साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वर्गलोकी महाकवि र मर्त्यलोकी कविता महोत्सव

कविहरूको ठेलमठेल कायमै थियो । पुगे अर्का कवि र सुरु गरे आफ्नो भूमिका । 'वुभनु भो, मेरो कवितालाई कत्ति लगानी परेको छ । पुरस्कृत त मेरो कविता पो हुनुपर्छ ।

Nepal Telecom ad

पिँडालु पंडित :

‘स्वर्गलोक’ कस्तो हुन्छ ? कसैलाई थाहा छैन । ‘उम्केको माछो ठूलो’ भनेझै सबै कल्पनाकै भरमा नदेखेको ठाउँलाई राम्रै होला भनेर कल्पन्छन् । स्वर्ग पुगेर आएको मान्छे फेला परे त्यस सम्बन्धमा अनुसन्धान गर्नेहरूको तांती लाग्थ्यो । तर त्यो अवसर पनि अहिलेसम्म कसैलाई जुरेको छैन । न त अहिलेसम्म कथित स्वर्ग जाने मान्छेले म त स्वर्ग जाँदैछु है भनेर वेलैमा खबर नै गर्ने गरेकाछन् । ‘आफू मरेपछि डुमै राजा’ भनेझै जाने बेलामा पनि किन यहाँको झञ्झट बोकेर जाने ? भनेर नै सायद थाहै नदिई यसरी हिँड्ने परम्परा चलेको होला ।

जे होस् – नदेखे पनि स्वर्ग पक्कै राम्रो छ । यस्तो राम्रो ठाउँमा आफू कहिल्यै जान पाइएन भनेर बरु तपाईलाई स्वर्ग शब्दसँग नै वैमनस्य छ भने त्यसलाई त्यही शब्दावली प्रयोग गरिरहनु पर्छ भन्ने पनि छैन । यो स्वप्निल वा काल्पनिक अनुभूतिको संसार भएकाले यसलाई स्वप्नलोक वा कल्पलोक भनेर नामकरण गर्न सकिने सम्भावना पनि त्यत्तिकै सुरक्षित छ । अनि यो लोक अहिलेसम्म कुनै पनि मर्त्यलोकी देशहरूको उपनिवेश नभइसकेकाले समयमै सबैको साझा सहमति बन्छ भने नाम परिवर्तन कुनै ठूलो कुरा पनि होइन ।

इहलोकमा सधै ‘दाल-भात-डुकु’ को समस्या झेल्नु परे पनि परलोकमा उनलाई यस्तो समस्या कहिल्यै भोग्नु परेन । यो हाम्रा लागि सौभाग्यको कुरा हो। खाइलाइका अतिरिक्त दिनको दुई बट्टा फेटारहित चुरोट र एक बट्टा सलाई उनलाई उपलब्ध हुन्थ्यो – नमनीकनै विशेष सुविधामा । मर्त्यलोकमा हुँदा साँच्चैका स्वच्छ छविका शिक्षा मन्त्री र खाली कागज कहीं देख्न नहुने स्वभावका धनी भएका कारण उनलाई अलमल्याउन कलमसहित एउटा बत्तीसपाने कपी पनि उनको दैनिक सुविधामा पर्थ्यो। उनी सधैं यसैमा लडिबुडी गरिरहन्थे ।

स्वर्गलोकसम्म पनि उनले पाएको यो सम्मानका कारण सगरमाथाले आफ्नो उँचाइ अहिलेसम्म घटाउनु परेको छैन । दुनियाँले कुल्चेर टाउको थिल्थिलो भएपनि खुट्टा गलाउनु परेको छैन । उनलाई हिजोका बच्चाहरूले राम्रोसँग चिनेजानेका वा सुनेजानेका भएपनि आजका बच्चाहरूलाई यी व्यक्तित्व ‘लक्ष्मीप्रसाद देवकोटा’ हुन् भनेर चिनाउनै पर्ने हुन्छ । त्यति भनेपछि महाकवि भन्ने कुरा चाहिँ उनीहरू आफैं जान्दछन् । यति मात्र होइन, कविहरू सुबिस्तासँग खान-लाउन पाउने प्राणी होइनन् भन्ने निष्कर्ष पनि उनीहरू सजिलै निकाल्छन् ।

झन्डै झन्डै आधा शताब्दी अघि परलोक भएका इहलोकी महाकवि देवकोटा एकदिन परलोकी स्वर्गको सुन्दर बगैंचामा बसेर मनोरम प्राकृतिक दृश्यपान गर्दै थिए । उनको कानमा झुन्डिरहेको एफएमले एक्कासि ‘कान्तिपुरमा आज सञ्चालन हुने केही कार्यक्रमहरूको विवरण’ भन्दै प्रज्ञा भवनमा हुन लागेको ‘राष्ट्रिय कविता महोत्सव’ को कार्यक्रम फलाक्यो । कविता लेख्न भुलिसकेका महाकविज्यूलाई पूर्व जन्मको सम्झना भयो । कविता भन्ने वित्तिकै उनको जीउ नै फुरुङ्गियो । उनलाई कान्तिपुरमा आयोजना हुने कविता महोत्सव हेर्न जाउँ-जाउँ लाग्यो । यो जाउँ जाउँले उनलाई पटक्कै छाड्‌दै छाडेन । पछ्याएको पछ्यायै । त्यसैले बेलैमा खाइपिइ सकेर महाकविज्यू झरे मर्त्यलोकी कान्तिपुरतिर ।

धेरैको अन्तरालमा देखेर हो कि कान्तिपुरको कान्ति निकै फेरिएको महसुस उनले गरे । मसलाका रूख लगायत सहरका थुप्रै पुराना चिह्नहरू उनले नियाल्ने प्रयास गरे। तर कतै केही फेला परेन केवल उनीभन्दा पनि बूढा सिंहदरवार, घण्टाघर र धरहरा बाहेक । नेताका बुद्धि चाउरिए जस्तो टुंडिखेल पनि कचक्क परेर खुम्चिरहेकी । यो देख्दा उनलाई कस्तो कस्तो नरमाइलो लाग्यो ।

कान्तिपुरतिर ओरालो लाग्दा आँखामा भएको पिरो र श्वासप्रश्वासमा उब्जिएको कठिनाइको कारण पनि यहाँ ओर्लिसकेपछि उनलाई थाहा भयो । टाँटाँ र टुंटुं गरेर थोत्रा गाडीले हानथाप गर्दै सडकमा कुद्दा उनलाई कति ठाउँमा त वाटो काट्‌नै पनि हम्मेहम्मे पर्यो। सवारी नियम नाघेर गाडी हाँक्ने चालकहरूलाई प्रहरीले पकँदै सडकमै खुसुक्क हात मिलाएर छाडेका दृश्यहरू पनि उनलाई निकै रोचक लाग्यो । सार्वजनिक सुनुवाइको चकचकी वढेर रेखदेख दौडाहाको रूप धारण गरेका बेलामा पनि खुला सडकमै यस्ता मेलमिलापको दृश्य देख्दा अक्किल हुनेका लागि कसले रोक्न सक्छ भन्ने पनि उनलाई लाग्यो। वाहिरै त यस्तो छ भित्र कस्तो होला भन्ने कौतुहल मनमा वढे पनि सरासर सडकमा हिँड्दा जे देखियो, जति देखियो त्यतिमै सीमित भएर उनी पुगे प्रज्ञा प्रतिष्ठान र खुसुक्क पसे हलभित्र ।

एफएमबाट एघार बजे कार्यक्रम हुने भनी सुनेका महाकविज्यू सिट नपाइने जस्तो गरी पुगे आधा घण्टै अगाडि । एउटा कुनामा खुसुक्क बसेर चारैतिर नियाल्न थाले । उनका पालाका दुईचार जना काव्य-सर्जकहरू पनि दन्तविहीन मुख चपाउँदै उनकै अगाडि झल्याकझुलुक देखिन थाले । तर पनि अभिवादन । भलाकुसारी गर्नबाट उनी ठगिए- स्वर्गवासीको आवरणले गर्दा ।

तोकिएको समयभन्दा एकडेढ घण्टा ढिलो भए पनि कार्यक्रम बेलैमा सुरु भयो । आयोजकले यसै भने । दुईचार जना ढिलारूहरूलाई विशेष आसनमा निम्त्याएर कवितावाचन कार्यक्रम अगाडि बढ्यो । आधा दर्जन जति कविता वाचिएपछि उनले यसो मनमनै विचार गरे- अहो, मैले लेखेका कविता अरूले नबुझे पनि मौका परे म आफैँ त बुभयें नि। अहिले त जो सष्टा हो उसैले पनि नवुभने कविता रचिन थालिइसकेछ। कविताको यो फड्‌कोमराइमा उनले सन्तुष्टिको सास फेरे । हुन पनि हो नि, कविताका अक्षर अक्षर सबैले अर्थ्याउन सक्ने भए भने त कविताको मर्म पनि के नै बाँकी रहन्छ र !

मर्त्यलोक छाडेपछि मर्निङ्गवाकसम्म पनि निस्कने बानी हराइसकेका बूढा यति लामो बाटो तय गरेर आउँदा शारीरिक रूपमा निकै थाकिसकेका थिए । झन कवितातिर एकाग्र भएर काव्यभाव बुभन खोज्दा उनमा मानसिक थकान पनि त्यत्तिकै भइसकेको थियो। कविता सुन्दासुन्दै महाकविज्यू संसदभित्र सांसद सुतेजस्तो चिन्तारहित मुद्रामा सजिलैसंग बसीबसी फुस्फुस् निदाइहाले ।

एक/डेढघण्टाको आराम पछि महाकविज्यूका आँखा झल्याँस्स के बिउँझिएका थिए- ढोका नै बन्द भइसक्यो कि भन्ने अर्द्धचेतसँगै उनी एकपटक अत्ताल्लिए । तर होइन रहेछ । विशेष आसनका विशेप मान्छे मात्र गायव भएका रहेछन् । कविहरू धमाधम कविता भट्टयाइरहेका । अनि, अर्को अचम्म के देखियो भने हलभित्र ठूलो कोलाहल । राजनीतिक दलहरूको जस्तो त्यहाँ कविहरूको पनि दल । पक्ष-प्रतिपक्ष । हाँसो, हल्ला, होहल्ला र हुटिङ । साहित्यमा पनि यस्तो फूट। उनलाई अनौठो लाग्यो ।

यस्तैमा एकजना कविज्यू मन्चमा कुर्लिरहेका देखिए-‘यो हल्ला गर्ने ठाउँ होइन ।’ हल्ला रोकिएन । ‘यहाँ कविहरूको अपमान हुँदैछ ।’- अझै हल्ला रोकिएन। ‘अव त कविताकै अपमान भयो । लौ कविता फिर्ता लिनुस् । म कविता वाचन गर्दिन ।’- उनको त्यो अन्तिम निर्णय थियो। उनी फटाफट यथास्थानमा फर्किए।

यत्तिकैमा श्रोता दीर्घामा अर्को हलचल सुनियो । ‘कविता नसुनाउने भा श्रोताको अपमान भयो । म बस्तिन ।’- एकजना श्रोता कुलँदै उठे। ‘तपाईं बाेल्नै पर्छ । नत्र बस्नेको अपमान हुन्छ । बस्नुस् ।’- रिसाउँदै अर्का श्रोताले उनलाई वित्त्याए । उनी घमण्ड नगरीकन यथावत् सुरुक्क बसे ।

मन्चतिर फेरि अर्का कविको कुर्लाइ सुरु भयो । ‘यहाँ अहिलेसम्म कवितै आएनन् । कविता मात्र भनेर हुन्छ ? अहिलेसम्म वाचित कविता कवितै होइनन् । ‘ई’- कविता त मेरो जस्तो हुनुपर्छ । सुन्नुस् ।’ तर उनको कविता बीचबाट सुरु भयो कि अन्त्यवाट – वाचन सकिइसकेछ, श्रोताले पत्तै पाएनन् ।

कविहरूको ठेलमठेल कायमै थियो । पुगे अर्का कवि र सुरु गरे आफ्नो भूमिका । ‘वुभनु भो, मेरो कवितालाई कत्ति लगानी परेको छ । पुरस्कृत त मेरो कविता पो हुनुपर्छ । यहाँ धाँधलीको सङ्केत मिलिसक्यो । यसर्थ प्रज्ञाले मेरो कविता नछान्न सक्छ । तपाईं श्रोताहरूले नै यसमा निर्णय दिनुस् । सुन्नुस् मेरा कविता ।’ उनी वाचनतिर अलमलिए । पक्ष-प्रतिपक्ष साविक बमोजिम ।

कविहरूको प्रतिस्पर्धा महाकविज्यूलाई ज्यादै रोचक लाग्यो। मर्त्यलोकी थुप्रै कविहरूमा महाकविको भरपुर भविष्य देखेर उनी हर्षविभोर भए । मौका परे कविता महोत्सवमा प्रतियोगी बन्ने उनको पनि धोको थियो । तर आफूले पाइराखेको महाकविको पदवी त्यहीं लुछाचुडी हुन सक्ने सम्भावना देखेर उनले तत्काल लेख्तै गरेको –

‘हेर महाकवि लुकिलु‌कि आयो, सजग दृष्टिले नयन डुलायो
टाढा हुन गो मौन प्रवास, ढररढम्म द्वाङ ठटायो, – जीवनको उपहास ।’

…कविता खल्तीमा घुसार्दै महाकविज्यू लुरुलुरु उकालो लागे । यतातिर न आयोजक न पत्रकार, न त सर्वसाधारण कसैले पत्तै पाएनन् । सवै आ-आफ्नै धुनमा । हुन पनि हो नि ! अहिलेको जमानामा अरूको वास्ता गर्ने फुर्सत नै कसलाई छ र ?

०००
‘गोरखापत्र’ (२०६१/७/२५)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
निरन्तरताको क्रमभङ्ग

निरन्तरताको क्रमभङ्ग

पिँडालु पण्डित
खासखुस

खासखुस

पिँडालु पण्डित
पुर्पुरो

पुर्पुरो

पिँडालु पण्डित
अर्दलीको खोजखबर

अर्दलीको खोजखबर

पिँडालु पण्डित
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x