साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बर्कतको हर्कत

यसरी भरिएको हावाबाट प्राप्त हुने ऊर्जाले आउँदा दिनका लागि प्रशासनिक दक्षतामा सुधार र नयाँ उपलब्धि समेतको प्रक्षेपण गर्न सकिन्छ । याने सहस्राब्दीको लक्ष्य भेदन तर्फ कुचमार गर्न सकिन्छ भन्दा के अर्घेल्याइँ होला त ?

Nepal Telecom ad

नरेन्द्रराज पौडेल :

दिन-उमेरले बर्कत बढ्दै गएपछि नानाभाँती हर्कत देखाउनु नौलो कुरा रहेनछ । पाडो बढेपछि राँगो बन्छ र थोरेको बगाल कज्याउँछ । चल्ला बढेपछि भाले हुन्छ र पोथी सुमर्छ । बहर फस्टाएपछि साँढे बनेर सुइठाउँछ र प्रतिद्वन्द्वीका नाउँमा सिङ्गौरी खेल्छ अनि तोरीबारी रङ्गेल्छ । छाउरो बढेपछि डाङ्गो बन्छ अनि गल्ली, सडक जथाभावी भुक्न, उफ्रिन र टोक्नसमेत छुट पाउँछ । त्यसैले होला हिटलर बाजेले आफ्ना प्रिय जनरलहरूलाई भन्थे रे, उच्च मनायोगले आत्मबल बढाऊ, शत्रु लडाऊ र धर्तीमाथि एकाधिकारी र्सवसत्तावादी दरो पाउ जमाऊ । कहिल्यै खुट्टा नकमाऊ । बस् हाम्रै कुर्सी  सिद्धान्त नेताहरू पनि बाजेभन्दा कम कहाँ छन् र – आफ्नो हालहैकम चल्दासम्म देश लोकतन्त्र र गणतन्त्रमय बन्छ अलि तलबितल परे प्रतिगमन उर्लिएर छोप्नै खोजेको भान पर्छ ।

कुनै दिन कुर्सी वियोगको विरह बेथामा बेथित भएर पञ्च शोक सागरमा पौडी खेल्न पुगेका थिए । कुनै दिन संसद्, सदन र आफ्नो पदै धराशयी बन्दा सत्ता र भत्ता वियोगको शवयात्रामा सामेल भएर चिताछेउ भुटभुटिन्थे । अनि, कुर्सी पाउने शुभसङ्केत पाए जता पायो त्यतै गुटमुटिन्थे । लेस नायकसम्म हुन र बन्न समेत धौधौ पर्ने खलनायकहरू गर्दै जाँदा आज देशका महानायक बन्न पुगेछन् । देशलाई डोर्‍याउने बागडोर सम्हाल्न नसकेपछि आफ्नो नामर्दपन छोप्न लोकतन्त्रका भजन गायक बनेर डमरु-झ्याम्टा र मादल-ट्याम्का भिरेर बाँदरनाचको पूर्वाभ्यास गर्दैछन् । नढाँटी भन्दा अरू सबैखाले बर्कतभन्दा लोकन्ते बर्कत मापाको हुँदोरहेछ । कहिले ख्वामितको पाऊ कज्याएर, कहिले जनताकै नाउँ भजाएर सोझासीधालाई थर्काउने कला विकसित हुने भएकाले यसलाई थर्काऊ प्रणाली पनि भन्न सकिन्छ । अर्थात्, सधैँ जनता थर्काएर सत्ताको मधुरस चाँटी रहन पल्किएका खलनायक नै प्रकाण्ड नायक बनाइदिँदो रहेछ लोकन्ते बर्कतले । लोकन्ते बर्कत भन्दा पक्कै तपाईं अलमलिन सक्नुहुन्छ । त्यसैले स्पष्ट पार्नु वेश होला ।

गाउँघरको पुरानो चलनचल्ती अनुसार केही लिनखान पाउने आशामा कसैको पछि लाग्नुलाई लोकन्तो लाग्नु भनिन्छ । बेहुलाको लोकन्तो लागेपछि बिहेभोज दाब्न पाइन्छ । जन्तीको रमितामा रमाउँदै जग्गेको आगो ताप्न पाइन्छ । ठूलाबडाको लोकन्तो लागेपछि केही दिनका लागि भए पनि अन्नपानीको जोहो हुन सक्छ । अन्न नभए पानीसम्म होला । पानी पनि नभए अचेलको चलनचल्ती अनुुसार दुरुम पानीसम्म त अवश्य हुन सक्छ । अनि, मालिककै बर्कत पघारेर जुक्ति खियाउ“दा अर्काको खाएको ऋण मिनाहा हुन सक्छ । नखाएको ऋण हात लगाउन सकिन्छ । लिएको सापट फच्चे हुन सक्छ । नलिएको सापट हात पर्न सक्छ । हात परेको सापट झापड देखाएपछि ढिसमिस हुन सक्छ । साउँ नभए पनि ब्याजसम्म त कहीँ नजा । ठालूको लोकन्तो लागेपछि आङ खाली रहँदैन । जडाउरी नै भए पनि लुगाफाटोले हर छोपिन सक्छ । मालिक खुसी पार्ने सर्वोत्तम उपाय नै लोकन्ते प्रथा हो । अझ अन्तर्राष्ट्रिय मालिक परे त लोकन्तो लाग्दा भूमण्डलीकरण भएर अझै भाग्य चम्किन सक्छ । विदेशी ऋणमा तयार हुने योजना-परयिोजनाहरूमा दाता, दलाल र ठेकदाररूपी मालिकको लोकन्तो बनेर हात फैलाउन सकिन्छ ।

त्यसपछि अरूलाई दिउँसै तारा र तोरीका फूल देखाएर एक्लै गोही मुख ग्वाम्मै गाड्न सकिन्छ । रङ्गनाथ र जङ्गबहादुर हुँदै आजसम्म यस देशमा जति सरकार आए, जनताका मात्र आएका रहेछन् । अहिले पनि जनताकै सरकारले देश हाँकिरहेको हुँदा विकास निर्माणदेखि सुरक्षासम्मको त्यति दरकार परेन । बैठक, मिटिङ्, सभा, सहमति र असहमति गरेर जिब्राे फट्कार्दै सुधा प्राणीहरूको दिमाग चाट्न सकिन्छ । दिनरात भाषणको वर्षा गरेर जनताको मन भिजाउन सकिन्छ । मिलेर काम गर्नभन्दा अर्कोमाथि छलछाम गर्न मजा आउँछ । आफ्नो कमजोरी उधार्नभन्दा अर्कोमाथि दोष थुपार्न रमाइलो हुन्छ । विकास गर्नु भनेको जनताको पसिना पघार्नु हो र उनीहरूकै दानापानीमा पञ्जा फेर्दै ढोक्से भकारी रित्याएर भोज गर्नु हो । जनमतको जामा भिरेर चुनावदेखि सधैँ टाढा सर्नु हो अनि आफ्नोचाहिँ एकोतार पेट भर्नु हो । देश विकास नभए हुँदैन । यसबारे बुद्धिजीवीले आत्तिएर ओठ टोक्नुपर्छ । अर्थशास्त्रीले बहुलाएर ढोल बोक्नु पर्छ । विश्व ब्याङ्कले मौलाएर पहल गर्नुपर्छ । एडीबी, आईएमएफले उधारो मनले डलरका बिटा ल्याएर कोच्नु पर्छ । घाँटीभित्र नपसे लौराले घोच्नु पर्छ । नत्र किन खडा भए त ती संस्थाहरू – यक्ष प्रश्न खडा हुन आउँछ ।

हाम्रोजस्तो विकासोन्मुख देशमा नेता भनेको नेतृत्व गर्ने हो । वक्तृत्व फेर्ने हो । त्यतिले नपुगे विद्यार्थी उचाल्ने सडक तताउने अभाव र कृत्रिम महङ्गी खडा गरेर उपभोक्तालाई सताउने काम थप्न सकिन्छ । साँच्ची भन्ने हो भने उसको कार्यक्षेत्र नै गाडीमा दगुर्ने र विपक्षीलाई भकुर्नु पर्नेमा निर्धारति हुनु पर्छ । देश चलाउने ठेक्का लिएपछि पनि घर जलाउने गतिविधि कायमै राख्न पाउनु पर्छ । प्रतिपक्षीका अगाडि पाखुरा सुर्किँदै बाँदरघुर्की देखाएर दौँतरीलाई दच्काउने काममा कतैबाट विरोध/अवरोध हाल्न पाइन्न । जनतालाई भागवत भक्तिमा विभोर बनाएर नचाउनुपर्छ । कृष्णका उपदेशमा अभ्यस्त बनाउनुपर्छ । ‘कर्म गर फलको आशा नगर’ भनेर गिट्टी कुट्ने मजदुरलाई गदगद बनाइदिनुपर्छ । धान चुट्ने खेतालाहरूलाई धान्याचल यज्ञ गरेर थुप्रोमाथि उभ्याइदिनु पर्छ । रङ पोत्ने कुल्लीहरूलाई रङ्गीचङ्गी आश्वासनले रङ्गाइदिनुपर्छ ।

हलो जोत्ने हलीलाई हल्लुडभन्दा हरिया सपना बाँडेर आशाको घाँस छर्दिनुपर्छ । पहाड-तराईका गाउँबासीलाई हावापानीमै जोड गरेर अन्नतिर बल नगर्ने प्रवचन दिनु पर्छ । राजधानीका सुकुम्बासीले धोबी खोला, हनुमन्ते र बाग्मतीका बगरमा खाली ठाउँ पहिल्याएर बसोवास ठड्याए हुन्छ । राजधानीवासीले पानी खानुपरे गाग्राघै“टा बोकेर त्रिशूली, इन्द्रावती जता मन लाग्छ, गए हुन्छ । हिमालले पानी पठाएकै छ । मेलम्ची आएन भनेर माथि बस्नेलाई छास्न पाइन्न । ठूला पार्टीहरूका सम्झौता, सहमति, सङ्कल्पजस्ता बाचा-बन्धनबारे यो भएन, त्यो भएन भनेर नाटीकुटी गर्न पाइन्न । भाकल हो भाक्न सकिन्छ तर पूरा गर्नैपर्छ भन्ने नियम-कानुन कही“ छैन । यो कुरा र्सवसाधारणले बुझ्नु पर्छ याने जनतारूपी पोथीले पोथी नै भएर धूलो खोस्रि्रदै ओथारा बस्नु पर्छ । भाले बनेर बास्न पाइन्न ।

भुइँफुट्टा पाराले आफैँ टुसाएको हाम्रो लोकन्ते सदन र सरकार पनि नानाभाँती हर्कत देखाउन कम छैन । दिनदिनै तेल र नुनसँगै आफ्नै भाउ बढाउन र कुर्सीमा टाँस्सिइरहने दाउ लडाउन खप्पीस बन्दै आएको छ । कहिले वनकालीको बाँदरको लोकन्तो लागेर यात्रीको नरविल चोर्दै र पुर्पुरो फोर्दै हिँड्छ । कहिले कुर्सी मात लागेर छेउटुप्पाको टुङ्गो नभएको गणतन्त्रे चिरबिरीमा चराझैँ बास्छ । कहिले रक्तचन्दनका ठूटामूढा टोक्तै हिँड्छ । कहिले चरेस-गाँजा धोकेर खोक्तै हिँड्छ । सहरी सफाइको विदेशी बजेट आउँदा आउँदै टप्काउँछ अनि फोहोरका डङ्गुरमा सूँडले उधिनेर विदेशीले फालेको हड्डी टपरी पनि चप्काउँछ । चौबीसै घन्टा सूँड सोझ्याएर खानेभन्दा केही जान्दैन । पेट बढाउँदै आएको छ । थरी जिम्मुवालले मन्ढी ओडेर भित्रभित्रै सेती, कोसी र मेलम्चीजस्ता नदीनाला दुहुने र जेट, हेलिकप्टरसँगै कुर्लुक्क निल्ने चाँजो मिलाउँदै आएको छ । अहिलेसम्म एकएक गरेर कैयौँ खाइसक्यो, अब भने दुइ-चार, दस-आठ जति भेटे पनि एकैचोटि खाने दाब्ने दाउ हुँदैछ । ऋण पायो भने पाँचतारे होटलमा महिनौँसम्म रइस पाराको भोज चलाउँछ र घिच्ताघिच्दै अपच्तोसँग थैला भरेर दिउँसै गनाउँछ । विदेशीले सुमसुम्याउन छाड्यो भने उतिबेरै टायर बालेर विरोध जनाउँछ र ख्याउख्याउ गरेर सत्तोसराप भुकिदिन्छ ।

अचेल लोकन्ते सरकार बलियो मात्र होइन, रणवीर बन्दै आएको छ । त्यसैले प्रत्येक दिन यसले दरादरा निर्णय गर्ने गरेको छ । यिनै र यस्तै दरा निर्णयहरू बज्रचट्टान बनेर प्रगतिपथमा युगान्तकारी पदचिह्न थप्न थालेका छन् । खाली भएको वर्षदिन नपुग्दै सचिव नियुक्ति गर्छ र एउटै कुर्सी तीन-तीन जना थुपारिदिन्छ । मानौँ, सचिव भनेको मलको थैला हो, जसलाई परी आउँदा एउटै कुर्सीमाथि खात लगाएर या एउटै बेन्चमाथि ताँती लगाएर थन्क्याउन सकिन्छ । अनि, बाली सपार्नका लागि बेलामौकामा प्रयोग गर्न सकिन्छ ।

केही दिनअघि मात्रै रणवीरेले अर्को युगान्तकारी निर्णण गरेको छ, प्रत्येक कर्मचारीले ‘म जनताको सेवक हुँ’ भन्ने घाँडो घाँटीमा झुन्ड्याउनुपर्ने । यति ठूलो सरकारी निर्णय संसारमा विरलै हुन्छ होला । भूत, भविष्यसमेतलाई प्रभावित पार्ने यो निर्णयअनुसार आजसम्म जति कर्मचारी नामक प्राणीहरू काममा नियुक्त थिए, ती सबै जनताका सेवक थिएनन् । तिनका काम, कर्तव्यसम्बन्धी जति निर्णा निर्देशनहरू थिए, ती सबै लाटीको धोतीभन्दा सायद केही थिएनन् । सरकारको कार्यविभाजन केन्द्र, क्षेत्र, तह, डेस्कजस्ता ठाउँठहर निर्धारण गरेर त्यहाँ काम गर्ने कर्मचारीको निजामती, शैक्षिक, कानुनी, प्राविधिक आदि अनेक प्रकारका सेवा श्रेणीको कानुनी व्यवस्था भन्नु बकमफुसे तामझाम मात्रै थियो र तलबरूपी घाँस हाल्ने टाट्नु मात्रै थियो ।

नियुक्ति लिँदाका शपथका कुरा सम्झिएर कर्मचारीले काम-कारबाहीमा झन्झट बेहोर्नु आवश्यक थिएन । अब आएर तिनै राष्ट्रसेवकहरूले जनताका अगाडि कान समातेर म जनताको सेवक हुँ भन्ने घाँडो घाँटीमा झुन्ड्याउनु पर्दा परेन फसाद – साधारण लगामभन्दा कसिलो यस बाध्यताले कर्मचारी कजिने कुरामा कसैले अविश्वास गर्ने त ठाउँ नै रहेन । लोकन्ते सरकारको नयाँ आविष्कारले कर्मचारीको कर्तव्य चम्किने र सट्टाबजारमा भाउ ह्वात्तै बढ्ने हुँदा अँध्यारोमा छिर्के दाउ घटेको र हाकाहाकी पार्टी झिँगा हम्किने सेवक रामहरूको लुड्याउने दाउ र तिनैको मान, भाउ र प्रतिष्ठा भने गोबरको गन्धे झारझैँ हलक्कै बढेको देख्न सकिन्छ ।

हुन त चितवनका हात्तीकेन्द्रदेखि न्युजिल्यान्डका भेडाफार्मसम्म घुम्दै हेर्दा खास प्रकारका जन्तु-जनावरलाई चिनाउन पनि घाँटीमा ट्याग भिराउने गरिन्छ । कोसी टप्पूका अर्ना, भैँसी र भरतपुरका घोडा प्रजनन केन्द्र हुँदै चिडियाखानाका पशुपक्षी, पान्डा, गोहीर्फमसम्मका जन्तु-जनावरलाई लिङ्ग, जात, उमेर र विशेषता जनाउने विशेष प्रकारका ट्याग लगाउने प्रथा विकेन्द्रित भएको छ । यसै मेसोमा नेपाली राष्ट्र सेवक चिनाउन भनेर दौरा-सुरुवालमाथि कोटको काँठी कसेर मालिकलाई बोक्दै बुर्कुसी मार्ने प्रचलन पहिलेदेखि चलिआएको हो र अहिले पनि ठाउँ ठहर हेरी कायमै छ । त्यस्तै नाम, थर, पद, कार्यालय किटानी भएको परचियपत्र नाउको अर्को घाँडो कर्मचारीको घाँटीमा झुन्डिने गरेको पनि निकै भइसकेको छ । तर, विज्ञानप्रविधिको हाइटेक यान्त्रिक सञ्जाल प्रवेश गरसिकेको आजको नेपाली ब्युरोक्यार्सीका लागि उसको औकात आँक्न त्यतिले मात्रै पुग्ने कुरै भएन । त्यसमाथि हालको लोकन्ते बहादुर सरकारले अरू काममा जेजस्तो भए पनि प्रशासन सुधारका क्षेत्रमा आफूलाई सक्षम सावित गर्न दलीय सहमतिको काम्लो बिच्छ्याएर पाहारमा उङ्दै नयाँ पौरख प्रदर्शन गर्नका लागि कर्मचारीमाथि कुनै न कुनै रूपमा जाइलाग्नु अत्युत्तम उपाय ठानेको हुनुपर्छ ।

त्यसैले राज्यसञ्चालनको अभिभारा लिने राष्ट्रसेवकको कार्यदक्षता चारीत्रिक शुद्धता र व्यावसायिक कुशलताजस्ता बहुआयामिक विविधताको परचिय दिने संयन्त्रका रूपमा रणवीरेले आविष्कार गरेको उपाधि आँधीबेहरी ल्याउने खालकै मान्नु पर्छ । ‘म जनताको सेवक हुँ’ भन्ने थप घाँडोचाहिँ घाँटीको सट्टा कानको जर्बुटामा ट्याग बनाएर स्टिच गर्ने व्यवस्था मिलाउन सके झन् राम्रो हुने थियो कि – अथवा राष्ट्रसेवाले चिटचिट पसिना काढेका निधार, गाला र हर्थुङ्गमा ‘म जनताको सेवक हुँ’ भन्ने सुनौला शब्दहरू ट्याटु गरििदए लेस्बियन सरकारका क्षमतावान कर्मचारीको यथार्थ चित्र देख्न पाइने थियो । यस्तो महान् कार्यको थालनी संसारमै नौलो प्रस्तुति हुनसक्छ र अनौठा वस्तुहरूको डिक्सनेरी याने गिनिज बुकमा नयाँ विषय थपिन सक्छ । यस्तो व्यवस्थाले राष्ट्रसेवकको ओहदाका साथै कुर्सी शोभा बढ्ने र सेवा मौलाउने मात्र होइन, विदेशी दातृ संस्थाहरू खुसी भएर दान-अनुदान थपिदिँदा अघासुरे पेटमा अघाँउजी बाली भित्रिने सम्भावना पनि उत्तिकै बढ्न सक्छ । ‘जनताको सेवक’ भन्ने खलाँती चलाउँदै मान-सम्मानको हावा भरेर कर्मचारी नाउको वनचरीलाई हृष्टपुष्ट पार्ने अवसरसमेत थपिनेछ । यसरी भरिएको हावाबाट प्राप्त हुने ऊर्जाले आउँदा दिनका लागि प्रशासनिक दक्षतामा सुधार र नयाँ उपलब्धि समेतको प्रक्षेपण गर्न सकिन्छ । याने सहस्राब्दीको लक्ष्य भेदन तर्फ कुचमार गर्न सकिन्छ भन्दा के अर्घेल्याइँ होला त ?

०००
नयाँबानेश्वर, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आन्दोलनका फुरौला !

आन्दोलनका फुरौला !

नरेन्द्रराज पौडेल
मालाको कमाल

मालाको कमाल

नरेन्द्रराज पौडेल
बिर्ता बजार

बिर्ता बजार

नरेन्द्रराज पौडेल
काले र भाले

काले र भाले

नरेन्द्रराज पौडेल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
अथ श्री कोसेली महात्म्यम् !

अथ श्री कोसेली महात्म्यम्...

नरेन्द्रराज पौडेल
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x