साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ऊ…. कम्प

बिचरा त्रिपाल र चामल जस्ता कुराको दाउ हेर्नेहरूको ओठतालु बारीमा छुटेको आलु वैशाखको घामले सुकेझैं सुक्यो होला कठैबरा !!!

Nepal Telecom ad

रामकृष्ण ढकाल :

केही वर्ष अगाडिको भूकम्प कतिले बिर्सनै लागेका थिए होला । तर यो भूकम्पको जातै ज्याद्रो बेला न कुबेला आएर गरिरहन्छ उपद्रो । लौ खा भन्दै गोर्खामा आयो, खुच्चिम भन्दै रुकुमतिर आयो, आज बिहान भने कतिपयलाई अँध्यारमुखे बनाउँदै सगरमाथा वरपर आयो । यतिबेला दिउँसोकोसम्म थाहा भए अनुसार झन्डै सयजनालाई गए बनायो । नेपालको कागबेणीमा जन्मेर लङ्कासम्म डङ्का बजाउँदै तहल्का मच्चाउने हनुमान जस्तै बलशाली छु भन्दै बेला बेलामा तर्साउन धम्काउन खुम्च्याउन चम्काउन पछि नपर्ने बलवान् भूकम्पले कैयौं घर गोठ ध्वस्त बनायो भने कैंयौको जीवन अस्तव्यस्त ।

यसलाई कसैले निम्तो दिएको होइन । तैपनि बिना लाज शर्म एकाबिहानै आइपुग्छ घरमा । दुइ हजार पैंतालीस सालमा भदौ पाँच गते बिहानै पाँचै बजे मुन्टिएको थियो । त्यसबेला पनि आठ नौसय जना जतिलाई चिथोरेर निचोरेर थिचेर मिचेर किचेर लग्यो । त्यतिले यसको चित्त नबुझेको जस्तो गरेर फेरि बहत्तरको वैशाख बाह्र गते दिउसो बाह्र बजे हूलदङ्गा मच्चाउँदै आयो । लाखौं घर भत्कायो । झन्डै दश हजार जति मानवको जीवन यसको दानव हर्कतका सिकार हुन बाध्य भए । धरहरा कति वर्षसम्म त बिचरा भएर होसहवास गएर क्षतविक्षत अवस्थामा टुँडिखेलनजिकै आन्द्राभुँडी छिरलिएको हालत लिएर रोइरह्यो रोइरह्यो । यसपाली त्यो धरहरा बलै करै के उठेको थियो अब त त्यो भिमसेन काजीले बनाएको छुसी पाजी धरहरा होइन के के न अग्लो विश्वको शिर हुँ भनेर सोलुखुम्बुको छेउमा हिउँको जम्बू सिरक ओढेर बसेको सगरमाथा नै हल्लाउँदै आउन पनि सक्छु हेर भन्दै सात बज्ने बेला सबेर आयो ।

हैन यसको फूर्ती कहिलेसम्म हो ! यो संसार भन्नेलाई त कहिँ कतैप नि राम्रो हुन बन्न दिन्न भन्दै कहिले चिनतिर कहिले नेपालतिर कहिले जापान त कहिले जाभातिर, कहिले समुद्रको छेउमा त कहिले खोलाखोल्सीको लेउमा धाको धाइ आको आइ । फेरि मै हुँ भन्ने विद्वान वैज्ञानिकहरू न यो भूकम्प कहिले आउँछ कता आउँछ कसरी आउँछ के कारणले आउँछ केही भन्न नसक्ने रहेछन् । खालि हल्लिनुसम्म हल्लिएर हामीजस्ता महाअभागीहरूलाई थल्लिनुसम्म थल्लिने र डल्लिनसम्म डल्लिने बनाएर गैसकेपछि भने ऊ… कम्प ऊ…कम्प भनेर अनेक माथापच्चीका गफ बिक्री गर्न थाल्दछन् । साँच्चिकै विज्ञ भाका भए त पहिल्यै एकदम ट्याक्क मिल्ने भविष्यवाणी ठ्याक्क प्रचारमा ल्याइहाल्थे । बरू हाम्रै पूर्विय सनातन परम्पराको ज्योतिषले यसको सम्बन्धमा केही पूर्वानुमान गर्छ ।

वैज्ञानिक भनाउँदा गोबर्ग्यानिकहरू त भइसकेको कुरोलाई उचाल पछार थेचार गर्ने मात्र । अझ तिनैले वा तिनकै अन्धभक्त अन्धविश्वासिहरू त झन उम्रिन नपाइ चारपात । लाजै पचाइ हाम्रै परम्परा र ज्योतिषलाई लाउने गर्छन् धारेहात । यस्ता गुन्द्रुक ढिंडो हलो जुवा नारा जोतारा हरिस अनौ छत्री घुम पाखी नाम्लो बरियो दाम्लो मियो ढिकी जाँतो तुलो ठेकी नेति मदानी नचिन्ने तर चन्द्रलोक यात्राको असाध्यै चर्को गफ लडाउने नादानीहरूलाई के भन्नू र खै । आफ्नै खुट्टामा बञ्चरो हान्छन् रमाउँदै । त्यहि पनि कोहिकसैसँग अलिकति कुराकानी गर्न लाग्यो कि बाँदरका सन्तानको भाषाका शब्द मिसाएर बोल्छन् । जाबो बाँदरे अङ्ग्रेजी बोल्दैमा के केन ठूला भइने भए संसारले किन शिव विष्णु गणेश दुर्गा सरस्वती लक्ष्मी बुद्ध आदिलाई किन मान्नुपर्थ्यो । घाम पाउला कहिले तिनका घैंटाले, भन्दै सोच्छौं नेपालवादी मनुवाले ।

नआओस भन्छौं भूकम्प जहिले नि । भन्न नपाउन् ऊ…कम्प कहिले नि भन्यो यो भूकम्पको भन्ने पनि कति मापाको छ भने न हामीले भनेको सुन्छ टेर्छ उसको आफ्नै बुद्धिले जान्दछ । बरू अनेक प्रकारका हतियारधारी मतियारधारीकै पक्षबाट घुस खाएका झैं दुखी पीडित देशले समाजले विश्वल्व बेस्सरी घाँडो मानेका ठाँडो ठानेका काँडोहरूलाई फिटिक्कै केहि पनि नगरी हामीजस्ता महादुखीहरूमाथि नै बज्रसरी बज्रन्छ । सिंहका ओडारलाई छुँदै नछोइ खरायोका घरबारलाई हरायो बनाउँछ ।

भगवान प्रभुको लिलापनी अपरम्पार छ । हामीले भने लाम्खुट्टे भुसुनालाई नाघे मात्र पनि पाप तर यो भूकम्प भन्नेलाई र त्यसैले जस्तोगरी गरिब दुखिलाई सताउनसम्म सताउने अत्याउनसम्म अत्याउने गलहत्याउनसम्म गलहत्याउने ठोक्नसम्म ठोक्ने टोक्न सम्म टोक्नेहरूलाई भने सधैं फलिफाप !! कस्तो न्याय हो यो । यसमाथिपनी अझ परकम्प मरकम्प डरकम्प के के हो के के ।

फेरि मानवता भन्नेकुरो कति मौलाउँछ भन्ने कुरो त नौ वर्ष अघिकै ऊ:: कम्पको बेलाको तृपाल चामल आदिले भनेकैछन । धन्न यसपालि के भएर हो कुन्नी नेपालमा त्रिपल र चामलदेखि विदेशी जहाजहरूसम्म केहि पनि ल्याउनुपर्ने भएन । बिचरा त्रिपाल र चामल जस्ता कुराको दाउ हेर्नेहरूको ओठतालु बारीमा छुटेको आलु वैशाखको घामले सुकेझैं सुक्यो होला कठैबरा !!!

राजनीति नामको दुर्गन्धी नालीमा खेल्ने जीवजन्तुहरू पनि यस्ता प्रकोपका बेलामा निकै हौसिन्छन् । पीडितका नाममा आएकाे सहयोगलाई देशको जेट बजेटकै लहरमा राख्न कोसिस गर्छन् भन्ने सुनिएको थियो । यो पटकलाई भने ऊ… कम्पले तिनीहरूको तालुमा तात्तातो आलु राखिदियो जस्तो छ । यसमा भने भूकम्पले थोरै भनेपनि बुद्धि पुर्‍याएको हो । त्यसैले यसलाई कहिलेकाहीँ दिमागधारीको रूपमा कुरो गर्न मिल्छ ।

संसारले खोजेको ऊ:: कम्पभने यो होइन कि जसले जमिन हल्लाओस । घरबार मन्दिर बिद्यालय अस्पताल भत्काओस । बरू सिङ्गै बिश्वल्व भूकम्प भने खोजेकै हो तर त्यस्तोखाले जसले संसारका हरेक रोग, गरिबका भोक, हामीजस्ता दीनदुखीका पीडा शोक लडाइँ झगडा थिचोमिचो हतियार मतियारका दुष्प्रयोग अशान्ति भ्रष्टाचार घुसखोरी हत्या आदिको महल ध्वस्त बनाओस् । ठूला पल्टेर सिमाना मिच्नेहरूलाई दूलामा पठाओस् । धूवाँ धूलो आदिको प्रदूषणलाई नष्ट गरोस् ।

तर संसारभरिका दुखी पीडित आत्माहरूको यो पुकार सुन्ने कसले अनि बुझ्ने को ? हाम्रा नाट्यसम्राट बालकृष्ण समले भनेका थिए – दुखीका घरमा मात्र तेरो बास हुने भए, हे ईश्वर ! दया राखी मलाइ अझ दुख दे । सायद यो भूकम्पले समको दोश्रो हरफमात्र पढ्छ होला पहिलोको काम कहिल्यै गर्दैन । ऊफ… ।

०००
२०८१ पुस २३
रत्ननगर, चितवन ।

 

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
रक्षा गर

रक्षा गर

रामकृष्ण ढकाल
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सेकदार

सेकदार

रामकृष्ण ढकाल
कारण

कारण

रामकृष्ण ढकाल
साँच्चै हो रहेछ

साँच्चै हो रहेछ

रामकृष्ण ढकाल
रक्षा गर

रक्षा गर

रामकृष्ण ढकाल
मजदुरमा दरार

मजदुरमा दरार

सुरेशकुमार पाण्डे
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
0
Would love your thoughts, please comment.x
()
x