साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आ–आफ्‌नै भाँडतन्त्र

नवअवतार वर्गका जोगीहरूलाई तथास्तुको वरदान दिएर कैलाश दरबारतिर फिर्नु भएछ । हालको संघीयताको खाकाभित्र जोगीप्रदेशसमेत समावेश हुने खुशियालीमा गाँजा भाङसहितको बाबानाच पनि मजैले चल्दो भयो ।

Nepal Telecom ad

नरेन्द्रराज पौडेल :

आउनु पर्ने थियो गणतन्त्र । तर, बनिबनाऊ भएर एकाएक टुप्लूक्क देखा परेछ भाँडतन्त्र । उसै त भाँड त्यसमाथि पनि तन्त्र ! मन्त्र होइन तन्त्र । बाफ रे बाफ ! नेपाली जनताको शिरमाथि राहुकेतुको के उटाम्बरको माया वर्षिने छायाँ परेछ त पर्न पनि ?

अहिलेमात्र हो कि पहिलेदेखि नै हो ! आगे जानिफकार ठूलाबडाको मर्जी । नेपाल नाउको यो अतीव सुन्दर, सग्लो अनि संसारको सबैभन्दा अग्लो देशभित्र कहिलेदेखि थुप्रैथरी असुन्दर, होचा र कुरूप कुराहरूले गुँड लगाउन थालेका ? ठ्याक्कै भन्न पनि नसकिने रहेछ । परापूर्व कालमा फिरिङ्गीलाईसमेत नाँक काटेर कान निमोठेर अझ कतिको गर्धनै ड्यामेज गराएर आफ्नो परिसरको डाँडो कटाउनमा माहिर कहलिएको थियो नेपाली बहादुर जाति । दर्बिलो राष्ट्रिय गौरवगाथा र बलियो एकतासूत्रले बाँधिएकाले झिकीकटक गर्नमा माहिर बन्यो उतिबेर तर त्यो ऐतिहासिक धरोहर अहिले आएर कतै बारीमा हल बाँधेर दाउँदा छिनेको निम्छरो बहरजस्तो निर्धो हुन लागेको त होइन ?

जता पनि जसले पनि हेप्ने लुते कुकुर बिर्साउने अदना पात्र बन्न लागेको त होइन ? शंकैशंकाको पहिरो जान थालेको हो कि आशंका ओथारो बस्न थालेको हो खाँटी नेपाली मनभित्र । सिङ्गो देशभित्र मिलिबसेका भाइभरियादहरू एकाएक अमिल्दो पाराले बाक्लो दाल खान छुट्टिबस्ने खेला गर्न थालेभने अहिलेका नव औतारी वैरीले नयाँ प्रकारकै धावा बोल्न के बेर ? बााङ्गोटिङ्गो पाराले आफूखुशी पुच्छर, टुपी र नाँकपिच्छेका गाउँ बस्ती बाँडफाँड गर्ने मकरमेला लागेको देखिन्छ, सुनिन्छ । उतिबेर यो राष्ट्रको एकताबद्ध स्वरूपमा निर्माण गर्न कति गाह्रो परेको थियो होला ? अहिले तिनै निर्माताले आफ्नै सन्तति को यो उद्दण्ड चाला र यस्तो हविगत चाल पाए भने कति दुःख मान्छन् होला विचरा ?

एकथरीको तर्क थियो मियोविनाका गोरूहरू दाइँ गर्न कस्सिएको बेला कोमात्र किन चुपो लागेर बस्ने ? आ–आफ्ना तिघ्रा पाखुरा बजारेर पाए भ्याएसम्म आफूखुशी घरघडेरी गैरीखेत टारबारी आफैँतिर घर्काएर बाँडफाँड किन नगरी रहने ? अनि आ–आफ्नै जात थर धर्मअनुसारका गाउँ प्रदेश बनाएर शासनसत्ताको पगरी किन नगुत्ने ? जुवाको खाल न जो ठहर्‍यो ? यस्तै हालहैकम रहीरहे सम्पत्ति भागवण्डालाई लिएर दाइभाइबीचमै हानथाप लुछाचुँडीकै अवस्था न आउला पो कसरी भन्ने ?

कौरव पाण्डव पनि एकै प्रदेशका भाइभरियाद थिए । बाँडीचुँडी खाउँ, मिलेर बसौं भन्ने ज्ञान किन आएन ? अन्यत्र अरू देशमा पनि यस्तै बेला विदेशी लाटलुटवादी पसेर गर्ने नगर्ने, हुने नहुने काम कुराले वितण्डा मच्चाएकै हुन् । ती देशका झण्डा च्यातचुत पारेर विदेशी पण्डाले गम्छा लुँगीमा दरपीठ गरिआएकै पनि छन् । नगिचैको छिमेकी हिमाली राज्यदेखि सुदूरको समुद्री उखुप्रदेशसम्म पण्डाताण्डव चलेको पनि हामी सबैले देखेभोगेकै दुर्घटना हो तर, संझिने कसले अनि संझाइदिने कसले र चेत्ने कहिले ?

हुन पनि हिजोआज नेपाली गाउँघरका दोबाटा, चौतारी चियापसलदेखि शहरका क्याफे, सञ्चारकेन्द्र होटेल लजसम्म सबै संघीयताको हल्लाले हल्लाएका छन् । टीभी रेडियो, पत्रपत्रिका रङ्गिएका छन् । गाडेच्याने, रागेपाटे थरीथरी मुखियाजीहरू आ–आफ्‌नै खालका ताल झिकेर लोकतन्त्रको नाउँमा छाडा स्वच्छन्द खालको नाचगान देखाउदै छन् । लहड र सनकअनुसारका जातीय प्रदेशका हावामहल खडा गर्दैछन् । सिंगो देशलाई टुक्रे संघीय प्रदेशमा लैजाने भन्दै मस्सल शो गर्न थालेपछि हल्लाको उखपात नहोस् पनि किन ? उनीहरू घरगोठ आटपाट, पाली, बलेसी झिटिझाम्टा, हाँडाभाडा रछ्यान कुँडार, पानी पँधेरासमेत भागवण्डा गरेर गाउँटोलपिच्छे रङ्गीविरङ्गी नाउँ, थर, गोत्रका स्वायत्त गणराज्य स्थापनाको स्वप्नसंसारमा उड्न थालेका छन् ।

परापूर्व कालदेखि अपूर्व तालले गुलियो सम्बन्ध रहिआएका एकाघरका दाजुभाइ दिदीबहिनीहरू बाक्लो दाल खाने लोभमा छुट्टीभिन्नु बस्न सकपकाएका भेटिएपछि साधु, सन्यासी, जोगी, अघोरीहरूका अखाडाहरूमासमेत खैलाबैला चल्न थालेछ । न चलोस् पनि किन ? बाबा पशुपतिनाथले रक्षा गरिआएको देश न जो ठहर्‍यो ? नेता, किसान, व्यापारी, सञ्चारी, कलमजीवि सबैले प्रदेश बाँडफाँडको कुरा झिकेपछि जोगी, सन्यासी, सन्तमहन्तहरूका पनि कान ठाडा हुन पुगे । यसै मेसोमा देउघाटदेखि गौरीघाटसम्म र सारनाथदेखि मुक्तिनाथसम्म छरिएका सन्तमहन्त जोगीहरूले पनि आफ्नो भोगभाग सुरक्षित राख्न स्वायत्त जोगीप्रदेशको डिजाइन तयार पारेछन् । बिन्दास वर्गका खेलाडी न परे विचरा जोगीहरू पनि ?

राष्ट्रिय एकता जस्तो गहिरो विषयमा देशवासीकै मनमा पहिरो जाने गरी उत्ताउलो पाराले चरीफुरी गर्न लागेका मनुवा देखेर जोगीबृन्द चकित परेछ । छिमेकी साहूको जडौरी जुवारीकोट हल्लाएर गणतन्त्र भट्याउँदै देश भजाउने खेल त भइरहेको छैन कतै ? यस्तै अन्दाज गरेर बिनाघरघाटका जोगी पनि चकित परेछन् । तर, चकित पर्नॅमात्रै पनि पर्याप्त थिएन । आफ्नो अस्तित्व र हैसियत पनि देखाउनै जो पर्ने थियो । फलस्वरूप जोगी सन्तमहन्तहरूले पनि छुट्टै स्वायत्त राज्य चाहिने माग अघि सार्दै विरोध प्रदर्शनका विविध शैली र माध्यम अपनाउने भएछन् । अरू गृहस्थहरूले पुराना अखाडा नै बिग्रिने, भत्किने गरी चाहिंदा नचाहिंदा बखेड़ा खड़ा गर्न लागेको देखेपछि जोगीहरूलाई पनि जङ चलेछ क्यारे ! कुरो बुझ्दा यस्तै लाग्दथ्यो ।

मित्रभित्रै जङ चलेको बेला अलिअलि भाडको रङसमेत थपेर आङ उफार्दै र स्वाङ पार्दै एक दिन त साँच्चिकै नाराजुलुस सहितको आन्दोलनमा उत्रिए बाबाजीहरू पनि । एउटा खुट्टा उचालेर अनशन गर्ने, टाउको टेकेर ठाडा खुट्टा लगाउने, त्रिशूल नचाएर सडक आन्दोलनमा उत्रिने अनि नागा वर्गका बाबाहरूले खुला सडकदौड प्रदर्शन गर्ने आदि खाले तय भएछन् आन्दोलनका शैलीहरू । आमरण र अनिश्चित खाले नै रहेछ विरोध र मागको तरीका पनि ।

बाल्यकालदेखि नै सांसारिक ऐसआराम छोडेर योगसाधनामा अहोरात्र समर्पित भएका जोगीहरू अरूलाई पनि आफ्ना ऐतिहासिक बखान र भाषणमा भुलाउन पो के कम थिए र उनीहरूले पनि आफ्नो अस्तित्वरक्षा र आदिवासिता बारे राम्रैसँग बखान छाँटेको पाइन्थ्यो । उता पामीरदेखि आराकानसम्म यता विन्ध्याचलदेखि हिमालयसम्मको आर्यावर्त खण्ड जोगीहरूको आदिम तपोभूमि रहेको कुरा वेदपुराणहरूमा उल्लेख भइआएकै पनि हो । मान्छेको सृष्टि नहुँदैको शून्यकालमा ब्रह्माजीले यसै नेपाल देशको हिमालमा बसेर तलतिरका सुरम्य पहाड र हरिया तराई हेर्दै जुँगामा ताउ दिएछन् । अनि मनमनै ज्ञान र वाणीकी देवीको कल्पना गरेछन् । फलस्वरूप ब्रह्माजीकी मानसपुत्रीको नाता लिएर विचार र चेतनाकी देवी सरस्वतीको उत्पत्ति भएछ ।

त्यसपछि जताततै खालीखाली देखिने धरतीलाई गुल्जार पारेर हराभरा बनाउन मनु नामक विशिष्ट प्राणीको कल्पना गरेछन् । ब्रह्माजीकै चाहना मुताबिक मान्छेका पुर्खाको रूपमा आदि मनुको उत्पत्ति भएको थियो अरे । त्यसैले श्रुतिस्मृति र शास्त्रमासमेत परि लगाउँदै भनिएको भेटिंदै थियो,
एकोहं बहुस्यामः ।
सहना भवतु सहनौ भुनक्तु ।
एउटै पुर्खाका सन्तान हामी मान्छे, मिलिजुली बस्ने, बाँडिचुडी खाने गरौं ।

अर्थात यसै हिमाली प्रदेशमा आदिदेव ब्रह्माजीबाट जन्मिएका मनुले मान्छेको उत्पादन गरेका थिए अरे । तिनै मनुका वंशजहरूलाई मानव भन्न थालिएछ । यसरी उत्पादित नानाथरी वर्ण, रंगका मान्छेहरू आ–आफ्ना स्वभाव र चरित्र लिएर सलहको शैलीमा पृथिवीभरी फैलिंदै गएछन् । कोही आफूखुशी गर्मी प्रदेशतिर भास्सिएर काला बने । कोही जाडो प्रदेश र हिमदेशतिर उँभो लागेर गोरा बने । कोही बीचैमा अडिएर गहुँगोरो रङ्गमा फस्टाए । पछि तिनै मान्छे कोही उपियाँको शैलीमा उफ्रिदै हिमालतिर उक्लिने,कोही फट्याङ्ग्रा शैलीमा माथिबाट तलतिर टप्किने गर्न थालेछन् र नै भनिएको होला–
‘एतद्देशप्रसूनस्य सकाशादग्र जन्मनः
स्वं स्वं चरित्रं शिक्षेरन् पृथिव्यां सर्वमानवाः
(यसै देशमा आदि सृष्टिकर्ता ब्रहमाजीवाट मानिसले जन्म लिएर संसारभरि आ–आफ्नो स्वभाव लिएका शाखासन्तान फैलाएका थिए) तर यतिबेर आएर दुई–चारखाले अनुहारका मनुवाले आफू मात्रै नेपालको आदिवासी हूँ भनेर लेघ्रो तानेर भैलो गाउन थालेपछि जोगीहरूले पनि राम्रैसँग आफ्नो बायोडाटा फिंजाएछन् र पशुपतिनाथसँग हारगुहार मागेछन् ।

“के अनर्थ भयो बाबा यो देशको भागवण्डा गर्ने धन्दा चलेछ यो न्यायपालन हुने भनिएको नयपाल देशमा । यहाँका खास आदिवासी भनेकै हामी नै हौं । हाम्रै पर्देशको टुंगो भएन । अब काहाँ जाने ?”

बाबा पशुपतिनाथ पनि त्यस दिन राम्रो मूडमा न भए झैँ लाग्दथ्यो । मौन बोलीमा इसाराले के आशीर्वाद दिनुभयो कुन्नि ! तर उनीहरूले जोगीप्रदेशबारे सुनुवाइ भएको कल्पना गरेछन् । अनि उनीहरूकै याक्सन प्लान तयार भएछ । सन्त, महन्त, वैरागी, हठी सवैखाले जोगीलाई समावेशी शैलीमा समेट्ने उद्देश्यले जोगीप्रदेशभित्र पनि विभिन्न संघहरू बनाइने रणनीति तयार भएछ जसअनुसार नाँगाबाबा याने टपलेस बाबाहरूका लागि छुट्टै उपराज्यको व्यवस्था हुनुपर्ने, अघोरी बाबाहरूका लागि चिहान र मसानहुँदो आहारविहारको व्यवस्था हुनु पर्ने आदि मुख्य थिए ।

अरू सन्तमहन्तहरूका लागि पनि गच्छेअनुसारका गाँजा भाङ र हलुवापुरीका भण्डाराहरू तयार हुनुपर्ने । जोगीवृन्दमा सबैभन्दा अब्बल ठहरिएका टपलेस याने नाँगाबाबाका लागि छुट्टै नागाप्रदेशको आरक्षण गरिनुपर्ने र बाहिरका टपलेस सेलिब्रेटीहरूको उहाँसम्म सहज पहुँच हुनुपर्ने अर्को रोचक शर्त पनि समावेश भएछ । बाबा पशुपतिनाथलाई पो किन कञ्जूस्याइँ गर्नु थियो ? आफ्नै चरित्र, भाषा, भेषभूषा र अम्मलसमेत मिल्ने नवअवतार वर्गका जोगीहरूलाई तथास्तुको वरदान दिएर कैलाश दरबारतिर फिर्नु भएछ । हालको संघीयताको खाकाभित्र जोगीप्रदेशसमेत समावेश हुने खुशियालीमा गाँजा भाङसहितको बाबानाच पनि मजैले चल्दो भयो । यति कुरा सुन्दा हामीले पनि निकै गतिला कुरा थाहा पाएकोले सुन्नेलाई सुनको माला र देख्नेलाई फूलको मालाले ढपक्कै ढाकिदिए कसो होला ?

०००
भ्यागुताको श्वेतपत्र (२०८०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आन्दोलनका फुरौला !

आन्दोलनका फुरौला !

नरेन्द्रराज पौडेल
मालाको कमाल

मालाको कमाल

नरेन्द्रराज पौडेल
बिर्ता बजार

बिर्ता बजार

नरेन्द्रराज पौडेल
काले र भाले

काले र भाले

नरेन्द्रराज पौडेल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
अथ श्री कोसेली महात्म्यम् !

अथ श्री कोसेली महात्म्यम्...

नरेन्द्रराज पौडेल
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x