साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पिँडाली र अर्याल कि पिँडालु र अरिंगाल ?

पिँडाली पिँडाली होइनन्, काँचो पिँडालु हुन् र हास्यबोधकताका आलोकमा पिँडाली पाकेका पिँडालु हुन्, तर अर्याल त्यसरी कोक्याउँदैनन्, बरु फकाई फकाई बोलाउँछन् एवं अरिंगालको गोलो बर्साइदिन्छन् ।

Nepal Telecom ad

डा. लक्ष्मणप्रसाद गौतम :

वास्तविकतामा विकृति आउँदा हास्यको सिर्जना हुन्छ र वास्तविकतामा विसङ्गति आउँदा व्यङ्ग्यको सिर्जना हुन्छ । प्रायः निबन्ध, कविता, नाटक नसता विधाताई चिटिक्क मुहाउने हास्य-व्यङ्ग्य पूर्वीय र पाश्चात्य सन्दर्भका सापेक्षतामा नेपालीमा यसको आफ्नाे भिन्नै प्रकारको अस्तित्व छ । पूर्वीय साहित्यमा हास्य र व्यङ्ग्यलाई भिन्न भिन्न रूपमा हेरिन्छ । पारचात्य साहित्यमा हास्य र व्यङ्ग्यलाई एकै ठाउँमा राखेर हेरिन्छ र नेपाली साहित्यका सन्दर्भमा पनि हास्य र व्यङ्ग्यलाई एकै ठाउँमा राखेर अध्ययन गरिएको पाइन्छ ।

‘हास्यकदम्ब’ देखि भानुभक्तपूर्वको समयसम्म हास्यव्यङ्ग्यका केही बाछिटाहरू देखिए पनि भानुभक्त आचार्यका ‘रोज दर्शन…’ ‘गजाधर सोतीकी बूढी’को प्रसंग, फलामे बन्दुकको प्रसंग र भोलिभोलिको प्रसंग आदि अनेक रसिला कवितात्मक सन्दर्भहरूबाट नेपाली साहित्यमा सुस्पष्ट रूपमा हास्यव्यङ्ग्यात्मकताको रेखाङ्कन भएको मानिन्छ र पछि मोतीराम, राजीवलोचन हुँदै आधुनिक कालमा आएर विभिन्न रोचक र घोचक स्रष्टाहरूका घाेचिला-पेचिला कलमहरुले अनेकौँ विकृति र विसङ्गतिप्रति घोचिरहेकै छन् । देवकोटेली मनोरञ्जनले हास्यव्यङ्ग्यात्मक कविताको उत्कर्षता प्राप्त गरे पनि हास्यव्यङ्ग्याकताको उत्कर्ष/चरमोत्कर्ष निबन्ध विधामा नै केन्द्रित देखिन्छ, नेपाली साहित्यका सन्दर्भमा । यति हुँदाहुँदै पनि नेपाली साहित्यको हास्यव्यङ्ग्य विधामा पिँडाली र अर्यालकाे प्राप्तिसँग त्यति महनीय देखिएको अनुभव हुँदैन । पिँडालीलाई ‘खैखै’ भनेर खाेज्दै जाँदा ‘फेरि उल्टै मिल्यो’ र अर्यालको ‘जयभुँडी’ मा ‘काउकुती’ लगाएर ‘गलबन्दी’ बाँधी ‘दश औतार’ हेर्दै यिनका निबन्धको ‘इतिश्री’ नगरेसम्म नेपाली साहित्यमा हास्यव्यङ्ग्य उपविधाको स्वादिलो चटनी चाख्न पाईंदैन ।

नेपाली हास्यव्यङ्ग्य साहित्यमा केशवराज पिँडाली र भैरव अर्याललाई विशिष्ट प्राप्तिका रूपमा लिन सकिन्छ । हास्यधर्मिताका आधारमा यी दुवै निबन्धकार समान प्रवृत्तिका देखिन्छन् तापनि यी दुईका बीचमा त्यत्तिकै भिन्नता पनि देखा पर्छ। अझ भनौं हास्यतत्व र व्यङ्ग्यतत्त्वको प्रधानताका आधारमा नै प्रमुखतः यी दुईमा बेग्ल्याइ देखिन्छ । पिँडालीमा हास्यतत्वकाे न्यूनता र अर्यालमा व्यङ्ग्यतत्वको आधिक्य हास्यतत्त्वको न्यूनता पाइन्छ । ‘फकाई फकाई बोलाएर चिमोटी चिमोटी मार्ने’ प्रवृतिगत वैशिष्ट्य यी दुवै निबन्धकारका निजत्व हुन्।

हास्यात्मक परिवेशको सिर्जना गरेर सामाजिक विकृति र विसङ्गतिप्रति हलुका झटाराे हान्दै उखान तुक्का समेतको प्रयोगले कथ्यमा रोचकता ल्याउनु पिँडालीको हास्यव्यङ्ग्यात्मक प्रवृत्ति हो भने आनुप्राशिक भाषिक प्रयोग, विषयवस्तुको स्वाभाविक प्रस्तुति र संगतिहीन सामाजिक संरचनाप्रतिको तीक्ष्ण व्यङ्ग्य अर्यालका हास्यव्यङ्ग्यात्मक प्रवृत्ति हुन्। पिँडालीका निबन्धमा सुधारवादी सचेतताको प्रायः अभाव र अर्यालका निबन्धमा सुधारवादी सचेतताको सांकेतिक अभिव्यन्जना पनि प्राप्त हुन्छ । सुइराले च्वास्स घोचे जस्तो व्यङ्ग्यमा विविध रसको संयोजन गरी पाठकलाई हँसाउने प्रवृतिगत वैशिष्ट्य पनि पिँडालीमा पाइन्छ।

जस्तो कि ‘सूरबीरकाे नरक यात्रा’ हास्यरसभित्र वीभत्सरस, ‘कान्छी डुइनीको चिठी’ मा हास्यरसभित्रै करूणरस अन्तर्भूत भएर आएका छन्। वर्तमान समयका सामाजिक यन्त्रणाहरू, आर्थिक विषमताहरू, शैक्षिक अस्तव्यस्तताहरू, राजनीतिक लुछाचुँडीहरू, प्रशासनिक विकृतिहरू, सामाजिक व्यवहारहरू र मानवीय कमजोरीहरूलाई समेत पिँडालीको कलमले च्वास्स राेप्छ, घाेच्छ । मुटु छेडेर ऐया भन्ने गराए पनि मीठो काउकुतिका साथ एकछिन हँसाइदिन्छ । हिजो आजको पिँडालीको कलम राजनीतिक विसङ्गतिको खोइरो खन्नमा केन्द्रित हुन थालेको देखिन्छ । आधुनिक जीवनले पाएका अनेकौँ विकराल स्थितिलाइ उद‌ङ्ग्याउने प्रवृत्ति पनि यिनका निबन्धमा पाइन्छ ।

पिँडालीका तुलनामा अर्यालका निबन्धहरू मानवीय मूल्य र मान्यताको अपहरणबाट निःसृत उद्विग्नता देखाउनतिर केन्द्रित छन् र निर्वैयक्तिक अनुभूतिका अभिव्यक्तिहरूको प्रकटीकरणमा यिनका निबन्धहरू बढी खारिएका छन् । टाउको जस्तो मानवीय बौद्धिक कमजोरीको शल्यक्रिया गर्ने अर्यालका हास्यव्यङ्ग्यात्मक निबन्धहरू क्रमशः उत्तरोत्तर उत्कर्षतातिर लम्केको देखिन्छ र शैली-शिल्पको यथास्थितिभन्दा प्रत्येक निबन्धले कुनै न कुनै नवीन ऊर्जा दिए‌को अनुभव हुन्छ, तर अर्यालका सापेक्षतामा पिँडाली आफ्ना हास्यव्यङ्ग्य निबन्ध लेखन परम्पराका सन्दर्भमा यथास्थितिबाट अलिकति मात्र माथि उठेको अनुभव हुन्छ ।

निबन्धमा हास्यव्यङ्ग्यात्मकताको रोचकता र घोचकताका लागि प्रास‌ङ्गिक रूपमा स-साना कथात्मक सन्दर्भहरू ल्याउने प्रवृत्ति पिँडालीमा बढी देखिन्छ, जसले गर्दा उनका केही निबन्धहरू कथात्मक अनुभूति दिन सफल छन् र सहज बोधगम्य पनि छन्, तर अर्यालका हास्यव्यङ्ग्यात्मक निबन्धमा कथात्मकताको संयाेजन केही कम पाइन्छ तापनि ‘जयभोलि’को आगो लागेको घटनाको सन्दर्भ, टेलिफोनको सन्दर्भ र ‘महापुरुषको संगत’ मा महापुरुषका रूपमा उनले उपस्थित गराएका पात्रहरूको सन्दर्भ आदिले कथात्मकताको सामान्य सन्दर्भ निर्वाह गरेको देखिन्छ । यस आधारमा हेर्दा पिँडालीका निबन्धहरू कथात्मकता र निबन्धात्मकताको मध्यबिन्दु‌मा उभिएर निबन्धको गन्तव्यतिर पाइला बढाउँछन् भने अर्यालका निबन्धहरूको तराजु कथात्मकतातिर ढल्किएको अनुभव हुँदैन ।

निबन्धात्मक मूल्यका दृष्टिले पिँडालीका निबन्धमा हास्यतत्त्वको स्वाभाविकताका साथै केही कृत्रिमता पनि देखिने गर्छ। ‘मोटरसाइकलमा आइमाईको आसन’, ‘फेरि उल्टै मिल्यो’, ‘खैखै’ जस्ता केही निबन्धहरू सतही पनि बन्न पुगेका छन् र पुनरावृत्तिको दोषबाट पिँडाली त्यति मुक्त हुनसकेका छैनन्। यिनका केही निबन्धहरूले हास्यतत्त्वलाई जबरजस्ती समाउन खोजेका छन् जसले गर्दा पिँडालीका हास्यव्यङ्ग्यत्मक निबन्धमा भाव चमत्कृतिभन्दा शब्दचमत्कृति प्रखर भएर आएको देखिन्छ। यस मूल्यवत्ताका आधारमा भैरव अर्यालका हास्यव्यायात्मक निबन्धमा शब्द चमत्कृतिभन्दा भावचमत्कृति घनीभूत भएर आएको देखिन्छ र प्रौढ र गूढरहस्यको उ‌द्घाटनले पाठकको हृदय छुन्छ ।

अत स्पष्टरूपमा भन्नुपर्दा पिंँडालीका निबन्धहरू मर्मस्पर्शी छन् भने अर्यालका मर्म भेदी छन्। स्पर्श नभई भेदन नहुने हुँदा यिनका निबन्ध मर्मस्पर्शी र मर्मभेदी दुवै छन् भन्नुपर्छ। सामान्य विशयलाई टिपेर पनि मानवीय मूल्य र मान्यताप्रतिको उच्च प्रहार अर्यालका निबन्धमा पाइने भिन्नै वैशिष्ट्य हो। ‘आलु’, ‘कवि चम्रेलजी एक शब्दचित्र’, ‘केही राष्ट्रिय रोग एक अनुसन्धान’ जस्ता निबन्धहरू यसका उदाहरण हुन् ।

प्रवृत्तिगत अन्य वैशिष्ट्यका सन्दर्भमा हेर्दा मानवीय दुच्छर प्रवृतिलाई उदाङ्ग पारेर बाहिर पर्दाफास गर्नु, मानिसका दुर्बलता, नीचता, स्वार्थ, मपाईत्वको प्रदर्शन, सामाजिक विकृति र विसङ्गति आदिलाई केस्रा केस्रा गरेर केलाउँदै नेपाली जीवनशैलीको सेरोफेरोमा आफ्नो जीवनका आरोह-अवरोहले पारेका विविध विषय परिस्थितिहरूलाई नङ्ग्याएर देखाउनु व्यङ्ग्यकार अर्यालका आफ्ना विशेषता हुन् । यसै सन्दर्भमा मानवीय स्वभाव वा प्रवृत्तिको रेखाङ्कन, शाब्दिक मितव्ययिता र शब्दचमरकृतिकै माध्यमबाट सामाजिक सूक्ष्मताको संकेत, सामाजिक विकृतिमाथि ढाडै खुस्किने गरी प्रहार, बिझाउँदो व्यङ्ग्यात्मक झटारो र समसामयिक युगबोध पिँडालीका विशेषता देखापर्छन् ।

सामाजिक विकृति र विसंगतिको पर्दाफास गरेर देखाउने काममा पिँडाली निपुण छन् भने त्यसमा सुधारको संकेत दिने काम अर्यालले गरेका छन्। पिँडालीका प्रवृत्तिगत वैशिष्ट्‌यलाई विनावर्गीकरण समष्टि हेराइमै हेर्न सकिन्छ भने अर्यालका प्रवृ‌तिगत वैशिष्ट्यलाई हास्य-व्यङ्ग्यात्मक निबन्ध सिर्जनाका सामग्री, प्रविधि र भाषिक शैली-शिल्पका आधारमा हेर्न सकिन्छ। निबन्धका लागि गृहित सामग्रीका आधारमा हेर्दा तीव्र यथार्थबोधका सापेक्षतामा सामाजिक विकृति र विसङ्गति औँल्याउँदै अन्तर्राष्ट्रिय समाजचेतनाको अभिव्यक्तिलाई अर्यालले स्वीकारेको देखिन्छ।

यस सन्दर्भमा मानिसका वैयक्तिक कमजोरीहरूलाई पनि यिनले समाहित गरेका छन् । त्यस्तै प्रविधिका आधारमा हेर्दा गृहित सामग्रीको प्रस्तुतिको प्रविधिमा उनको बेग्लै सचेतता छ। त्यो प्रविधि भनेको उनका निबन्धहरू हुन् भन्ने निष्कर्षण देखापर्छ । व्यङ्ग्यको धारिला हतियार मात्र नभएर औषधी पनि तीक्त सत्यतालाई हास्यको मीठाे जलप लगाउने कुशल शिल्पी उनमा छ। त्यस्तै भाषिक शैली शिल्पका आधारमा हेर्दा आनुप्राशिक र तुकबन्दीयुक्त भाषा बाग्वैदग्ध्य वा उक्तिवैविध्य अाख्यानीकरणको सूक्ष्मता र आलंकारिक भाषिक प्रयोग जस्ता विशेषता देखिन्छन् ।

विभिन्न उपकथात्मक संयोजनद्वारा निबन्धको विस्तार गर्दै क्रमशः रोचकतातिर लैजाने र मानवीय प्रकृतिको रेखाङ्कन गर्ने प्रवृत्ति पिँडालीमा छ भने गूढ व्यङ्ग्यात्मकतालाई अन्तर्तहसम्म पुर्याई सामाजिक वस्तुतथ्यकाे अवलोकन गर्ने प्रवृत्ति अर्यालमा पाइन्छ । सियोको घोचाइमै च्वास्स च्वास्स पार्दै विसङ्गतिको पोस्टमार्टम गर्नु पिँडालीका निबन्धकलाको वैशिष्ट्य होभने सामाजिक जीवनशैलीको विश्लेषण गरेर गतिलाे र घतिलो झटारो हान्नु अर्यालको वैशिष्ट्य हो । शाब्दिक मितव्ययिता र सामाजिकताको सूक्ष्म बोध पिँडालीको निबन्धकारले संवहन गरेको प्रवृत्ति हो भने आनुप्राशिक शब्दवैचित्र्य, सामाजिकताको व्यापकताको बोध अर्यालको निबन्धकारते संवहन गरेको प्रवृत्ति हो । सुसंगठित कलात्मकता र सूक्ष्मबोधकता पिँडालीमा पाइन्छ भने जादू र मोहकताको जलपले सिंगारिएको तीब्र भेदकता (छेडाइ) अर्यालमा पाइन्छ ।

यसरी नै झर्रा नेपाली शब्दप्रयोगमा पिँडाली विचलित देखिँदैनन् भने अर्यालका निबन्ध झर्रा नेपाली शब्दका साथै अङ्ग्रेजी शब्द प्रयोगको अनुरागबाट पनि आप्लावित हुन खोजेका छन्‌ तापनि बिझाउँदैनन् । यस आधारमा पिँडालीका निबन्धको प्रभाव पाठकमा सहजै पर्न जान्छ र उनी पाठकको घाँटी कोक्याउँदै बाहिरी ओठ प्रकम्पित पार्छन् । कोक्याएको घाँटी सन्चो हुन अलिबेर लाग्छ । अझ भनौ व्यङ्ग्य बोधकताका आधारमा र आलोकमा पिँडाली पिँडाली होइनन्, काँचो पिँडालु हुन् र हास्यबोधकताका आलोकमा पिँडाली पाकेका पिँडालु हुन्, तर अर्याल त्यसरी कोक्याउँदैनन्, बरु फकाई फकाई बोलाउँछन् एवं अरिंगालको गोलो बर्साइदिन्छन् र पृथ्वीका यावत् समस्यारूपी अरिंगालको टोकाइबाट ग्रस्त मान्छेमाथि अरिंगालको टोकाइ जस्तै बिसालु व्यङ्ग्यवाण छोड्छन् । हास्यव्यङ्ग्य बोधकताका आलोकमा व्यङ्ग्य धर्मिताका आधारमा अर्याल अर्याल होइनन्, अरिंगाल हुन्, अरिंगाल ।

०००
मधुपर्क (भदाै, २०५४)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मीठो व्यङ्ग्यका घोचक बान्कीहरू

मीठो व्यङ्ग्यका घोचक बान्कीहरू

डा.लक्ष्मणप्रसाद गौतम
वर्णविन्यासको मानक पुस्तक

वर्णविन्यासको मानक पुस्तक

डा.लक्ष्मणप्रसाद गौतम
व्यङ्ग्य लेख्नु भो हजुर ?

व्यङ्ग्य लेख्नु भो हजुर...

ठाकुरप्रसाद अधिकारी
कलश चोरलाई खुलापत्र

कलश चोरलाई खुलापत्र

चिरञ्जीवी दाहाल
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
भ्रम

भ्रम

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x