
चोर, ढाँट र ठग
चोर्ने, ढाँट्ने र ठग्ने विद्वान्हरूले यसको चोर्ने फलानो जातिको नचोर्ने, चिलानो जातलाई ढाँट्ने र कुजातलाई ठग्ने भनेर सम्प्रदाय छुट्याउने झनझट या लन्ठा यिनले गर्दैनन् । दिनभन्दा अधिक रातलाई रुचाउँछन् ।

शेषराज भट्टराई :
चोरको स्वर ठूलो, बोक्सीको आँखा ठूलो भन्छन् तर यस शताब्दीमा त ठीक उल्टो भएर चोरको आँखा ठूलो र बोक्सीको स्वर ठूलो हुनथालेको पाइन्छ । जस्ले डङ्का ठूलो गर्छ ऊ बोक्सी डङ्किनी र जस्को आँखा हान्ने राँगाको जस्तो हुन्छ ऊ चोर, ढाँट र ठग कहलाउँछ । हाम्रो देशमा बोक्सी कम भए पनि नचोर्ने, नढाँट्ने र नठग्ने बिरलै होलान् । त्यसमा पनि कसैलाई बोक्सी सम्झेर विष्ठा ज्यूनार गराएर पनि तिनको दुहाई काढ्ने मानव अधिकार पनि हामीकहाँ छ । चोर, ढॉट र ठगलाई खुवाउनु पर्ने विष्टा बोक्सीलाई खुवाएर शिक्षित नेपालीहरूले आफ्नो बौद्धिक र वैज्ञानिक क्षमताको पर्दाफासमात्र होइन, आफ्नो ज्ञान र विचारको परिचय पनि दिएका छन् । यसलाई उच्च ओहदाका मानव अधिकारवादीले सहज रूपमा लिएको हुनाले नेपाली समाज मानवअधिकार प्रति ज्यादै संवेदनशील छ भन्ने कुरो ऐनाजतिकै छर्लङ्ग भएको छ ।
चोरले ढाँट्ने र ठग्ने पेशामा हातै हाल्दैनन् भने ढाँट्ने र ठग्नेले चोरी जस्तो घृणित पेशामा हात हालेर गुन्दुकको झोलमा जात फाल्ने कुरै भएन । चोर्ने, ढाँट्ने र ठग्नेको पनि आफ्नो इज्जत, नैतिकता र प्रतिष्ठा हुन्छ । त्यसैले आफ्नो पेशाको उत्तरोत्तर प्रगति र पेशामा आँच नपुर्याउन यस्ता पेशाका अनुभवी हर्दम सतर्क र सचेत रहन चाहन्छन् । आफ्नो व्यवसायप्रति सतर्क रहनसक्नु नै यिनको उच्चतम् स्वाभिमानको सङ्केत हो । आफ्नो सीप र कौशलबाट प्रवीण हुनलाई अवलम्बन गरेको पेशासँग मिल्दोजुल्दो मान्छेको बाहेक अरूसँग सङ्गत गर्न मन पराउँदैनन् । अन्य सीधासाधा निरीह सज्जनप्रति नाक चेप्प्राएर यिनले आफ्नो प्रतिष्ठा चुल्याइराखेका हुन्छन् ।
चोर्न, ढाँट्न र ठग्न उमेरको कुनै हदबन्दी तोकिएको छैन । बालक छउन्जेल बावु आमाको बगली मारिन्छ । मिठाई खाइन्छ भने ठूलो भएपछि व्यक्ति, समाज वा राष्ट्रको पकेट मारेर सुनको लकेट झुन्ड्याउन आतुर भइन्छ । युवा छँदा मायालु जिप्ट्याउनु र प्रौढ भएपछि बुढी उछिट्याउनु पनि चोर्नुकै परिधिमा पर्छ । परीक्षार्थीले किताब सार्नु चिट चोर्नु हो। चिट चोर्न दिनु परीक्षा केन्द्रको शुभचिन्तक भएर ठग्नु हो । चोराउनेले साधु बिरालो भएर चोराएको छैन भन्नु र चोर्नेले चोरेको छैन भन्नु शतप्रतिशत ढाँट्नु हो । त्यस्तै स्वदेश बस्दा होस् वा विदेश पस्ता दोब्बर तेब्बर भत्ता कुम्ल्याएर पनि कुम्ल्याएको छैन भन्नु नैतिकतालाई चित्तामा राखेर जनतालाई ढाँट्नु र राष्ट्रलाई ठग्नु हो । त्यस्तै डॉक सेवाबाट अर्काको पत्र डौंका मारेर उछिट्याउनु पनि चोर्नु नै हो ।
त्यसो त बहुमूल्य धातु चोरून् या एक मुठी सातु चोरून्, कागजको नोट चोरून् वा चुनाउमा भोट चोरून् वा पशु चौपायाको गोठ चोरून् चोरको महत्व र महिमा उत्तिकै हुन्छ । कसैलाई अत्तोपत्तो नै नदिई चोरून् या स-खबर (थाहा दिएर) अर्काको धनसम्पत्ति अपहरण गरून् यस्ता गन्यमान्यलाई चोर या तस्कर नै भनिन्छ ।
आफ्नो नैतिकता ओरालो लागिसक्दा पनि अरूको नैतिकताको जरो खन्नुचाहिँ भैसीले आफ्नो रडको ख्यालै नगरी कालो छाता देखेर तर्सिनुजस्तै हो । त्यसैले यो पृथ्वीमा चोर ढाँट र ठगले साम्राज्य कायम गरेका छन् भन्दा कसैको पिँडालुबारी फाँडेजत्तिको पाप नलाग्ला ।
हामीले हाम्रो बुद्धि र वर्गतले खामेसम्म उटपट्याङ् र छुद्र आनीबानीलाई शिरोपर गरेका छौँ । यसलाई संरक्षण र सम्वर्द्धन गर्दै राष्ट्रलाई जीवन्तता या निरन्तरता दिनसक्नु नै पवित्र देशभक्तिको राम्रो उदाहरण हो ।
परिवार प्रमुखदेखि लिएर समाज र राष्ट्रलाई हाँक्नुपर्ने व्यक्तिले पनि कुनै न कुनै कोणमा रहेर नजानिँदो पाराले चोर्ने, ढाँट्ने र ठग्ने गरेका हुन्छन् । लाग्छ चोर्नु, ढाँट्नु र ठग्नु सामाजिक विकृति नभएर स्वीकृति भएको छ । अब त यसलाई नराम्रो भन्न पनि मिल्दैन होला । किनकि यो प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सबैले गर्छन्, पुर्खाले पनि गरेका थिए, हामीले पनि सकेसम्म गरेका छौ र विश्वास छ हाम्रा भावी सन्ततिले पनि यही विंडो धान्नेछन्, या सहज रूपले मान्नेछन् ।
जमाना बाङ्गो भएर होला सोझो औलाले पटक्कै नौनी आउँदैन । पुर्खाका पालामा त चोर, ढाँट र ठगको सिको नसिके पनि सङ्गत नगरे पनि बाँच्न त्यति झन्झट थिएन, तर आजभोलि त कहालीलाग्दो महङ्गीले गर्दा नचाहँदा नचाहँदै पनि चोर, ढाँट र ठगीयोग्य शिक्षा सिक्नै पन्याछ । राष्ट्रिय कार्यकर्ताले आफ्नो इलाकाको विकासवापत पाएको धनको पोको आफ्नो धोको पुगुन्जेल धोक्नु र विकासको बाढी लगाउने भाषण ठोक्नु चाहिँ चोरी नभएर ढाँट्नु र ठग्नु हो । चोर्न, ढाँट्न र ठग्न जागिर खाएजस्तो सजिलो हुँदैन । यस पेशामा सिद्धहस्त हुनका लागि परिवार, समाज र साथीबाट न्यूनतम अनुभव बटुलेकै हुनुपर्छ । अन्यथा पद र प्रतिष्ठा स्खलन या अपचलन हुन पनि सक्छ । त्यसैले यस्तो कार्य हरेक क्षेत्रका लागि कुटिल नभएर जटिल बन्नपुगेको कुरा जगजाहेरै छ ।
सके चोर्ने नसके ढाँट्ने र त्यो पनि नसके ठग्ने ‘थ्री इन वान’ अर्थात् एउटा मानवमा तीन वटा गुण हुने विद्वान्हरू साम्प्रदायिकताको घोरविरोधी हुन्छन् । अर्थात् चोर्ने, ढाँट्ने र ठग्ने विद्वान्हरूले यसको चोर्ने फलानो जातिको नचोर्ने, चिलानो जातलाई ढाँट्ने र कुजातलाई ठग्ने भनेर सम्प्रदाय छुट्याउने झनझट या लन्ठा यिनले गर्दैनन् । दिनभन्दा अधिक रातलाई रुचाउँछन् । यिनलाई अर्धनिशाचर भने पनि हुन्छ । लाहुरे, चाउरे, सम्पत्तिवाल झ्याउरे, सोझा-सीधा प्राणीको पछि लागेर आफ्नो अभीष्ट पूरा गर्ने यिनको मूल लक्ष्य हुन्छ । यी त ज्यादै सरल र सरस प्रकृतिका हुन्छन् । यिनले बाँच र बचाउको सिद्धान्तलाई अवलम्बन गर्ने हुनाले अरूको प्राणाहुति गरेर भए पनि आफू सुरक्षित रहन खप्पिस हुन्छन् । यिनले धारण गर्ने हतियार र मतियारहरू जुनसुकै आकार प्रकारका पनि हुनसक्छन् र जस्तोसुकै अवस्थामा पनि प्रक्षेपण गर्न पछि हट्दैनन् । त्यसैले पनि यी यस्ता पेशावाले विद्वान् वर्गदेखि सदैव सतर्क रहनु नै आफ्नो ग्रहदशा आफू अनुकूल पार्नु हो ।
०००
गोरखापत्र (२०५३ भदौ २९)
Subscribe
Login
0 Comments
Oldest