साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काले काले मिलेर खाउँ भाले

नेता र ठेकेदारहरुको संयुक्त योगदानलाई मान्नै पर्छ र यसैबाट हामी छिटैनै माथि पुग्छौं भन्ने जान्नै पर्छ अनि सबैले यिनीहरुलाई छिनछिनमा सलाम हान्नै पर्छ । यसैले सबै ठूला र नामी ठेकेदारहरुलाई सबैले मन भित्रैदेखि धन्यवाद दिनै पर्छ ।

Nepal Telecom ad

बलदेव महत :

अचेल सडक, पुल, विद्युतगृह, ठूला खानेपानी आयोजना, ठूला ठूला भवन निर्माण, ठूला सिँचाइ आयोजना, ठूला ठूला मर्मत सम्भार आदि आदि जस्ता आयोजना परियोजनाहरु समयमै सम्पन्न गर्न र सो मार्फत विकास निर्माण कार्यमा अघि सर्न मरिमेटेर लागि परेका माथिल्लो तहका ठेकेदारहरुले टेण्डर हालेर सफल भेन्डरको रुपमा आफूलाई स्थापित गर्दै अनि सो मार्फत आयोजनाको बजेट माथि चर्दै आएका छन्।

राजधानीका सडक, राजधानी बाहिरका मुख्य मुख्य राजमार्गहरु, दक्षिणको हुलाकी सडक, अति सामरिक महत्वको सडक, मेलम्ची खानेपानी आयोजना, महत्वपूर्ण विद्युत गृहहरु आदि सबैनै यस्ता अति जिम्मेवारी बोध भएका र देश हितकै मार्गबाट अगाडि गएका राष्ट्रिय अन्तर्राष्ट्रिय निर्माण कम्पनीहरुबाट समयमै समाप्त हुने तर्खरमा छन् रे भन्ने पनि जनताले भर्खर मात्रै थाहा पाए ।

यति सक्षम, सहयोगी, जन हितैषी र परोपकारी ठेकेदारहरु प्रति जनताको अपार श्रद्धा जागेको र त्यस्ता ठेकेदारहरुलाई त सबै मिलेर अभिनन्दन गर्नु पर्ला भन्ने सबैलाई लागेको छ । जसरी भए पनि ठेक्का लिनै पर्ने र ठूलो वा क वर्गको ठेकेदार हौं भनेर गफ दिनै पर्ने रोगले ग्रस्त हुँदा हुँदै पनि समयमै काम सम्पन्न नहोला भनेर ज्यादै त्रस्त रहने गरेकोमा सबैजना खुशी छन् ।

यस्ता होनहार बफादार र दमदार ठेकेदारहरुले ठूला ठूला योजना, आयोजना र परियोजनाहरुका काम पाएपछि धेरै छिटै नै देशको नाम समृद्ध राष्ट्रको रुपमा चम्कने अनि आर्थिक रुपमा फड्को मारेर छिटै नै लम्कने निश्चित छ ।

ठेकेदारकै कारण कतिपय मुख्य सडकहरुको साथै खानेपानी र धेरै महत्वपूर्ण परियोजनाहरु लामो समयसम्म अपुरा अधुरा अवस्थामा रहेर सर्वसाधारणले अनाहकमा दुख पाए र खानसम्मको हण्डर खाए भनेर जतासुकै गुनासो मात्रै सुनिन्छ ।

अब केही नपाएर समयमा काम पूरा नगर्ने र आफूले गरेको कबुल अनुसार काम गर्न लागि नपर्ने ठेकेदारहरुलाई कानुन अनुसार कारबाही गर्ने भन्ने खबर पाउँदा जनता ज्यादै दुःखी भएका छन् । उनीहरुलाई यसरी जनभावना विपरीत कारबाही गर्दा कुनै पनि किसिमबाट रीत नपुग्ने हुनाले यसबाट कसैको पनि हित नहुने र कारबाही गर्नेको जित हुन नसक्ने पक्का छ ।

तोकिएको मितिभित्र सिध्याउने कबुल गरे पनि विभिन्न कारणले रोकिएको अवस्थामा त्यस्तालाई कानुनी कारबाही ठोकिएको त जनतालाई पनि चित्त नबुझ्ने विषय नै पर्‍यो । कारबाही गरेर बिगो समेत भराउने कुरा गरे पनि ठेकेदारहरु डराउने कुरै आएन । हुन त ठेकेदारहरुलाई कसैको डर नभएको पनि माथिसम्म भर भएकोले नै हो ।

देशका कार्यकारी प्रमुख, मन्त्रीहरु, सचिवहरु, आयोजनाका निर्णायक प्रशासकहरु, माथिदेखि तलसम्मका प्राविधिकहरु, बजेट निकासा खर्च र फाँटवारी तयार गर्नेसम्मका कर्मचारीहरु, साइटमा काम गर्ने कर्मचारीहरु, सबैतिर मेलोमेसो मिलाउने र कारबाही नहुने कुरामा ग्यारेन्टि दिलाउने अनि विरोध गर्नेहरुको मुख सिलाउने विचौलियाहरु, राष्ट्रियदेखि स्थानीय स्तरसम्मका डन गुण्डा आदि जस्ता स्वयम सेवकहरु, नेता कार्यकर्ता र भातृ संगठनका सहयोगीहरु आदि आदिको दृश्य अदृश्य ऐच्छिक वा बाध्यात्मक सहयोगले गर्दा पनि यस्ता महत्वपूर्ण ठेक्काहरु समयमा नसकिएकोमा विचरा ठेकेदारहरुले के नै गर्न सक्छन् र ?

उनीहरुले त भनेकै मितिमा सक्छु भनेर ठेक्का कबुल गरेकै र सकाउन अघि सरेकै हुन् । अब गर्न खोज्दा खोज्दै नसकिए पछि कस्को के लाग्छ र ?

देशको बजेट धेरै खर्च होला र यसले जनताको चित्तमा नराम्रोसित छोला भन्ने सोचाइले गर्दा जानेसम्म र आफ्नो मनले मानेसम्म अनि सबैलाई पेलेरै भए पनि काम गर्न सकिन्छ भनेर ठानेसम्म घटि रेटमा टेण्डर हाल्नु परिहाल्यो । त्यति गरेर टेण्डर पारेपछि र सबै प्रतिस्पर्धीहरुलाई हराएर बाजी मारेपछि ठेकेदारबाट काजी भएर सबै पाजीहरुलाई शक्ति केन्द्रको डर देखाएर तर्साएर पेस्की हात पारेपछि बल्ल कबुल अनुसार होइन कि आफ्नो खुशीमा काम गर्ने वातावरण तयार हुन्छ ।

देशको कार्यकारी प्रमुखदेखि तल्लो तहसम्मको लाई हात लिएपछि र दिनुपर्नेलाई चित्त बुझ्ने गरी दिएपछि बाँकी सबै आफ्नै भइहाल्यो । अनि त मुड चल्यो काम गर्‍यो नभए सबैले बजेट चपायो अनि बेला बेलामा म्याद थपायो । अलिअलि खन्ने खोस्रने चिन्ह लगाउने गरेपछि सर्वसाधारणमा काम हुने भयो भनेर आशा जगाउने र विरोध गर्नेहरुलाई टाढा भगाउने बाटो खुलिहाल्यो । अनि त के छ र ? यता हात हाल्यो उता हात हाल्यो, विभिन्न कदम चाल्यो र काम पाए जति सबै आयोजनाको म्याद थपाउन थाल्यो ।

घट्न मिल्नेसम्म घटेर लिएको टेण्डरमा धेरै खट्न र धेरै नाफा हुने गरी डट्न नसकिने भए पनि म्याद नथपाई त्यहाँबाट हट्न पनि भएन । म्याद थपको व्यवस्थाले गर्दा वर्षौंदेखि ज्यादै महत्वपूर्ण आयोजनाहरु अलपत्र अवस्थामा भए पनि ठेकेदार र नेताहरुलाई सत्र परेको छ । ठेकेदारहरुकै कृपाले गर्दा जनताले धेरै लामो समयसम्म ज्यान माया मारेर हिलो धुलो अप्ठ्यारो खाल्डाखुल्डी आदिको एकैपटक अनुभव गर्न पाएका छन् ।

ठूला ठूला पुलहरु कतै एक दुईटा पिलर ठड्याएर वर्षौंसम्म राखिएको, कतै बनाइसकेपछि भाँच्चिएको, हावाले उडाएको जस्ता अद्भुत दृश्यहरु देख्न पाएका र यसैबाट ठेकेदारदेखि नेतासम्मले मजाले लाए खाएका छन् ।

कतिपय जलविद्युत आयोजनाहरु पनि नेता र ठेकेदारहरुको अपार मित्रताले गर्दा र यो वर्ष हुन्छ अर्को वर्ष हुन्छ भनेर भर पर्दा पर्दा समय नाघेर निकै ढिला हुँदा पनि पूरा हुने छाँटकाँट देखिँदैन । मेलम्ची खानेपानी आयोजना त ठेकेदारको दयाले दुई पुस्ता सकिन लाग्दा र नेताहरु मन्त्री हुनासाथ पूरा गर्ने वचनसहित जाग्दा पनि अझ अर्को पुस्तामा पनि के कसो हो थाहा छैन । यसको मतलव ठूला नेताहरु र ठेकेदारले प्रशस्त समय लिएर र ज्यादै ध्यान दिएर अति बलियो आयोजना बनाउने भए भनेर जनता चाहिं मख्ख परेका छन् ।

कोही आफूलाई सर्वहारा वर्गको ठूलो नेता ठान्ने र आफूलाई जनताको हितकारी मान्ने नेता ठूला ठेकेदारको महलमा सपरिवार निशुल्क बस्ने, कोही ठेक्का मिलाइदिए बापत पार्टी र आफ्नो लागि ठूलै हिस्सा दिनुपर्छ भनेर मुठ्ठी कस्ने, कोही नेता र ठूला कर्मचारीहरु ठेक्का सम्बन्धी कागजादमा दस्तखत गर्नु अघिनै आफ्नो कमीसनको लागि घुँडा धस्ने र सम्बन्धित व्यक्तिहरु, कर्मचारीहरु, कार्यकर्ताहरु, स्थानीय अधिकार प्राप्तहरु, सुरक्षा कर्मीहरु, चुल्ठे मुन्दे्र आदि आदिहरु पनि आ आफ्नो गक्ष अनुसारको हिस्साको लागि चिल्लो घस्ने गर्छन् ।

यसो गरेर सबैलाई भाग लगाउँदै माग पूरा गर्दै जाँदा बिस पच्चिस प्रतिशत बजेट कामको लागि बाँकी रहन सक्ने देखिन्छ । त्यसबाट काम फत्ते गरेर बुझाउँदा ठेकेदारलाई हत्ते नै परिसकेको हुन्छ । यसरी तयार भएको आयोजना त्यति सारै काम लाग्ने खालको नहुन सक्ने हुनाले यसलाई आयोजना होइन गयोजना नाम दिएमा सान्दर्भिक हुन सक्ला कि भन्नेहरु पनि नभएका होइनन् ।

त्यही भएर पिच गरिएको बाटो एक हप्तामा उप्किन सुरु हूने, एक महिनामा खाल्डा खुल्डी देखिने, तिन चार महिनामा ठूला ठूला भ्वाङ परेर विकासे स्वाङ मात्रै भएको ठहरिने, छ सात महिना पछि सुरुकै अवस्थामा पुग्ने र एक वर्षमा फेरि मर्मत हैन कि निर्माण नै गर्नुपर्ने र यसले सबैको निद्रा हर्ने अवस्था देखिन्छ।

ठेक्का दिने, ठेक्का लिने, जाँच पास गर्ने, फाँटबारी स्वीकृत गर्ने, भुक्तानी दिने, राजनैतिक संरक्षण दिने र तह तहमा आ आफ्नो हिस्सा लिनेहरु सबै मिलेर यो किस्सा नै बन्द गरिदिन्छन् ।

जिम्मेवारी बोध, लाज, शरम, घिन, नैतिकता, जवाफदेहिता, इज्जत, प्रतिष्ठा आदि सबैलाई नै कमिसनले पुर्ने र फेरि अर्को आयोजना कुर्ने गरेको सबैलाई राम्ररी थाहा भएकोले अनि सधैँभरि यसरी नै देश समृद्दि तर्फ जोड जोडले अगाडि गएकोले पनि जनतालाई अपार खुशी लागेको छ ।

यही परम्परालाई कायम राख्दै गएमा देशले नयाँ नयाँ मोडलको विकास चाख्दै अगाडि बढ्न धेरै समय कुर्नु पर्दैन । त्यसै गरी पूर्व पश्चिम रेल, उत्तर दक्षिण रेल, मोनो रेल, जलमार्ग, कुन्नि कति हजार मेगावाट बिद्युत उत्पादन, स्मार्ट सिटि, तेल ग्याँसको पाइप लाइन आदि आदि त यही आर्थिक वर्षभित्र पूरा भएर सरकार प्रधानको कुरा यथार्थमा परिणत हुने निश्चित तथा पक्का भएकोले अब यो सरकारलाई दुई चार दशकसम्म कसैले धक्का दिन सक्ने छैन ।

जिम्मेवारीबोध, लाज, शरम, घिन, नैतिकता, जवाफदेहीता, इज्जत, प्रतिष्ठा आदि सबैलाई नै कमिसनले पुर्ने र फेरि अर्को आयोजना कुर्ने गरेको सबैलाई राम्ररी थाहा भएकोले अनि सधैँभरि यसरी नै देश समृद्धितर्फ जोडजोडले अगाडि गएकोले पनि जनतालाई अपार खुशी लागेको छ ।

आफूले कबुल गरेको र समयमै पूरा गर्छु भनेर अघि सरेको काम नगर्ने ठेकेदारहरुलाई कानुनी कारबाही गर्न निजहरुको खोजी गर्दा त नामै लिन नसकिने निकै ठूला नेताहरु ठेकेदारहरुको गोजिमा भएको पत्ता लाग्दा एकपटक देशको सत्ता पनि हल्लिन खोजेको थियो रे भन्ने पनि सुनियो ।

तर यो त अशल जनताले पत्याउने कुरै आएन र जनताले राम्ररी थाहा पनि पाएन । ठूला, जिम्मेवार, ठूला ठूला आयोजनाहरुको जिम्मेवारी लिने ठेकेदारहरुको त्यही तहका ठूला नेता, ठूला मन्त्रीहरु, ठूला प्रशासक, ठूला डन, ठूला सुरक्षा कर्मी, ठूला पत्रकार आदि आदिहरुसित संगत, आउजाउ, उठबस र मित्रता हुनु सामान्य कुरानै हो ।

मित्रता गर्दा आफ्नो स्तर मिल्ने सँगनै गर्नुपर्छ नत्र आफ्नो स्तरबाट झर्नुपर्छ भन्ने त नीतिले नै बताएको हुनाले जान्ने मान्छेले त्यतातिर बाटो तताएको देखिन्छ । मित्रता भएपछि एक अर्कालाई परेको बेलामा सहयोग गर्नु पनि मित्रको जिम्मेवारी भित्रै पर्ने कुरा हो । मित्र भएर मित्रलाई मद्दत नगर्नु त बिचित्रकै खबर भइहाल्यो ।

पैसा कमाएकाहरु सबैलाई कडा छानबिनसहित कानुनी कारबाही गरिने हल्ला चलाएर जनताको नजरमा गतिलो मन्त्रीमा परिने प्रयास गरेका एकजना मन्त्रीलाई ठेकेदारहरुले पैशा कमाउनेहरुलाई कारबाही गर्ने हो भने त पहिले नेताहरुबाटै सूरु गर्नु पर्ने सल्लाह दिए रे भन्ने पनि हल्ला चल्यो र कारबाही गर्छु भनेर कराउनेचाहिं नराम्रो सित गल्यो, उनको योजना त्यसै ढल्यो र ठेकेदारहरुको आम्दानी साबिक अनुसार फल्यो अनि खाइपाई आएका नेताहरुको भाग्य पनि साबिक अनुसार नै बल्यो भन्ने सुन्दा जनता हर्षित भए।

एकजना ठूला मान्छेले त कुरै नबुझी सिंघम नहुनु र त्यसै आफ्ना नजिककालाई नछुनु भन्ने सुझाव नै दिए रे भन्ने बजारे हल्ला जनताले ज्यान जाला पत्याएनन् । आफूले भोट दिएर जिताएका नेताहरुले विकास निर्माणको नाममा नोट कमाएको देख्दा र सुन्दा जनतालाई चोट पर्ने कुरो पनि आएन ।

अहिले अधिकांश ठूला ठेकेदारहरु पार्टी र संसदमा पुगि सकेका छन् । नीति निर्माण तह, कार्यान्वयन तह र राष्ट्रिय स्तरमै निर्णयहरुलाई प्रभावित पार्न अनि त्यसबाट आफ्नो अनुकूल नियम कानुन झार्न र विकास आयोजनाहरु पूरा गर्नु पर्ने म्याद थप्दै आरामले तर् मार्न सक्ने हैसियतमा आफ्ना प्रतिनिधिहरु पुगेपछि सबैलाई फाइदा हुने नै भयो ।

ठेकेदारहरुकै हितलाइ मध्यनजर राखेर र त्यसबाट प्राप्त हुने मिठो मसिनो चाखेर सार्बजनिक खरिद ऐन पनि महिनै पिच्छे संशोधन भइरहेको सुन्दा जनता औधी हर्षित छन् । संघीय तह, प्रादेशिक तह, स्थानीय तह र अझ सबैभन्दा तल्लोतहसम्म पनि नीति निर्माण र कार्यान्वयन गर्ने अधिकार प्राप्त धेरै भाग्यमानी ठेकेदारहरु विराजमान छन् ।

यिनीहरुले आफ्नो पक्षमा निर्णय किन्न सक्ने, राजनैतिक पहुँच नभएका राम्रो काम गर्ने ठेकेदारहरुबाट कुनै पनि टेन्डर छिन्न सक्ने, बाधा विरोध र अड्चन पार्नेलाई राजनैतिक शक्ति लगाएर पिन्न सक्ने, आफूलाई फाइदा दिन सक्ने माथिल्लो तहका नेताहरुको आन्द्राभुँडी केलाएर चिन्न सक्ने हुनाले यिनीहरुको काम गर्ने तरिका अरुभन्दा भिन्न भएको देखिन्छ ।

नीति निर्माण तहमा आफू प्रत्यक्षरुपमा नपुगेपनि उच्च राजनैतिक नेतृत्व र उनीहरुका सबै खाले सहयोगीहरुलाई घर जग्गा, अस्थायी स्थायी बासस्थान, चन्दा सहयोग, मुनाफाबाट हिस्सा, विदेश भ्रमणको व्यवस्था, सुरा सुन्दरीको व्यवस्था, गाडी उपहार, छोरा छोरीको पढाइमा सहयोग, विवाह ब्रतबन्धमा सहयोग आदि आदिमा यथेष्ट योगदान पुर्‍याएपछि बाहिर अति कडा कुरा गर्ने नेतालाई पनि ठेकेदारको सेवामा चौबिसै घण्टा खडा हुन सक्ने बनाएर नेताहरुको सबै आवश्यकताको घडा भरिदिने व्यवस्था भएपछि त्यस्ता नेताहरुको भोटरको नाताले जनतालाई आनन्द लाग्नु स्वाभाविकै हो ।

यति भएपछि समयमा काम नगर्ने, जति अनियमितता गरे पनि कानुनी कारबाहीमा नपर्ने र यिनीहरु माथि रिस उठ्नेहरुले जतिनै कोसिस गरे पनि माखो नमर्ने अवस्था रहेको हो कि भन्ने अबुझहरुको अनुमान छ । यति भएपछि कानुनी शासन, भ्रष्टाचार मुक्त ब्यवस्था, सुशासन, आर्थिक उन्नति, विकास तथा समृद्दि आदि आदि त चुड्कीको भरमा गरिन्छ भनेर छिन् छिनमा मुड्की उचाल्ने ठूला ठूला नेताहरुको सपना त जनताले कल्पना गरेको र नेताहरुले भ्रम छरेको समय अगावै पूरा हुने निश्चित छ ।

नेताहरुलाई आवश्यक सबैथोक पूरा गरिदिएर औंलामा नचाउने, विभिन्न सहयोगद्वारा नेताहरुको इज्जत बचाउने र ठूला ठूला आयोजना तथा परियोजनाहरु लाई ठाडै पचाउने ठेकेदारहरु भएपछि देशको उन्नति प्रगति हुन धेरै समय लाग्ने छैन । विकास निर्माण कार्यहरुमा योगदान दिने र सारा जनताको आशिर्वाद लिने यस्ता नेता र ठेकेदारहरुप्रति देश विदेशमा रहेका जनता कृतज्ञ छन् ।

नेता र ठेकेदारहरुको संयुक्त योगदानलाई मान्नै पर्छ र यसैबाट हामी छिटैनै माथि पुग्छौं भन्ने जान्नै पर्छ अनि सबैले यिनीहरुलाई छिनछिनमा सलाम हान्नै पर्छ । यसैले सबै ठूला र नामी ठेकेदारहरुलाई सबैले मन भित्रैदेखि धन्यवाद दिनै पर्छ अनि उनीहरुको कामलाई विकास निर्माण कार्यमा ठूलो योगदानको रुपमा लिनै पर्छ । यति भएपछि सबैजना लागेर काले काले मिलेर खाउँ भाले गरेको देखेर दुःखी जनतालाई आफ्नो भोटप्रति गर्व लाग्नु स्वाभाविक हो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तिम निर्णय

अन्तिम निर्णय

रामकृष्ण ढकाल
गालीको बाली

गालीको बाली

हरि खनाल
साथी पनि कस्तो ?

साथी पनि कस्तो ?

ठाकुरप्रसाद अधिकारी
गुडबाई वासुदेव दाइ !

गुडबाई वासुदेव दाइ !

राजेन्द्र सुवेदी
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x