साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टाउको नदुखाउनोस्

तर, जति फुर्सद नभए पनि ठूला उद्योगपति, व्यापारी, तस्कर, आयोजना प्रमुखहरु आफूले बनाएका महाप्रबन्धक र अध्यक्षहरू अनि ठूला ठेकेदारहरूलाई भेट्न समय निकाल्नै पर्याे । तिनीहरूलाई नभेटे देश विकासमा बाधा परेर आफ्नो आधा तौल घटिहाल्छ ।

Nepal Telecom ad

बलदेव महत :

जनताका लागि गाउँ, शहर केही नभनी सेवा गर्ने रहरले पक्का ठहर गरी भोट माग्दा पाएको दुःखले यसरी नोट फल्दोरहेछ भन्ने भर्खरै मात्र थाहा भयो । मेरो कदअनुसारको पद ढिलै भए पनि, भर्खरै पाए पनि यसको मदले हद नगर्ने विचार छ । तर त्यसरी पद धान्न, सबैतिर हान्न, सबैको कुरा मान्न र यसलाई लामो समयसम्म तान्न सकिएला भन्ने कुरामा मलाई दोधार लागेको छ । यो दोधारले म सधैं दोधारमै परिराख्छु । जनताका लागि कति ठाउँमा भुतुक्क मरियो, हुने नहुने ठाउँमा सिधै चरियो, कतिपल्ट बिकाउ खसी बोकामा दरियो, ज्यान फालेर मरिहत्ते गरियो र पद पाउन योग्यमा परियो। यसमा पनि सबैले खास गरी आफ्नै साथीभाई र आफन्तहरूले रिस-डाह गरी पित्त ओकलेको देख्दा साह्रै चित्त दुखेको छ मेरो । फेरि पटक-पटक खायो, धेरै मौका पायो, खाने पाउने ठाउँमा सधैं धायो र आफू सरहका अरूलाई पछाडि लायो पनि भन्ने गरेको सुन्छु ।

मैले यहाँसम्म पुग्न कतिलाई फुलाएँ, कतिलाई भुलाएँ, कतिलाई अन्तै भुलाएँ र कतिलाई डकार आउन्जेल खुलाएँ भन्ने कुरा मलाई नै थाहा छ । कतिचोटि बिकियो, कतिचोटि लिस्टबाट झिकियो, कतिवटा भित्री मन्त्रहरू सिकियो अनि पो बल्ल गएर टिकियो त । खाने, लाने र जाने भन्ने कुरा त साधारण हो ।

बाँच्नका लागि धेरथोर आफ्नो पेटलाग्दो सबैले खान्छन् । विरोधीले चर्कै देखे भने त्यो कुरा अर्कै हो। त्यसरी खाँदा एक्लै खाने होइन । बाँडीचुँडी तलदेखि माथिसम्म कोरम मिलाएर फोरममा नाक नबिक्ने गरी खानु र खुवाउनु पर्छ । यस्तो भित्री कुरा बाहिर बसेर कहाँ बुझिन्छ र ? बाँच्नका लागि खाँदा र सही कममा जाँदा कसैको टाउको दुख्छ भने मैले के गर्न सक्छु र ? मान्छेको शरीर हो, आज खायो भोलि पनि खानैपर्छ । एकपटक खाएर पुग्ने भए छाकै पिच्छे किन खाइराख्नु पर्थ्यो र ? हिजो हामीले खान नपाउँदा कसैले दया गरेको थिएन । भोकाले रोएर डोकामा आँसु अडिन्न, के गर्नु ? मौकामा मजाले कमाउन नसके पछिसम्म प्रभाव जमाउन पनि सकिन्न ।

विरोधीतर्फ हुँदा हामीले भनेजस्तै अचेल कुनै पनि व्यवस्था ठीक भएन, महँगीमा नियन्त्रण रहेन, शान्ति सुरक्षाको जिम्मा लिनेले कसैलाई सहेन र विकास निर्माणको काम एक बित्ता पनि अगाडि गएन भन्ने कता-कता सुनिन्छ । मेरो लागि त सबै ठिकै छ । आफैंले किनेर खान, लाउन नपर्ने हुनाले मलाई महंगी बढेकै छैन । हामीलाई आवश्यक गार्डको व्यवस्था भएकाले शान्ति सुरक्षाको स्थिति पनि ठिकै छ भन्नुपन्यो । विकास निर्माणले गति लिएन भनेर पनि मति बिग्रेकाले भन्ने कुरा मात्र हो। हामी उद्घाटन र शिलान्यासमा व्यस्त नै छौं। अरूले भने भन्दैमा राष्ट्रिय काम छाडेर अन्त लाग्नुभएन । मेरो समस्या पनि बुझिदिनुपयो नि सबैले । आफू शक्तिमा हुँदा भक्ति देखाउनेलाई ठाउँमा मिलाएर राखिदिनै पर्याे । फेरि नाता गोता, इष्टमित्र, छरछिमेकी र चिनेजानेकाहरूलाई थोर-बहत हेरिदिनै पन्यो । सबैलाई हेर्ने बेलै यही हो। जनताको काम, विकास निर्माणको काम, सैद्धान्तिक र रचनात्मक काम त सबैले मिलेर गरेमा विस्तारै भइहाल्छ नि। व्यावहारिक भएर ठाउँ, समय र परिस्थितिअनुसार चल्न नसके छिट्टै ढल्न बेर लाग्दैन । त्यसैले पनि अचेल थोर-बहुत खान पायो भने मात्र टेर्ने, काम नगरी खान नपाए ठाउँ-कुठाउँमा घेर्ने, ठाउँमा जम्नासाथ सात पुस्तालाई बेर्ने र नियम-कानूनअनुसार काम गर्नुपयो भने तीन पाथी छेर्ने बानी सबैलाई लागिसक्यो।

अर्को कुरा, केही गर्छ भनेर लागे पनि र जतिसुकै इच्छा जागे पनि बिहानै उठदैदेखि राति अबेला नस्तेसम्म र्ट्सद हुन्न । अनि कसरी काम गर्नु ? हामीलाई र्ट्सद पनि हुन्न तलकालाई अधिकार पनि दिइन्न । हुन त तलकालाई अधिकार दिए पनि माल कमाएर गाल जति हाम्रो थाप्लोमा हालिदिन्छन । तर, जति फुर्सद नभए पनि ठूला उद्योगपति, व्यापारी, तस्कर, आयोजना प्रमुखहरु आफूले बनाएका महाप्रबन्धक र अध्यक्षहरू अनि ठूला ठेकेदारहरूलाई भेट्न समय निकाल्नै पर्याे । तिनीहरूलाई नभेटे देश विकासमा बाधा परेर आफ्नो आधा तौल घटिहाल्छ । छोटकरीमा भन्नुपर्दा हामीलाई फुर्सदै नभएरै हाम्रा हातबाट माखो मार्नेसम्मको पनि काम नभएको हो।

हुन त लामो कुरा किन गर्नु, सबै कुरा हाम्रो भाषणमै छ । हाम्रो सिद्धान्त, आदर्श, नैतिकता, मूल्य, मान्यता र जनताप्रतिको समर्पण भनेकै त्यही भाषण हो । हामीले बिर्सिसकेका कुराहरू हाम्रा सहयोगीहरूले भाषणमा लेखिदिने चलन छ । पहिलेदेखि चल्दै आएको चलनमा व्यर्थैको जलन गर्नु राम्रो होइन । वर्तमानमा सकेजति पोल्टो भर्न बिर्सेका छैनौँ। त्यसैले आफ्नो पुर्पुरो जागेको बेला चारैतिरबाट भेटेसम्म सोर्ने, विरोध गरी हिड्नेको पाएसम्म थाप्लो फोर्ने र सकेजति जायजेथा जोर्ने काममा हामी लागिपरेका छौं। कृपया अरूले यसमा टाउको नदुखानुहोस् । धन्यवाद ।

दुवै हातमा लड्डु २०७५ बाट ।

०००
हास्यव्यङ्ग्यकार नालीबेली (२०८२)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x