पिँडालु पण्डितबूढो विद्यार्थी
उनी वरावर भनिरहन्छन् - मानिस उमेरले होइन, विचारले बूढो हुन्छ । विचारले हामी अझै तन्नेरी छौं । हामीले यतिखेर कुनै रहरले पढेका होइनौँ । न त आफ्ना लागि नै पढेका हौँ ।

पिँडालु पण्डित :
‘ठाउँ न ठहर बुढाको रहर ।’ यो उखान नसुन्ने बुढाहरू कमै होलान्। जसले बूढीको सङ्गत गरेका छैनन् त्यस्ता बुढाले नि ! होइन भने सबैले सनकै छन् । भोगेकै छन् । बूढीका अगाडि आफ्ना रहर नबिसाईकन को पो बुढो भएको होला र ? फेरि, यस्तो रहर विसाइ सधैं कहाँ भनेजस्तो हुन्छ त ! वूढाबूढी हुन पो साइत हेर्नुपर्छ । रहर बिसाउन साइत हेर्नै पर्दैन । अनि त बूढीले वचन लगाउने नै भइन् – ‘ठाउँ न ठहर बूढाको रहर ।’
रहर पनि थरिथरिका हुन्छन् । हो । कोही पकाएर पिउने रहर। कोही मनभित्र जाग्ने रहर । पकाएर पिउने रहर पकायो पियो, काम तामेल । तर मनभित्रको रहर यति सजिलै तामेल हुँदैन । मनभित्र के के जाग्छ के के! कसले भन्न सक्छ र ? त्यसैले मनभित्र जाग्ने रहर बढी सवेगात्मक हुन्छ । अझै त्यसमा राजनीति पनि मिसिएको छ भने त हड्डी खरानी भइसक्दा पनि त्यो नासिने कुरो आउँदैन । शरीर बाँकी छँदै त कुरै छाडौं। यस्तो रहर बूढोमा प्रवेश गयो भने अझै खतरा । बूढाको रहर जागेपछि कसैले थाम्नै सक्तैन ।
बूढाहरू प्रायः नकारात्मक रहर पाल्दैनन् । यो वयस्कताको प्रापक र बुढ्यौलीको मापक हो । यसो भनेर प्रायः सबै बूढालाई गाई वनाउने अभियान चाहिँ अलि पचोइन । ‘बूढाहरू पात्तिएका, ठाउँ न ठहर मात्तिएका’ समाचार पनि हामीले थुप्रै पढेका छौं । सुनेका छौं । यस कोटिका बूढाहरूलाई मानिस मात्रे नमान्ने मतो मिलाउन पहिला छलफल गर्ने बेस होला । अनि मात्र थप कुरा ।
‘धत् । के यस्ता बूढाहरूको कुरा गरेको ? आजकल त विद्यार्थी बूढाहरूको पो कुरा गर्नु पर्छ। अर्काका करले पढ्ने बहर विद्यार्थीभन्दा आफ्नै रहरले पढ्ने बुढा विद्यार्थी अहिले समाचारपत्रका समाचार भएकाछन् । मोफसलका यस्ता बूढा जम्मा पारेर ‘तिमीहरू नेता हुन्छौ कि विद्यार्थी हुन्छौ ?’ भन्यो भने ती सबैको एउटै स्वर हुन्छ-‘विद्यार्थी’ । हो, यस्ता जल्दाबल्दा बूढाहरूलाई छाडेर कहाँका आउरेबाउरे बूढातिर लागेको ? हप्काइको भाकामा उनले आफ्ना सबै कुरा एकै सासमा टुङ्ग्याए ।
उनी, अर्थात् बटुकबाबू । उनको अर्को चिनारी ‘बूढो विद्यार्थी’ । जुरुक्क उठेर खुरुक्क विद्यालय धाउनु हिजोआजको उनको दैनिकी । त्यसैले आजकल ‘बूढो विद्यार्थी’ भनेपछि उनलाई वटुकवाबू भन्नै पर्दैन । सबैले थाहा पाइसके । शिक्षक-दीक्षक, ड्राइभर खलासी नेता-अभिनेता सबैका अगाडि उनको छट्टै परिचय स्थापित भइसकेको छ, ‘बूढो विद्यार्थी ।’ आफ्ना सहपाठीले त झन् नचिन्ने करे भएन ।
आजकल उनमा एउटा जोस छ- विद्यार्थीको । सानुमा मानुको समस्याले पढ्न नपाएपनि अहिले गानको समस्याले खानै नपर्ने भएपछि उनी कस्सिएर पढ्न थालेका छन् । भरभराउँदा सेता कपालका अगाडि सेतै कपी तेस्र्याएर लेख्न थालेपछि उनका अक्षरमा कसका आँखा पर्न । मौका परे उनैले नबुझ्ने उनका अक्षर कहिलेकहीँ कुन दैवले यस्ता बूढाका हातबाट लेखिन पर्यो भनेर एक्लै रोइबस्छ । बूढो विद्यार्थीलाई फुल्याउँदैको हैरान । हुन पनि उनले लेखेका अक्षर उनलाई सोझै भन्न नहुने भएर मात्रै, होइन भने अङ्ग्रेजीभाषीले हेर्दा नेपाली जस्तो र नेपालीभाषीले हेर्दा अङ्ग्रेजी जस्तो देखिन्छ । दुवै सँगै बसेर हेर्न थाले भने अझ अर्कै जस्तो देखिन्छ । अनि, त्यस्ता अक्षरले नरुनु पनि किन ?
अनि, रावणका फिस्टाले हनुमानलाई हप्काएझै कहिलेकहीं जुँगाविहीन साथीभाइले यसो प्याच्चपुच्च भन्दा पनि उनलाई मजै आउँछ। उनी यसो सोच्छन्, यस्तो मजा लुट्न यिनलाई अझै कति वर्ष कुर्नुपर्छ- यो सानोतिनो तपस्याको फल हो र ! यी बहर विद्यार्थीहरूलाई के थाहा ? उनी मनमनै हाँस्छन् र सजिलै टार्छन् ।
‘हजुरआमा र नातिनी एउटै कक्षामा ।’ यस्तो समाचार शीर्षक उनलाई खूब मन पर्छ । ‘जड्को गरेका दुवै बूढाबूढी एकैसाथ प्रा.वि. भर्ना’ सुन्न पाए राजीखुसीले उनी एक हप्ता नखाई बस्न सक्छन् । हो। उनमा वृद्धवृद्धा विद्यार्थीप्रति ठूलो श्रद्धा छ । खल्तीले धान्ने भए र सरकारले मान्ने भए बच्चाका लागि नर्सरी कक्षा खोले जस्तो वृद्धका लागि डाक्टरी कक्षा खोल्ने उनको धोको छ । बुढेसकालका बूढाहरूका लागि के को डाक्टरी भन्नु होला । यसमा उनको आफ्नै तर्क छ । ‘नर्स’ मा ‘री’ थपेर बच्चाका लागि नर्सरी कक्षा चलाउन मिल्छ भने ‘डाक्टर’ मा ‘ई’ (१) थपेर बूढाका लागि डाक्टरी कक्षा चलाउन किन नहुने ? सोहैआना हुन्छ ।
आजभोलि बूढा विद्यार्थीका प्रतिनिधि भएका छन्- उनै बूढो विद्यार्थी याने वटुकबाबू । नारा-जुलुस, सभा सम्मेलन उनको काम होइन । उनी यस्ता कामबाट टाढै बस्छन् । तर पनि बूढा विद्यार्थीको प्रश्न आउनेवित्तिकै उनी कुर्लिहाल्छन् । उनीसँग विद्यार्थीको परिचयपत्र छ । र त, ड्राइभर खलासीसँग उनको सधैं जसो ब्रादविवाद भइरहन्छ । विवादमा उनी जित्छन् । किनकि, उनी सक्कली विद्यार्थी हुन् ।
मौका परे भाडाको कारसँग पनि उनी विद्यार्थी सहुलियत माग्न बेर लाउँदैनन् । कहिलेकहीं त उनी मुख फोरिहाल्छन् । ए ! ड्राइभर बाबू- त्यति ठूल्ठूला बस र हवाई बसले त विद्यार्थीलाई सहुलियत दिन्छन् । यति सानो कारले सहुलियत दिन्न भन्न मिल्छ ? सुन त- अरूले एक घण्टामा तय गर्ने बाटो म चालीस मिनेटमै पार गर्छु । यो कार्ड लिएर हिँडेपछि मलाई एक तिहाई छुट हुन्छ । बुझ्यौ ? ड्राइभर अक्क न बक्क ।
यही विद्यार्थी परिचयपत्र देखाएर उनले कति घरपटी र पसलेहरूलाई धुरुक्क रुवाइसकेका छन् । विद्यार्थी सहुलियत मागेर । उनी गफकै भरमा कत्ति काम त्यसै फत्ते गर्छन् । त्यसमाथि साथमा विद्यार्थी परिचयपत्र भएपछि उनलाई कसले सक्छ ! बाँदरलाई लिस्नु, ढिँडालाई सिस्नु । हुन पनि उनी अचम्मै गर्छन् । एक पटकको कुरा हो- पन्धलाखको घरघडेरी दसै लाखमा उनले फुत्काए । एक तिहाई विद्यार्थी सहुलियत लिएरै छाडे । उनी हाकाहाकी भन्छन्- जाबो लोकल बसमा दुई रूपैयाँ छुट लिनलाई मात्र कसैले हजारौं खर्चेर आर्जेको परिचयपत्र देखाउँछ ? यो त ठाउँठाउँमा मौकामा चौका हान्ने हिसाबले प्रयोग गर्न सक्नुपर्छ । यस्तो छ उनको दर्शन ।
आजकल उनी कक्षामा पसेपछि अरू विद्यार्थी साथीहरू त्यसै दङ्ग पर्छन् । दङ्ग पर्नुको पनि एउटा कारण छ । समयको बचत । चिया चमेना र गफका लागि थप समय । कसरी ? कुरो अनौठो छ । बूढो विद्यार्थी याने वटुकबाबू शिक्षकसँग पनि विद्यार्थी परिचयपत्रका कुरा गरेर सहुलियत माग्छन् । त्यसै त कक्षा ठग्न गुरुहरूलाई के निहुँ पाउँ भइरहेका वेला आफ्नै विद्यार्थीले सहुलियत मागेपछि दुई घण्टाको कक्षा एक घण्टामै बिसाएर गुरुजी टाप । आफ्नै गुरुजी । पचास प्रतिशत विद्यार्थी सहुलियत । विद्यार्थीलाई पढ्न जति अल्छी लाग्छ पढाउनका लागि गुरुजीलाई त्यसको दोब्बर भन्ने कुरा बूढो विद्यार्थीलाई के थाहा ? बूढो विद्यार्थी बूढे सोच । गुरुजीलाई पनि फाइदा, विद्यार्थीलाई पनि फाइदा । सबैतिर फाइदैफाइदा । यति भएर पनि बूढो विद्यार्थी अरूका सामु कुर्लन छाड्दैनन् ।
उनी वरावर भनिरहन्छन् – मानिस उमेरले होइन, विचारले बूढो हुन्छ । विचारले हामी अझै तन्नेरी छौं । हामीले यतिखेर कुनै रहरले पढेका होइनौँ । न त आफ्ना लागि नै पढेका हौँ । हाम्रो पढाइ राष्ट्रका लागि हो । अरूका लागि नभए पनि राष्ट्रका लागि लागिपर्नेलाई त केही हुनुपर्यो नि । होइन र ?
‘गोरखापत्र’ २०६२/२/१९
०००
थाेते हाँसाे (२०५१)
Subscribe
Login
0 Comments
Oldest







































