फित्कौलीद्वारा सम्मानित तथा पुरस्कृत स्रष्टाहरूको संक्षिप्त परिचय
फित्कौली डटकम’द्वारा हरेक वर्ष प्रदान गरिने राष्ट्रिय सम्मान र पुरस्कार अर्पण समारोहमा २०८१ भदौ २२ गते छनोट समितिका संयोजक लक्ष्मण गाम्नागेले प्रस्तुत गर्नुभएको सम्मानित र पुरस्कृत स्रष्टाहरूको लिखित परिचयको लेखोट ।
लक्ष्मण गाम्नागे :
‘फित्कौली डटकम’द्वारा हरेक वर्ष प्रदान गरिने राष्ट्रिय सम्मान र पुरस्कार अर्पण समारोहमा २०८१ भदौ २२ गते छनोट समितिका संयोजक लक्ष्मण गाम्नागेले गर्नुभएको सम्मानित र पुरस्कृत स्रष्टाहरूको लिखित परिचयको लेखोट ।
आज सम्मानित हुन लाग्नुभएका विशिष्ट प्रतिभाहरुका बारेमा मैले सामान्य परिचय प्रस्तुत गर्ने जिम्मेवारी पाएको छु । ६ जना व्यक्तित्वको परिचय ६ मिनेटमा सुनाइसक्नु भन्ने फित्कौलीका हेडसर जुँगेकाजीको आदेशलाई पूणर् पालना गर्दै सकेसम्म १२ मिनेटमा सबैको परिचय फासफुस पार्ने योजना बनाएको छु । एकजनाको भागमा साढेदुई मिनेट छुट्याएको छु । सम्मानित हुन लाग्नुभएका स्रष्टाहरुबीच सानो ठूलो, वरिष्ठ कनिष्ठको लडाई नभएको हुँदा उमेरका आधारमा सबैको प्यारो कान्छो भाइबाट कुरा शुरु हुन्छ । दाजुभाइको यो हुलमा म चाहिँ ठ्याक्कै बिचमा पर्ने रहेछु । ३ जना दाजु ३ जना भाइ । दिदी बहिनीहरुलाई समावेश गर्न नसकिएकोमा हामी खुशी पटक्कै छैनौँ । दिदीबहिनीले अलि पाखुरा सुर्कियुन्, कम्मर कसुन् र दाजुभाइहरुलाई घुर्चाघुर्ची गरेर घुस्रिने कोशिश गरुन् भन्ने कामना पनि गर्दछु ।
१) कान्छो भाइ
२०३४ साल ०९ महिना ०९ गते हरिवन- ९ सर्लाहीमा स्व. भरत बहादुर थापा र माता शान्तिदेवी थापाका छोराको रुपमा जन्मिएका श्री महेश थापा हाल मध्यपुर थिमी न.पा.- २, सानोठिमी, भक्तपुरमा धर्मपत्नी निशा शर्मा र छोरा शास्वतका साथ बस्नुहुन्छ । मेधावी व्यक्तित्वका धनी महेशजीले अर्थशास्त्रमा स्नातकोत्तर तहमा अध्ययनरत रहेका बेला गम्भीर रोगको आक्रमणमा परेपछि अध्ययन पूरा गर्न पाउनुभएन ।
वि.सं. २०६० देखि ‘मोटर न्यूरोन डिजिज’ नामक गम्भीर रोगका कारण पूर्ण अशक्त/अपाङ्गताको अवस्थामा पुग्नुभएका महेश थापालाई हिंड्न, बोल्न, समाउन समस्या भयो । दरिलो आत्मविश्वास र सकारात्मक सोचका धनी महेशजीलाई यस्तो गम्भीर रोगले गाँजे पनि उहाँले हार खानुभएन । आंशिक रुपमा चल्ने दाहिने हातको दुई औंला मात्रको प्रयोगद्वारा ‘अनस्क्रीन किबोर्ड’को सहयोगमा उहाँले साहित्य सिर्जनालाई निरन्तरता दिइरहनुभएको छ ।
२०६८ जेठ ६ गते नागरिक दैनिकमा ‘मृत्युअधिकार आवश्यक’, शीर्षकको निबन्ध उहाँको पहिलो प्रकाशित रचना हो । मूलतः कथा र निबन्धमा कलम चलाउने उहाँ व्यङ्ग्य साहित्यमा एकदमै तिखो र टड्कारो रुपमा देखा पर्नुभएको छ । उहाँका हालसम्म ३ वटा कृतिहरु मरीचिका, नमोनमः र अल्पबिराम प्रकाशित छन् । ती मध्यै हास्यव्यङ्ग्यमा नमोनमः निबन्ध संग्रह रहेको छ । मरीचिका कथासंग्रह महेशजीको सबैभन्दा चर्चित र पुरस्कृत कृति हो । यो कृति २०७५ सालको मदन पुरस्कारको छनोट सुचिमा समेत पर्न सफल भएको थियो । यस कृतिले अनेसास सर्वोत्कृष्ट कथा पुरस्कार, कणर्ाली साहित्य समाज कृति पुरस्कार र कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार प्राप्त गरिसकेको छ । ती बाहेक महेशजी साहित्यिक योगदानका निम्ति अन्य केही पुरस्कारहरुबाट सम्मानित हुनुहुन्छ । विभिन्न साहित्यिक पत्रिकाको सम्पादन समेत गर्नुभएका महेशजीले केही वर्ष हिमाल खबर पत्रिकामा व्यङ्ग्य स्तम्भ पनि लेख्नुभएको थियो । तिनै व्यङ्ग्यहरुको संग्रह नमोनमः रहेको छ । उहाँबाट निकट भविष्यमा व्यङ्ग्य उपन्यास, कथासंग्रह लगायतका कृतिहरु प्रकाशन हुने क्रममा रहेको उहाँले बताउनुभएको छ ।
एउटा प्रखर तर लुकेको पाटो उहाँ एक सिद्धहस्त अन्तरराष्ट्रिय स्तरका बुद्धिचालका खेलाडी पनि हुनुहुन्छ ।
फित्कौली अनलाइनद्वारा प्रदान गरिएको गोविन्द विजया फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय प्रतिभा पुरस्कार २०८१ का लागि श्री महेश थापाजीलाई हार्दिक बधाइ दिँदै उहाँको शीघ्र तथा पूणर् स्वास्थलाभको कामना गर्दछु । धन्यवाद ।
२) अन्तरे भाइ
पिता जगपति चापागाईँ र माता धनमाया चापागाईँलाई हँसाउँदै २०२९ सालमा धर्तीमा प्रकट भाका, उमेर पचास कटेर अलि माथि गाका, लामो समय मास्टरी जागिर खाका, जुगल हिमालमुन्तिर थाङपालधाप सिन्धुपाल्चोकको शीतल र स्वच्छ हावापानी नपचेर यही उपत्यकाको धुलोधुवाँ र भीडमा बसैँ आका श्री देवीप्रसाद चापागाईँ नेपाली हास्यव्यङ्ग्य साहित्यमा जमिसकेका स्रष्टा हुनुहुन्छ । पार्वतीसँग जोडी मिलाएर निरज र निशाका पिता भएका, एमए बिएड पढेका, स्कूल छाडेर अचेलभोलि कलेजतिर कक्षा लिँदै गरेका यस्ता उर्जाशील व्यक्तित्व देवी चापागार्इँले हास्यव्यङ्ग्य लेखनलाई मूल विषय बनाएर दनादन व्यङ्ग्य झटाराहरु हानिरहनुभएको छ । उहाँका चारथान गतिला हास्यव्यङ्ग्यकै कृतिहरु प्रकाशित छन् ।
एउटा व्यङ्ग्य कविता संग्रह बड्कौँला र बाँकी सबै व्यङ्ग्य निबन्ध संग्रहहरु, बुर्कुसी, उपरखुट्टी र कुम्भकणर्को डायरी । ठूला ठूला राजनीतिक विषयबस्तुभन्दा गाउँघरमा विषय र गाउँले भाखामा लेख्ने उहाँको प्रमुख विशेषता छ ।
फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय निबन्ध पुरस्कार २०८१ बाट पुरस्कृत हुनुभएकामा श्री देवीप्रसाद चापागाईँजीलाई हार्दिक बधाई ॥
३) काइँला भाइ
गोरखाको ऐतिहासिक थलो, लिगिलिग पालुङटारमा स्थापित गंगादेवी देवकोटा र रमेशचन्द्र देवकोटाको साझेदारीमा सन्चालित कारखानामा बनेर २०२२ साल भदौ २४ गते विमोचित श्री सुभाषचन्द्र देवकोटा हाल काठमाडौंमा बसोबास गर्दै आउनु भएको छ । प्राकृतिक स्रोत व्यवस्थापनमा स्नातकोत्तर अध्ययन गरी सोही क्षेत्रमा विगत ३० वर्षदेखि कृयाशील रहनुभएको कुरा मलाई फित्कौलीको सुलसुले मार्फत् जानकारी प्राप्त भएको छ । देवकोटा लामो समयदेखि व्यङ्ग्यात्मक भावभूमिका रचना सिर्जना गरिरहनुभएको छ ।
कविता, लघुकथा, लगायत अध्ययन र कर्मक्षेत्रसँग सम्बन्धित लेख रचनाहरु विभिन्न पत्रपत्रिका तथा अनलाइनमा प्रकाशन भइरहेका छन् । उहाँको “ग्रहणतन्त्र” व्यङ्ग्य कवितासंग्रह २०८० मा प्रकाशित भएको छ भने निकै पहिलेदेखि फित्कौली डटकममा हरेक हप्ता जस्तै ताजा र रसिला कसिला व्यङ्ग्य कविता लेखिरहनु भएको छ । भविष्यमा उहाँका थुप्रै व्यङ्ग्य कृतिहरु आउने सम्भावना छ ।
फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय कविता पुरस्कार २०८१ बाट सम्मानित हुन लाग्नुभएका श्री सुभाषचन्द्र देवकोटालाई बधाई तथा हास्यव्यङ्ग्य लेखनको निरन्तरताका लागि हार्दिक शुभकामना ।
४) साइँला दाइ
यमुनादेवी र जीवानन्द पोख्रेलको पार्टनरशिपको परिणामस्वरुप श्री दीनानाथ पोखरेल २०१६ पुस २२ गते सुम्बेक, इलामको माटोमा उत्पत्ति हुनुभएको हो । शिक्षण पेशाबाट अवकाशप्राप्त पोखरेल हाल कमलविनायक, भक्तपुरमा बस्नुहुन्छ ।
फित्कौलीमा नियमित छन्दमा बुढ्यौली तथा व्यङ्ग्य कविता लेखिरहनु भएका पोखरेल २०४४ सालमा अङकुरणमा ‘भाषा केलाई भनिन्छ’ शीर्षकको कविता प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गर्नु भएको हो । उहाँको पहिलो कृति ‘श्रद्धाञ्जली’, खण्डकाव्य २०७६ सालमा प्रकाशित भएको हो । उहाँको माइपोखरी महाकाव्य समेत प्रकाशित भइसकेको छ । केही कृति प्रकाशोन्मुख अवस्थामा रहेका छन् । प्रायः हप्ता नटुटाइ उहाँ बुढ्यौली विषयक कविता र काव्यअंश लेखेर फित्कौलीमा झटारो हानेको हानेकै हुनुहुन्छ । नेपालमा भर्खरभर्खर शुरु भएको बुढ्यौली साहित्यको भँडारमा खजाना हालेको हालेकै हुनुहुन्छ । लेखेर मात्र होइन उहाँ भक्तपुर बुढ्यौली साहित्य समाजको उपाध्यक्ष पदमा रहेर समाज जागरणका लागि पनि काम गरिरहनुभएको छ ।
मुकुन्द मुना फित्कौली राष्ट्रिय बुढ्यौली साहित्य पुरस्कार २०८१ का लागि फित्कौली अनलाइनले अत्यन्त उपयुक्त पात्र छनोट गरेकोमा फित्कौली परिवारलाई धन्यवाद र श्री दीननाथ पोखरेलज्यूलाई हार्दिक बधाइ ज्ञापन गर्दछु ।
५) माइला दाइ
कृष्णमुरारि गौतम उर्फ चट्याङ मास्टरको जन्म २०१० फागुन १४ गते पिता नारायण प्रसाद गौतम र माता भीम कुमारी गौतमको योगदानबाट भएको भन्ने कुराले त्यति ठूलो अर्थ राख्दैन । चट्याङ मास्टरको जन्म तत्कालिन भक्तपुर जिल्ला, झौखेल गाबिस वडा ४, न्यौपाने गाउँमा भएको हो र हाल उहाँ बत्तीसपुतली, काठमाडौँमा बस्नुहुन्छ भनेर नभन्दा पनि खास फरक पर्दैन ।
चाँगुनारायण प्राथमिक स्कूल न्यौपाने गाउँबाट सावाँअक्षर पढ्न शुरु गरेका कृष्णमुरारिले भक्तपुरबाटै प्रवेशिका सकेर रामपुर कृषि क्याम्पसबाट आइएस्सी एजी, पन्जाव कृषि विश्वविद्यालयबाट बिएस्सी एजी, युनिर्भिसटी अफ न्यू इङल्यान्ड आर्मिडेलबाट अर्थशास्त्रमा स्नातकोत्तर, पन्जाव कृषि विद्यालय, हिमान्चल कृषि विश्वविद्यालय, हरियाणा कृषि विश्वविद्यालय, चीनको एशिया प्यासिफिक बायोग्यास रिसर्च सेन्टर छेन्दु, फिलिपिन्सको नेसनल इरिगेसन एडमिनिस्ट्रेसन लगायत अनेकानेक ठाउँबाट लिएका अनेकानेक औपचारिक डिग्रीहरुका बारेमा उहाँले नै बिर्सिसक्नुभयोे होला । हामीले थाहा पाएर पनि के गर्नु ? ट्वाँ पर्नु मात्रै हो ।
२०३४ सालमा रामपुर कृषि क्याम्पसमा सहायक प्राध्यापकबाट जीवनयापनको यात्रा शुरु गरेका चट्याङ मास्टरले सरकारी नोकरीभन्दा पनि स्वतन्त्र तर मुलुककै लागि महत्वपूर्ण योगदान हुने अनेक विशिष्ट क्षेत्रमा सेवा गर्नुभएको छ । देश तथा विदेशमा मूलतः ग्रामीण विकास कार्यक्रमहरुमा विशेषज्ञ, प्रशिक्षक र सल्लाहकार भई सेवा प्रदान गर्नुभएको छ । हास्यव्यङ्ग्य लेखन तथा प्रवर्द्धनका लागि उहाँले गरेको योगदान हामी सबैलाई थाहै छ । आज भने बूढ्यौली संसारमा उहाँले गर्नुभएका कर्महरु, नेपालका सन्दर्भमा यस क्षेत्रमा पुर्याउनुभएको शैक्षिक, साहित्यिक, कानूनी, सम्वैधानिक लगायतका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै फित्कौलीले सम्मान गरेको हुँदा यस क्षेत्रमा श्री कृष्णमुरारि गौतमले गर्नुभएको योगदानको छिपछिपे चर्चा
गरिन्छ ।
कृष्णमुरारिजीका पिताजीलाई बिर्सने रोगले गम्भीर रुपमा सताएको थियो । पिताजीको सेवामा लाग्दालाग्दै उहाँ जेष्ठ नागरिकहरूको पक्षमा काम गर्न थाल्नुभयो । २०६६ सालमा जेरियाट्रिक सेन्टर स्थापना गर्नुभयो । पछि त्यसलाई अलिक मोडेर, नयाँ उद्देश्यहरु जोडेर २०६८ मा एजिङ नेपाल बनाउनुभयो । एजिङ नेपालमा घुँडा धसेर लाग्नुभएका कृष्णमुरारी गौतम आफ्नो अभियानमा निरन्तर सफल हुनुहुन्छ । ज्येठ नागरिकहरूको हकहितका लागि उहाँले गर्दै आउनुभएका कामले राष्ट्रिय अन्तरराष्ट्रिय मान्यता प्राप्त गरेको छ । राज्यले पनि उहाँले अघि सारेका कतिपय नीतिलाई आत्मसात गर्न बाध्य भएको छ ।
ज्येष्ठ नागरिकहरूको पक्षमा उल्लेखनीय काम गरेकै कारण नेपालको परिप्रेक्षमा विश्वासै गर्न नसकिने नगद राशि सहितको युनेस्कोद्वारा प्रदान गरिने The UNESCO King Sejong Literacy Prize २०२० द्वारा उहाँ पुरस्कृत हुनुभएको छ ।
१०० भन्दा बढी देशमा ज्येष्ठ नागरिक विषयमा काम गर्ने संस्था Global Alliance for the Rights of Older Person (GAROP) को निर्वाचित निर्देशक समिति सदस्यको रुपमा काम गर्नुभएको छ । ज्येष्ठ नागरिकका अधिकार विषयमा अस्ट्रेलियाद्वारा आयोजित रास्ट्रिय गोष्ठीमा प्रमुख अतिथिको रुपमा आमन्त्रित भएर भूमिका निर्बाह गर्नुभएको छ । संयुक्त रास्ट्रसङ्घ न्युयोर्कमा प्रमुख बक्ताको रुपमा आमन्त्रित भएर आफ्ना प्रभावशाली विचारहरू प्रस्तुत गर्नुभएको छ । यही विषयमा संयुक्त राष्ट्रसङ्घ, श्रीलंका, थाइल्याण्ड, अस्ट्रेलिया र अमेरिकामा आयोजित विभिन्न क्षेत्रीय र अन्तर्राष्ट्रिय गोष्ठीहरुमा सकृय भूमिका निभाइ यस क्षेत्रप्रतिको गहिरो लगाव र समर्पण देखाउनुभएको छ । ज्येष्ठ नागरिक नामक नेपालको पहिलो बूढ्यौली पत्रिकाको उहाँ सम्पादक हुनुहुन्छ । नेपालमा बुढ्यौली साहित्यलाई औपचारिक रुपमा घोषणा गर्ने उहाँ यसको संस्थापक र मूल अभियन्ता हुनुहुन्छ । उहाँकै प्रेरणा र सहयोगमा मुलुकका विभिन्न ठाउँमा बूढ्यौली साहित्यका लागि संघसंस्थाहरू जन्मिएका छन् । धेरै लेखकहरु बुढ्यौली साहित्यमा कलम चलाउन थालेका छन् । उहाँका ज्येष्ठ नागरिकका विविध विषयमा आधा दर्जन पुस्तक प्रकाशित भएका छन् । राष्ट्रका लागि कृष्णमुरारि गौतमको यो योगदान सबैभन्दा उज्यालो, सबैभन्दा महत्वपूणर् र अविस्मरणीय हुनेछ भन्ने मलाई लाग्छ । मुलुक क्रमशः पाका नागरिकहरुको बाहुल्य भएको देशमा परिणत हुँदैछ । राज्यले पनि यस क्षेत्रमा विशेष ध्यान पुर्याउनु पर्छ ।
चट्याङ मास्टर र कृष्णमुरारि गौतम दुवैले नेपालभित्र रहेका हास्यव्यङ्ग्य र बूढ्यौली दुवै क्षेत्रमा पाउनु पर्ने जति पुरस्कार पाइसक्नुभएको छ । हास्यव्यङ्ग्य साहित्यका लागि भैरव पुरस्कारदेखि बासुदेव लुइँटेल पुरस्कारसम्म । बिचका पुरस्कारहरुको नाम लिन समय छैन । बूढ्यौली कर्मतर्फ भद्रा घले ज्येष्ठ नागरिक सेवा सम्मान, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट ‘ज्येष्ठ नागरिक वर्ष पुरुष २०८०’ । अन्य दुईसय भन्दा बढी संघ संस्था तथा स्थानिय स्तरमा सम्मान तथा पुरस्कार प्राप्त भएका छन् । अन्तरराष्ट्रिय पुरस्कारका बारे माथि उल्लेख भइसक्यो । अब गएको एक वर्षको खतरनाक कुरा बताउँछु ।
मैले चट्याङ मास्टरलाई सरको लेटेस्ट बायोडाटा पठाइदिनु न भनेर अनुरोध गर्दा उहाँले दिएको जवाफ जस्ताको तस्तैः
‘गए बर्ष भदौमा लुइटेल पुरस्कार पछि लगातार १० महिना सम्म प्रत्येक महिना एउटा पुरस्कारको दरले बाढी नै आयो । गएको १३ महिनामा १० वटा फ्रेम पाएको छु, आसार र साउन महिना छुटेको थियो अब भदौ २२ गते जुँगेकाजीले लखरठ्याक पार्ने अरे । म पुरस्कार/सम्मान लिन दौडनु कि बायोडाटा बनाउन तिर लाग्नु ? फुर्सदै छैन !’
आजको बुढ्यौली विशेष सम्मान २०८१ समेत ११ वटा सबै बुढ्यौली संसारमा उहाँले दिनुभएको योगदानका लागि थिए । १३ महिनामा १२ पुरस्कार भए, अझै एउटा बाँकी रह्यो । त्यो पनि १,२ दिनमा प्राप्त भएको समाचार सुन्न पाइयोस् । श्री कृष्णमुरारि गौतम चट्याङ मास्टरलाई हार्दिक बधाई ।
६) जेठा दाइ
२००९ साल चैत ११ गते पिता तोयानाथ रिजाल र माता अणकुमारी रिजालको सफल उद्यममार्फत मकवानपुर गढीको माटोमा पहिलोपटक देखा परेका श्री रामचन्द्र रिजाल उर्फ आरसीका बारेमा मैले ५-७ वर्ष अघि नै एक संक्षिप्त रामायण लेखिसकेको छु । अहिले समय छैन । तसर्थ म एकदमै छोटकरीमा उहाँको टापटिपे परिचय प्रस्तुत गर्छु ।
हेटौँडालाई कर्मथलो बनाएर त्यतै सरकारी जागिरमा जुग बिताएर हाल उहाँ पेन्सन उग्राएर बसिरहनुभएको भए पनि हुने हो, तर उहाँलाई एकछिन बस्ने फुर्सद छैन, कतिखेर उग्राउनु ? हेटौँडालाई केन्द्र बनाएर नेपाली हास्यव्यङ्ग्य साहित्यमा उहाँले गरेको परिश्रम र त्यसका उपलव्धिका बारेमा जति चर्चा र प्रशंसा गरे पनि कमै हुन्छ भन्ने मलाई लाग्छ ।
आफ्नै आँगन खर्लप्पै काटेर सिस्नुपानी मकवानपुर र साहित्यसंगमलाई दान गर्ने दानवीर आरसीले त्यहाँ दुवै संस्थाको स्वामित्वमा रहने गरी भवन समेत बनाइदिनुभएको छ । मकवानपुरका विभिन्न स्थानमा पाँचजना दिवंगत वरिष्ठ स्रष्टाहरुमा प्रतिमा स्थापना गराउनुभएको छ । भैरव अर्याल, गोपालप्रसाद रिमाल, पारिजात, आदिकवि भानुभक्त आचार्य र महाकवि लक्ष्मीप्रसाद देवकोटा ।
यी स्रष्टाका नाममा अक्षयकोष स्थापना गरी हरेक वर्ष विभिन्न कार्यक्रम आयोजना गरी पुरस्कार प्रदान गर्ने व्यवस्था मिलाउनुभएको छ । आरसी रिजालद्वारा आफ्नै नाममा सिस्नुपानी हेटौंडामा हास्यव्यड्रयका प्रतिभालाई प्रदान गर्ने गरी पुरस्कार स्थापना गर्नुभएको छ । मातापिताका नाममा बुढ्यौली साहित्य पुरस्कार स्थापना गर्नुभएको छ । त्यसैगरी कवि युद्धप्रसाद मिश्रका नाममा स्थापित पुरस्कारले पनि केही स्रष्टाहरु पुरस्कृत भइसकेका छन् । हेटौंडामा उहाँकै नेतृत्व र पहलमा दिवंगत साहित्यकारहरु तुल्सी थापा र गणेशकुमार पौडेलको स्मृति ग्रन्थ प्रकाशन र उहाँहरुका नाममा पुरस्कार स्थापना पनि गराइसक्नुभएको छ । जति पनि प्रतिमा बनेका छन्, जति पनि पुरस्कार स्थापना भएका छन्, ती सबै विषय वा प्रशंगमा हेटौँडामा कार्यक्रमहरु पनि भइरहन्छन् । ती सबै कार्यक्रममा आरसीजीको महत्वपूर्ण भूमिका रहेकै हुन्छ । हेटौँडालाई साहित्यको उर्वर थलो बनाउनमा उहाँको भूमिका अवीस्मरणीय, अतुलनीय छ ।
लिन भन्दा दिनमै रमाउने आरसीजी आफैंँ पनि दर्जन बढी पुरस्कार र सम्मानले सम्मानित भइसक्नुभएको छ । आज थपिएको जोड्नै बाँकी छ ।
गएको वर्षदेखि यता काठमाण्डौ छिर्नुभएका आरसीले यता आएर पनि उपद्रो गर्न थालिसक्नुभएको छ । हास्यव्यङ्ग्यका हस्ती केशवराज पिँडालीको नाममा नेपालमै पहिलोपटक उहाँले पुरस्कार स्थापना गर्नुभएको छ । अझै के के चकचक उहाँबाट हुने हो, हामी रमिता हेरिरहेका छौँ ।
पाँचवटा घच्ची घच्चीका हास्यव्यङ्यका कृति प्रकाशन गरिसक्नुभएका आरसी रिजाल, अनुवाद र साहित्यिक पत्रकारितामा पनि सकृय हुनुहुन्छ । उहाँले यो क्षेत्रमा नगरेको काम चाहिँ के होला भनेर खोज्नुपर्ने भएको छ ।
खरानीभित्रको आगो एउटा गैर हास्यव्यङ्ग्य कृति बाहेक कुकुरको पुच्छर, कण्ठलँगौटी, हाकिमको खप्पर, फु फु फु र को वरिष्ठ उहाँका ५ हाव्य कृति हुन् । भोलारामको आत्मा हिन्दी र उर्दु हास्यव्यङ्ग्यको नेपाली अनुवाद कृति हो । विगत चार वर्षदेखि बुढ्यौली साहित्यको प्रवर्द्धनमा पनि उत्तिकै सकृयताका साथ लागिपर्नुभएको छ । अन्तमा एउटा रहस्य खोल्छु ।
वासुदेब शर्मा लुइँटेल अर्थात भूतका भिनाजुले आफू भूतको भिनाजु भनेर त भन्नुभयो तर सालो कोहो भनेर हामीलाई नचिनाइकन जानुभयो । अहिले पो थाहा भयो त्यो भूत सालो त आरसी रिजाल पो हुनुहुँदो रहेछ । कामको भूत चढेपछि चढ्यो चढ्यो । कसैले केहीले रोक्न थाम्न नसक्ने । हास्यव्यङ्ग्य साहित्यको प्रवद्र्धनमा यसरी भूतजस्तो मरिमेटेर लाग्ने भूतका भिनाजुपछि यिनै भूतका साला हुन् भन्दा कसैले होइन भन्ने ठाउँ छैन ।
फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान २०८१ को भारीले उहाँलाई अझै भूतल्याओस् । हार्दिक शुभकामना ।
मेरो साढे १२ मिनेट यहीँ सकिन्छ । भूलचुक लिनेदिने । धन्यवाद ।
०००
Subscribe
Login
0 Comments
Oldest