नरेन्द्रराज पौडेलबर्कतको हर्कत
यसरी भरिएको हावाबाट प्राप्त हुने ऊर्जाले आउँदा दिनका लागि प्रशासनिक दक्षतामा सुधार र नयाँ उपलब्धि समेतको प्रक्षेपण गर्न सकिन्छ । याने सहस्राब्दीको लक्ष्य भेदन तर्फ कुचमार गर्न सकिन्छ भन्दा के अर्घेल्याइँ होला त ?

नरेन्द्रराज पौडेल :
दिन-उमेरले बर्कत बढ्दै गएपछि नानाभाँती हर्कत देखाउनु नौलो कुरा रहेनछ । पाडो बढेपछि राँगो बन्छ र थोरेको बगाल कज्याउँछ । चल्ला बढेपछि भाले हुन्छ र पोथी सुमर्छ । बहर फस्टाएपछि साँढे बनेर सुइठाउँछ र प्रतिद्वन्द्वीका नाउँमा सिङ्गौरी खेल्छ अनि तोरीबारी रङ्गेल्छ । छाउरो बढेपछि डाङ्गो बन्छ अनि गल्ली, सडक जथाभावी भुक्न, उफ्रिन र टोक्नसमेत छुट पाउँछ । त्यसैले होला हिटलर बाजेले आफ्ना प्रिय जनरलहरूलाई भन्थे रे, उच्च मनायोगले आत्मबल बढाऊ, शत्रु लडाऊ र धर्तीमाथि एकाधिकारी र्सवसत्तावादी दरो पाउ जमाऊ । कहिल्यै खुट्टा नकमाऊ । बस् हाम्रै कुर्सी सिद्धान्त नेताहरू पनि बाजेभन्दा कम कहाँ छन् र – आफ्नो हालहैकम चल्दासम्म देश लोकतन्त्र र गणतन्त्रमय बन्छ अलि तलबितल परे प्रतिगमन उर्लिएर छोप्नै खोजेको भान पर्छ ।
कुनै दिन कुर्सी वियोगको विरह बेथामा बेथित भएर पञ्च शोक सागरमा पौडी खेल्न पुगेका थिए । कुनै दिन संसद्, सदन र आफ्नो पदै धराशयी बन्दा सत्ता र भत्ता वियोगको शवयात्रामा सामेल भएर चिताछेउ भुटभुटिन्थे । अनि, कुर्सी पाउने शुभसङ्केत पाए जता पायो त्यतै गुटमुटिन्थे । लेस नायकसम्म हुन र बन्न समेत धौधौ पर्ने खलनायकहरू गर्दै जाँदा आज देशका महानायक बन्न पुगेछन् । देशलाई डोर्याउने बागडोर सम्हाल्न नसकेपछि आफ्नो नामर्दपन छोप्न लोकतन्त्रका भजन गायक बनेर डमरु-झ्याम्टा र मादल-ट्याम्का भिरेर बाँदरनाचको पूर्वाभ्यास गर्दैछन् । नढाँटी भन्दा अरू सबैखाले बर्कतभन्दा लोकन्ते बर्कत मापाको हुँदोरहेछ । कहिले ख्वामितको पाऊ कज्याएर, कहिले जनताकै नाउँ भजाएर सोझासीधालाई थर्काउने कला विकसित हुने भएकाले यसलाई थर्काऊ प्रणाली पनि भन्न सकिन्छ । अर्थात्, सधैँ जनता थर्काएर सत्ताको मधुरस चाँटी रहन पल्किएका खलनायक नै प्रकाण्ड नायक बनाइदिँदो रहेछ लोकन्ते बर्कतले । लोकन्ते बर्कत भन्दा पक्कै तपाईं अलमलिन सक्नुहुन्छ । त्यसैले स्पष्ट पार्नु वेश होला ।
गाउँघरको पुरानो चलनचल्ती अनुसार केही लिनखान पाउने आशामा कसैको पछि लाग्नुलाई लोकन्तो लाग्नु भनिन्छ । बेहुलाको लोकन्तो लागेपछि बिहेभोज दाब्न पाइन्छ । जन्तीको रमितामा रमाउँदै जग्गेको आगो ताप्न पाइन्छ । ठूलाबडाको लोकन्तो लागेपछि केही दिनका लागि भए पनि अन्नपानीको जोहो हुन सक्छ । अन्न नभए पानीसम्म होला । पानी पनि नभए अचेलको चलनचल्ती अनुुसार दुरुम पानीसम्म त अवश्य हुन सक्छ । अनि, मालिककै बर्कत पघारेर जुक्ति खियाउ“दा अर्काको खाएको ऋण मिनाहा हुन सक्छ । नखाएको ऋण हात लगाउन सकिन्छ । लिएको सापट फच्चे हुन सक्छ । नलिएको सापट हात पर्न सक्छ । हात परेको सापट झापड देखाएपछि ढिसमिस हुन सक्छ । साउँ नभए पनि ब्याजसम्म त कहीँ नजा । ठालूको लोकन्तो लागेपछि आङ खाली रहँदैन । जडाउरी नै भए पनि लुगाफाटोले हर छोपिन सक्छ । मालिक खुसी पार्ने सर्वोत्तम उपाय नै लोकन्ते प्रथा हो । अझ अन्तर्राष्ट्रिय मालिक परे त लोकन्तो लाग्दा भूमण्डलीकरण भएर अझै भाग्य चम्किन सक्छ । विदेशी ऋणमा तयार हुने योजना-परयिोजनाहरूमा दाता, दलाल र ठेकदाररूपी मालिकको लोकन्तो बनेर हात फैलाउन सकिन्छ ।
त्यसपछि अरूलाई दिउँसै तारा र तोरीका फूल देखाएर एक्लै गोही मुख ग्वाम्मै गाड्न सकिन्छ । रङ्गनाथ र जङ्गबहादुर हुँदै आजसम्म यस देशमा जति सरकार आए, जनताका मात्र आएका रहेछन् । अहिले पनि जनताकै सरकारले देश हाँकिरहेको हुँदा विकास निर्माणदेखि सुरक्षासम्मको त्यति दरकार परेन । बैठक, मिटिङ्, सभा, सहमति र असहमति गरेर जिब्राे फट्कार्दै सुधा प्राणीहरूको दिमाग चाट्न सकिन्छ । दिनरात भाषणको वर्षा गरेर जनताको मन भिजाउन सकिन्छ । मिलेर काम गर्नभन्दा अर्कोमाथि छलछाम गर्न मजा आउँछ । आफ्नो कमजोरी उधार्नभन्दा अर्कोमाथि दोष थुपार्न रमाइलो हुन्छ । विकास गर्नु भनेको जनताको पसिना पघार्नु हो र उनीहरूकै दानापानीमा पञ्जा फेर्दै ढोक्से भकारी रित्याएर भोज गर्नु हो । जनमतको जामा भिरेर चुनावदेखि सधैँ टाढा सर्नु हो अनि आफ्नोचाहिँ एकोतार पेट भर्नु हो । देश विकास नभए हुँदैन । यसबारे बुद्धिजीवीले आत्तिएर ओठ टोक्नुपर्छ । अर्थशास्त्रीले बहुलाएर ढोल बोक्नु पर्छ । विश्व ब्याङ्कले मौलाएर पहल गर्नुपर्छ । एडीबी, आईएमएफले उधारो मनले डलरका बिटा ल्याएर कोच्नु पर्छ । घाँटीभित्र नपसे लौराले घोच्नु पर्छ । नत्र किन खडा भए त ती संस्थाहरू – यक्ष प्रश्न खडा हुन आउँछ ।
हाम्रोजस्तो विकासोन्मुख देशमा नेता भनेको नेतृत्व गर्ने हो । वक्तृत्व फेर्ने हो । त्यतिले नपुगे विद्यार्थी उचाल्ने सडक तताउने अभाव र कृत्रिम महङ्गी खडा गरेर उपभोक्तालाई सताउने काम थप्न सकिन्छ । साँच्ची भन्ने हो भने उसको कार्यक्षेत्र नै गाडीमा दगुर्ने र विपक्षीलाई भकुर्नु पर्नेमा निर्धारति हुनु पर्छ । देश चलाउने ठेक्का लिएपछि पनि घर जलाउने गतिविधि कायमै राख्न पाउनु पर्छ । प्रतिपक्षीका अगाडि पाखुरा सुर्किँदै बाँदरघुर्की देखाएर दौँतरीलाई दच्काउने काममा कतैबाट विरोध/अवरोध हाल्न पाइन्न । जनतालाई भागवत भक्तिमा विभोर बनाएर नचाउनुपर्छ । कृष्णका उपदेशमा अभ्यस्त बनाउनुपर्छ । ‘कर्म गर फलको आशा नगर’ भनेर गिट्टी कुट्ने मजदुरलाई गदगद बनाइदिनुपर्छ । धान चुट्ने खेतालाहरूलाई धान्याचल यज्ञ गरेर थुप्रोमाथि उभ्याइदिनु पर्छ । रङ पोत्ने कुल्लीहरूलाई रङ्गीचङ्गी आश्वासनले रङ्गाइदिनुपर्छ ।
हलो जोत्ने हलीलाई हल्लुडभन्दा हरिया सपना बाँडेर आशाको घाँस छर्दिनुपर्छ । पहाड-तराईका गाउँबासीलाई हावापानीमै जोड गरेर अन्नतिर बल नगर्ने प्रवचन दिनु पर्छ । राजधानीका सुकुम्बासीले धोबी खोला, हनुमन्ते र बाग्मतीका बगरमा खाली ठाउँ पहिल्याएर बसोवास ठड्याए हुन्छ । राजधानीवासीले पानी खानुपरे गाग्राघै“टा बोकेर त्रिशूली, इन्द्रावती जता मन लाग्छ, गए हुन्छ । हिमालले पानी पठाएकै छ । मेलम्ची आएन भनेर माथि बस्नेलाई छास्न पाइन्न । ठूला पार्टीहरूका सम्झौता, सहमति, सङ्कल्पजस्ता बाचा-बन्धनबारे यो भएन, त्यो भएन भनेर नाटीकुटी गर्न पाइन्न । भाकल हो भाक्न सकिन्छ तर पूरा गर्नैपर्छ भन्ने नियम-कानुन कही“ छैन । यो कुरा र्सवसाधारणले बुझ्नु पर्छ याने जनतारूपी पोथीले पोथी नै भएर धूलो खोस्रि्रदै ओथारा बस्नु पर्छ । भाले बनेर बास्न पाइन्न ।
भुइँफुट्टा पाराले आफैँ टुसाएको हाम्रो लोकन्ते सदन र सरकार पनि नानाभाँती हर्कत देखाउन कम छैन । दिनदिनै तेल र नुनसँगै आफ्नै भाउ बढाउन र कुर्सीमा टाँस्सिइरहने दाउ लडाउन खप्पीस बन्दै आएको छ । कहिले वनकालीको बाँदरको लोकन्तो लागेर यात्रीको नरविल चोर्दै र पुर्पुरो फोर्दै हिँड्छ । कहिले कुर्सी मात लागेर छेउटुप्पाको टुङ्गो नभएको गणतन्त्रे चिरबिरीमा चराझैँ बास्छ । कहिले रक्तचन्दनका ठूटामूढा टोक्तै हिँड्छ । कहिले चरेस-गाँजा धोकेर खोक्तै हिँड्छ । सहरी सफाइको विदेशी बजेट आउँदा आउँदै टप्काउँछ अनि फोहोरका डङ्गुरमा सूँडले उधिनेर विदेशीले फालेको हड्डी टपरी पनि चप्काउँछ । चौबीसै घन्टा सूँड सोझ्याएर खानेभन्दा केही जान्दैन । पेट बढाउँदै आएको छ । थरी जिम्मुवालले मन्ढी ओडेर भित्रभित्रै सेती, कोसी र मेलम्चीजस्ता नदीनाला दुहुने र जेट, हेलिकप्टरसँगै कुर्लुक्क निल्ने चाँजो मिलाउँदै आएको छ । अहिलेसम्म एकएक गरेर कैयौँ खाइसक्यो, अब भने दुइ-चार, दस-आठ जति भेटे पनि एकैचोटि खाने दाब्ने दाउ हुँदैछ । ऋण पायो भने पाँचतारे होटलमा महिनौँसम्म रइस पाराको भोज चलाउँछ र घिच्ताघिच्दै अपच्तोसँग थैला भरेर दिउँसै गनाउँछ । विदेशीले सुमसुम्याउन छाड्यो भने उतिबेरै टायर बालेर विरोध जनाउँछ र ख्याउख्याउ गरेर सत्तोसराप भुकिदिन्छ ।
अचेल लोकन्ते सरकार बलियो मात्र होइन, रणवीर बन्दै आएको छ । त्यसैले प्रत्येक दिन यसले दरादरा निर्णय गर्ने गरेको छ । यिनै र यस्तै दरा निर्णयहरू बज्रचट्टान बनेर प्रगतिपथमा युगान्तकारी पदचिह्न थप्न थालेका छन् । खाली भएको वर्षदिन नपुग्दै सचिव नियुक्ति गर्छ र एउटै कुर्सी तीन-तीन जना थुपारिदिन्छ । मानौँ, सचिव भनेको मलको थैला हो, जसलाई परी आउँदा एउटै कुर्सीमाथि खात लगाएर या एउटै बेन्चमाथि ताँती लगाएर थन्क्याउन सकिन्छ । अनि, बाली सपार्नका लागि बेलामौकामा प्रयोग गर्न सकिन्छ ।
केही दिनअघि मात्रै रणवीरेले अर्को युगान्तकारी निर्णण गरेको छ, प्रत्येक कर्मचारीले ‘म जनताको सेवक हुँ’ भन्ने घाँडो घाँटीमा झुन्ड्याउनुपर्ने । यति ठूलो सरकारी निर्णय संसारमा विरलै हुन्छ होला । भूत, भविष्यसमेतलाई प्रभावित पार्ने यो निर्णयअनुसार आजसम्म जति कर्मचारी नामक प्राणीहरू काममा नियुक्त थिए, ती सबै जनताका सेवक थिएनन् । तिनका काम, कर्तव्यसम्बन्धी जति निर्णा निर्देशनहरू थिए, ती सबै लाटीको धोतीभन्दा सायद केही थिएनन् । सरकारको कार्यविभाजन केन्द्र, क्षेत्र, तह, डेस्कजस्ता ठाउँठहर निर्धारण गरेर त्यहाँ काम गर्ने कर्मचारीको निजामती, शैक्षिक, कानुनी, प्राविधिक आदि अनेक प्रकारका सेवा श्रेणीको कानुनी व्यवस्था भन्नु बकमफुसे तामझाम मात्रै थियो र तलबरूपी घाँस हाल्ने टाट्नु मात्रै थियो ।
नियुक्ति लिँदाका शपथका कुरा सम्झिएर कर्मचारीले काम-कारबाहीमा झन्झट बेहोर्नु आवश्यक थिएन । अब आएर तिनै राष्ट्रसेवकहरूले जनताका अगाडि कान समातेर म जनताको सेवक हुँ भन्ने घाँडो घाँटीमा झुन्ड्याउनु पर्दा परेन फसाद – साधारण लगामभन्दा कसिलो यस बाध्यताले कर्मचारी कजिने कुरामा कसैले अविश्वास गर्ने त ठाउँ नै रहेन । लोकन्ते सरकारको नयाँ आविष्कारले कर्मचारीको कर्तव्य चम्किने र सट्टाबजारमा भाउ ह्वात्तै बढ्ने हुँदा अँध्यारोमा छिर्के दाउ घटेको र हाकाहाकी पार्टी झिँगा हम्किने सेवक रामहरूको लुड्याउने दाउ र तिनैको मान, भाउ र प्रतिष्ठा भने गोबरको गन्धे झारझैँ हलक्कै बढेको देख्न सकिन्छ ।
हुन त चितवनका हात्तीकेन्द्रदेखि न्युजिल्यान्डका भेडाफार्मसम्म घुम्दै हेर्दा खास प्रकारका जन्तु-जनावरलाई चिनाउन पनि घाँटीमा ट्याग भिराउने गरिन्छ । कोसी टप्पूका अर्ना, भैँसी र भरतपुरका घोडा प्रजनन केन्द्र हुँदै चिडियाखानाका पशुपक्षी, पान्डा, गोहीर्फमसम्मका जन्तु-जनावरलाई लिङ्ग, जात, उमेर र विशेषता जनाउने विशेष प्रकारका ट्याग लगाउने प्रथा विकेन्द्रित भएको छ । यसै मेसोमा नेपाली राष्ट्र सेवक चिनाउन भनेर दौरा-सुरुवालमाथि कोटको काँठी कसेर मालिकलाई बोक्दै बुर्कुसी मार्ने प्रचलन पहिलेदेखि चलिआएको हो र अहिले पनि ठाउँ ठहर हेरी कायमै छ । त्यस्तै नाम, थर, पद, कार्यालय किटानी भएको परचियपत्र नाउको अर्को घाँडो कर्मचारीको घाँटीमा झुन्डिने गरेको पनि निकै भइसकेको छ । तर, विज्ञानप्रविधिको हाइटेक यान्त्रिक सञ्जाल प्रवेश गरसिकेको आजको नेपाली ब्युरोक्यार्सीका लागि उसको औकात आँक्न त्यतिले मात्रै पुग्ने कुरै भएन । त्यसमाथि हालको लोकन्ते बहादुर सरकारले अरू काममा जेजस्तो भए पनि प्रशासन सुधारका क्षेत्रमा आफूलाई सक्षम सावित गर्न दलीय सहमतिको काम्लो बिच्छ्याएर पाहारमा उङ्दै नयाँ पौरख प्रदर्शन गर्नका लागि कर्मचारीमाथि कुनै न कुनै रूपमा जाइलाग्नु अत्युत्तम उपाय ठानेको हुनुपर्छ ।
त्यसैले राज्यसञ्चालनको अभिभारा लिने राष्ट्रसेवकको कार्यदक्षता चारीत्रिक शुद्धता र व्यावसायिक कुशलताजस्ता बहुआयामिक विविधताको परचिय दिने संयन्त्रका रूपमा रणवीरेले आविष्कार गरेको उपाधि आँधीबेहरी ल्याउने खालकै मान्नु पर्छ । ‘म जनताको सेवक हुँ’ भन्ने थप घाँडोचाहिँ घाँटीको सट्टा कानको जर्बुटामा ट्याग बनाएर स्टिच गर्ने व्यवस्था मिलाउन सके झन् राम्रो हुने थियो कि – अथवा राष्ट्रसेवाले चिटचिट पसिना काढेका निधार, गाला र हर्थुङ्गमा ‘म जनताको सेवक हुँ’ भन्ने सुनौला शब्दहरू ट्याटु गरििदए लेस्बियन सरकारका क्षमतावान कर्मचारीको यथार्थ चित्र देख्न पाइने थियो । यस्तो महान् कार्यको थालनी संसारमै नौलो प्रस्तुति हुनसक्छ र अनौठा वस्तुहरूको डिक्सनेरी याने गिनिज बुकमा नयाँ विषय थपिन सक्छ । यस्तो व्यवस्थाले राष्ट्रसेवकको ओहदाका साथै कुर्सी शोभा बढ्ने र सेवा मौलाउने मात्र होइन, विदेशी दातृ संस्थाहरू खुसी भएर दान-अनुदान थपिदिँदा अघासुरे पेटमा अघाँउजी बाली भित्रिने सम्भावना पनि उत्तिकै बढ्न सक्छ । ‘जनताको सेवक’ भन्ने खलाँती चलाउँदै मान-सम्मानको हावा भरेर कर्मचारी नाउको वनचरीलाई हृष्टपुष्ट पार्ने अवसरसमेत थपिनेछ । यसरी भरिएको हावाबाट प्राप्त हुने ऊर्जाले आउँदा दिनका लागि प्रशासनिक दक्षतामा सुधार र नयाँ उपलब्धि समेतको प्रक्षेपण गर्न सकिन्छ । याने सहस्राब्दीको लक्ष्य भेदन तर्फ कुचमार गर्न सकिन्छ भन्दा के अर्घेल्याइँ होला त ?
०००
नयाँबानेश्वर, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest








































