साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चाकरीको चोला

हेर्नुहोस् तपाईं दौडीदत्तको बिँडो थाम्न चाहनुहुन्छ भने बिहानदेखि साढे नौ बजेसम्म कुनै मोटरवालाको ढोका कुर्नुहोस् । जब मोटर बाहिर जान थाल्छ अनि तपाईं जमिनभन्दा अलि माथिसम्म झुकेर नमस्कार गर्ने गर्नुहोस् ।

Nepal Telecom ad

नरेन्द्रराज पौडेल :

झलक्क हेर्दा तपाईं छक्क पर्नुहोला, अनि मलाई भन्नु होला यो पड्केलाई के दशा बिग्रिएर वाहियात कुरा गर्न थालेछ । चाकरीको चोला रे ! चाकरीको पनि चोला हुन्छ र ने चाकरी त बितेको युगको कुरा भइगयो नि । बीसौं शताब्दीको स्वच्छन्द संसारमा पनि केको चाकरी ? आफ्नो पौरख तिखार, जो-जति सक्छौ कमाऊ र मौज गर, बस आजको प्रवृत्ति नै यही हो । हो तपाईं यसै भन्नुहोला । तर भन्न जे भने पनि तपाईं यस भनाइको भरचाहिँ नपर्नुहोला, यदि भर पर्नुहुन्छ भने तपाईको बुद्धिले ठीक गरेको छ भन्नचाहिँ सकिन्न। उदाहरणका लागि भनौं- साना नानीहरूले पहिले भोटो लगाउँछन् । अलि महिनापछि भोटोले चोला फेर्छ घाँगर बन्छ । नानीहरू वयस्क हुन्छन् अनि घाँगरले पनि चोला फेर्छ मिनीस्कर्ट, प्यारालाल आदि बहुउद्देशीय रूप लिन्छ । यहाँनिर बहुउद्देश्यीय भन्नुको अर्थ शरीरको जति भाग छोपे पनि मिल्ने हो । अनि नानीहरू आमा हुन्छन् । उता स्कर्ट र प्यारालालले चोला फेर्छ र चोलो फरिया बनेर लफ्रक्क बेरिने गर्दछ । अनि यसले बेरिएको बेरियै भएर नानीहरूलाई बज्यै बनाउँछ । बस चाकरीको पनि गति यस्तै छ ।

हुन त उहिलेको कुरा खुइलिएको हल्ला छ। तर मेरा दुई टोड्के नजरले उहिले र अहिले एकै देख्छन् । हुन सक्छ यो मेरो दृष्टि-भ्रम होला । हाम्रा गाउँमा एउटा सय वर्ष पुग्न लागेका डिट्ठा बाजे छन् । उनको नाउँ दौडीदत्त डिट्ठा हो । उनी बाह्र वर्षसम्म बग्गीको अगि अगि दौडिएर डिट्ठा भएका रे । बिहान जुरुक्क उठेर सिंहदरबारमा चन्द्रशमशेर महाराजको सेवामा हाजिर बजाउन जान्थे रे । महाराज बाहिर डुल्न सवारी भएपछि बग्गीको अगि-अगि दौडन्थे रे। भद्रकालीमा आइपुगेपछि एक पटक स्वस्ति चढाउँथे रे । महाकाल स्थानमा आइपुगेपछि अर्को स्वस्ति चढाउँथे रे । पुतली सडकको मोडमा आइपुगेपछि अर्को स्वस्ति चढाउँथे रे । अनि सिंहदरबार भित्रिंदा अर्को स्वस्ति चढाएर विदा हुन्थे रे । बाह्र वर्षसम्म दिनहुँ बग्गीको अगाडिपट्टि फर्किएर उल्टो दौडँदा एक दिन पनि उनलाई घोडाले कुल्चन पाएन रे । अनि उनको त्यस्तो बहादुरीबाट प्रसन्न भएका महाराजले डिट्ठा भइस् भनेर उनलाई आशीर्वाद दिए रे । त्यसैले उनको नामचाहिँ दौडीदत्त डिट्ठा रह्यो रे ।

अर्का एक जना कन्दने सुब्बाको इतिहास भने योभन्दा अलि बेग्लैछ । हुन त उनी पनि दौडीदत्तकै समकालीन थिए रे । तर उनी चाहिँले चाकरी गर्दा अलि खतरा मोलेका रहेछन् । उनी प्रत्येक दिन भद्रकालीनिरको एउटा रूखमा चढेर रूखका हाँगामा कन्दनी अल्झाएर झुन्डिने गर्दथे रे । झुन्डिएर हावामा पौडी खेलिरहेको हेरेर मात्र महाराजको बग्गीले बाटो लिन्थ्यो रे । तर उनले चाहिँ झुन्डिन थालेको तीन वर्ष पुग्दा न पुग्दै वनजाँचको सुब्बाङ्गी पाएका थिए रे । कन्दनीमा अडिएर झुन्डिने गरेकाले नै उनको नाम कन्दने सुब्बा रहेको रे ।

त्यस्तै नब्बे सालतिरको कुरा हो । बर्दियाको जङ्गलमा सिकार खेल्न जाँदा मधिसे खसीजस्तै लामा कान गरेको एक जना जङ्गली मान्छे फेला परेको थियो रे । त्यसलाई ल्याएर सिकारी जर्नेलहरूले कोसेलीस्वरूप महाराजकहाँ चढाउँदा त्यो अनौठो जङ्गली मान्छेलाई कुमारी चोकको हाकिम बनाएर महाराजाले पठाइदिएका थिए रे । अनि उनको नामै लमकन्ने हाकिम रहेको थियो रे। पछि उनको हाकिमी फस्टाइसकेपछि वरिपरि लागेर दुई-चार जनाले उनका कान समातेर हिँड्थे रे ।

अगि जङ्गबहादुरको पालामा बाङ्गो रूखलाई आफ्नो गर्धनको बाजी राखेर बाङ्ग भनी ठोकुवा गरेर जम्दारी पाउने इतिहास प्रख्यातै छ । अझ देउताकै पालाको कुरा गर्ने हो भने पनि चाकरीको चकचकी कहाँ पाइन्न र ? सुदामाले भगवान् कृष्णलाई भेट्न जाँदा एक माना कनिका बोकेका थिए रे । रामचन्द्रले महादेवको धनु उचालेर जनक राजाको मनोरञ्जन गरेको भरमा सीताजस्ती सुन्दरी नै हात लगाएका थिए । उता कृष्णजीको अगि पछि लागेर हिँड्दा हिँड्दै अर्जुनले कृष्णजीकी बहिनी सुभद्रालाई टप्काएका थिए । राजा दिलीपले गाईको चाकरी गर्दा-गर्दा बल्ल तल्ल छोरो पाएथे, कौत्सले राजा रघुको चाकरी गरेर मात्र गुरु-दक्षिणाको रकम हात लगाएथे रे । तर तपाईं अपुतो हुनुहुन्छ भने हिजोआज गाईको चाकरी गरेर छोरो पाइन्न नि ।

छोरै पाउन्छ भने या त परिवार नियोजनका हाकिमहरूको चाकरी गर्नुहोस्, त्यतिले नभए आफ्नी श्रीमतीको सहायता लिएर साथी- भाइहरूको चाकरी गर्नहोस । सायद फरक पर्ने छैन । परिहाले पनि आपका यौटी बैला आइमाई खोजेर चाकरी गर्नोस् । अनि निश्चयनि फरक पर्ने छैन ।

पत्ता बढी सन्तान भए पनि तपाईंले चाकरी नै गर्नुपर्छ । पहिले सन्तानको आमाले सन्तान पाउने दुई-चार महिना अगिदेखि नै खुट्टा पसारेर तपाईलाई चुलोभाँडो सत्यार्न लगाउलिन् । उता डेरी दूधका लागि बिहानै उठेर धोती न टोपीसँग तपाई आफैँ दगुर्नुपर्छ । तीन- चौथाइ पानी-दूधका लागि तीन घन्टा लगाएर फर्किएपछि तपाईं रित्तो इस्टोभ हल्लाउनुहुन्छ र रित्तो ग्यालेन टिपेर दौडनुहुन्छ । बल्लतल्ल मटीतेल पाउनुहुन्छ र मक्ख परेर फर्कनुहुन्छ । तर बेलुकैदेखि चामल सिद्धिएको कुरा तपाईले बिर्सनुभएको छ । त्यसैले चामलको टिनभित्र हात हाल्दैमा वास्त्याङ्ग पर्नुहुन्छ । हरिया दाँत देखाएर श्रीमतीलाई चामल पैसा दुवै कुरा सिद्धिएको बेहोरा बताउनुहुन्छ अनि नाक- कानको सुन धितो राख्ने धुनमा बाँडाको चाकरी गर्नुहुन्छ । अनि जसोतसो चुलो धुवाँएर भनौँ कि तातो पेट गरेर भनौँ, अफिस जानुहुन्छ । तर बाहिरै एघार बजिसकेको देखेर तपाईंको मुटुले ढ्याङ्ग्रो ठोक्छ । अनि तपाईं यस संसारबाट बाहिर डरको संसारमा दौडनुहुन्छ र अफिस बाहिरदेखि दुई हात जोडेर झुक्तै भित्र पस्नुहुन्छ । तर तपाईंको नमस्कार भित्तो र हाकिमले फर्काउँदैनन् । अरु सानाठूला सबैले फर्काउँछन् ।

तपाईंका जति सन्तान बढ्दै जान्छन् उति नै तपाईंले यस चाकरीमा खप्पीस बन्दै जानुपर्छ । भोलि छोरा-छोरी पढाउनुपर्ला त्यो बेला स्कुल भर्ना गर्नु पर्दा देख्नुहोला । झन् जागिरे नै बनाउनुपर्‍यो भने त तपाईंको आफ्नै पालोमा भन्दा बढी बिजोगी चाल हुनेछ । अब गुरु-दक्षिणाका लागि भन्ने हो भने उहिलेजस्तो उधारो गुरु-दक्षिणा आज चल्दैन । यदि तपाईं विद्यार्थी भएर स्कुल कलेजमा पढ्नुहुन्छ भने पहिले तपाईं गुरुको घरमा गएर मुखभरिको ट्युसन रकम अगि सारेर पढ्नुपर्छ । फेरि पढ्ने भनेर खुरुखुरु किताब पढ्नतिर लाग्नुहोला र फेला पर्नुहोला नि ! त्यसो होइन, पहिले तपाईंका गुरुले किताब लेखेका छन् भने ती किन्नुहोस् । अनि उनका साथीले लेखेका भए ती किन्नुहोस् । त्यसपछि गेस गरी माग्नुहोस् र कतै चिट बनाउन र कतै टिक मार्क लगाउन सिक्नुहोस् । चिट र पढाइको एउटै ट्युसन हो । अनि त पार नलाग्ने भन्ने कुरै छैन । तर पहिलेजस्तो मल्टी-पर्पस गुरु आजभोलि पाइन्नन्, त्यसैले तपाईंले जति विषय पढ्ने हो उति नै गुरुहरूको चाकरीमा हाजिर हुनुपर्नेछ ।

यदि विद्यार्थी भए त यो कुरा ठीक छ । तर तपाईं स्वयम् गुरु हुनुहुन्छ भने तपाईंले विभिन्न तहमा चाकरी गर्नुपर्छ । यो चाकरीचाहिँ तपाईंको आफ्नो इच्छाअनुसार पनि हुन्छ । यति तपाई ज्यादै राम्रो पढाउने विद्वान् कहलाउन चाहनुहन्छ भने कक्षामा पढाउँदा विद्यार्थीले जाँच दिइसकेपछि, सकेसम्म र मिलेसम्म नम्बर पेल्ने गर्नुहोस् । फेरि यसले गर्दा तपाईंलाई बढी विद्यार्थीपरक मान्छे भन्लान्, त्यहाँ पनि बच्नुहोस् ।

त्यस्तै यदि तपाईं लेखक, समालोचक बन्ने धुनमा हुनुहुन्छ भने हप्ते र महिने दुई-चार पत्रिकाका सम्पादकहरूलाई पहिले एक-दुई राउन्ड जाँडपानीको व्यवस्था गर्नुहोस् । अनि सकेसम्म अरूकै लेख चोरेर केही नलागे आफैँ लेखेर भए पनि एक-दुइटा लेख छपाउनुहोस् र कक्षाका विद्यार्थीहरूलाई सुनाउने गर्नुहोस् । लेख पढिसकेपछि त्यस दिनलाई बिदा दिने गर्नुहोस् । अनि तपाईंले लेख पढ्दा विद्यार्थीहरूले के-के गरिरहेका हुन्छन् त्यसतिर पटक्कै ध्यान नदिने गर्नुहोस् । वस यति भएमा रायोको सागको कीराजस्तै क्रमशः तपाईं भयङ्कर लेखक बनेर अगि बढ्नुहुन्छ ।

तर तपाईं यताउति नहेरी ठाडो प्रमोसन मात्र चाहनुहुन्छ भने यो कुरातिर नलाग्नुहोला । पहिलो कुरा हाकिमहरूको दिनको तीन पटक चाकरी बजाउने गर्नुहोस् । दोस्रो कुरा ठूला-ठूला मान्छेका पाएसम्म छोरी नपाए भान्जीकोसम्म भए पनि चाकरी गर्नुहोस् । यदि दुवै कुरा असम्भव भए पनि सके लिङ्ग बदल्ने र नसके पनि सारी- ब्लोजसम्म लगाएर हिँड्ने गर्नुहोस् । बस, फरक पर्ने कुरै छैन । आज लोफर, भोलि जोकर, पर्सि त … सर । तर तपाईंले यति गर्नुभन्दा अगाडि दश दिनजति अलिकति दुबो कुटेर खाने गर्नु पर्नेछ । खैर के भो र त्यति मामुली काम गर्न ।

अब रह्यो डिट्ठा र सुब्बाङ्गीको कुरा । आज बग्गीको जुग छैन । त्यसैले अगि-अगि दौडिएको भरमा दौडीदत्त डिट्ठा बन्ने दुष्प्रयास नगर्नुहोला । मोटरको अगाडि दौडिए किचिहाल्छ । मोटर- साइकलको अगाडि दौडिए चिचिहाल्छ । पछि-पछि दौडिएर भेट्टाउने कुरा भएन, तर दौडीदत्त नबन्दैमा म डिट्ठा भइनँ चाहिँ नभन्नुहोला । दौडीदत्त नभए कोडीदत्तै बन्नुहोला, उही ! तपाईंलाई डिट्टै बन्नु पर्‍या न हो ? उपाय बिस्तारै बताउँला । उता कन्दने सुब्बाको महत्त्वाकाङ्क्षा त राख्तै नराखे पनि भयो । जाबो कन्दनीको भरमा रूखमा झुन्डिएर तपस्या गर्न को सक्ने ? तर होइन यसको पनि विधि अर्कै छ । फेरि सुब्बै हुन पाइनँ भनेर तपाईं छटपटाउनुहोला । हेर्नुहोस् तपाईं दौडीदत्तको बिँडो थाम्न चाहनुहुन्छ भने बिहानदेखि साढे नौ बजेसम्म कुनै मोटरवालाको ढोका कुर्नुहोस् । जब मोटर बाहिर जान थाल्छ अनि तपाईं जमिनभन्दा अलि माथिसम्म झुकेर नमस्कार गर्ने गर्नुहोस् । तपाईंलाई नचिनेकाले पहिलो दिन मोटरभित्रबाट कुनै प्रतिक्रिया फर्कँदैन । यही रीतले दस-आठ दिन बितेपछि मोटरभित्रबाट मरेस् मनेजस्तो पारामा नमस्कार फर्कने गर्छ । अनि तिनै मोटरवालाका एक-दुई तह उँधो र उँभोका मान्छेहरू पनि चिन्नुहोस् । अनि एक दिन उनको घरैसम्म जानुहोस् र निकै आफन्तजस्तो भएर उँभो उँधो दुवैतिरका दुई-चार कुरा लगाउनुहोस् । यति गर्दागर्दै बिस्तारै उनले मन नपराउने मानिसहरू चिन्दै जानुहोस् । साथै चुक्ली लगाउने र कुरा बनाएर उनलाई सन्काउने गर्न थाल्नुहोस् । यति भएमा दौडीदत्तले बाह्र वर्ष लगाएर गरेको काम तपाईंले बाह्र महिनामा तमाम गर्नुहुनेछ । अझ तपाईं दिन उमेरकै हुनुहुन्छ भने जागिर पाउने मात्र होइन, कुनै नगिचकै नातासम्बन्ध जोड्नसमेत सक्नुहुनेछ । अनि त पिल्स खाने आइमाईको जुंगा ठडिएझै तपाईंको रूप-रङ्ग नै अर्कै भएर ठडिनेछ ।

जति गन्थन गरे पनि वास्तविक कुरा उही हो । त्यसका लागि उपाय पनि एउटै नभएर हजारौं छन् । कुरा के भने छेपारोले छिनछिनै रङ्ग बदल्छ भने चाकरीले पनि दिनदिनै रङ्ग बदल्छ । तर तपाईं- हामीजस्ता लाटा-सुधाले एक घर लाउनु र चार गाँस खानुछ भने यसै मूल मन्त्रलाई जपे मात्र पार लागिनेछ । नत्र मामिला खत्तम छ । बस !

०००
काठमाडौं
‘घरभित्रको गाईजात्रा’ (२०६२)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आन्दोलनका फुरौला !

आन्दोलनका फुरौला !

नरेन्द्रराज पौडेल
मालाको कमाल

मालाको कमाल

नरेन्द्रराज पौडेल
बिर्ता बजार

बिर्ता बजार

नरेन्द्रराज पौडेल
काले र भाले

काले र भाले

नरेन्द्रराज पौडेल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
अथ श्री कोसेली महात्म्यम् !

अथ श्री कोसेली महात्म्यम्...

नरेन्द्रराज पौडेल
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x