भोलानाथ सुबेदीनामको रोइलो
त्यसो त डिल्लीप्रसाद मूलतिहुन हुन् कि भोजराज मुखाले सबै छद्मधारीहरू नै उपस्थित थिए। म पनि छ्याके अनुहार भएको गैराघरे जेठो जसरी नै पुरेत खोज्न प्रज्ञा प्रतिष्ठान जानु नै छ मेरो मुचुल्का बोकेर।

भलादमी भाेला :
छ्याके अनुहार भएको गैरा घरे जेठो आफ्नो नाम खोज्न न्वारन गरिदिने पुरेतकामा पुग्यो। आमा सानैमा बितेकोले उसको नाम पुरेतले के राखिदिए पत्तै भएन। सबैले छ्याके भनेको हुनाले ऊ छ्याकेमै दर्ज हुने पिरलो भयो। सायद उसले नाम लिएर आयो भने आफ्नो नयाँ नाम त अवश्य भेट्टाउला । उसलाई पिर छ नागरिकतामा राख्यो भने भोलि आफ्ना सन्तानले के भनेर मरेपछि पिण्ड चढाउलान्। केटी माग्न जाँदा के भनेर लगन मिलाउलान् यस्तै पिरलोले ऊ रन्थनिँदै पुरेतको घरतिर हिँड्यो।
ऊ जन्मेको समयमा गाउँमा कसैको हातमा घडी थिएन। घाम हेरेर समयको अनुमान गरिन्थ्यो । आमाले घाम आँगनमा आइपुगेको बेला र गाउँबाट स्कुल जान केटाकेटी हिँडेको बेलामा जन्मेको भनेर कुरा गर्थी रे अरुसँग। उसलाई धेरैले त्यही कहानी सुनाइदिए । न्वारान गर्नेले के नाम राख्यो उसले थाहा पाएन। आमाले चिना बनाउन लगाई कि लगाइन त्यो पनि उसलाई थाहा छैन। लगाएको भए पनि चिना बनाउनेले आफू खुसी समय राखेर बनाइ दियो भने उसको नाम मिल्दैन। मान्छे एक नाम अनेक भएपछि उसलाई बडो पिरलो भयो।उसलाई सबैले हपार्ने नाम छ्याके नै भयो । यो नामले उसको टाउको टनटन दुख्थ्यो । त्यसैको समाधानका लागि ऊ न्वारन गरिदिने पुरेत खोज्न डाँडापारी पुग्यो।
नामकै सन्दर्भमा म पनि छद्म नाम हुनेमा पर्छु। मेरो नाम खोज्न थाल्दा फुईँ डाक्टरले ल्याप्टपको चार्ज गर्नै बिर्सेछन् ।उजिन्डे झोलामा ल्यापटप हालेर सेमिनार हलमा प्रस्तुति दिन लाग्दा उनको ल्याप्टपले मुख बाउनै सकेन।उनले चलाखी गरेर रिमोटको खान्की खोज्न पठाए । रिमोटको खान्की आउन्जेल उनले त्यहाँको बान्की मिलाइ हाले । घोप्टे युग शीर्षकको निबन्ध संग्रहको समीक्षा गर्ने क्रममा फुईँ डाक्टरले मेरो नाम उधिने । उनले नामको उछितो काढ्लान् भनेर मैले सोचेको थिइन पनि। उनका अनुसार नाम पर्गेल्न मैले जन्मस्थान पुग्नुपर्ने भयो। सरजमिन र मुचुल्का गरेपछि मात्रै म आधिकारिक ठहरिने भएँ। उनले चाहिँ के गरेछन् मैले पत्तो पाउन सकिन । सायद त्यो विषय सम्झे भने उनले ओछ्यानमा ढल्केपछि त्यसको गुह्य पत्ता लगाउलान् त्यो उनकै जिम्मा भयो। यसमा हाम्रो टाउको दुख्नु नै किन ।
फुईँ डाक्टरको कुरा मनमा गडेछ क्यारे बोडेमा बसेर बोडी छोडाउँदै अनुसन्धान गरिरहेका शितल गिरीले न्वारन गर्न प्रज्ञा प्रतिष्ठान जानु भनेर सुझाए। यो कुरा हातमा काम्रो बाँधेर राम्रो देखिन ताउर माउर गरिरहेका रमेश शुभेच्छुकलाई पनि घत परेछ क्यारे उनी पनि मुसुक्क मुस्कुराए। उनी पनि छद्म थरवाला नै हुन्। उनले आफ्नो थरै लुकाइदिए। अतिथिको आसनमा बस्न भ्याइ नभ्याई होला भनेर एक घण्टा अगाडि नै आई सोफा ओगटेका चट्याङ मास्टर पनि यसैभित्र पर्दा रहेछन् । उनी पनि थुक उछिट्याएरै हाँसे। सञ्चारकर्मी तथा हास्यव्यङ्ग्यमा लागेर अर्कालाई सिस्नु हान्ने धीरेन्द्र प्रेमर्षि पनि अछुतो रहन सकेनन् यतिबेला। उनलाई मेरो छद्म नाम मन परेछ क्यारे । नाम राम्रो राख्नुभएछ। भनेर मलाई फुर्के धागो लगाइदिए। त्यसपछि मैले डराउनु परेन। मलाई अलि सादर भयो। आयोजक भित्रकै लुईँ मास्टर पनि छद्म नामधारी नै हुन । उनका त नाम कति कति । त्यसो त डिल्लीप्रसाद मूलतिहुन हुन् कि भोजराज मुखाले सबै छद्मधारीहरू नै उपस्थित थिए। म पनि छ्याके अनुहार भएको गैराघरे जेठो जसरी नै पुरेत खोज्न प्रज्ञा प्रतिष्ठान जानु नै छ मेरो मुचुल्का बोकेर।
राजनीतिमा भन्दा साहित्यमा बढी आदर हुने गर्छ आफ्ना सन्तानको । देवकोटाका छोराको चर्चा बाउबाटै चुलिएको हो। सिद्धिचरण श्रेष्ठका छोरालाई बाउको कृति रचनाबाटै सबैले चिन्ने गर्छन्। तिनीहरूले पुरेत खोज्न हामी जसरी लखर लखर हिँड्नु पर्दैन। हामीलाई त हजुरबुवाले घिउ खाएको र अहिले हात सुघाएको प्रसङ्ग मात्र हुन जान्छ।
राजनीतिमा गणेशमानको विरासत प्रकाशमानले जोगाउन सकेनन् । बीपीको विरासत प्रकाश कोइरालाले थाम्न सकेनन् । भण्डारीको विरासत जोगाउन न उनकी पत्नीले सकिन् न उनका छोरीहरुले सके । अहिले मदन चिन्नेले विद्या चिन्न सकेन । मलाई चिन्नु प-यो भन्दै विद्या सरजीमिन र मुचुल्का गर्न भौतारी रहेको देखिन्छ। गिरिजाकी छोरी सुजाता बाउको निधनसँगै राजनीतिबाट किनारा लागिन् । यी सबै नामसँग जोडिन आएका प्रसङ्ग हुन् ।
बालकृष्ण सम हुन् वा केशवराज पिँडाली । भूतको भिनाजु हुन वा भवानी भिक्षु। बैरागी काइला हुन् वा मोदनाथ प्रश्रित सबै छद्म नामले नेपाली साहित्य चर्चेका व्यक्तित्व नै हुन्। यिनैको अनुशरण गर्दै मैले पनि राखेको छद्म नाम हो भलादमी भोला।
०००
ओखलढुङ्गा
सम्पर्क:-९८४३०५४१६२
Subscribe
Login
0 Comments
Oldest







































