गजल आचार्यनयाँ दिनको उज्यालो
यो सुनेर गजलको अनुहार झन् उज्यालो भयो । उनले भनिन्, "स्याबास, सागर । जन्मदिन त मिठाई बाँडेर होइन, यस्तो असल व्यवहारको नयाँ सुरुवात गरेर मनाइन्छ ।"

गजल आचार्य :
सन्दर्भ- जन्मोत्सव, मङ्सिर १८ गते
एकाविहानै सानो भाइले नजिकै आएर सोध्यो, “गजल दिदी, आज किन स्कुल नजानुभएको ?”
आज मङ्सिर १८ गतेको दिन थियोे । बिहानैदेखि बस्तीको पिपलछेउमा बालकहरूको घुइँचो थियो । खेततिरको शीत र हुस्सु अझै पनि पूरै उघ्रिसकेको थिएन, तर गजल दिदीको अनुहारमा एउटा फरक चमक थियो । गजल, जसको आज जन्मदिन थियो, असाध्यै खुसी देखिन्थिन् ।
गजल मुस्कुराउँदै भनिन्, “आज मेरो नयाँ दिनको सुरुवात ! आज त मेरो जन्मदिन हो नि भाइ !”
यो सुनेर सबै साथीहरू उत्साही भए । अर्को एक फुच्चे दौडिएर आयो र उत्सुकतापूर्वक हात हल्लाउँदै भन्यो, “दिदी, जन्मदिनमा हामीले तपाईंलाई के उपहार ल्याइदिने त ? केक चाहियो कि चकलेट ?”
गजलले मायाले सबैलाई हेरिन् र हात जोडेर बिस्तारै भनिन्, “मलाई ठूलो उपहार चाहिँदैनन् बाबु नानीहरू । न केक, न चकलेट । मलाई त एउटै मात्र चिज चाहिएको छ ।”
सबै बालकहरू चुप लागेर गजलको कुरा सुन्न थाले । गजलले अझ स्पष्ट र मीठो आवाजमा भनिन्, “आजदेखि तिमीहरू सबैले एउटा कसम खाइदेऊ- आजदेखि हामी कसैलाई पनि दु:ख दिँदैनौँ । कसैलाई हेप्दैनौँ र जनावरहरूलाई पनि माया गर्छौं ।”
सबैले एकापसमा हेराहेर गरे । टोलभरि गुलेली बोकेर सधैँ कुकुरलाई हिर्काउने सागरको आँखा झुके । सबैको नजर उसैमाथि थियो ।
सागर अलि लजाउँदै, तर पक्का आवाजमा बोल्यो, “दिदी, आजदेखि म कहिल्यै कसैलाई दु:ख दिन्नँ । साँच्चै, कसम !”
यो सुनेर गजलको अनुहार झन् उज्यालो भयो । उनले भनिन्, “स्याबास, सागर । जन्मदिन त मिठाई बाँडेर होइन, यस्तो असल व्यवहारको नयाँ सुरुवात गरेर मनाइन्छ ।”
०००
२०८२ मङ्सिर १८ गते
श्री बुढानिलकण्ठ आवासीय मावि, गोलबजार, सिरहा ।
Subscribe
Login
0 Comments
Oldest








































