नरेन्द्रराज पौडेलहाम्रो पाटी
कोहीभने च्याँखे र दाउ हान्न खडा भएका ननाथरी नामनामेसीका राजनीतिको पगरी गुतेका पार्टीबाट बडारिएका एक्लै दुक्लै सदावर्त लगाउन नपाएर मुर्मुरिँदै निहूँ खोजेर घिउ खान पल्किएका बेचल्तीका ढ्याकहरूलाई पनि हमी सेलिब्रेटी बनएर हाम्रो लिबर्टी पाटीभित्र घुसाइलिन्छौं ।

नरेन्द्रराज पौडेल :
उहिले निशाचरहरू रातको भित्तोफोर कमाइलाई एकलासका गुफा,ओडार पहुँचाएर लुकाउँथे, अनि फूर्सदमा वरपर आआफैं जम्मा भएर यताउता पल्याकपुलुक हेर्दै अरुका आँखा छलेर कप्ल्याककुप्लुक खान्थे । पछिका निशाचर झन् तेब्बर भएर निस्किए रातदिन नभनी बैंक भकारी अन्नपात नगद जिन्सी सबै एकैनासले लुटेर हत्याउँदै जनता अत्याउन थाले । कानूनका नियमलाई पाती लगाइदिने ठगहरू देउताथान मसानघाट कुरेर जोखाना हेर्दै हातको सफाइ गरेर खान्थे । अर्काथरी शहर बजारका चोक चौबाटामा सर्प,बाँदर भालु नचाएर तमासा देखाउँदै दर्शकका खल्ती रित्याएर खान्थे । अहिले भने तिनै निशाचरहरु कलिजुगका काला जुँगा ताउ लगाउँदै हाकाहाकी हप्कीदप्की गरेकै भरमा ठगीखान थाले । छेकबार लगाउन खोज्दा तगारो नाँघेर साइँदुवा पल्टिएरै घरभित्र पसेर खानथाले । दुखजिलो गरेर जम्मा पारेको पेट पाल्ने चारो पनि जबर्जस्ती खोसेरै खाने भए ।
एयरपोर्टबाट हकाकाकी सुन चरेश तस्करी गरेर मजा लिन थाले । समाज सप्रिने भनेको यस्तै हो कि क्या हो ? जता हेर ठगीखाने धन्दा मौलाएको छ । देशका बेरोजगार युवा युवतिले वैदेशिक रोजगारीमा अव जानु नपर्ने भो,गएका र जान ठीक परेकाहरू पनि अव यतै फर्किंदा हुने भो । यहिँका महाविद्यालय विश्व विद्ययालयमा पढेर थपथाप विद्वन्त बन्ने नसादार निगार पनि नपिउँदा हुँने भो । अनि गर्ने चैं के त भन्दा सोझासीधा मजदूर किसान श्रमिक अदना प्राणीको सुका मोहोर कमाइलाई लामो हात पसारे दङ्ग्याएर, नङ्ग्याएर जेजसरी भएपनि हात लगाउँदै होली खेल्ने । सुन लुकाउँदै पठाउँदै या गाँजा चरेसको व्यापार बढाउँदा पनि भो ।
उहिले खाइबढेका ठूलो घरानाका सन्तानहरु द्येउताका मूर्ति, महिला र चरेसको व्यापारदेखि बोइंगको कमिसन हत्याउन मस्त थिए । अहिले त्योभन्दा अलि पृथक शैलीमा कारोबार चल्ने भयो । अनि आफू चोखो पल्टिएर उल्टै भीषण भाषणका फोहोरा छोडेर रुझाउन पाइने भो । अनि कताको विदेश हामफाल्नु त फेरि ? नवोदित नायकहरूबाट सद्बुद्धि लिएर सडकमा नारा जुलुश गर्दै बहादुर पल्टिनु पो खाँटी देशसेवा रहेछ । यस्तै धन्दाको मेलोमेसो पोसाउने ठानेर हामी उपबुज्रुक बाहरुले पनि रेफ बहिस्कारको नयाँ पाटी खोल्यौं । पाटी त खोल्यौं तर कस्तो पाटी भन्ने तपाइँको मनमा खुल्दुली जागेको भए सुनीहाल्नोस् ।
जनताकै सेवाभावले समर्पित भएर जनसेवाकै भोक तीर्खाले छटपटाएर आआफ्नाे पौरख ,पाइन देखाउँदै यस्तो पवित्र नामको पाटी खोल्यौं ̵ जय ठग पाटी । हुन त पाटी भन्दा तपाइँले आफ्नै आसपासमा रहेका गौशाला,धर्मशाला सत्तल देवलआदि संझनु होला अनि दोस्रो चरणमा नाम बेनाममा ठडिएका मिनीघर, मिनीओडार मिनीशाला भन्ने पनि संझिन सक्नुहुन्छ । काम आराम दिने भएपनि विराम गर्न रमाउने नानाओली संज्ञा विशेषणले सिँगारिएका ठग बेगार लफङ्गा जम्मा हुने हण्डीभोगी मण्डी भएपनि तिनीहरुको स्तर नै उपल्लो भएकाले बाख्रा भेडाका खोर,भैंसीगोठ,कटेरा खोल्माआदि चैं नठान्नुहोला । यसो भन्दा निकै ठूला अझै गम्भीर तवरले इतिहास रचेर चर्चा पाएका चुच्चेपाटी जोरपाटी खरीपाटी भैंसेपाटी या खर्दारपाटी यस्तैत्यस्तै नामका अनेकौं पाटीपौवा भन्ने पनि संझिन सक्नुहुन्छ ।
लेकको चौरीखर्कमा ठडिएका लामपाटीमात्र होइन बिसीको खोला किनारमा बनेका चिहानपाटी मरनपाटी मलामीपाटीआदि राङराङका पाटी पनि थपुवा बेजोमा लिन सकिन्छ । त्यसमा अझै थपथाप गर्नुपरे साउनेपाटी भदौरेपाटी,हल्लापाटीदेखि चाल्ना निफन्ना पाटीको पनि गणना गर्न सकिन्छ तर कुरो त्यस्तो हैन, ठीक उल्टो चैं पर्यो । उहिलेको चल्लाचोर पाटी पछि पल्टूराम भयो भने समयान्तरमा छत्रेच्याउजस्तै आफैं उग्लिँदै पनि गएकोछ । पहिलाको लूटलाट र भित्तोफोर पाटीलाई पनि यो ठगीत्रन्त्रको त्रितालमा आआफ्ना जालझेल बिछ्याउन र उधिन्न कुनै साइत कुरेर दुवाली थुनीरहनु पर्दैन । पाखुरीमा च्याखुराको ताकत भए ठाउँकोठाउँ झम्टा हानेर छान मार्न सकिन्छ । नौताल मिलाउन र सोझासादा मानिसलाई फकाएर फरार बनाउँदै आफू सरदार पल्टिएर असरदार गुलछर्रा उडाउने होली मनाउन पनि यहाँ खुला छूट जो पाइएकै छ ।
अझ लूटउपर त खुला छूट।मात्र हैन मोहनीविद्यामा अब्बल र सिद्धिमणि बनेकालाई झनसारो प्रेत्साहन, पद, पदवी, प्रशस्तीपत्र पनि टकारिन्छ । यस्तै छ यहाँको चाल । काम गर्नुको सट्टा तँ तँ मैंमैंको दन्तबजान र जात्राको रण्डखाल अनि सोफासीट धुल्याउँदै विकास बजेटमा होली खेल्न पाउँदाको बडियाँ हाल । यसको मज्जा त झन के भनीसाध्य छ र यहाँ । उधारोवादी अर्थव्यवस्था भएकाले साइँदुवा पाराले उधारो माग्दै भाग्दै खाँदै गर्ने मण्डलीको पेशागत चरित्र नै बनिदिएको छ । उधारो बजेटमा निर्माण रोकिएका आयोजनादेखि मन उध्रिएका मानिसको मथिङ्गललाई हाराबारा खेलाउँन तालतालका बगालमा मिसिदै छुट्टिदै आएका हामी जनता पनि चानचुने इतिहास बोकेका साधारण प्राणी अवश्य होइनौं ।
जन्मजात शुद्ध सफा क्रीष्टल भएकाले फोहोरी ठग तस्कर ग्याङ गूट उपगूट कतै केही पनि छैनौं । हाम्रो महिमा अपरम्पार देखेर बुझेर नै सर्वसाधारण भइँमान्छेका ताला चावी लिएर नाबालकका कुतुर्के अनि श्रमिक आमाहरूका डेली, कन्तूर सन्दूस उनीहरूकै रोहवरमा हातको सफाइ गर्न सफल भएका छौं । त्यही सफलताले फलाएको बर्खे फसलमा असलअसल जात र परिकारका परिपाक तयार गरेर हाम्रो ईहलीला दिनरात नभनी लाब्रे कीराकै गतिमा उँभोउँभो गतिशील बनिरहेको छ । यत्तिवेर खसोखास भन्ने हो भने बित्ता नपुगेपनि अङ्गुलले नभ्याउने ठाउँमा पुगिसकेको छ हाम्रो पाटी । त्यसैले यसलाई हामीले अरु रागेपाटे दलजस्तो पार्टीसार्टी होइन गरीखाने पाटीमात्र भनेर छेवर गराएका छौं । यसलाई अनर्थ लगाउने लाल बुझक्कडले गरीवखाने पाटी भन्दियो भने पनि त्यसमा प्रमाण न भएको कुराको लोप्पा बनाएर तेर्स्याइदिन्छौं अनि घोक्रो फुलाएर, नारी सुर्किेर,ठाडा थुतुना नचाएर, दाँत चपाएर गतिला र खसोखास कुरा बोल्न थालेपछि अरु कसको ताकत ? बोलेरै ठगी खान सक्नु कत्रो गनीमत ? हातको सफाइ कर्ममा कुनै प्रमाण छोड्ने दर्कार पर्दैन भन्ने कुरा पनि नाइकेलाई जस्तै ख गराएर जनतालाई पनि बुझाइदिन्छौं ।
अझै थपथाप कुरा भन्ने हो भने यसलाई भागबण्डा पाटी पनि भन्न पनि सक्छौं किन त भन्दा अहिले नेपाली वर्णमालामा रहेको रेफ भन्ने चीज नै अर्थुङ्गे खरजस्तै जिब्रो घोच्ने बिझाउँने र पोल्ने खालको भएकोले त्यसलाई खारिज गर्दा सहज लागेकोछ हामीलाई । जनताको बोलीमा लोली मिलाउँदै गीत गाउन मनपर्छ । त्यसले रेफ,बाइमात्रा कान्दानीको झञ्झट पञ्छाएर रेफ बहिस्कार अभियान चलाएका हौं । उहिले एकजना नामूद कविले हलन्त बहिस्कारको घोषाणापत्रमा भनेका थिए– “हेरीनसकनु पारी परखाल बडेबडे । नेपाली कविले खुट्टा काटेका वर्णझैं लडे ।” यसै गुह्य कुराको चुरो समातेर हामी पनि यस मेसोमा रेफ बहिस्कारको भलबाढी चलाएर दुनियाँदारको मथिङ्गलमा चाकाचुली खेल्ने चतुर्याइँ पर्गेल्दै छौं । दमदार भनिनेको अनुहारमा खलाँती चलाएर फोक्साको दम बढाउँदै छौं ।
ऐन नियम कानूनका बोक्रा गुदी उसिनेर चुकौनी बनाउँदै चाख्ने चाट्ने तजबीज मिलाउँदै छौं । अनि त अहिलेकै पाराले आआफ्ना स्वार्थका सनेसाले सन्निसर्पनका थोकमाल च्यापेर उल्ले उता तान्ने, यल्ले यता घिच्याउने, तेल्ले पछाडिबाट घँचेट्ने उल्ले अगाडिबाट अँचेट्नेजस्ता आदिअनादि कर्मकाण्डको चान्स नै चान्स पनि फलिफाप भएको छ जताततै । हामीले चलाएको यो पाटि व्यवस्थामा देशमा व्यवस्था फेरिएपनि अवस्था फेरिएन भन्ने मान्छेको मुख थुन्न टालो झुम्रो केही चाहिँदैन । पररर बोली दियो अझ जे पायो त्यही बोली दियो र बुर्कुसी मार्दै म्याराथून दौड लगाएर सडक ढाकिदियो भने पुगिहाल्छ ।
अहिले हाम्रो यो नौलो अभियानमा पनि लूटलाट गर्नेदेखि झोसपोल गर्नेसम्मको जादूको छडीमार्का शक्ति छ भन्ने कुरा पनि अव नयाँ रहेन । यता यो हाम्रो आविस्कारमा तयार भएको धौले पाटी नै अचम्मको जिनीस बन्दिएको छ । पाटी भन्ने बित्तिकै बुढाबुढी पाहार तापेर आङ तन्काउने ,भरिया ढाक्रेदाइले ढाकर बिसाएर लामो सास फेर्ने,मलामीले लाश बिसाउने अम्मलीले नसा बिर्साउने यो अपूर्वको शिविर बनेको छ । चाहनाअनुसार आआफैं बस्न र पाटीभित्रै ग्वाम्मै फस्न पनि आउने भएकाले यसको लोकप्रियता र तिरिमिरी झ्याइँको राइँदाइँ पनि बेग्लै प्रकारले चिप्लेकिराकै शैलीमा बढेको छ ।
हाम्रो पाटीप्रवेश पनि अन्तभन्दा सहज र सुलभ छ र यसमा सुलभ शौचालयको पनि व्यवस्था छ । होटल,रेष्टुराँ मसाजकेन्द्रकोसमेत सुप्रबन्ध भएकाले यसको तुलना गर्ने अरु जोरीपारी पाइँदैन । इतिहासका अनगिन्ती सेता कर्तूतबाट निफनिएका कनिकादेखि भुस चोकरसम्म बेजोमा थुतुनु तेर्स्याएका अनि ढाडे पल्टिँदै पटकपटक तर मार्न नपाएर निहूँ खोजेका अनि कोहीभने च्याँखे र दाउ हान्न खडा भएका ननाथरी नामनामेसीका राजनीतिको पगरी गुतेका पार्टीबाट बडारिएका एक्लै दुक्लै सदावर्त लगाउन नपाएर मुर्मुरिँदै निहूँ खोजेर घिउ खान पल्किएका बेचल्तीका ढ्याकहरूलाई पनि हमी सेलिब्रेटी बनएर हाम्रो लिबर्टी पाटीभित्र घुसाइलिन्छौं । उनीहरूका सुघरसफाइबाट दिङमिङ लाग्ने डरले हेडक्वाटर पनि घाट बिसैनी छानेर खोलाकिनारमै राखेका छौं । कारन के त भन्दा आफू पावरफुल फिगर बनेको बेला बालुवाटार,धोवीखोला, मनरा, वाग्मती र टुकुचाकिनारका बगर बेच्तै जो छ सो हातलागी गर्दै आएका थियौं त कहिले अवैध खानीखनिज पदार्थको दोहन तथा निर्माण सामग्रीमा रातारात लामो हात फैलाएर स्वच्छ चरित्र र बेदाग नैतिकताका पचका छोडेका थियौं । घुनपुत्लो न लागेको बेदाग नैतिकताका बासनादार फोहोरा छुटाएका थियौं ।
देशको उन्नति प्रगतिमा थप गति दिने आकाशे फुरौला पनि वर्षाएका थियौं । त्यहिँ बनेका महलमा घाटगद्दी कुर्दै बस्ने भनौ या आउँदा दिन पर्खने मेसो पनि मिलाएका छौं । अन्त नअटाएकालाई आऊ बाबु भनेर सँगटेकै थियौं र छौं पनि । कतै अर्काको साँधभित्रबाट लखेटिएका कतै खँगारिएका कतै लामो हात गर्दागर्दै रंगेहात पक्राउ परेर लघारिएका त्यागी तपस्वी सुजनहरूको ओत लाग्ने शरणार्थी शिविर पनि बनेको छ यो हाम्रो पाटी ।
त्यसैले हामीजिस्ता नवनायक उमेर बर्कतले परिपक्व,गतिशील फिगरका योजनालाई औंला ठड्याएर,घोक्रो फुाएर जिन्दावादको नारा लगाउँदै हौसला पैदा गर्ने कुरामा कसैले कञ्जूस ताल नदेखाउनु बेस । कुरा यो चैं खसोखास ।
०००
नयाँबानेश्वर, काठमाडौं
९८३१६४७१८९
Subscribe
Login
0 Comments
Oldest








































