साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विकासे शैली र डाक्टरको थैली

“सहरमा यो नाम गरेको अस्पताल जाउ, राम्रा डाक्टर छन्, छिटो निको हुन्छ” भनेर ती औषधि पसलेले सिफारिस गर्ने र त्यतैबाट पनि कमिसन खाने गाउँका औषधि पसलेहरुको कमाउधन्दा बुझिनसक्नुको छ।

Nepal Telecom ad

अमर अधिकारी :

वल्लोघरकीले पल्लोघरकीलाई ध्वाँस दिँदै भनिन्- “के धाक लगाउँछ्यौँ ? तिम्लेभन्दा मैले बढी औषधि खाने गरेकी छु । तिम्ले त प्रेसर र सुगरको मात्र खान्छ्यौ, मैले त प्रेसर, सुगर र थाइराइडको गरी तीनथरी औषधि खानेगरेकी छु। फूर्ति लाउने पनि एउटा तरिका हुन्छ नि !”

पल्लोघरकीको जवाफ यस्तो थियो- “तिम्ले जस्तो छिमेकी मुलुकको औषधि खान्छु मैले ? तेस्रो मुलुकबाट छोराले पठाइदिएको औषधि खान्छु मैले । भिटामिन डि पनि अमेरिकाबाट आउँछ मलाई !“

नेपालमा अहिले कोसँग कति रोग छ र कसले कति धेरै औषधि प्रयोग गर्ने भनेर प्रतिस्पर्धा चलिरहेको छ। गाउँमा हुँदाखाँदाका गाईऔभैँसी बेचेर घरमा ताला ठाेकेर अनि ढाकर बोकेर सहर पस्नेहरुको कमी छैन यहाँ । सुख पाउने निहुँमा सहरमा बसेर सबै चिज किनेर खाने र आराम गर्नाले धेरैको आङ जोखिममा छ।

सहर बजारमा पाइने प्याकेटको खाना, जङ्कफुट, फास्टफुडमा पल्किएका र सुखतिर ढल्किएका मान्छेहरुको जमात बढ्दै छ यहाँ । गाउँमा त कोही पनि बस्न नरुचाउने। मकै, लट्टे, फापर, जुनेलो, कोदो, कागुनो, उवा, चिनो त अन्न नै होइनन् रे । भारतबाट पालिस लगाएर पठाएको हानिकारक चामलको फर्र परेको भात नै मीठो रे। मरेका चल्लाहरुबाट बनाइएका रोस्ट अनि दिवङ्गत भैँसीका मःमः झन कति मीठो भाको होला हे प्रभू !

विकासे अर्थात् आधुनिक जीवनशैलीले भरिन्छ डाक्टरको थैली । प्राइभेट अस्पतालको डाक्टरको थैली त सरकारी डाक्टरको तुलनामा कति ठूलो हो कति ? गाउँलेको आर्थिक खती । थैलाको मुख पनि धेरै आँ गरेको पाइन्छ । यता सहर बजारका डेरीले बनाएका कृत्रिम दूध किनेर ल्याउने उता गाउँमा कोरली गाई ब्याउने । तमासा गजबकै छ हाम्रा सुखारी जनताको ।
“बसीबसी खानुपर्छ” भन्ने अहंकारीहरुको जमात पनि यहाँ नभएको होइन । श्रम गर्नेलाई हेयभाव राख्ने र आफू सुखी कहलाउने भुँडीवालहरु दुई पाइला हिँड्न पनि मन पराउँदैनन्। कुर ठूला ठूला व्यवहार प्यूठानी मूला। प्यूठानको मूला चर्चित मुलामा गनिने हुँदा यहाँ मुलालाई नै जोड दिइएको छ, अरु कसैको होइन। हुन त म जन्मिँदा मेरो गाउँ प्यूठानमै पर्थ्यो, पछि २०३२ सालमा रोल्पामा घुस्न गयो।

आधा घन्टाको बाटो नहिँड्ने रे एउटा सानो मुढो पनि नगिँड्ने रे ! गाडी कुर्नैपर्ने रे ग्याँसमा भात पकाउनै पर्ने रे। आहा ! क्या उत्तम जीवनशैली अर्थात् आधुनिक जीवनशैली उता निजी अस्पतालको भोको थैली । जति खाए पनि नअघाउने त्यस्ता थैली अहिले काठमाडौँ वाहिरका साना सहरहरुमा समेत तयार छन्- आधुनिक जीवनशैली अपनाउने गाउँलेहरुको धन तपाएर निल्नका लागि।

कम से कम रैथाने उपज खाउ ! घाँसदाउरा गर ! खनजोत गर ! अस्पताल जानै पर्दैन। सहरका थेरापी सेन्टर भन्दा पनि उत्तम छन् ती जाँतो, ढिँकी अनि हलो, कोदालो र नाम्लो, डोको, खुर्पेटो । दाम्ला बाट्दा त्यहाँ पनि थेरापी छ। डोको बुन्दा त्यहाँ पनि थेरापी छ। सहरमा बस्ने र थेरापी धाउने अनि गफ लाउने- “म त थेरापीबाट आको” रे । लाज पनि छैन पैसा तिरेर थेरापी गर्नेहरुलाई । गिँज्जा देखाउँदै पिज्जा चपाउँदै सानालाई मान्छे नगन्नेहरु सहरमा धेरै छन् । मलाई त पिज्जा नखाएकै बेस ठान्छु। बेकारमा पैसाको सत्यानास्।

घरमै बनाइएको गहुँको सुख्खा रोटी कति गुणकारी कति । रातभरी पेट ढुस्स हुने गरी खाइने ती मःम भन्दा त मासको फुरौला नै बेस। ढुक्क भएर खान मिल्ने र कुनै शंका नहुने । मिठाई त म सित्तैमा दिए पनि नखाने, बरु व्यायामशाला जाने। सहरमा बस्नेले सात दिनसम्म फ्रिजमा घरिघरि उही दाल-भात-तरकारी राख्ने गर्छन् । घरिघरि पकाउन झ्याउ लाग्छ रे, निद्रा भाग्छ रे ! कति आराम चाहिएको हो कति निद्रा चाहिएको हो ।

गाउँमा ठूलोबा सुत्ने ओछ्यानको खाटमा सिरानीसँगै राखिएका नानाथरीका औषधिहरु राखिएको पोलिथिन ब्याग देखेर मलाई झोँक चलेर आयो। “औषधि पसले किन करोडपति बने ?” भन्ने कुरा मैले बुझेँ । नचाहिँदा औषधि र भिटामिनहरु भिडाउने अनि सर्वसाधारणको आर्थिक हाँगा गिडाउने भएपछि यस्तै हो गाउँमा पनि। “सहरमा यो नाम गरेको अस्पताल जाउ, राम्रा डाक्टर छन्, छिटो निको हुन्छ” भनेर ती औषधि पसलेले सिफारिस गर्ने र त्यतैबाट पनि कमिसन खाने गाउँका औषधि पसलेहरुको कमाउधन्दा बुझिनसक्नुको छ।

अन्त्यमा
“सुख मात्र जीवन होइन, दुःख नभोगेको मान्छे मान्छे नै होइन” भन्ने यो लेखकको भनाईलाई कसैले मन पराउलान् त कसैले मन नपराउलान्, त्यो आआफ्नै ठाउँमा छ। तर गाउँमा बस्नेले पनि सहरबासीको सिको गरेर विकासे जीवनशैली अपनाउने हो भने दशबाह्र वर्ष आयु निश्चित रुपमा घट्ने देखिन्छ। खेतबारी बाँझो नछोडौँ! ज्यानमा स्वस्थ कोसहरु जोडौँ ! पशुपालन गरौँ ! बजारबाट गाउँतिर सरौँ । आफै उब्जाएका उपजहरु मात्र प्रयोग गरौँ ! सहरिया जीवनको भ्रममा नपरौँ ! ज्यान जोखिममा नपारौँ ! बरु पोलेको मैकैको घोँगा दाह्रौँ !

०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
रक्षा गर

रक्षा गर

रामकृष्ण ढकाल
मजदुरमा दरार

मजदुरमा दरार

सुरेशकुमार पाण्डे
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
0
Would love your thoughts, please comment.x
()
x