साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सोह्रखुट्टे बैशाखी

आँट र हैसियत नै गुमेपछिको विकल्प भनेको नै बैशाखीको सहारा भएकोले अरु दलहरूलाई बेवकुफ बनाएर आफू कुर्सीमा बस्नका लागि रचिएको स्वार्थगत खेल नै सोह्रखुट्टे बैशाखीको टेको हो भन्दा कुनै फरक पर्दैन ।

Nepal Telecom ad

माधव पोखरेल गोज्याङ्ग्रे :

मितज्यू अरु अडिने बैशाखी बन्नु भएको छ । हिजो एकल उभिएकाहरू आजको अवस्थामा आफै चाउरिएर मरिच झैँ हुँदै अरुलाई बैशाखी बनाएर अडिनु पर्ने अवस्थामा पुगेपछि मित ज्यूलाई बैशाखी बनाएर तिखे गोरु हाेक्राँ गर्दै हिँड्ने बन्न भ्याएका छन् । बैशाखी पनि कस्ता छन् भने आफ्‌नो ल्याकतले र तागतले भुँइमा अडिन नसक्नेहरूलाई भेला पारेर बनाइएका छन् । एक दुई खुट्टामात्र होइन सोह्र खुट्टाका बैशाखीमा उभिएर पनि थेगिन नसक्ने मान्छे कस्तो होला हामी आफैँ बडेमानको अनुमान गर्न सक्छौँ ।

हनुमानजीले एक हातले पहाड उचालेर लक्ष्मणका लागि औषधी सञ्जीवनी बुटी ल्याएका थिए रे । तर उनलाई पहाड उचाल्न कुनै बैशाखी चाहिएन । किनकि उनीसँग बल र तागत थियो । अनि आत्म विश्वास र आफ्‌नो कर्मप्रति श्रद्धा र भक्ति पनि थिेयो । तर यो कुरा त्रेता युगको हो । हामी कुरा गर्दैछौँ वर्तमान युगको । त्रेता युग साँच्चै भन्ने हो भने प्राकृतिक युग थियो तर वर्तमान युग भने कृत्रिम युगका रूपमा देखिएको छ ।

बैशाखी लगाउने भनेको अशक्तले हो । जो सहज रूपमा हिँडडुल सक्दैन । जसको खुट्टा कमजोर छ उभिन सक्दैन । घाइते भएर खुट्टामा असर परेको वा जन्मजातै खुट्टा कमजोर भएको अडिन नसक्ने अवस्थामा छ भने एकातिर वा अवस्था अनुसार दुबैतिर काखीमा बैशाखी लगाएर अडिनका लागि शरीरलाई भरथेगका लागि प्रयोग गरिन्छ । तर सद्दे मान्छेले बैशाखी लाएर अडिनु भनेको वा अघिपछि मान्छे लगाएर हिँड्नु पर्ने हैसियतकाले बैशाखी लाएर हिँड्नु भनेको उसको संगठन, आत्मबल कमजोर भएको मान्नु पर्दछ ।

मितज्यूले अर्काको बैशाखी बनेर हिँड्नु पर्ने त होइन तर यो कृत्रिम युगको माग भएर होला दुईचार जना अघिपछि लाएर हिँड्नेको बैशाखी बनेर उदारवादी बन्नु भएको छ । एक जनालाई उभ्याउनका लागि सोह्रवटा खुट्टा प्रयोग गर्नु भनेको सहज अवस्थाको संकेत होइन । कतै ढलिहाल्यो भने टेको वा बैशाखीले थेग्छ । ढल्ने अवस्थामा पुग्दा बैशाखीले भरथेग गर्ने भएकोले नै होला मितज्यू बैशाखी बनेर सहारा दिनु भएको । साथी अशक्त भएको भए त बैशाखी बनेर सहारा दिन सुहाउँथ्यो तर साथी सद्दे नै छन । न कुनै अङ्गभङ्ग भएको छ, न खुट्टा नै कमजोर छ । हृष्ट, पुष्ट र सग्लो शरीरका साथीलाई हिँड्ने बाटो फरक भए पनि एउटै बाटोमा लैजान सोह्र बैशाखीको सहारा दिलाउनु पनि मितज्यूको महान काम हो भन्ने लाग्दछ ।

अस्ति मितज्यू ,साथीको बाटो र व्यवहारप्रति नकारात्मक हुनुहुन्थ्यो । तर हिजो सहयात्रामा हुनुहुन्थ्यो भने अहिले साथीको हरिबिजोग नहोस् भनेर काखीको बैशाखी बनेर माखी नमार्ने साथीको साथमा गाथ जोड्न पुग्नु भएको छ । बरु सबैभन्दा राम्रो शल्यक्रिया गरेर भए पनि शरीर एउटै, टाउको दुईटा अनि बोली पनि फेर्न जिब्रो पनि दुईटा नै बनाउनु होला । हुन त टाउको दुईटा भएपछि मुख र जिब्रो नाक कान आँखा पनि तोकिएको संख्यामा नै होला । तर टाउको दुई भएपछि भने बोली पनि फरक र सोचाई पनि फरक हुने भएकोले टाउको भित्रको गिदी झिकेर लिदी हालेको खण्डमा विधि पुग्छ ।

मित ज्यूले बैशाखी बन्नु कुनै नौलो कुरा होइन किनकि मित ज्यू पनि हिजो शितल दिने बैशाखी कै भरमा टाँडमाथि चढ्नु भएको थियो भने आज पनि उहाँले हिजो कै बिडो थाम्नका लागि आफ्‌नो बैशाखी साथीलाई र साथीको बैशाखी आफूलाई मानेर ढिसमिसे यात्रामा निस्कनु भएको छ । मितज्यूको यात्रालाई मैले किन ढिसमिसको भनेँ भने नि यात्रामा बैशाखी बनेर उभिनेहरू सबै नयाँ आला काँचा र नामै नसुनिएका भर नभएका, घर र थर समेत नभएका आम नागरिकमा परिचय नभएकाहरूको बाहुल्यता छ ।

साँच्चै भन्ने हो भने युगौँयुगसम्म एकनासले अडिग रहने बैशाखीको साथमा हुनुहुन्न मितज्यू । खुट्टा कमाउने, लर्बराउने खालको बैशाखीहरूको बाहुल्यता देखिएकोले मितज्युहरूको यात्रा विच बाटोमा गएर बैशाखीको खुट्टा नभाँचिएला भन्न सकिन्न । अहिले सोह्र बैशाखीको साथमा भए पनि पछि गएर साथमा भएका सबै बैशाखीहरूले सधैँ साथ दिइरहलान् भन्ने कुनै निश्चित छैन् । प्राकृतिक बैशाखी त कुनै बेला भाँचिन्छ, मासिन्छ, नासिन्छ कुनै निश्चित नभएकोले कृत्रिम बैशाखी त बनावटी हो त्यो जुनसुकै समयमा पनि भाँचिन्छ भन्ने कुरा मितज्यूले र मितज्यूका साथीहरूले सम्झनु र बुझ्‌नु पर्दछ । बैशाखी बन्नेहरू कस्को कति हैसियत छ भन्ने कुरा आम नागरिकले बुझेका छन् । कसैको इर्ष्याले कसैको बैशाखी बनेर अरुलाई फाइदा हुने कुरामा लाग्नु भनेको आफ्‌नै हानी हुनु हो भन्ने कुरा मितज्यूले नबुझेको भने होइन । किनभने मितज्यू र उहाँको साथी भनेको हामी भुइँमान्छेका लागि टाँडमाथि बसेको मान्छे हो ।

यो विश्वमा मान्छे सोह्र वटा कृत्रिम खुट्टा लाएर संस्थागत जगमा उभिएको कहीँ छ भने त्यो नेपालमै छ । विश्वको राजनीतिक इतिहासमा स्वर्णाक्षरले लेखिनु पर्ने विषय भनेको यो पनि एउटा हो । कहीँ नभएको जात्रा हाँडीगाउँको साटो अब नेपालमा भन्दा कुनै फरक पर्दैन । हुन त हाँडीगाउँ पनि नेपालमै पर्दछ । तर हाँडीगाउँले एउटा गाउँको कथा बोल्छ भने नेपालले सिंगै देशको कथा बोल्ने भएकोले पनि यो सोह्रखुट्टे बैशाखीले पनि यस्तै खाले जात्रा देखाएको भान भैरहेको छ । तर कुरा के भने आखिरीमा कुवामा बस्ने भ्यागुता जतिसुकै उफ्रे पनि कुवा भन्दा बाहिर निस्कन सक्दैन रे । हो ठिक यस्तै कुरा लागु हुनेछ सोह्रखुट्टे बैशाखी वा टेकाको भरले टेकेर अडिनेका लागि पनि ।

हिजोका दिनहरूमा पनि बैशाखीकै भरमा टाँडमाथि चढेर चचहुँई गरेको हामीले देखेका छौ भोगेका छौँ । टाँडमाथि बस्न र चचहुँई खेल्न नपाउँदा, सधैँ आफैँले मात्र चचहुँई खेल्न पाउनु पर्छ भन्ने रडाको मचाउने संस्कारलाई तिरस्कार गर्न नसक्नेले नै जो चोर उसैको ठूलो स्वर भन्ने उखानलाई सबैका सामु चरितार्थ पारेको पनि हामीलाई थाहा छ ।

यहाँ कुरा के भने मितज्यू अर्काको स्वार्थका लागि बैशाखी बन्नु भएको स्पष्ट छ । मितज्यू साथीका लागि भए पनि साथी मितज्यूका लागि होइनन् भन्न सबै कुरा हामीले बुझेको छौँ । तर मितज्यू अहिले बैशाखी मात्र बन्नु भएको छ पछि सबै कुरा बुझ्‌नु हुने छ जति बेला साथीले मितज्यूलाई घोडा बनाएर हट्हट् गर्दै कुदाउँछन् । यतिमात्र होइन मितज्यूको साथीले सत्र पल्टाउन सोह्रखुट्टे बैशाखीको सहारा लिएको हो । मितज्यूका साथीले आफूलाई अड्याउने टेको वा बैशाखीहरूलाई पछि बलीको बोको नबनाउलान् भन्न सकिन्न ।

मितज्यूका साथीलाई स्वार्थ पुरा गर्नु छ त्यसैले सधैँ आफ्‌नै पोल्टामा सत्र पल्टाउने आन्तरिक हेतुले आफूलाई सोह्रखुट्टे बैशाखीमा टेकाएको हो । यसको अन्तर्य के हो भने आउँदो फागुनमा निर्वाचन हुन लागेकोले बैशाखीको जोडबलले चुनाव जितेर सत्तामा पुगेर फेरि सत्र पल्टाउने दाउ बाहेक अरु केही होइन । सासूको रिसले पोइको काख रित्याउने नियतमा लाग्नु भएका मितज्यूका लागि साथीको यो धुत्र्याइँ पछि गएर अत्यन्त घातक हुने छ भन्ने सावित हुनेछ ।

मितज्यूका साथी हिजो पनि बैशाखीकै भरमा टाँडमाथि चढेर चचहुँई गरे भने अब पनि सोही आसले सास न बास भएर बैशाखी खोज्न लागेका हुन् भन्ने कुराको सत्यता सावित हुन्छ नै । हिजो साथीलाई विश्वास नगर्ने मितज्यू लगायतका अरु बैशाखी बन्नेहरू आज जेनजी आन्दोलन पछिको कथित सरकारले चुनाव गराउन लागेपछि हातभरी माछा समाउन पाउने आशले बैशाखी बन्न तम्सेका छन् । तर पछि हातमा भ्यागुतो पनि समाउन नपाउँदा भने थाहा पाउछन् कि हामीलाई बैशाखी बनाएर मितज्यूका साथी सत्तारोहणमा सवारी होइबक्से छ भन्ने कुरा ।

मितज्यू र उहाँका साथीको बैशाखी यात्रामा साथ नदिनेहरू अशक्ततामै भए पनि यात्रामा छन् । फरक यति मात्र हो मितज्यू र उहाँका साथी जम्बो बैशाखीका भरमा यात्रा गर्दै हुनुहुन्छ भने साथ नदिनेहरू बैशाखी विहीन अवस्थामा भए पनि यात्रालाई साहसिक बनाएर अघि बढ्ने पक्षमा छन् । हिजोको सुख दुःखको यात्रामा सँगै रहेका साथीहरू छुट्टिएर बसे पनि खरानी अवश्य पनि घस्दैनन् । बरु बैशाखी बनेर अरुको टेको हुनेहरू भने भोलि टेकोमा अडिनेहरूबाट नै गलहत्तिएर शिरानीमै खरानी नबन्लान् भन्न सकिन्न ।

आफूमा आत्मविश्वास र परिवारबाट आडभरोसा नभएपछि टेको अर्थात् बैशाखीको सहाराले अर्काको घोचाई सहेर पनि उचाईमा पुग्ने संस्कार हामीमा छ । राजनीतिक स्वार्थ पुरा गर्ने ध्येयले आफू अडिएको बैशाखीलाई नै दुरुपयोग गरेर टाँडमाथि पुग्ने नियत पनि पुरानै हो । एक्लै निर्वाचनमा गएर टाँडमाथि चढ्न सक्ने आँट र हैसियत नै गुमेपछिको विकल्प भनेको नै बैशाखीको सहारा भएकोले अरु दलहरूलाई बेवकुफ बनाएर आफू कुर्सीमा बस्नका लागि रचिएको स्वार्थगत खेल नै सोह्रखुट्टे बैशाखीको टेको हो भन्दा कुनै फरक पर्दैन ।

अहिलेको अवस्थामा सोह्रवटा बैशाखीको टेकोमा मितज्यूहरु अडिए पनि भोलिका दिनहरूमा टेको वा बैशाखीको संख्या नबढ्ला भन्न सकिन्न । प्रारम्भमा दसवटा बैशाखीबाट शुरु भएको यात्रा बाह्र हुँदै अहिले सोह्रमा पुगेको छ । यो नै स्थायी बैशाखी हो भन्न सकिने अवस्था भने छैन । किनभने जो बैशाखीका भरमा अडिएको छ उही सिंह बनेर आफूलाई भरथेग गराउने बैशाखी उपर नै खनिन सक्ने संम्भावना विगतको कार्यले देखाएको छ । मितज्यू आफ्‌नो मान्छे र पुरानो नेतृत्वका हाकिम भएको हुँदा मैले मितज्यूलाई अर्काको बैशाखी नबनी दिन र आफ्‌नै पौरखी हात पाखुराले संगठन निर्माण गरेर अघि बढ्दा सफलता प्राप्त गर्न सकिने देखेर सुझाव दिएको हुँ ।

भन्ने कुरा धेरै थिए तर यो सोह्रखुट्टेको राजनीति बुझि नसक्नुको हुनेछ भन्ने कुरा मितज्यूले बुझ्‌नु पर्दछ । हामीभन्दा जेठो बाठो र दुई जोर लुगा बढी फटाएको नाताले भन्न त नहुने हो तर भनि हालेँ लेखि त हालेँ मित ज्यू ! मितज्यूका कानमा बतासले बास गरोस् । बेलैमा बुद्धि पुगेन भने दुःख पाइन्छ भनेर हाम्रा पुर्खाले भन्थे रे ! भविष्यमा उखानको बखान गरेको सुन्न नपरोस् , बैशाखी टेकेर भए पनि एक्लै टाँडमाथि चढेर बस्ने प्रयास गर्नु । साथीले साथ छाडे पनि माथिकाले साथ र माथ दुबै दिउन् तर अरुको टेको, बैशाखी बनेर आफ्‌नो राजनीतिक भविष्यको टेकोलाई जोगाउनुस् है।

०००
गाईघाट, उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
नेपाल कछुवा दल

नेपाल कछुवा दल

माधव पोखरेल गोज्याङ्ग्रे
जालझेल

जालझेल

माधव पोखरेल गोज्याङ्ग्रे
व्यशासन भित्रको कुशासन

व्यशासन भित्रको कुशासन

माधव पोखरेल गोज्याङ्ग्रे
नगरगाउँका सिंहमहाराज

नगरगाउँका सिंहमहाराज

माधव पोखरेल गोज्याङ्ग्रे
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x