साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बूढो विद्यार्थी

उनी वरावर भनिरहन्छन् - मानिस उमेरले होइन, विचारले बूढो हुन्छ । विचारले हामी अझै तन्नेरी छौं । हामीले यतिखेर कुनै रहरले पढेका होइनौँ । न त आफ्ना लागि नै पढेका हौँ ।

Nepal Telecom ad

पिँडालु पण्डित :

‘ठाउँ न ठहर बुढाको रहर ।’ यो उखान नसुन्ने बुढाहरू कमै होलान्। जसले बूढीको सङ्गत गरेका छैनन् त्यस्ता बुढाले नि ! होइन भने सबैले सनकै छन् । भोगेकै छन् । बूढीका अगाडि आफ्ना रहर नबिसाईकन को पो बुढो भएको होला र ? फेरि, यस्तो रहर विसाइ सधैं कहाँ भनेजस्तो हुन्छ त ! वूढाबूढी हुन पो साइत हेर्नुपर्छ । रहर बिसाउन साइत हेर्नै पर्दैन । अनि त बूढीले वचन लगाउने नै भइन् – ‘ठाउँ न ठहर बूढाको रहर ।’

रहर पनि थरिथरिका हुन्छन् । हो । कोही पकाएर पिउने रहर। कोही मनभित्र जाग्ने रहर । पकाएर पिउने रहर पकायो पियो, काम तामेल । तर मनभित्रको रहर यति सजिलै तामेल हुँदैन । मनभित्र के के जाग्छ के के! कसले भन्न सक्छ र ? त्यसैले मनभित्र जाग्ने रहर बढी सवेगात्मक हुन्छ । अझै त्यसमा राजनीति पनि मिसिएको छ भने त हड्डी खरानी भइसक्दा पनि त्यो नासिने कुरो आउँदैन । शरीर बाँकी छँदै त कुरै छाडौं। यस्तो रहर बूढोमा प्रवेश गयो भने अझै खतरा । बूढाको रहर जागेपछि कसैले थाम्नै सक्तैन ।

बूढाहरू प्रायः नकारात्मक रहर पाल्दैनन् । यो वयस्कताको प्रापक र बुढ्यौलीको मापक हो । यसो भनेर प्रायः सबै बूढालाई गाई वनाउने अभियान चाहिँ अलि पचोइन । ‘बूढाहरू पात्तिएका, ठाउँ न ठहर मात्तिएका’ समाचार पनि हामीले थुप्रै पढेका छौं । सुनेका छौं । यस कोटिका बूढाहरूलाई मानिस मात्रे नमान्ने मतो मिलाउन पहिला छलफल गर्ने बेस होला । अनि मात्र थप कुरा ।

‘धत् । के यस्ता बूढाहरूको कुरा गरेको ? आजकल त विद्यार्थी बूढाहरूको पो कुरा गर्नु पर्छ। अर्काका करले पढ्ने बहर विद्यार्थीभन्दा आफ्नै रहरले पढ्ने बुढा विद्यार्थी अहिले समाचारपत्रका समाचार भएकाछन् । मोफसलका यस्ता बूढा जम्मा पारेर ‘तिमीहरू नेता हुन्छौ कि विद्यार्थी हुन्छौ ?’ भन्यो भने ती सबैको एउटै स्वर हुन्छ-‘विद्यार्थी’ । हो, यस्ता जल्दाबल्दा बूढाहरूलाई छाडेर कहाँका आउरेबाउरे बूढातिर लागेको ? हप्काइको भाकामा उनले आफ्ना सबै कुरा एकै सासमा टुङ्ग्याए ।

उनी, अर्थात् बटुकबाबू । उनको अर्को चिनारी ‘बूढो विद्यार्थी’ । जुरुक्क उठेर खुरुक्क विद्यालय धाउनु हिजोआजको उनको दैनिकी । त्यसैले आजकल ‘बूढो विद्यार्थी’ भनेपछि उनलाई वटुकवाबू भन्नै पर्दैन । सबैले थाहा पाइसके । शिक्षक-दीक्षक, ड्राइभर खलासी नेता-अभिनेता सबैका अगाडि उनको छट्टै परिचय स्थापित भइसकेको छ, ‘बूढो विद्यार्थी ।’ आफ्ना सहपाठीले त झन् नचिन्ने करे भएन ।

आजकल उनमा एउटा जोस छ- विद्यार्थीको । सानुमा मानुको समस्याले पढ्न नपाएपनि अहिले गानको समस्याले खानै नपर्ने भएपछि उनी कस्सिएर पढ्न थालेका छन् । भरभराउँदा सेता कपालका अगाडि सेतै कपी तेस्र्याएर लेख्न थालेपछि उनका अक्षरमा कसका आँखा पर्न । मौका परे उनैले नबुझ्ने उनका अक्षर कहिलेकहीँ कुन दैवले यस्ता बूढाका हातबाट लेखिन पर्यो भनेर एक्लै रोइबस्छ । बूढो विद्यार्थीलाई फुल्याउँदैको हैरान । हुन पनि उनले लेखेका अक्षर उनलाई सोझै भन्न नहुने भएर मात्रै, होइन भने अङ्ग्रेजीभाषीले हेर्दा नेपाली जस्तो र नेपालीभाषीले हेर्दा अङ्ग्रेजी जस्तो देखिन्छ । दुवै सँगै बसेर हेर्न थाले भने अझ अर्कै जस्तो देखिन्छ । अनि, त्यस्ता अक्षरले नरुनु पनि किन ?

अनि, रावणका फिस्टाले हनुमानलाई हप्काएझै कहिलेकहीं जुँगाविहीन साथीभाइले यसो प्याच्चपुच्च भन्दा पनि उनलाई मजै आउँछ। उनी यसो सोच्छन्, यस्तो मजा लुट्न यिनलाई अझै कति वर्ष कुर्नुपर्छ- यो सानोतिनो तपस्याको फल हो र ! यी बहर विद्यार्थीहरूलाई के थाहा ? उनी मनमनै हाँस्छन् र सजिलै टार्छन् ।

‘हजुरआमा र नातिनी एउटै कक्षामा ।’ यस्तो समाचार शीर्षक उनलाई खूब मन पर्छ । ‘जड्को गरेका दुवै बूढाबूढी एकैसाथ प्रा.वि. भर्ना’ सुन्न पाए राजीखुसीले उनी एक हप्ता नखाई बस्न सक्छन् । हो। उनमा वृद्धवृद्धा विद्यार्थीप्रति ठूलो श्रद्धा छ । खल्तीले धान्ने भए र सरकारले मान्ने भए बच्चाका लागि नर्सरी कक्षा खोले जस्तो वृद्धका लागि डाक्टरी कक्षा खोल्ने उनको धोको छ । बुढेसकालका बूढाहरूका लागि के को डाक्टरी भन्नु होला । यसमा उनको आफ्नै तर्क छ । ‘नर्स’ मा ‘री’ थपेर बच्चाका लागि नर्सरी कक्षा चलाउन मिल्छ भने ‘डाक्टर’ मा ‘ई’ (१) थपेर बूढाका लागि डाक्टरी कक्षा चलाउन किन नहुने ? सोहैआना हुन्छ ।

आजभोलि बूढा विद्यार्थीका प्रतिनिधि भएका छन्- उनै बूढो विद्यार्थी याने वटुकबाबू । नारा-जुलुस, सभा सम्मेलन उनको काम होइन । उनी यस्ता कामबाट टाढै बस्छन् । तर पनि बूढा विद्यार्थीको प्रश्न आउनेवित्तिकै उनी कुर्लिहाल्छन् । उनीसँग विद्यार्थीको परिचयपत्र छ । र त, ड्राइभर खलासीसँग उनको सधैं जसो ब्रादविवाद भइरहन्छ । विवादमा उनी जित्छन् । किनकि, उनी सक्कली विद्यार्थी हुन् ।
मौका परे भाडाको कारसँग पनि उनी विद्यार्थी सहुलियत माग्न बेर लाउँदैनन् । कहिलेकहीं त उनी मुख फोरिहाल्छन् । ए ! ड्राइभर बाबू- त्यति ठूल्ठूला बस र हवाई बसले त विद्यार्थीलाई सहु‌लियत दिन्छन् । यति सानो कारले सहुलियत दिन्न भन्न मिल्छ ? सुन त- अरूले एक घण्टामा तय गर्ने बाटो म चालीस मिनेटमै पार गर्छु । यो कार्ड लिएर हिँडेपछि मलाई एक तिहाई छुट हुन्छ । बुझ्यौ ? ड्राइभर अक्क न बक्क ।

यही विद्यार्थी परिचयपत्र देखाएर उनले कति घरपटी र पसलेहरूलाई धुरुक्क रुवाइसकेका छन् । विद्यार्थी सहुलियत मागेर । उनी गफकै भरमा कत्ति काम त्यसै फत्ते गर्छन् । त्यसमाथि साथमा विद्यार्थी परिचयपत्र भएपछि उनलाई कसले सक्छ ! बाँदरलाई लिस्नु, ढिँडालाई सिस्नु । हुन पनि उनी अचम्मै गर्छन् । एक पटकको कुरा हो- पन्धलाखको घरघडेरी दसै लाखमा उनले फुत्काए । एक तिहाई विद्यार्थी सहुलियत लिएरै छाडे । उनी हाकाहाकी भन्छन्- जाबो लोकल बसमा दुई रूपैयाँ छुट लिनलाई मात्र कसैले हजारौं खर्चेर आर्जेको परिचयपत्र देखाउँछ ? यो त ठाउँठाउँमा मौकामा चौका हान्ने हिसाबले प्रयोग गर्न सक्नुपर्छ । यस्तो छ उनको दर्शन ।

आजकल उनी कक्षामा पसेपछि अरू विद्यार्थी साथीहरू त्यसै दङ्ग पर्छन् । दङ्ग पर्नुको पनि एउटा कारण छ । समयको बचत । चिया चमेना र गफका लागि थप समय । कसरी ? कुरो अनौठो छ । बूढो विद्यार्थी याने वटुकबाबू शिक्षकसँग पनि विद्यार्थी परिचयपत्रका कुरा गरेर सहुलियत माग्छन् । त्यसै त कक्षा ठग्न गुरुहरूलाई के निहुँ पाउँ भइरहेका वेला आफ्नै विद्यार्थीले सहुलियत मागेपछि दुई घण्टाको कक्षा एक घण्टामै बिसाएर गुरुजी टाप । आफ्नै गुरुजी । पचास प्रतिशत विद्यार्थी सहुलियत । विद्यार्थीलाई पढ्न जति अल्छी लाग्छ पढाउनका लागि गुरुजीलाई त्यसको दोब्बर भन्ने कुरा बूढो विद्यार्थीलाई के थाहा ? बूढो विद्यार्थी बूढे सोच । गुरुजीलाई पनि फाइदा, विद्यार्थीलाई पनि फाइदा । सबैतिर फाइदैफाइदा । यति भएर पनि बूढो विद्यार्थी अरूका सामु कुर्लन छाड्दैनन् ।

उनी वरावर भनिरहन्छन् – मानिस उमेरले होइन, विचारले बूढो हुन्छ । विचारले हामी अझै तन्नेरी छौं । हामीले यतिखेर कुनै रहरले पढेका होइनौँ । न त आफ्ना लागि नै पढेका हौँ । हाम्रो पढाइ राष्ट्रका लागि हो । अरूका लागि नभए पनि राष्ट्रका लागि लागिपर्नेलाई त केही हुनुपर्यो नि । होइन र ?

‘गोरखापत्र’ २०६२/२/१९

०००
थाेते हाँसाे (२०५१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
निरन्तरताको क्रमभङ्ग

निरन्तरताको क्रमभङ्ग

पिँडालु पण्डित
खासखुस

खासखुस

पिँडालु पण्डित
पुर्पुरो

पुर्पुरो

पिँडालु पण्डित
अर्दलीको खोजखबर

अर्दलीको खोजखबर

पिँडालु पण्डित
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x