पिँडालु पण्डितस्वर्गलोकी महाकवि र मर्त्यलोकी कविता महोत्सव
कविहरूको ठेलमठेल कायमै थियो । पुगे अर्का कवि र सुरु गरे आफ्नो भूमिका । 'वुभनु भो, मेरो कवितालाई कत्ति लगानी परेको छ । पुरस्कृत त मेरो कविता पो हुनुपर्छ ।

पिँडालु पंडित :
‘स्वर्गलोक’ कस्तो हुन्छ ? कसैलाई थाहा छैन । ‘उम्केको माछो ठूलो’ भनेझै सबै कल्पनाकै भरमा नदेखेको ठाउँलाई राम्रै होला भनेर कल्पन्छन् । स्वर्ग पुगेर आएको मान्छे फेला परे त्यस सम्बन्धमा अनुसन्धान गर्नेहरूको तांती लाग्थ्यो । तर त्यो अवसर पनि अहिलेसम्म कसैलाई जुरेको छैन । न त अहिलेसम्म कथित स्वर्ग जाने मान्छेले म त स्वर्ग जाँदैछु है भनेर वेलैमा खबर नै गर्ने गरेकाछन् । ‘आफू मरेपछि डुमै राजा’ भनेझै जाने बेलामा पनि किन यहाँको झञ्झट बोकेर जाने ? भनेर नै सायद थाहै नदिई यसरी हिँड्ने परम्परा चलेको होला ।
जे होस् – नदेखे पनि स्वर्ग पक्कै राम्रो छ । यस्तो राम्रो ठाउँमा आफू कहिल्यै जान पाइएन भनेर बरु तपाईलाई स्वर्ग शब्दसँग नै वैमनस्य छ भने त्यसलाई त्यही शब्दावली प्रयोग गरिरहनु पर्छ भन्ने पनि छैन । यो स्वप्निल वा काल्पनिक अनुभूतिको संसार भएकाले यसलाई स्वप्नलोक वा कल्पलोक भनेर नामकरण गर्न सकिने सम्भावना पनि त्यत्तिकै सुरक्षित छ । अनि यो लोक अहिलेसम्म कुनै पनि मर्त्यलोकी देशहरूको उपनिवेश नभइसकेकाले समयमै सबैको साझा सहमति बन्छ भने नाम परिवर्तन कुनै ठूलो कुरा पनि होइन ।
इहलोकमा सधै ‘दाल-भात-डुकु’ को समस्या झेल्नु परे पनि परलोकमा उनलाई यस्तो समस्या कहिल्यै भोग्नु परेन । यो हाम्रा लागि सौभाग्यको कुरा हो। खाइलाइका अतिरिक्त दिनको दुई बट्टा फेटारहित चुरोट र एक बट्टा सलाई उनलाई उपलब्ध हुन्थ्यो – नमनीकनै विशेष सुविधामा । मर्त्यलोकमा हुँदा साँच्चैका स्वच्छ छविका शिक्षा मन्त्री र खाली कागज कहीं देख्न नहुने स्वभावका धनी भएका कारण उनलाई अलमल्याउन कलमसहित एउटा बत्तीसपाने कपी पनि उनको दैनिक सुविधामा पर्थ्यो। उनी सधैं यसैमा लडिबुडी गरिरहन्थे ।
स्वर्गलोकसम्म पनि उनले पाएको यो सम्मानका कारण सगरमाथाले आफ्नो उँचाइ अहिलेसम्म घटाउनु परेको छैन । दुनियाँले कुल्चेर टाउको थिल्थिलो भएपनि खुट्टा गलाउनु परेको छैन । उनलाई हिजोका बच्चाहरूले राम्रोसँग चिनेजानेका वा सुनेजानेका भएपनि आजका बच्चाहरूलाई यी व्यक्तित्व ‘लक्ष्मीप्रसाद देवकोटा’ हुन् भनेर चिनाउनै पर्ने हुन्छ । त्यति भनेपछि महाकवि भन्ने कुरा चाहिँ उनीहरू आफैं जान्दछन् । यति मात्र होइन, कविहरू सुबिस्तासँग खान-लाउन पाउने प्राणी होइनन् भन्ने निष्कर्ष पनि उनीहरू सजिलै निकाल्छन् ।
झन्डै झन्डै आधा शताब्दी अघि परलोक भएका इहलोकी महाकवि देवकोटा एकदिन परलोकी स्वर्गको सुन्दर बगैंचामा बसेर मनोरम प्राकृतिक दृश्यपान गर्दै थिए । उनको कानमा झुन्डिरहेको एफएमले एक्कासि ‘कान्तिपुरमा आज सञ्चालन हुने केही कार्यक्रमहरूको विवरण’ भन्दै प्रज्ञा भवनमा हुन लागेको ‘राष्ट्रिय कविता महोत्सव’ को कार्यक्रम फलाक्यो । कविता लेख्न भुलिसकेका महाकविज्यूलाई पूर्व जन्मको सम्झना भयो । कविता भन्ने वित्तिकै उनको जीउ नै फुरुङ्गियो । उनलाई कान्तिपुरमा आयोजना हुने कविता महोत्सव हेर्न जाउँ-जाउँ लाग्यो । यो जाउँ जाउँले उनलाई पटक्कै छाड्दै छाडेन । पछ्याएको पछ्यायै । त्यसैले बेलैमा खाइपिइ सकेर महाकविज्यू झरे मर्त्यलोकी कान्तिपुरतिर ।
धेरैको अन्तरालमा देखेर हो कि कान्तिपुरको कान्ति निकै फेरिएको महसुस उनले गरे । मसलाका रूख लगायत सहरका थुप्रै पुराना चिह्नहरू उनले नियाल्ने प्रयास गरे। तर कतै केही फेला परेन केवल उनीभन्दा पनि बूढा सिंहदरवार, घण्टाघर र धरहरा बाहेक । नेताका बुद्धि चाउरिए जस्तो टुंडिखेल पनि कचक्क परेर खुम्चिरहेकी । यो देख्दा उनलाई कस्तो कस्तो नरमाइलो लाग्यो ।
कान्तिपुरतिर ओरालो लाग्दा आँखामा भएको पिरो र श्वासप्रश्वासमा उब्जिएको कठिनाइको कारण पनि यहाँ ओर्लिसकेपछि उनलाई थाहा भयो । टाँटाँ र टुंटुं गरेर थोत्रा गाडीले हानथाप गर्दै सडकमा कुद्दा उनलाई कति ठाउँमा त वाटो काट्नै पनि हम्मेहम्मे पर्यो। सवारी नियम नाघेर गाडी हाँक्ने चालकहरूलाई प्रहरीले पकँदै सडकमै खुसुक्क हात मिलाएर छाडेका दृश्यहरू पनि उनलाई निकै रोचक लाग्यो । सार्वजनिक सुनुवाइको चकचकी वढेर रेखदेख दौडाहाको रूप धारण गरेका बेलामा पनि खुला सडकमै यस्ता मेलमिलापको दृश्य देख्दा अक्किल हुनेका लागि कसले रोक्न सक्छ भन्ने पनि उनलाई लाग्यो। वाहिरै त यस्तो छ भित्र कस्तो होला भन्ने कौतुहल मनमा वढे पनि सरासर सडकमा हिँड्दा जे देखियो, जति देखियो त्यतिमै सीमित भएर उनी पुगे प्रज्ञा प्रतिष्ठान र खुसुक्क पसे हलभित्र ।
एफएमबाट एघार बजे कार्यक्रम हुने भनी सुनेका महाकविज्यू सिट नपाइने जस्तो गरी पुगे आधा घण्टै अगाडि । एउटा कुनामा खुसुक्क बसेर चारैतिर नियाल्न थाले । उनका पालाका दुईचार जना काव्य-सर्जकहरू पनि दन्तविहीन मुख चपाउँदै उनकै अगाडि झल्याकझुलुक देखिन थाले । तर पनि अभिवादन । भलाकुसारी गर्नबाट उनी ठगिए- स्वर्गवासीको आवरणले गर्दा ।
तोकिएको समयभन्दा एकडेढ घण्टा ढिलो भए पनि कार्यक्रम बेलैमा सुरु भयो । आयोजकले यसै भने । दुईचार जना ढिलारूहरूलाई विशेष आसनमा निम्त्याएर कवितावाचन कार्यक्रम अगाडि बढ्यो । आधा दर्जन जति कविता वाचिएपछि उनले यसो मनमनै विचार गरे- अहो, मैले लेखेका कविता अरूले नबुझे पनि मौका परे म आफैँ त बुभयें नि। अहिले त जो सष्टा हो उसैले पनि नवुभने कविता रचिन थालिइसकेछ। कविताको यो फड्कोमराइमा उनले सन्तुष्टिको सास फेरे । हुन पनि हो नि, कविताका अक्षर अक्षर सबैले अर्थ्याउन सक्ने भए भने त कविताको मर्म पनि के नै बाँकी रहन्छ र !
मर्त्यलोक छाडेपछि मर्निङ्गवाकसम्म पनि निस्कने बानी हराइसकेका बूढा यति लामो बाटो तय गरेर आउँदा शारीरिक रूपमा निकै थाकिसकेका थिए । झन कवितातिर एकाग्र भएर काव्यभाव बुभन खोज्दा उनमा मानसिक थकान पनि त्यत्तिकै भइसकेको थियो। कविता सुन्दासुन्दै महाकविज्यू संसदभित्र सांसद सुतेजस्तो चिन्तारहित मुद्रामा सजिलैसंग बसीबसी फुस्फुस् निदाइहाले ।
एक/डेढघण्टाको आराम पछि महाकविज्यूका आँखा झल्याँस्स के बिउँझिएका थिए- ढोका नै बन्द भइसक्यो कि भन्ने अर्द्धचेतसँगै उनी एकपटक अत्ताल्लिए । तर होइन रहेछ । विशेष आसनका विशेप मान्छे मात्र गायव भएका रहेछन् । कविहरू धमाधम कविता भट्टयाइरहेका । अनि, अर्को अचम्म के देखियो भने हलभित्र ठूलो कोलाहल । राजनीतिक दलहरूको जस्तो त्यहाँ कविहरूको पनि दल । पक्ष-प्रतिपक्ष । हाँसो, हल्ला, होहल्ला र हुटिङ । साहित्यमा पनि यस्तो फूट। उनलाई अनौठो लाग्यो ।
यस्तैमा एकजना कविज्यू मन्चमा कुर्लिरहेका देखिए-‘यो हल्ला गर्ने ठाउँ होइन ।’ हल्ला रोकिएन । ‘यहाँ कविहरूको अपमान हुँदैछ ।’- अझै हल्ला रोकिएन। ‘अव त कविताकै अपमान भयो । लौ कविता फिर्ता लिनुस् । म कविता वाचन गर्दिन ।’- उनको त्यो अन्तिम निर्णय थियो। उनी फटाफट यथास्थानमा फर्किए।
यत्तिकैमा श्रोता दीर्घामा अर्को हलचल सुनियो । ‘कविता नसुनाउने भा श्रोताको अपमान भयो । म बस्तिन ।’- एकजना श्रोता कुलँदै उठे। ‘तपाईं बाेल्नै पर्छ । नत्र बस्नेको अपमान हुन्छ । बस्नुस् ।’- रिसाउँदै अर्का श्रोताले उनलाई वित्त्याए । उनी घमण्ड नगरीकन यथावत् सुरुक्क बसे ।
मन्चतिर फेरि अर्का कविको कुर्लाइ सुरु भयो । ‘यहाँ अहिलेसम्म कवितै आएनन् । कविता मात्र भनेर हुन्छ ? अहिलेसम्म वाचित कविता कवितै होइनन् । ‘ई’- कविता त मेरो जस्तो हुनुपर्छ । सुन्नुस् ।’ तर उनको कविता बीचबाट सुरु भयो कि अन्त्यवाट – वाचन सकिइसकेछ, श्रोताले पत्तै पाएनन् ।
कविहरूको ठेलमठेल कायमै थियो । पुगे अर्का कवि र सुरु गरे आफ्नो भूमिका । ‘वुभनु भो, मेरो कवितालाई कत्ति लगानी परेको छ । पुरस्कृत त मेरो कविता पो हुनुपर्छ । यहाँ धाँधलीको सङ्केत मिलिसक्यो । यसर्थ प्रज्ञाले मेरो कविता नछान्न सक्छ । तपाईं श्रोताहरूले नै यसमा निर्णय दिनुस् । सुन्नुस् मेरा कविता ।’ उनी वाचनतिर अलमलिए । पक्ष-प्रतिपक्ष साविक बमोजिम ।
कविहरूको प्रतिस्पर्धा महाकविज्यूलाई ज्यादै रोचक लाग्यो। मर्त्यलोकी थुप्रै कविहरूमा महाकविको भरपुर भविष्य देखेर उनी हर्षविभोर भए । मौका परे कविता महोत्सवमा प्रतियोगी बन्ने उनको पनि धोको थियो । तर आफूले पाइराखेको महाकविको पदवी त्यहीं लुछाचुडी हुन सक्ने सम्भावना देखेर उनले तत्काल लेख्तै गरेको –
‘हेर महाकवि लुकिलुकि आयो, सजग दृष्टिले नयन डुलायो
टाढा हुन गो मौन प्रवास, ढररढम्म द्वाङ ठटायो, – जीवनको उपहास ।’
…कविता खल्तीमा घुसार्दै महाकविज्यू लुरुलुरु उकालो लागे । यतातिर न आयोजक न पत्रकार, न त सर्वसाधारण कसैले पत्तै पाएनन् । सवै आ-आफ्नै धुनमा । हुन पनि हो नि ! अहिलेको जमानामा अरूको वास्ता गर्ने फुर्सत नै कसलाई छ र ?
०००
‘गोरखापत्र’ (२०६१/७/२५)
Subscribe
Login
0 Comments
Oldest







































