साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यकारको ह्याबिट पोष्टमर्टम

अहिले यी लबरपाँड़े साहित्यकारको ह्याबिटको पोष्टमर्टम मात्र गरेकी छु... पछि ताक पऱ्यो भने यी लबरपाँड़े साहित्यकारको एम आर आई मात्र होइन, डीएनए समेत राखिदिउँला।

Nepal Telecom ad

नगिता लेप्चा राई :

आफूभन्दा अग्रज साहित्यकारहरूबाट प्रेरित भई साहित्य लेख्न थालियो। नभन्दै देश विदेशका विभिन्न पत्र-पत्रिकामा रचनाहरू छापिन थाले। यसरी रचना छापिँदा भित्र कताबाट एक किसिमको उर्जा आउँदोरहेछ। अझ यो संवाद सञ्जालले लेखनको मात्रा द्रूतगतिमा फैलिन थाल्यो। साहित्यका महारथी कहलाइने, साहित्यलाई आफ्नो पेवा ठान्नेले मेरो रचनाबारे कुनै टिका टिप्पणी गर्नु गाह्रो माने पनि. कतिले केही मनतव्य गर्न गाह्रो माने पनि धेरैले नै मलाई सर्काउन थालेको देख्दा आफू साहित्यको ठिक ठाउँमा पुगेजस्तो अनुभव हुन थालेको छ।

विभिन्न पत्र-पत्रिका अनि सामाजिक सञ्जालमा मेरो रचनाहरू छापिन थालेपछि मलाई विभिन्न साहित्यिक कार्यक्रमतिर उपस्थित भइदिने निम्तो आउन थालेको छ। यसैले विभिन्न साहित्यिक कार्यक्रममा उपस्थित हुनैपर्छ। साहित्यिक कार्यक्रममा धेरै साहित्यकारहरूसित परिचय हुन थाल्यो। आफू ठहरियो सिकारु साहित्यकार। नाम चलेका साहित्यकारहरूसित साहित्यिक कार्यक्रममा परिचय हुन पाउनु मेरो निम्ति ठूलो सौभाग्यको कुरो हो। साहित्यिक कार्यक्रममा विभिन्न साहित्यिकारहरूसित परिचय भएपछि उनीहरू कन्ट्याक्ट नम्बर माग्छन्। ठूला बड़ा नाम चलेका साहित्यकारले जब मेरो कन्ट्याक्डट नम्बर माग्दैछन् भने नम्बर नदिने कुरै आएऩ।

बस्, बेलुकी घर पस्दा नपस्दै तिनै साहित्यकाहरूबाट असङ्ख्य फ्रेण्ड रिक्वेष्ट आएको देख्दा गर्व नलाग्ने कुरै आएन। कुनै साहित्यकारहरू कुनै संस्थासित सम्बन्धित, कुनै साहित्यकारहरू पत्रिकाका सम्पादक, कुनै साहित्यकारको पहुँच गजबै भएका, उनले चाहे हामीजस्तो सिकारुलाई सम्मान, पुरस्कार दिनु उनको देब्रे हातको खेल हो।

फेसबुकमा साथी भएपछि म्यासेज आउनु अचेल देशानै भएको छ। ठूला बड़ा साहित्यकारहरूसित च्याटिङ गर्नुको मज्जै अर्कै हुन्छ। यसमा मेरो कुनै स्वार्थ नभए पनि एकजना प्रख्यात साहित्यकारहरूसित च्याटिङ गर्दा धेरै कुरा सिक्न पाइने रहेछ भन्ने एक किसिमको घमण्डले बेला बेला पात्तिनै बानी लाग्नु स्वाभाविकै हो।

बस, नम्बर मागे, नम्बर दिइयो। फेसबुक , इन्स्टाग्राममा मित्रताको निम्ति रिक्वेष्ट पठाए। सहर्ष सगर्व मित्रता स्वीकार गरियो। त्यसपछि च्याटिङ शुरु। कहिले रातभरि कहिले दिनभरि। उताबाट आएको च्याटिङको जवाब दिनैपऱ्यो।

भनुँ निकै क्लोज भएपछि साहित्यकार महोदयको गति उदाङ्गो भएको पाएँ मैले। साक्षात देख्दा, साक्षात बोल्दा साह्रै भद्र शान्त सौम्य देखिने साहित्यकार च्याटिङको आड़मा घटिया स्वाभावका हुँदारहेछन भन्ने अहिले स्पष्ट हुन थालेको छ।

च्याटिङले पखेटा फैलाएपछि…साहित्यिक कार्यक्रममा भद्र, शान्त, सौम्य देखिने साहित्यकारको खास रुप देखिन थाले। च्याटिङ सम्म त ठिकै छ….महान साहित्यकारको इज्जत मान सम्मान राख्नलाई पनि जवाब दिइन्छ। च्याटिङमा म अरु जस्तो लम्पट साहित्यकार होइन… तपाई हाम्रो चेली साहित्यकार हुनुहुन्छ भन्ने त कति देखेँ.. कति देखेँ। उनको भनाइमा अरु साहित्यकार जति गैरे, आफू चाहिँ भद्रे। आफूलाई आफैले जेण्टलम्यान साहित्यकारको ट्याग लाएर मलाई फुर्क्याउनेहरूको सङ्ख्या कम्ति छैन। च्याटिङले मसितको गफ गहिरिएर गएपछि शुरु हुन्छ अडियो कल। हेर्नमा भद्र, सौम्य, शान्त, गम्भीर देखिने साहित्यकार महोदयको अडियो कल रिसभ गरिन्छ। राम्रै कुराकानी। अडियो कल पनि दिनमा दसपल्ट। कतिले त साह्रै वाक्कै र दिक्कै पार्छन्। अडियो कलसम्म त ठिकै छ…त्यसपछि सोझै भिडियो कल। भिडियो कल पनि रात विरातमा। रातको समय्मा आफू कस्तो पाराले बसेको हुन्छ…उनको छेउमा को छन् ती सबैको वास्ता नगरी निर्धक्कै भिडियो कल। आरम्भमा भिडियो कल रिसिभ गरेर भद्र बात मारिन्छ।

मनपेट पाएर हो कि… यो नाथे साहित्यकारलाई मैले जेभन्दा पनि स्वीकार गर्छै गर्छ भन्ठानेर हो कि कुन आँटले हो कोनि ती भद्र, सौम्य साहित्य शान्त गम्भीर देखिने साहित्यकार ट्र्याकदेखि बाहिर जान थालेको देखिन्छ।

कोही भन्छन्… तपाईंको किताब छापिदिन्छु….। किताब छाप्नको लागि जति खर्च लाग्छ म छँदैछु। लोकार्पणको लागि त कुनै टेन्सन नलिँदा हुन्छ। लोकार्पण कार्यक्रममा म यस्ता यस्ता साहित्यकार निम्त्याउँछु सबैलाई हेरेको हेरेकै पारिदिन्छु। किनभने मेरो पहुँच बियोण्ड द क्यापासिटी छ।

यिनी एकजना मात्रै होइनन्…किताब छापिदिन्छु… लोकार्पण भव्य रुपमा गरिदिन्छु भन्ने पहुँच भएका साहित्यकारहरूको सङ्ख्या गन्न नसकिने छन्। तर… किताब छापिदिन्छ र भव्य रुपमा लोकार्पण गरिदिन्छु भनेको एक वर्षभन्दा बढ़ी नाँघिसक्यो। जब जब उनीहरूले आफ्नै खर्चमा किताब छापिदिन्छु… लोकार्पण गरिदिन्छु भनी मलाई लोभ्याउँदा अरु केही नभए पनि मलाई चाहिँ महाकवि लक्ष्मीप्रसाद देवकोटाको गरिब कविताको निम्न अंशको सम्झना भयो-
विमान खासा मनको लिईकन
म चन्द्र, तारा, पृथिवी घुमीकन।
विहारको मोज लुटी लुटीकन
फर्कन्छु फेरी उही रम्य आँगन।।

किताब छापिनु र लोकार्पण हुनु त उही हो। मलाई देवकोटाकै देखिसिखी गरेर यति याहिँ भन्नु मन लाग्यो-
पुस्तक छाप्ने तिर्सना लिईकऩ
लोकार्पणको सपनामा घुमीकन
माला र खदाको भारी बोकीकन
फर्कन्छु उही साबिक साहित्य जीवनमा
सञ्चले श्वास फेर्छु ढँटुवारेलाई ब्लक गरीकन.।

कोही भन्छन्… तपाईं यता आउनुहोस्। हावाजहाजको जाने आउने टिकट पठाइदिन्छु। जति दिन बस्न सक्नुहुन्छ बस्नुहोस्। त्यसको उत्तरमा म यति मात्रै लेखिदिन्छु- हा…हा…हा.,..

खाई न पाई छालाको टोपी लाई भनेजस्तो के भनेर म हावाजहाजमा उड़ी त्यो लम्पटकहाँ जानु ? यसरी बिनासित्ति निम्त्याउनेहरूको सङ्ख्या पनि कम्ति छैन। के सोच्छन् यी लम्पटहरू हामीजस्ता सिकारु साहित्यकारलाई। हामी यति सजिलो छौं र… जसले जहिले जता बोलायो उतै जाने। हाम्रो त्यत्रो विघ्न समय कहाँ छ र ?

कोही भन्छन्, तपाईंको हातको अर्ग्यानिक ममः खानु आउन मन लागेको छ। के भनेर ती पापीलाई अर्ग्यानिक ममः खुवाउनु ? के मलाई पगला कुकुरले टोकेको छ कि गधाले ?

फेरि केही भन्छन्…म तपाईंको घरमा आएर बस्न चाहन्छु।

मेरो उत्तर हुन्छ- अप्पुइ मेरो घरमा मेरा हबी महोदयले कसैलाई एलाऊ गर्नुहुन्न।

उनको उत्तर- गेष्ट। गेष्ट पनि होइन महान् ख्यातिप्राप्त साहित्यकार भन्नुहोस् न। तपाईं मिलाउनु सकिहाल्नुहुन्छ नि…

अचम्म। कोही होमस्टेको लोभ देखाउँछन्। कोही हावाजहाजको त कोही फाइभ स्टार होटलको । कोही चाहिँ फेरि ठूला ठूला शपिङ मलको। के हामी होम स्टेमा बस्न पाएका छैनौं ? के हामी हावाजहजामा उड़्न पाएका छैनौं ? के हामीले पस् शपिङ मलमा गएर शपिङ गरेका छैनौं ? ककति सजिलो हई ? साँच्चै कति सजिलो महान् साहित्यकार र ख्यातिप्राप्त साहित्यकारको लेबल टाँसेर वास बस्न आउन तम्सिने वाह साहित्यकार महोदय वाह !

साहित्यमा प्रख्यातिको बन्दुक चलाएर मेरो पर्सनालिटीलाई धराशायी पार्न तम्सिने यी लबरपाँड़े साहित्यकारलाई अहिले लगातार ब्लक लिष्टमा हाल्दैछु।

मलाई जस्तै तपाईं नारी साहित्यकारलाई पनि यस्तै भन्दा हुन् वा रात विरातमा भिडियो कल गर्दा हुन् ? कति सजिलो हामी नारी साहित्यकार यी तथाकथित ख्यातिप्राप्त लम्पट साहित्यकारहरू।

क्षमा पाउँ, कतिपय साहित्यकारहरू त साँच्चै देवतै बराबर हुन्छन्। बिनाकारण भिडियो कल गर्दैनन्। बारम्बार कल गरेर दिक्क पार्दैनन्। सुझाव दिन्छन्… चाहिँदो मात्रामा कल गर्छन्। साहित्यकै कुरा बाहेक एक शब्द पनि वाहियात कुरा गर्दैनन्। ती सबै शिष्ट साहित्यकारहहरूलाई नमन। यी लम्पट साहित्यकारहरूलाई थुक्क।

अहिले भर्खरै मात्र थाहा पाएँ, मलाई किसिम भनेर लोभ्याउने लम्पट साहित्यकारहरूले मलाई हिजो राति नै ब्लक गरिसकेछन्। मलाई केही फरक पर्दैन। चामल भए बस्छन् भूस भए उड़्छन्। तर यस्ता लम्पट साहित्यकारलाई त ब्ल्याक लिष्टमा हालेकै वेश।

अहिले यी लबरपाँड़े साहित्यकारको ह्याबिटको पोष्टमर्टम मात्र गरेकी छु… पछि ताक पऱ्यो भने यी लबरपाँड़े साहित्यकारको एम आर आई मात्र होइन, डीएनए समेत राखिदिउँला।

०००
खाेलाचन्द फाप्री, भारत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तन्किने कुरा

तन्किने कुरा

नगिता लेप्चा राई
अनुहार

अनुहार

नगिता लेप्चा राई
‘तानतुने’ कवि

‘तानतुने’ कवि

नगिता लेप्चा राई
रिस र आह्रिस

रिस र आह्रिस

नगिता लेप्चा राई
युग ब‌दलियो

युग ब‌दलियो

नगिता लेप्चा राई
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x