवान जस्तै नै मान्न थालेको देख्दा मेरो फुर्क्याइको सीमा धिएन। चौकीपावरले मलाई मामुली होइन भिआइपी नै बनाएको म देखिरहेछु । हुन पनि हो, म बिना कुनै कार्यक्रम नै हुँदैन अन्त । साँच्चै जुनै कार्यक्रममा उपस्थित भइदिने ठूला बडाहरू कार्यक्रमको मञ्चमा राखिएका चौकीमा बस्नलाई वा अध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथिको आसनमा बस्नलाई हानथाप गर्नुमात्र होइन एकले अर्काको खोइरो खनेको, अर्कालाई पछारेर कसरी आफूले आसन ग्रहण गर्ने होडबाजीमा लागिपरेको घटना नयाँ होइन । साँच्चे हे प्रभु ! यौ चौकी भन्ने कुन वस्तुको नाम हो मैले बुझ्न सकेकी छैन । तर म भने ढुक्कै के मा थिए भने मेरो चौकी निश्चित छ । किनभने म चौकीपावरको सिन्दुर पहिरिएकी छु । अब यौ चौकीपावर अजम्बरी रहनेछ भन्ने कुराले म गजक्कै थिएँ, छु ।
एक दिन माथ्लो गाउँको एउटा साहित्यिक कार्यक्रममा मलाई अतिथिको आसन ग्रहण गर्नाको निम्ति निम्ता आयो । प्रमुख अतिथिको निम्ता आएपछि नजाने कुरै आएन । फुर्के भएर कार्यक्रम शुरु हुन भन्दा आधा घण्टा अगावै कार्यक्रम थलोमा उपस्थित भएँ । हे दैव… कुनै निम्तारुहरूको उपस्थितिको कुरा छोडीदिउँ आयोजकवर्गको अनुहार मुख केही देख्न सकिनँ । धेरै बेर पछि फाटाक फुटुक आयोजकवर्गका सदस्यहरू भेला हुन थाले । त्यसपछि फाटाक फुटुक निम्तारुहरू । बिस्तारै भीड बाक्लो हुँदै गयो । रित्ता कुर्सीहरूमा निम्तारुहरू थपिँदै गए । अघिल्ला चौकीमा बस्नेहरूमाझ गुनगुन सुनेँ । उनीहरूले आयोजकवर्गका मुखियासित चामे सरलाई किन प्रमुख अतिथिको आसनमा ननिम्त्याएको भनी कानेखुसी गरेको देखेँ । उनीहरूले के कानेखुसी गरे कुनि थाहा नभए पनि उनीहरूको ईशारा र कुराको भावभङ्गीले मलाई त्यो कुरो बुझ्न ठ्याम्मै कठिन परेन ।
मेरो कान चनाख । एकजनाले भनेको सुनि त हालेँ । उनी भन्दै थिए, “किन चामे सरलाई प्रमुख अतिथिमा राख्नु ? हाम्री म्यामलाई नै प्रमुख अतिथिमा राख्नुपर्छ । कारण म्यामसित पावर नभए पनि उनको चौकीपावर फोर फोर्टी भोल्टको छ । म्यामले संस्थाको लागि काम गरिदिन्छिन् । हामीलाई काम गर्ने पनि ता चाहियो । म्यामलाई प्रमुख अतिथिको आसनमा राखे उनी फुरुक्कै भएर हाम्रो संस्थाको नयाँ भवनको लागि गतिलो फण्डिङ गराउनुपर्छ । म्यामलाई प्रमुख अतिथिमा मात्रै राखुँ न… म्यामले फण्डिङको झटारो हान्छिन् ।
वाह ! हिजोआज संस्थाले पनि मुख हेरेर फण्डिङको लागि प्रमुख अतिथिमा निम्ताउँदोरहेछ भन्ने कुरो त्यसै दिन क्लियर भयो । कार्यक्रम सुहाउँदो प्रमुख अतिथि होस् नहोस् मतलब छैन, फण्डिङ जसले गर्छ उ नै प्रमुख अतिथि । यिनीहरूको सबै कुरा सुन्नु मात्र होइन बुझेँ पनि । त्यसपछि कार्यक्रममा प्रमुख संयोजकले मेरो छेउमा आएर गुटका खाएर ह्वास्सै ह्वास्सै गन्हाउने मुख मेरो कानैमा टाँसेर मलाई प्रमुख अतिथिको असन ग्रहण गरिदिने अनुरोध गरेँ । मैले खोजेकै त्यही थियो । कुनै पनि कार्यक्रममा उपस्थित भएर प्रमुख अतिथिको आसन ग्रहण गरेर लम्बेतान भाषण छाँट्न नपाए के को उपस्थिति । मैले चाहेकै थिएँ । नढाँटी भनुँ भने, खासमा म प्रमुख अतिथिको लोभमै कार्यक्रममा उपस्थित भएकी हुँ… । उनीहरूले अनुरोध गरेपछि गजक्कै भएर स्वीकृति दिएँ ।
कार्यक्रम शुरु भयो । कार्यक्रम सञ्चालकले मेरो नाम उच्चारण गरेर मलाई मञ्चमा आई प्रमुख अतिथिको आसन ग्रहण गर्न अनुरोध गरे । प्रमुख अतिथिको निम्ति मेरो नाम घोषणा हुने बित्तिकै म पनि गजक्क मात्र हुँदै फुर्कै भएर मञ्चमा प्रमुख अतिथिको आसन ग्रहण गर्न पुगेँ । मञ्चमा मेरो चरण स्पर्श हुने बित्तिकै दुइ तीन जना तरुणा बालाहरूले मलाई पुष्पहार, खादा ब्याज के के पहिराए.. पहिराए । हिसाबै छैन । साथसाथै संस्थाका सचिव महोदयले म बसेकी आसनमा एउटा खाम थमाएर गए । खाम भित्र रकम पो छ होला भनेकी ता अङ्ग्रेजी भाषामा लेखिएको पत्र रहेछ । आफू भने अङ्ग्रेजी पढ्न चिलिम । हत्त न पत्त मेरो पाला मेरो ढोलेलाई बोलाएर पत्र पढ्न लाए । नियास्रो मुख लाएर ढोले बोले, म्याम ! यो त अङ्ग्रेजी भाषामा लेखिएको रहेछ । अङ्ग्रेजी अक्षर मेरो निम्ति कालो अक्षर भैँसी बराबर हो । तर यसो बुझ्दा तपाईंलाई फण्डिङकै कुरा गरेको हो म्याम ।” बल्ल बुझेँ कुनै पनि कार्यक्रममा प्रमुख अतिथिमा निम्त्याउनुको खास अर्थ ।
मेरो भाषणको पालो आयो । भाषणको अन्त्यमा आफूसित होस् नहोस् सामान्य भए पनि फण्डिङको कुरा गर्नैपर्यो । नत्र प्रमुख अतिथिको इज्जत नै कहाँ रह्यो र ? प्रमुख अतिथिको इज्जत, प्रेष्टिज राख्नलाई पनि मैले गर्व घोषणा गरेँ, यस संस्थाले गत केही वर्षदेखि राम्रो काम गर्दै आइरहेको म देखिरहेकी छु । सम्पूणर् सदस्यवर्गलाई धन्यवाद । यस संस्थाको नयाँ भवनको निर्माणको लागि म मेरो तर्फबाट दस लाख रुपियाँको चेक प्रदान गर्न चाहन्छु । म क्यास लिएर हिँडदिनँ… र संस्थाको नाममा यहाँ चेक प्रदान गरिरहछु । भविष्यमा पनि म तपाईंहरूसित छु… र तपाईंहरूलाई सहयोग गर्न तयार छु ।
यति बोलेकी मात्र के थिएँ… आकाशै छेँड्ला जस्तो गरी थपडीको गडगडाहटले म आफै छक्कै परेँ । साइँ साइँ र सुइँ सुइँ, सिटीको आवाजले मञ्च निकै थर्कियो । सचिव महोदयलाई बोलाएर चेक प्रदान गरेँ… फोटो खिँच्नेहरूको ताँती देखेर अझै चार-पाँचवटा चेक प्रदान गर्नु मन लाग्यो । तर डर लागिरह्यो । मैले प्रदान गरेकी चेक क्लियर हुने हो वा बाउन्स हुने हो । यो चौकीपावरमा बसेपछि ढाँट्नु पनि कहाँबाट आउँदो रहेछ रहेछ । चौकीपावरमा बसी बसी थेत्तर भइसकेका हाम्रा पूर्व सिनियरहरूले ढाँट्नुमा ट्रेनिङ प्रदान गरेकै हो । मैले त्यही रणनीति प्रयोग गरेँ ।
हिजोआज नाता-नातिनीको न्वारानमा पनि नाम राख्न बाजे होइन मलाई नै बोलाउन थालेका छन् गाउँ घरमा । यतिको उमेरसम्म केटो नपाएर बूढी कन्ये भई बसेकी म आजकल चौकीपावरले होला सय जना सेकेने भालेहरूलाई मेरो पछि…पछि हिँडाउँन थालेकी छु ।
म पहिला बेरोजगार छँदा एक छाक जाउलो खानलाई बिहान चाँढै उठी जेठा मामाकहाँ घाँस काट्न जान्थेँ । त्यति नगरे ता पेटमा पटुका बाँधेर बस्नुपर्थ्यो । जाउलो जुर्दैन कि भनेर टाइममा नै मामाकहाँ पुग्थेँ । कसैले कुनै कार्यक्रममा बोलाएका छन् भने पनि आज एक छाक खान पाइन्छ भन्ठानेर बिहान सखारै कार्यक्रम स्थानमा पुग्ने मान्छे म । तर आजभोलि भने, यो पावरवाल चौकीमा बसेपछि समयको महत्त्वै नहुने रहेछ । कुनै ठाउँमा बिहान नौ बजी बोलाइएको छ बने आ… विस्तारी जान्छु है.. म नगई कार्यक्रम नै शुरु गर्दैनन् आयोजकवर्गले भन्ने अहम् मभित्र थुप्रिएको छ ।
साँच्चै, चौकीपावर चैँ मैले मानेँ तर मलाई अर्को सोंचले सताइरहेको छ । यो पाँच वर्ष त म चौकीमा छु तर अझै पाँच साल यो चौकॉपावरमा बस्न पाएँ कति मज्जा आउनेथ्यो होला ! तर त्यसको लागि त मैले केही गर्नैपर्छ । गाउँ घरका लागि भनेर खैराते ढोलेहरूलाई लिएर एकदिन गाउँमा मिटिङ डाकेँ । गाउँ घरका बूढा पाका ठूला बडा वृद्ध भत्ता, बिहे नगर्ने बूढीकन्येहरूको बूढी कन्ये भत्ताको व्यवस्था गर्नाका साथै घर-घरमा पानीको व्यवस्था गरिदिनेछु भनी मैले माथ्लो तहमा बैठक गरिसकेर सो अनुमोदन समेत भइसकेको छ भनी बोक्रे आश्वासन दिन थालेँ । आजदेखि नै सबैको आधार कार्ड ब्याङ्क एकाउण्ट नम्बर मेरोमा जम्मा गरिदिनु भनी निवदेन समेत गरेँ । गाउँलेहरू सबै खुसी भए । यसपालीको पाँच वर्षमा अहिलेसम्म गर्न नसकेका कामहरू अनि जति गर्न सक्छु गरेरै जान्छु भनी इमोसनल ब्ल्याक मेल गरेँ । यसपालीको पाँच वर्षसम्म चौकीपावरको चुरीफुरी देखाउन भए जति सबै कति के के मेल गरेँ गरेँ नि भनेर साध्य छैन ।
गाउँलेहरू माझ आउँदो चुनावमा पनि मलाई मौका दिनुभयो भने म पक्कै यो गाउँको विकास अझै धेर मात्रामा गर्नेछु भन्दै सोझा सिधा गाउँलेहरूलाई थाङ्नामा सुताउनु खोजेँ । विचारा गाउँलेहरू पनि “हुन्छ हामी तपाईंलाई नै यसपालि पनि जिताउँछौँ” भनी आश्वासन दिए। म पनि मक्खै ।
चुनावको दिन नजिक आयो । चौकीपावरमा आरामले बसेर खैराते ढोलेहरूलाई खटाउँदै ढुक्क भएर बसेँ । चुनाव सकियो । सत्तरी हजारको त मासु बाहेक पनि नब्बे हजारको तीन पानी मात्रै खाए मलाई सघाउँछु मात्र होइन चुनावमा जिताउँछु भन्नेहरूले ।
चुनावको रिजल्ट आयो । रिजल्ट सुनेर म बेहोश भएछु । मेरो चौकीपावर गयो, पैसाको पनि नाश । म पराजित भएँ । अघिसम्म मेरो पछि पछि लाग्ने ढोलेहरू चुनावमा पराजित भए पछि मलाई सान्तवना दिनु त के मेरो छेउमा ढिम्किँदै ढिम्केनन् । गाउँलेहरू धुरिएर मलाई मार्नै आँटेका छन् । किसिम किसिमको भत्ता गरिदिन्छु भनेर आश्वासन दिएको कुरा खै ? भन्नेहरू उस्तै । म छक्क मात्रै होइन अक्क न बक्क परेँ । के जवाफ दिनु विचारा सोझा सिधा गाउँलेहरूलाई । चौकीपावरमा हुञ्जेल इमान इज्जत त थियो कम्तिको पनि यो चौकीपावरको लोभले । अब त्यो पनि रहेन । अब म न त लेबर काम गरेर खान सक्छु न केही गरेर नै । मेरो अहम्, अहङ्कारकै कारणले गाउँ घरमा मुख देखाइ नसक्नु छ । अब मेरो केही उपाय रहेन । मेरो हरिबिजोक भयो । तपाईंहरूलाई पनि कसैले चौकीको लोभमा फसाउँला याद गर्नुहोला । बरू कुल्ली काम गरेर खानुहोस् तर चौकी र चौकीपावरको लोभमा कृपया नफँसिनु होला नत्र आज मेरो जुन हाल छ भोलि तपाईको पनि हुनसक्छ ।
होसियार यो मामुली चौकी र चौकीपावरदेखि ।
०००
खोलाचन्द फाप्री, जलपाईगुडी (भारत)
Subscribe
Login
0 Comments
Oldest