साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टाउको नदुखाउनोस्

हाम्रो सिद्धान्त, आदर्श, नैतिकता, मूल्य, मान्यता र जनताप्रतिको समर्पण भनेकै त्यही भाषण हो । हामीले बिर्सिसकेका कुराहरू हाम्रा सहयोगीहरूले भाषणमा लेखिदिने चलन छ ।

Nepal Telecom ad

बलदेव महत :

जनताका लागि गाउँ, शहर केही नभनी सेवा गर्ने रहरले पक्का ठहर गरी भोट माग्दा पाएको दुःखले यसरी नोट फल्दोरहेछ भन्ने भर्खरै मात्र थाहा भयो। मेरो कदअनुसारको पद ढिलै भए पनि, भर्खरै पाए पनि यसको मदले हद नगर्ने विचार छ । तर त्यसरी पद धान्न, सबैतिर हान्न, सबैको कुरा मान्न र यसलाई लामो समयसम्म तान्न सकिएला भन्ने कुरामा मलाई दोधार लागेको छ । यो दोधारले म सधैं दोधारमै परिराख्छु। जनताका लागि कति ठाउँमा भुतुक्क मरियो, हुने नहुने ठाउँमा सिधै चरियो, कतिपल्ट बिकाउ खसी बोकामा दरियो, ज्यान फालेर मरिहत्ते गरियो र पद पाउन योग्यमा परियो। यसमा पनि सबैले खास गरी आफ्नै साथीभाई र आफन्तहरूले रिस-डाह गरी पित्त ओकलेको देख्दा साह्रै चित्त दुखेको छ मेरो । फेरि पटक-पटक खायो, धेरै मौका पायो, खाने पाउने ठाउँमा सधैं धायो र आफू सरहका अरूलाई पछाडि लायो पनि भन्ने गरेको सुन्छु।

मैले यहाँसम्म पुग्न कतिलाई फुलाएँ, कतिलाई भुलाएँ, कतिलाई अन्तै भुलाएँ र कतिलाई डकार आउन्जेल खुलाएँ भन्ने कुरा मलाई नै थाहा छ । कतिचोटि बिकियो, कतिचोटि लिस्टबाट झिकियो, कतिवटा भित्री मन्त्रहरू सिकियो अनि पो बल्ल गएर टिकियो त । खाने, लाने र जाने भन्ने कुरा त साधारण हो ।

बाँच्नका लागि धेरथोर आफ्नो पेटलाग्दो सबैले खान्छन् । विरोधीले चर्के देखे भने कोरम मिलाएर फोरममा नाक नबिक्ने गरी खानु र खुवाउनु पर्छ । यस्तो नित्री त्यो कुरा अर्कै हो । त्यसरी खाँदा एक्लै खाने होइन । बाँडीचुँडी तलदेखि माथिसम्म कुरा बाहिर बसेर कहाँ बुझिन्छ र ? बाँच्नका लागि खाँदा र सही कममा जाँदा कसैको टाउको दुख्छ भने मैले के गर्न सक्छ र ? मान्छेको शरीर हो, आज खायो भोलि पनि खानैपर्छ । एकपटक खाएर पुग्ने भए छाकै पिच्छे किन खाइराख्नु पर्थ्यो र ? हिजो हामीले खान नपाउँदा कसैले दया गरेको थिएन । भोकाले रोएर डोकामा आँसु अडिन्न, के गर्नु ? मौकामा मजाले कमाउन नसके पछिसम्म प्रमाव जमाउन पनि सकिन्न ।

विरोधीतर्फ हुँदा हामीले भनेजस्तै अचेल कुनै पनि व्यवस्था ठीक भएन, महँगीमा नियन्त्रण रहेन, शान्ति सुरक्षाको जिम्मा लिनेले कसैलाई सहेन र विकास निर्माणको काम एक बित्ता पनि अगाडि गएन भन्ने कता-कता सुनिन्छ । मेरो लागि त सबै ठिकै छ । आफैंले किनेर खान, लाउन नपर्ने हुनाले मलाई महंगी बढेकै छैन । हामीलाई आवश्यक गार्डको व्यवस्था भएकाले शान्ति सुरक्षाको स्थिति पनि ठिकै छ भन्नुपन्यो । विकास निर्माणले गति लिएन भनेर पनि मति बिग्रेकाले भन्ने कुरा मात्र हो । हामी उद्घाटन र शिलान्यासमा व्यस्त नै छौं। अरूले भने भन्दैमा राष्ट्रिय काम छाडेर अन्त लाग्नुभएन । मेरो समस्या पनि बुझिदिनुपचो नि सबैले ।

आफू शक्तिमा हुँदा भक्ति देखाउनेलाई ठाउँमा मिलाएर राखिदिन पर्यो । फेरि नाता गोता, इष्टमित्र, छरछिमेकी र चिनेजानेकाहरूलाई थोर-बहत हेरिदिनै पन्यो । सबैलाई हेर्ने बेलै यही हो। जनताको काम, विकास निर्माणको काम, सैद्धान्तिक र रचनात्मक काम त सबैले मिलेर गरेमा विस्तारै भइहाल्छ नि। व्यावहारिक भएर ठाउँ, समय र परिस्थितिअनुसार चल्न नसके छिट्टै ढल्न बेर लाग्दैन । त्यसैले पनि अचेल थोर-बहुत खान पायो भने मात्र टेर्ने, काम नगरी खान नपाए ठाउँ-कुठाउँमा घेर्ने, ठाउँमा जम्नासाथ सात पुस्तालाई बेर्ने र नियम-कानूनअनुसार काम गर्नुपन्यो भने तीन पाथी छेर्ने बानी सबैलाई लागिसक्यो ।

अर्को कुरा, केही गर्छु भनेर लागे पनि र जतिसुकै इच्छा जागे पनि बिहानै उठ्दैदेखि राति अबेला नसुतेसम्म फुर्सद हुन्न । अनि कसरी काम गर्न हामीलाई फुर्सद पनि हुन्न तलकालाई अधिकार पनि दिइन्न । हुन त अधिकार दिए पनि माल कमाएर गाल जति हाम्रो थाप्लोमा हाति जति फुर्सद नभए पनि ठूला उद्योगपति, व्यापारी, तस्कर, आफूले बनाएका महाप्रबन्धक र अध्यक्षहरू अनि ठूला ठेकेदारहरूलाई भेटन समय निकाल्नै पन्यो । तिनीहरूलाई नभेटे देश विकासमा बाधा परेर आफ्नो आधा तौल घटिहाल्छ । छोटकरीमा भन्नुपर्दा हामीलाई फुर्सदै नभएरै हाम्रा हातबाट माखो मार्नेसम्मको पनि काम नभएको हो ।

हुन त लामो कुरा किन गर्नु, सबै कुरा हाम्रो भाषणमै छ । हाम्रो सिद्धान्त, आदर्श, नैतिकता, मूल्य, मान्यता र जनताप्रतिको समर्पण भनेकै त्यही भाषण हो । हामीले बिर्सिसकेका कुराहरू हाम्रा सहयोगीहरूले भाषणमा लेखिदिने चलन छ । पहिलेदेखि चल्दै आएको चलनमा व्यर्थैको जलन गर्नु राम्रो होइन । वर्तमानमा सकेजति पोल्टो भर्न बिर्सेका छैनौँ। त्यसैले आफ्नो पुर्पुरो जागेको बेला चारैतिरबाट भेटेसम्म सोर्ने, विरोध गरी हिड्नेको पाएसम्म थाप्लो फोर्ने र सकेजति जायजेथा जोर्ने काममा हामी लागिपरेका छौं। कृपया अरूले यसमा टाउको नदुखानुहोस् । धन्यवाद ।

दुवै हातमा लड्डु (२०७५)

०००
हास्यव्यङ्ग्यकार नालीबेली (२०८१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x