होम सुवेदीअखिल नेपाल साँढेसम्मेलन
नन्दिका कुराले सभा केही शान्त भो र पशुपतिनाथले भासन सकेर लुसुक्क बाहिर लाग्नुभो । त्यही बेला एउटा गाई चटारिएर सभामा पसेको साँढेहरूले थाहा पाएर गाईका पछि लर्को लागेर साँढेहरू हान्निए ।

होम सुवेदी :
गाईका ता जात्रामात्र भएकै हुन् नि भन्दै गाईजात्राको छेक पारेर साँढे र गोरुहरूले अखिले नेपाल साँढेहरूको सम्मेलन गरेका थिए र त्यो सम्मेलन चलिरहेको थियो । पशुपतिनाथ मुख्य अतिथि थिए । सभामा नन्दि सभापति थिए । यी मनुवाहरूले आसनग्रहण गरेझैँ यस सभामा पनि आसनग्रहण निकै लामो समयसम्म चलेको थियो । सभामा मुसो मुजुर हात्ती बाघ उल्लु जस्ता देउताका बाहनहरू यथास्थानमा बसेका थिए ।
अरु अरु पशुहरू सभाको यथास्थानमा थिए । ङारङुर गरिरहेका थिए । सभामा घाँस खानेलाई घाँस मङ्स खानेलाई त्यही र जसले जे खाने हो त्यसको बन्दोबस्त थियो । प्रतिनिधि छनौटको विषयमा सम्मेलनका गोठबाहिर असन्तुष्ट गोरु र साँढेहरूमा घम्साघम्सी परिरहेको थियो । हानाहान थियो । सिँगौरी खेलेर साँढेहरूले सम्मेलन गोठको अलिक बाहिर बुराहाल बनाइसकेका थिए । अलिक कमजोर साँढेहरू अलिक पर बाहिरतिर बसेर छुलछुल मुतिरहेका थिए । केही साँढे लितिक लितिक छेरिरहेका थिए । केही साँढेहरू फुँफूँ गरेर डुक्रिरहेका थिए । हरूवा साँढेहरू अलिक परै थिए । हरूवाहरूवाहरू एक भएर मैदानमा आउने अभ्यास गरिरहेका थिए । हरूवाहरूको मात्र भेला पनि सभाबाहिरतिर हुने छाँट भइरहेको थियो ।
वास्तवमा साँढेहरू देशका विभिन्न क्षेत्रबाट आएका थिए । सम्मेलन गरिने गोठमा साँढेहरू जुधेर धङ्स भइरहको यो अवस्थामा जसो पर्ला भनेर सम्मेलनको उद्घाटन भो । पशुका पति नै भएकोले उद्घाटन गर्न पशुपतिनाथै आउनु भएको थियो । हामी मनुवाहरूका मुख्य अतिथिलाई हतार परेर सुरुमै भासन गर्न दिएर बाहिरतिर मुन्टिने अवसर दिएजस्तै यहाँ पनि पशुपतिनाथलाई हतार भएकोले बेलै नआई भासनको लागि मौका चानस दिइयो । यहाँ पनि हामी मनुवाहरूकै जस्तो उहाँले पनि अलिकति भाषण गरेर उद्घाटन गर्नुभो र भरेको पनि अहिल्यै भन्न थाल्नुभो । उहाँले भन्नुभो हामीले जङ्गलमा धेरै दिन बितायौँ । हुन ता त्यहाँ कसैको केही नियम थिएन जसले जसको जे गर्न मन थियो त्यो सबै त्यहाँ गर्यौँ दुःख पायौँ । पेटका लागि कति कष्ट उठायौँ । मार्नु पर्ने ठाउमा मार्यौँ् । हान्नु पर्ने ठाउमा हान्यौँ । उफ्रनु पर्ने ठाउमा उफ्रियौँ । जङ्गलमा थियौँ यसैले जङ्गली समाजकै अभ्यास भयो । कसैका कोरलीको वास्ता गरिएन जता भेटियो पछारियो लतारियो । सकेसम्म गरियो । कसैको बाली हेरेनौँ कसैको ढुकुटी हेरेनौँ कसैको गोठ हेरेनौँ । यो सब अब पार पाएर हामी अलिक भिन्न अवस्थामा आएका छौँ ।
अब हामी जङ्गलबाट बस्ती र सहरतिर पसेका छौँ । अहिलेलाई जङ्गली जुग सकियो भनम न । परेछ भने फेरि पसौँला । आखिर जङ्गल भनेको त हामीहरूकै त हो नि । अनि जङ्गली भनेका पनि ता हामी नै त हौँ नि । अब हामी अलिक मेलो मिलाएर मात्र गाईहरूमा जाइ लाग्नु पर्छ । पहिले जङ्गलको जस्तो हैन । अलिक जथाभावी गरियो भने यता पसिएको छ समातेर खसी पार्छन् होला । जात्रा नै गाईको मनाइने भएकोले हामीले अलिक सतर्क ता हुनै पर्छ । गाईहरू पनि जमा भए भने हामीले ठाडो पुच्छर लाउने दिन आउन सक्छ । राम्रो गाई देखियो भन्दैमा लर्को लागिहाल्नु पनि भएन । होक्काँ होक्काँ सम्म गर्नुमा केही दोष छैन । चटारियो भन्दैमा गाईका पछि लर्को लागेर गाईलाई धेरै दुःख नदिऊँ अब । होस गर्नै पर्छ नत्र फेरि पनि भन्दैछु खसी पार्लान् है ।
यता पशुपतिनाथको भासन चलिरहेको थियो । त्यो भासणमा जब साँढेलाई खसी पारिने कुरा आयो सभामा गोरुहरू साँकसाँक र सुँकसुँक गर्न थाले । पल्लोछेउबाट सिङ फुक्लिएको साँढे उठेर पुकारा गर्न थाल्यो प्रभो न राम्ररी रामरमिता गर्न पाइयो न यसो मायाप्रीति नै गर्न पाइयो । यी मनुख्खेहरूले लडाएर खसी पारिदिइहाले । जोतिनु छ जोतिनु छ । गाईको अनुहार देखे पनि कुनै अर्थ छैन । न हाम्रा शाखा भए न सन्तान हुन पाए । हामी सुमरेका गोरुहरूको पुनर्व्यवस्था हुन पर्यो प्रभु ।
पूर्वतिरको प्रतिनिधि साँढेले होक्काँ गर्दै भन्यो हामीले चर्न पाउनु पर्छ । चर्ने बारीहरूमा तार जाली लगाएर यी मनुवाहरूले पसिनसक्नु बनाएका छन् । यसको समाधानका लागि उपाय गर्नु परो प्रभो ।
पश्चिमतिरको साँढे होक्काँ गर्दै उभियो र भन्न थाल्यो साँढे भनेको त स्वतन्त्र हुनु परो नि । उता हाम्रातिर ता अलिक मोटाएको देखे कि पारितिर निर्यात गरेर बेचबिखन गरेर कता हो बिफ हो कि केका लागि लान्छन् अरे । धन्न म ता बाँचर आएँ । यसरी हामीहरूको निर्यात र बेचबिखन पनि गर्ने काम पनि बन्द हुन परो प्रभु ।
सभामा पशुपतिनाथले भासन गर्दा गर्दै साँढेहरूका गुनासा गोरुका गुनासा ओइरिन थाले । बिचैमा नन्दिले उठेर भने हुन्छ तपाइँहरूको गुनासो सुनिनेछ । एउटा छानविन समिति गठन गरिनेछ । उसले दिएको प्रतिवेदनका आधारमा उचित व्यवस्था गरिनछ । अहिले सभामा पशुपतिनाथलाई सम्बोधन सक्न दिनुहोला । उहाँलाई हतार छ । गाई जात्राको सभामा पनि उहाँ प्रमुख अतिथि भएकोले जान हतार छ । सुन्नुहुन अनुरोध छ ।
नन्दिका कुराले सभा केही शान्त भो र पशुपतिनाथले भासन सकेर लुसुक्क बाहिर लाग्नुभो । त्यही बेला एउटा गाई चटारिएर सभामा पसेको साँढेहरूले थाहा पाएर गाईका पछि लर्को लागेर साँढेहरू हान्निए । सभाको गोठ रित्तै भयो । नन्दि पनि अब के बसिरहनु मरोस् सभा न सभा भन्दै पशुपतिनाथको मन्दर बाहिर गएर ढसमस्स इज्जत पसारो पारेर बसिरहेका छन् । झन्डै झन्डै मनुवाहरूकै सभाको रुपमा यो सभा पनि सकियो ।
०००
भद्रपुर, झापा
Subscribe
Login
0 Comments
Oldest








































