नरेन्द्रराज पौडेलथाहा छैन पार्टी !
अरुको सम्पति घिचेको हसुरेको लुँड्याएको पनि छैन, कुनै मिडियामा खुट्टो घुमाएर बैंक र जनताले वचत राखेको सहकारी ठगेको पनि मलाई नै थाहा छैन, थाहै छैन, मरीजानु थाहा छैन, धरोधर्म थाहा छैन भनेपछि पुगेन त काण्ड अनि ?

नरेन्द्रराज पौडेल :
सोह्र सरादका तर्कारी र दशैंतिहारका अचारभन्दा पनि स्वादिला चहकिला अनगिन्ती विचार प्रबाहित भैरहन्छन् यो नेपाल नामक ऊर्बर धराधाममा । हिजोआजै आएर पनि एउटा अनुपम सुनौलो विचारले समाचार साम्राज्यमा पाइला जमाएको छ । दनेउरा र फुरौलाभन्दा पनि पृथक आकार अनि वृहत आयतनको लाग्ने त्यो के चैं विचारणीय जिनिस हो रैछ त भनी सुध्याया भने तपाइँ हामी कसैलेले असजिलो खण्डखातिर आइपर्छ कि भनेर डराउनु पर्दैन,बरु सजिलै भनीदिन सक्नुहुन्छ त्यो हो सुपरडुपर अधुनातन चटकी विचारको –“थाहा छैन पार्टी ।”गुलिया नारा र मीठा आस्वासनले दिल दिमाग पघार्दै ठगीका तारतम्यले श्रमजीवी सर्वहारा साधु मनुवालाई जङ्गली गोमन सर्पको शैलीमा लघार्दै छेकारो मारेर दबेट्नु अनि फँणा उठाएर पूरै कायाकल्पले लपेट्नु यसको मौलिक कार्यदिशा रहेको देखिन्छ ।
उखर्माउलो घाम हुरीहावा र असिनापानीले पालैपालो चुट्तै लतार्दै बितण्डाको खेला गर्ने खोला बगरमा भोकले दाम्रिएको पेट लिएर घामपानीले घुच्चुक सेक्दै गिट्टी कुट्ने बालुवा चाल्ने फूटपाथ र पेटीकिनारमा बसेर मकै पोल्ने श्रमजीवि छोरीचेलीका थैली खुतुर्के र पोल्टाको खाजाखर्चसमेत लामो हात गरेर लुट्नु नदिए भैमा पसारो परेर लडीबुडी गर्नु अनि हातलागी भएको बेजो जिनिसलाई वरिपरि घेरा लागेर हुँडारको हूलले सिनो दारेझैं एकसाथ धुइरिएर टोक्नु कोपर्नु चिथोर्नु घिच्नु यसको कार्यनीति रहेको छ । अनि लुटेको धन फिर्ता गर्नुपर्ने या कानूनी कार्बाही बिहोर्नु पर्ने खण्ड आएपछि यसले पनि सर्पलेजस्तै सर्लक्कै काँचुली फेरेर दुनियालाई दङदास बनाइदिन्छ । दशतिरबाट आफैंले छिर्के दाऊ लगाउँदै गरेका लूटलाटका कुरा स्वयं आफूलाई नै “थाहा छैन” भन्नु यस सुपर विचारको सैद्धान्तिक पृष्टभूमि र रहेको छ ।
“थाहा छैन” दर्शनको प्रतिपादन लूटलाट दलाली सहकारी ठगी त के गोमांससमेत नाकमुनिका ओडारभित्र नपरी जन्मजात सात्विक रहेको साकाहारी थुतुनुबाट सीधै याने डाइरेक्ट धरामधाममा अवतरित भा छ । यो “थाहा छैन ” विचार चानचुनेभन्दा तीनखण्ड माथिको अब्बल मगजबाट निस्किएको छ र नै यो अभूतपूर्व रजगज र पराक्रम प्रदर्शित गर्नमा पोख्त देखिएको छ । ठगीखान पाइक पर्ने सोझासीधा मनुवा भरिभराऊ भएको मुलूकमा ठाउँसारी गरेर पाहुना लाग्दा पनि भन्न सक्नुहुन्छ, लुटिखानमा बनढाडेजस्तै कुशल प्राणीमा बर्नाएको जो बुझिन्छ ।
उहिले पञ्चासे कालखण्डका “जनाउवादी” नेता रूपचन्द्र बिष्टबाट थाहा दर्शन प्रतिपादित भएको थियो । घरका वनका पधेरा बारी र खरबारी र ऐनका राजनीतिका जेजस्ता कुरा वा विषय र प्रसङ्गमा पनि “थाहा चाहियो” भनेर आम जनतालाई जगाउन खोजेर दह्रा खुट्टा टेक्ने जनाउ दिए तिनले । पञ्चभाइको लूटपाटे जगतमा गरीवमारा तुरुप लगाउने परिपञ्च र पान्डालका साँडा गतिविधि थाहा पाउनु पर्ने नैसर्गिक अधिकार पनि स्थापित गर्न खोजेका थिए ती विचारकले । किसान मजदूर विद्यार्थी शिक्षक कोही पनि गन्तव्य नचिनी बाटैमा अलमलिएकालाई “थाहा चाहियो” भन्ने उनको दुन्दुभी नाद गुञ्जिएको थियो । अनि उतिबेर चर्चित रहेका गलैचाकाण्ड, बोइङकाण्ड, गाइकाण्ड, गधाकाण्ड आदिका खलनायकमाथि खनिएर छाला काड्नुपर्छ पर्छ भन्ने खरो दह्रो उद्घोष पनि थियो उनको ।
आजीविकाको बाटो न पाएर त्यत्तिकै थकित बनेका, जीवनयनत्राको बीचैमा निदाएका र पथरा परेका बटुवालाई आफू को हो कहाँ पुग्नु पर्ने हो भन्ने जानकारी जगाउने जनाउवादी विचार प्रचारको पीरामिडमा पुगेको थियो । आममान्छेको बुद्धि सपार्ने दिमाग तिखार्ने सामन्ती सत्ताको आसनमा कुएत्रो लगाएर घुँएत्रो हान्ने र ठग तस्कर दलाल लालाहरुको दिमागमा भाला चलाउने सलह पठाएर भ्mँयाकु झार्ने थाहा दर्शनको कार्यदिशा र आचारसंहितामा पर्दथ्यो । छोटो समयको अवधिभित्रै यो दर्शन पनि झण्डै झण्डै बौद्धदर्शनको हराएको काइँलो भाइको कित्तामा पुगीसकेको थियो तर यसलाई शास्त्रीय आसन दिएर व्याख्या विश्लेषण गर्ने साहित्य कला र समाजशास्त्रका पुस्तिकामा लेखोट तयार गर्ने कुनै चेलाचपेटा मिलेन ।
यो दर्शनलाई साङ्गोपाङ्ग मिलाएर विधिपूर्व व्यासासनमा बसाउँन भने कोही आधुनिक कार्यकर्ता पनि मिलेन । एउटा वृहत परिधिको अभियान बनाएर प्रचारको संसारमा दौडाउने कुनै रिम्पोछे निस्किएन । उनको मार्ग पछ्याउने छोरानाती जन्मन नपाउँदै थारै बस्यो विचरो थाहा दर्शन । स्कूल कलेज विश्वविद्यालयको ढोकाभित्र छिरेन । भाइ भरियाद टोल छिमेकबाटसमेत चाहिँदो उपचार अनि प्रचार प्रसार सुद्द न पाएर चोक चौबाटा पर्खाल कान्ला खोला खहरेका ढुङ्गा वनजङ्गलका मुडामा बागबगैचाका बोट विरुवाका हाँगा फेद र पातपातमा समेत थाहा लेखेर यो दर्शनले तत्कालिक अनुदार शासनसत्ताको भरियाका काँधमा घर्षण पैदा गरेको थियो । कुनै कितावमा लेखिएन कवितामा आएन कथामा कथिएन अनि नयाँ शाखा सन्ततिको अगाडि यसो व्याख्या विश्लेषाण गर्ने फुर्सद पनि कसैले पाएन । उनको कुसुमी विचारले बास बस्ने गतिलो गूँड नपाउँदै उनी चरीजस्तै आफैं भुर्र उडेर गए ।
उनी गएपछि विचारले बास पाउँने छाँटछन्द पनि झन कता हो कता बेपत्ता भयो । छेउ कुना कुनै भेऊ पाइएन । अहिले ती जनाउपक्षीय भइँमान्छेका नायकलाई होचा देखाउँदै तीन हात माथि पुगेर अर्का भालेमार्का खलनायकले “थाहा छैन” दर्शन प्रतिपादन गरेका छन् । हालसालै प्रतिपादित यस दर्शनले समाज सुधारको अकबरी फर्मुला तयार गरेको भान पर्छ । युगौंदेखि आआप्mना असत्कर्म र विजाइँबिठ्याइँको कारणले पुलिसदाइको रामधुलाई र गोरुचुटाइमा परेका चोर डाँका तस्करजस्ता कर्मठ तथा कुशल व्यवसायीलाई यसले राहत मिलेको त सजिलै भन्न सकिन्छ ।
सीधासादा जनता र सत्ता शक्तिलाईसमेत “थाहा छैन” को रटानले सम्मोहनमा पारी दिएको छ । के हो त थाहा छैन भन्या भनिकन भन्दा कुनै ढाडे बिरालाले कुँडे रित्याएर तर मारीसकेपछि ढ्याउअ गरेर आफूलाई चोखो साबित गर्ने घोषणापत्र भन्न सकिन्छ । ठगिने वर्गको दबाबमा बनेका कुनै आयोग नियोगमा दिने बयान पनि कहिँ नभएको कुरा पनि यसै हाँडीगाउँको मुलूकमा सुनीभ्याउनु परेको छ । त्यस्ता पावरफुल सर्वाधिकार सम्पन्न छानवीन या छ्यान्नब्यान्न समितिले यी अपराधकर्मका कुकृत्यलाई छान्दै निफन्दै र पर्गेल्दै लगेर खाँटी कुराको चुरोसम्म पुग्नु र त्यसलाई हटाउनु त कता हो कता भरपर्दो जवाफ माग गर्न पनि सकेको छैन । उल्टै ठगकै अगाडि थुरथुर कामेर आप्mनो अक्षमता देखाइरहेको छ । पुलिश दाइसमेत उसैको बलमिच्याइँमा दम भरेर कानेखुसी गर्न निर्लज्ज र विबस देखिन्छ ।
गर्नेलाईभन्दा देख्नेलाई लाज भन्ने नैतिक प्रश्नसमेत अनैतिकका खेलतमासाभित्र दम्पच भएको छ । अपराधीलाई कहल्याउने र उसले गरेका कुकर्मका कुरा साँचोसाँचो बोल्न लगाउने केरकार यन्त्रसमेत विश्वभर चलनचल्तीमा आइसक्ता पनि यहाँका नाइकेहरू आफैंतिर आइलाग्ने डरले हो कि त्यतातर्फ पहल गर्न हच्किरहेका छन् । छानवीन समिति भनाउँदो झाराटारे जमातले बाघको अन्तरवार्ता लिन लागेको बाँदरजस्तै छुलछुली तल्लो ठाउँ भिजाएर बोल्ने गरेको देखेर जनता पो लज्जावती झार बनेका छन् । लौन के भयो यस्तो अनर्थ भन्दै पीडितसंग तदाकार बनेर शोक गीत गाउँन थालेका छन् ।
सहकारी मासी खाने फलानो मूर्धावात भन्दै तीजको गीतमा आआप्mना दर्द बिसाउन थालेका छन् ठगिने महिलावृन्द । बच्चाको उपचार गर्ने, दर खान, एकजोर लुगा फेर्ने,चुरापोते लगाउने सपना देखेका चेलीको पेवा खर्चसमेत लुटीखाने अगुवाले बगुवा पहिरोले जस्तै जायजेथा र घरबारै बगाइदिएपछि अनि केको चाड केको पर्व ? विचरा भुइँमान्छेको जीवनमा पुराना सामन्तभन्दा नव सामन्त लुटेराको आततायी आतङ्कको दंश झनै काउसो बनेर बिझाउँदो छ । कालो साँप बनेर डसीरहेछ । श्रमको कमाइ फिर्ता लिने साहस नभएपछि पाटीको बास भएका वृद्ध मानिस जाने कता हो अव भन्दै आफैलाई प्रश्नमा टाँगीरहेका छन् ।
गोहीको छाला साटिएको आङमा काँचो वायु सबार भएर चटकीको ताल र लयमा घोक्रो फुलाएर हिटलरे शैलीमा “हेर बाबु हेर कतैबाट मैले केही लिएको कसैको केही मासेको छैन, अरुको सम्पति घिचेको हसुरेको लुँड्याएको पनि छैन, कुनै मिडियामा खुट्टो घुमाएर बैंक र जनताले वचत राखेको सहकारी ठगेको पनि मलाई नै थाहा छैन, थाहै छैन, मरीजानु थाहा छैन, धरोधर्म थाहा छैन” भनेपछि पुगेन त काण्ड अनि ? पहिले बाटो देखाउन अगि सरेको प्रकाण्ड नायक यसरी खलनायकको पाराले छ्यानव्यानविनाको रछ्यानमा ज्यान जोतेर पधारिएपछि पाखुरा समातेर कसले उद्धार गरिदिने खै ? कुन मन्त्र कानमा फुकेर कुन धामीझाँक्रीले जुत्ता सुँघाएर होस् जगाइदेला त अव खै ?जय थाहा छैन पार्टी !
०००
नयाँवानेश्वर, काठमाडौं
९८४१६४७१८९
Subscribe
Login
0 Comments
Oldest








































