डिल्लीराज अर्यालमान भएका सबैलाई मान्छु
'बुद्धि हुने भए खै त बुद्धि देखाउन सकेको ? कुनै तल्लो तहमा भएकाले माथिल्लो तहमा भएकालाई बाटो देखाउन सकेको छ ? बाटो देखाएको ठीक छ भनेर कुनै माथिल्लो तहकाले स्वीकारेको छ ? अनि ? अनि कसरी भन्छस् बुद्धि अरुको पनि हुन्छ भनेर ?'

डिल्लीराज अर्याल :
चाहे जो सुकैले जेसुकै भनोस्, मेरो विचारमा बहुदलीय व्यवस्था स्थापना भए यताका दिनमा देशको अवस्था निकै सुधार भएको छ । पूवाग्रह राखेर भन्नेले के भनेनन् र ?
हिजो पनि चित्त नबुझेकालाई दोष लाउने चलन थियो र आज पनि छ। भोलि पनि यो चलन हराउने लक्षण देखिन्न । हराउनु पनि हुँदैन । खास गरेर संस्कृति, परम्परा बनिसकेका कुराहरू हराउनु पनि हुन्न ।
संस्कृति मन्त्रालयको गठन गर्दा यसको महत्वलाई हामीले बुझेका रहेछौं भन्ने लागेको थियो । शिक्षासँग त्यसलाई जोडेर झन् उन्नत बनाउन कस्सिएको महसुस भएको थियो । संस्कृति र शिक्षालाई जोडेर लैजान सकेको खण्डमा निरक्षरता उन्मूलनसित संस्कृतिको महत्वलाई पूर्णरुपमा देशभर फैलाउन र संरक्षण गर्न गराउन पनि ज्यादै सजिलो हुने थियो ।
यता केही दिनदेखि सरकार मन्त्रालय घटाउँदै छ । अनुदान हेरेर मन्त्रालयको व्यवस्था गर्नु हाम्रो जस्तो देशका निम्ति आश्यक पनि हुन्छ । घटाउँदा अनुदान हेर्ने र बढाउँदा भागवण्डा हेर्ने संस्कृति पनि ज्यूदै भएकाले किन घटबढ भइरहन्छ ? भन्ने कुरा बुझ्न अप्ठेरो छैन, तैपनि आ-आफ्ना विचारहरूलाई आफ्नै पारामा पोख्छन् मान्छेहरू ।
धेरैदिनदेखि म प्रसन्न छु । मेरो प्रसन्नता मन्त्रालय घट्नुमा छ । कमसेकम देशको अर्थव्यवस्था हेरेर मन्त्रालय घटाउँदा ठूलै रकम बच्नेछ र त्यसले धेरै जनाका धेरै काम सफल हुनेछन् ।
हुन त म शेरबहादुरजीले मन्त्री थप्दै थप्दै जाँदा पनि मन्त्रालय थप्नै पर्ने भएर थपेका हुन् भनेर प्रसन्न भएको थिएँ । २०/२२ वटा मन्त्रालय मात्र राखेर को को मन्त्री बन्ने ? दुईसय पैंसठ्ठी जना सांसद भएको मुलुकमा जम्मा २०/२२ वटा मन्त्रालय हुनु राम्रो पनि त होइन । त्यसैले मन्त्रालय बढ्नुपर्छ र यति बढ्नुपर्छ कि धेरै नभए पनि सांसदहरूसम्मलाई त एक एक ओटा पुगोस् भन्ने थियो । त्यो कमसेकम पूरै कार्यान्वयन नभए पनि शुरुवात त भएको थियो भन्ने कुरा नै मेरो प्रसन्नताको कारण थियो ।
जति जनसंख्या बढ्यो त्यति सांसद बढ्नुपर्छ, जति सांसद बढे त्यति मन्त्री बढ्नुपर्छ र जति मन्त्री बढे त्यत्ति मन्त्रालय बढ्नुपर्छ – यो त
साधारण आवश्यकताकै कुरो भित्र पर्छ । मेरो मान्यता त अझ फरक छ। म त सारा जनतालाई सांसद र सारा सांसदलाई मन्त्री बनाउनुपर्छ भन्छु तर मन्त्रालय र मन्त्री घटाउने निर्णय पनि खुशीसाथ स्वीकार्छु ।
मेरो मान्यताको विरोध गर्छ- मेरै मित्र देशबन्धु । उसलाई मन्त्री र मन्त्रालय बढेको त्यत्ति मन पर्दैन । ‘तँलाई मन्त्री र मन्त्रालय घट्दा पनि राम्रै लाग्छ बढ्दा पनि राम्रै लाग्छ। तेरो बुद्धि पनि विचित्रकै छ’ भन्ने गर्छ।
‘त्यत्रा त्यत्रा मन्त्रीहरूले गरेको निर्णयमा म प्रसन्न नहुनु पर्ने के छ र ?’ म पनि आफ्नो राय प्रकट गर्छु ।
‘तिनले निर्णय गरे भन्दैमा आफ्नो विचारै नभए जस्तो जेमा पनि खुशी प्रकट गर्नुपर्छ ? के तिनका सबै निर्णय राम्रै हुन्छन् भन्ने छ ?’ उ असहमति प्रकट गर्छ ।
देशवन्धुको यो विचारसँग पनि म सहमत भैदिन्छु तर तर्क भने गर्छु किनकि तर्क गर्ने मेरो बानी हो र सहमत हुने पनि । किन रिसाउन हाल्नु ? रिसाइ हालेर मलाई के फाइदा ?
जसरी म मन्त्रालय बढ्दा र घट्दा पनि प्रसन्न हुन्छ दुवैमा सहमति जनाउँछु त्यसरी नै उसको तर्कमा पनि प्रसन्न हुन्छ तर तर्क र प्रश्न भने उठाउँछु ।
आफ्नो तर्कमा सहमत देखेपछि ऊ पनि दङ्ग पर्छ र भन्छ-‘ हैन शङ्कर, तेरा कुरा बुझ्नै सकिन्न नि । तँ त मन्त्री, मन्त्रालय वढाउनुपर्छ भन्छस् नि हैन र ? फेरि मेरा कुरामा कसरी सहमत भइस् त ?’
‘आफ्नो विचार राख्नुपर्छ। यो प्रजातन्त्रमा विचार राख्ने हक सबैलाई छ । मन्त्रालय घटाउने बढाउने हक त मलाई छैन नि । मलाई हक नभएका कुरामा म अप्रसन्न किन हुने ?’ म उत्तर दिन्छु ।
‘तँ हकका कुरा किन गर्छस् ? हक छ भन्दैमा आफ्नो खुशी गर्छन् भने त्यसको विरोध गर्नु पनि त कर्तव्य हो । एउटा सचेत नागरिक भएर विरोध गर्नुपर्दैन ?’ देशबन्धु तर्क गर्छ ।
‘तेरो तर्क ठीक छ तर मेरा कुरा त बुझ् । तर्क गर्ने कर्तव्य होला र अधिकार पनि । जुन कुरा बोल्नुको अर्थ हुन्न त्यो कुरा किन बोल्ने ? बाेलेर काम लाग्ने भए बोल्नुपर्छ । फेरि त्यत्रा त्यत्रा जनताले अधिकार दिएर पठाएका नेताहरूको बुद्धिले भेटेको कुरा तेरो हाम्रो बुद्धिले भेट्छ र तर्क गर्ने ? विरोध गर्ने ?’ म प्रतिबाद गर्छु ।
‘दिएर पठाएका नेताहरूको बुद्धिले भेटेको कुरा तेरो हाम्रो बुद्धिले भेट्छ र तर्क गर्ने ? विरोध गर्ने ?’ म प्रतिवाद गर्छु ।
ऊ हाँस्छ – हा, हा, हा, हा, हा, र भन्छ- ‘मूर्खताको पनि हद हुन्छ । जनताले छाने भन्दैमा सबैसँग बुद्धि हुन्छ नै भन्ने के छ र ?
‘किन हुन्न ? सामान्य मान्छेमा भन्दा बढी बुद्धि त नेतामा हुन्छ हुन्छ । नेतामा पनि वडाकामा भन्दा गाउँकामा, गाउँकामा भन्दा जिल्लाकामा, जिल्लाकामा भन्दा केन्द्रकामा र केन्द्रकामा भन्दा बढी केन्द्रीय कमिटीकामा हुन्छ त्यसमा पनि अझ माथिल्लो पदमा त्यसै पुगिन्छ ?’ म तर्क गर्छु ।
ऊ सम्झाउने पारामा भन्छ- ‘तँ कुरो बुझ्ने कोशिशै गर्दैनस् । राजनीति गर्दैमा र माथि पुग्दैमा बुद्धि हुने होइन । जनताले छान्दैमा वुद्धि हुनै पर्छ भन्ने छ ? बुद्धि त अरु सामान्य मान्छेमा पनि हुन सक्छ ।’
‘बुद्धि हुने भए खै त बुद्धि देखाउन सकेको ? कुनै तल्लो तहमा भएकाले माथिल्लो तहमा भएकालाई बाटो देखाउन सकेको छ ? बाटो देखाएको ठीक छ भनेर कुनै माथिल्लो तहकाले स्वीकारेको छ ? अनि ? अनि कसरी भन्छस् बुद्धि अरुको पनि हुन्छ भनेर ?’ म आफ्नो भनाइ राख्छु ।
ऊ रन्थनिन्छ र म सहमति जनाउँछु । ‘तेरो कुरो ठीकै छ, म मान्छु तर तल काम गर्नेको बुद्धि माथि पुग्नेको जति त हुँदै हुन्न क्या ?’ म उसलाई खुशी पार्न थप्छु ।
‘फेरि उही। हुँदै हुन्न भने कसरी मेरो कुरो मानिस् त ऊ प्रश्न गर्छ । म अप्ठेरोमा पर्छु । म उसलाई पनि नेताहरूलाई जस्तै खुशी पार्न
चाहन्छु । सोच्छु – नेताहरूको तर्क काट्नु जसरी उपयुक्त हुँदैन त्यसैगरी देशवन्धुको कुरामा असहमति जनाउनु पनि । कुरा, कुरा मात्र होइन, तर्क, तर्क मात्रै त होइन त्यहाँ त अरुथोक पनि हुन्छ । अचार वन्न जति धेरै थोक चाहिन्छ, कुरा बन्न र बोल्न पनि त्यत्ति धेरै थोक चाहिन्छ । सन्तुलन विग्राे, सबै बिग्राे। त्यसैले सवभन्दा असल त मानिदिनु हुन्छ । सम्माननीयहरूलाई मान, माननीयहरूलाई मान, पूजनीय, आदरणीय, श्रद्धेय सबैलाई मान । त्यसैमा मान सम्मान छ । तिनैसित मान सम्मान हुन्छ । मनमा यस्तै थुप्रै थुप्रै खाले कुराहरू खेल्न थाल्छन् । मलाई अल्मलाएको देखेर ऊ पुनः तर्क गर्न खोज्छ । म भने -‘ल ल ठीक छ, मैले मानें’ भन्दै विदा हुन्छु । देशवन्धु पनि जिल्ल पर्छ र घरतिर लाग्छ ।
०००
पाल्पा
रातमा सूर्य दिनमा तारा (२०५७)
Subscribe
Login
0 Comments
Oldest








































