चन्द्रप्रसाद न्याैपानेसुका मानु घिउ
धाक मात्रै लाउँछौ दाजु सुइखुट्टे देख्छु तिमीजस्ता चार भाइ एकै हातले ठेल्छु चानचुने ठान्छौ मलाई बाघै आए पनि उखेलेर जुङ्गा त्यसको सातो खान्छु म नि !
चन्द्रप्रसाद न्यौपाने :
परेवाले के के खान्छ अनि ढुकुरले
छाउराछाउरी कति पाए तिम्रा कुकुरले
पठ्याङ्ग्रीको पुच्छरमा किर्नैकिर्ना हेर !
पाडाबाच्छा नदेखाई दुध चोर्छाैँ धेर
यस्तै यस्तै कुरा गर्थे साना भुराभुरी
कोही लुरे कोही लुरी गर्थे कुरीकुरी
कुँडे ताते पानी हाल्थे ताप्के ताते दुध
कसो गर्ने ढाडे आए छिटोछिटो कुद
उल्टैउल्टा कुरा गर्न रमाइलो लाग्थ्यो
पुच्छर जोडी तान्नलाई अझै इच्छा जाग्थ्यो
गुलेलीले आँप झार्यौँ सिधा जान्थ्यो हात
मैले झाऱ्या मैले झाऱ्या हुन्थ्यो हानथाप
फट्ट फट्ट कान्ला नाघ्छु खोलो पनि तार्छु
परी आए किन हट्थें बाघै पनि मार्छु
हुतीहारा तिमीहरू मात्रै गर्छौं गफ
सुकामानु घिउ खाने बाउको छोरो म त
धाकै मात्रै लाउने बढ्ता तेरो खलकले
डाहा मात्रै गरी हिँड्छौ भित्री कपटले
धर्मछाडा तेरो बाउ भन्थे हाम्रा बाबा
यस्तै गरी पार्थं मैले उसलाई हावाकावा
हाम्रा बाजे घोडा चढ्थे तिम्रा वाजे धुरी
हाम्री आमै भारी बोक्थिन् तिम्री आमै लुरी
मेरो बिहेमा दश राँगा बिस खसी काटे
तिम्रो बिहेमा खान नपाई जन्तीहरू भागे
भन दाजु कति माना तीनपाने ल्याए
कुखुराको साँप्रासँग कति कति खाए ?
जन्ती जाने काइँलाबाले भन्या मलाई थिए
पानीभन्दा अझै बढ्ता बेलायती पिए
धाक मात्रै लाउँछौ दाजु सुइखुट्टे देख्छु
तिमीजस्ता चार भाइ एकै हातले ठेल्छु
चानचुने ठान्छौ मलाई बाघै आए पनि
उखेलेर जुङ्गा त्यसको सातो खान्छु म नि !
०००
सिन्धुपाल्चोक
Subscribe
Login
0 Comments
Oldest






































