शेषराज भट्टराईनेपालगञ्ज नघुमेको मान्छेलाई न्यूजिल्यान्डको निम्तो
हामी अन्तै अर्कै ग्रहबाट आएजस्तो गरेर हेर्न केर्न थाले । शरीरका अङ्गअङ्ग आँख्लाआँख्लामा बेढङ्गसँग डिडेक्टर डुलाउन थाले । निधार खुम्च्याएर हेरे । आँखा फुलाएर हेरे । हाम्रो हाउभाउ र धमनी विचारे ।

शेषराज भट्टराई :
नेपालको जुन कुनामा बाबु आमाले जन्माएर छोडे त्यही कुनामा बनिबुतो गरेर खाने हामीलाई छोरीज्वाइले युरोपियन देश घुमाउँछन् भन्ने हाम्रा लागि कल्पना भन्दा बाहिरको कुरा थियो । दिनु परे भगवान्ले छप्पर फोरेर दिन्छन् भन्थे हो कि झै लागिरहेको छ । यसरी एकाएक न्युजिल्यान्ड आउनु भनेका दिनदेखि हामी दम्पत्तिको दुइटै खुटा भुइमा टेकिन छोडे । कस्तो खुसी लाग्यो भने न रातमा निन्द्रा न हातमा भात हुन थाल्यो । दिनमा कोही जान अन्जान जो भेटे पनि प्रसङ्ग मिलाएर सुनाइ हालिन्थ्यो । हाम्रो जेठोबाटो सन्तानले श्रवणकुमारले जस्तै नौलो संसार देखाउने भए । हामीले प्रफुल्लित मुद्रामा भ्रमणको हल्ला गर्दै हिँडियो । कसैले शुभयात्रा भने त कसैले अशुभ यात्रा पनि भने । शुभ अशुभ आफ्नै पुर्पुरोमा हुन्छ भन्दै हामीले आफ्नै माथमा हात राख्यौ र त्यही हातले भात पनि खायौँ ।
हाम्रो यात्राको सुइको पाएपछि रिस डाहा गर्नेहरू पाहा पछारिएझै पछारिए । कोही डोरी झै बटारिए । कोही चाहिँ पाकेको केरा झैँ फतक्कै गले । कसैको मृगका झै नयन पनि हेर्दाहेर्दे जले । कसैका नौनारी गले । कोही हेर्दा हेर्दै ढले । जेहोस् हामी चाहिँ खुसीले भात फत्किएझै एकतमासले फत्किरह्यौँ ।
एकासी साल मंसिर बाइस गते हामीले काठमाडौँको गौचरन हावा जहाज मैदान छोड््यौँ । चाइना साउदर्न एयसरलाइन्सले हामी दुई लगायत धेरैलाई बुई गरेर खुई नगरी हावामा हुत्तीन थाल्यो । हामी दुईले कहिल्यै भुइ नछोडेको अनि जाडोले पनि नकामेको मान्छे डरले लुगलुग काम्न थाल्यौँ । जहाजका अङ्ग बेढङ्गसँग छाम्न थाल्यौँ । खरो भएपछि पानी माग्न थाल्यौँ ।
एयर होस्टेजले पानी हैन अब खाना नै खाने हो एकछिन चुप लागेर बस्नु भन्दै कम्बरमा बेल्टले बाधिदिए । कहिल्यै बन्धनमा नपरेको हामी बन्धनमा पर्यौँ । हामी हलनचल भएर एकै ठाउँमा बसिरह्यौँ । दायाबायाँ अगाडि पछाडि हेर्यौँ । हाम्रो डरलाई जित्ने गरी कोही पनि नडराएको देख्दा डराउनु हुँदैन भन्दै छोराछोरीकी आमालाई सम्झाएझै गरेँ । तर एकतमासको भयले आफू बसेको सिट निथ्रुक्कै भिज्यो । भिजेकै सिट माथि चाइनिज एयर क्रुहरूले खाना दिएर फकाए । अनि हामी खाना टिप्दै अलमलिनथाल्यौँ । खाना हसुरेर पचेकै थिएन चाइनाको ग्वान्जाओ विमानस्थलमा जहाजको तीन वटै पाङ्ग्राले भुई टेक्यो । डरले हत्तपत्त हामी नै पहिला झर्यौँ र धन्न बाँचियो भन्दै पाँच मिनेट हग गर्यौँ ।
चाइनामा साँझको सात बजिसकेको थियो । घरको ढिँडो रोटो कुखुरा बाख्रा, गाई, भैँसी मुसा सम्झियौँ । छ घण्टाको ट्रान्जिलाई कुर्दै । राती एक बजे भुत प्रेत पिसाच मसान हिँड्ने बेलामा बडेमानको ह्वाँवाँ आवाज निकाल्दै भीमकाय विमान हाम्रो अगाडि आयो । हामी भोक प्यास ग्रस्त जिन्दगी लतार्दै मुसुक्क हाँस्ने एयर होस्टेजको छेउबाटै लुसुक्क जहाजमा छिर्यौँ । तोकिएको सिटमा ठोकियौँ । जुन जोगी आए पनि कानै चिरिएको भनेझैँ त्यहाँ पनि हामीलाई सिटमा बाँधेरे छोडे । ताल उही भयो शरीर सिट पसिनाले रुज्न थाले । विदेश यात्रा न आमाले गर्नु भएको थियो न बाले । साले हामी मात्रै के दशा आइलाग्यो भन्दै आफूले आफ्नै तक्ला टाउकोलाई कुइयाएँ । छोराछोरीकी आमा डरले सङ्खे किराले झैँ टाउको लुकाएर गुडुल्की परेको देख्दा मलाई पनि त्यसै गर्न मन लाग्यो । एयरहोस्टेजहरू फेरि भातको टपरी लिएर आएछन् टपरे बाहुनलाई खुवायो भने धर्म हुन्छ भनेर । हामीले पनि हिन्दु धर्म अनुसार शर्म नमानी चाटचुट पार्यौँ ।
भात खाएको हातै चाटचुट पारेपछि हामीलाई जहाज लाग्यो कि भात लाग्यो थाहै नपाई भुसुक्कै सुँगुर निदाए जस्तो निदाइएछ । गाडा निन्द्रामा जहाजको भन्दा पनि ठूलो आवाजमा घुर्न थालिएछ । चालक दलका सदस्य अदक्ष को को हुन् छेउछाउका यात्रुहरूले हाम्रो घुराइको चर्को ध्वनिले झर्को लागेर घेरेर हेरेर बसिरहेका रहेछन् । यी कुन देशका मान्छे हुन् भनेर । मैले सोचे मेयर बालेनले चित्त नपर्दा नेपाल सरकारका प्रमुखलाई नै टुकुचामा गाड्ने निधो गरेका थिए । हामीलाई पनि जहाजले कतै लगेर गाड्न लागेछ कि भन्ठाने । तर त्यसो नभएर घाँटी सुकेर घुरेको निष्कर्ष निकाल्दै किल्किले भिजाउन चिसो खाने कि तातो भनेर केरकार पार्नलाई पो सबैले हेरहार गरेका रहेछन् । हामीले हत्तपत्त पुसको जस्तो जाडो भए पनि जुस दिनु जुस भन्यौ । जहाँ गुलियो त्यही बाहुन भुलियो भनेझैँ एक एक गिलास जुस दिए । हामीले मिठै होला भनेर सर्को पर्ने गरेर सुरुप्प पार्यौँ । झण्डै अघि खाएको राइस पनि फिर्ता निकालेन पेटबाट । फेरि सकिनसकी थरथरी काम्दै टुटेफुटेको अङ्ग्रेजी फलाके । इट इज नट स्विट प्लिज गिभ मि एप्पल जुस । मोरीहरूले टमाटरको जुस खुवाएर झण्डै मारेनन् । फेरि एप्पल जुस पिएर पुनः एसियाली मापदण्ड अनुसार घुर्न थाल्यौँ । मज्जाले रन्किएर घुरी राखेका बखतमा लौ न्युजिल्यान्ड आयो । झर्नुस भन्न थाले । हामी कुम्लो कुटुरो थाङ्नाभोगटा च्यापेर धन्न जीवितै आइयो भन्दै कन्दै फेरि हग गर्यौँ । एसियाली मानवको मोहक हग देखेर युरोपियन नागरिकले घुटुक्क थुक निल्दै सुटुक्क हेर्न थाले ।
सरासर हामीलाई सरहरूले घर जान दिएनन् । हामी अन्तै अर्कै ग्रहबाट आएजस्तो गरेर हेर्न केर्न थाले । शरीरका अङ्गअङ्ग आँख्लाआँख्लामा बेढङ्गसँग डिडेक्टर डुलाउन थाले । निधार खुम्च्याएर हेरे । आँखा फुलाएर हेरे । हाम्रो हाउभाउ र धमनी विचारे । नाडी छामे दारी छामे । हाम्रो शरीरमा बडेमानका तीन वटा कुकुरलाई नाकै जोतेर सुँग्न लगाए । शायद मरेका हुन कि जिउँदा रहेछन् भनेर छुट्याएका खुट्याएका होलान् । अनि ढोकामा लगेर सोधे यो पोकामा के छ ? मैले डराउँदै, थोते दाँतले हाँस्दै दन्ते मोहनी लगाउने विचारले भने गुन्द्रुक, फाँडो, चिउरा, आँटो छ सर । उस्ले आँटो भनेको के हो भन्यो । मैले एकमुठी आँटो निकालेर अधिकृतको मुखमा फाँको हालिदिन खोजेको टाउको छुनुमुनु गरेर मान्दै मानेन । अनि झण्डैले मलाई थप्पड हानेन । हेर्दा केर्दा हत्तुहैरान भएछ कि क्या हो अनि जाउ आँटो पकाएर खाऊ भन्दै अटोमेटिक ढोकाबाट बाहिर जान सङ्केत गर्यो । सिसाको ढोकालाई धकेल्नु पर्यो भन्दै थिए हेर्दा हेर्द} आफै खुल्यो आफै बन्द भयो । कस्तो कमालको न्युजिल्यान्ड ।
हामीले न्युजिल्यान्डको क्राइस चर्च विमानस्थलको भन्सारको आँखा छल्दै एक किलो सुन नै भित्र्याएझैँ गरेर खुसी हुँदै फेरि हग गर्न के आँटेका थियौँ छोरीले उताबाट ममी भनेर चिच्याई हाली । छोरी कस्मिरा र ज्वाइँ अनिल गौतमले हतार हतार हामीसँग हग गर्दै खुसीको पसारो पारियो । अनि अत्यन्तै प्रफुल्लित मुद्रामा हवाइजहाजको गतिमा हान्निँदै हामीलाई हाम्रै घर पुर्याए । खुसीले हाम्रो मुख बन्द भएन बरु हर्षका आँसु पो टुप्लुक्क देखा परे ।
हामीले एक रात एक दिनसम्म यात्राले खुम्चिएको ह्याकुलो, करङ, घुँडा, नलिपासुलो तन्कायौँ । अनि तात्तातो बाफ उड्दै गरेको भात नेपालको झै हातैले दन्कायौँ । पेटमा थन्क्यायौँ । अब तीन महिनासम्म यो सक्कल शरीर न्युजिल्यान्डको मन्त्रमुग्ध बात्सल्यमा एकतमासले विचरण गर्ने छ ।
भोलि विहानदेखि एकैछिन नरोकिइ न्युजिल्यान्डको कुना काप्चा चाहार्ने र चियाउने काम हाम्रो । हामी बेकामेको कामै घुम्ने । शुरुमा छोरी ज्वाइका तर्फबाट घुम्न सिकियो । पछि पुरानो हुँदै गएपछि मनमौजी रातमा फेरी लगाउने कानचिरा जोगिले झै आफैँ फन्को मार्न थालियो । कहिले पूर्व कहिले पश्चिम कहिले उत्तर कहिले दक्षिण चारै दिशा आठै सुर घुमेर घोकेर कण्ठ पारियो ।
यहाँको प्राकृतिक सौन्दर्यले हामीलाई भाङधतुरो खाए जस्तै गरेर लट्ठ पार्यो । कैलाश पर्वतमा शिव पार्वती पनि शायद यति लठ्ठ परेनन् होला हामी तेती धेरै मोहित भयौँ । कहिले पानी माथि घुमियो त कहिले पानी मुनि । कहिले फूलबारीमा घुमियो त कहिले जंगलमा । कहिले भिरमा घुमियो त कहिले पाखामा । कहिले तालमा र्याल काढ्दै घुमियो त कहिले बेतालमा । कहिले सुरुङ भित्र छिरियो त कहिले सुपर मार्केटको माल सामानको उरुङ भित्र पनि छिरियो । यहाँका म्युजियम र म्युजिक घरहरू कुनै बाँकी राखिएन । होटलका मम पिजा गिजा दुख्ने गरी चपाइयो । स्याउ सुन्तला फलफूलले गोजेरो कहिल्यै खाली भएन । जेहोस् घुम्दाघुम्दा दाइँको गोरुले भन्दा धेरै फन्को मारियो । अनि सुर्न पनि अगस्थी ऋषिलाई माथ गर्ने गरी हसुरियो । साँच्चै भनु भने छोरी ज्वाइ र नाति श्रीहानको देश न्युजिल्यान्डमा मार्नसम्म बुर्कुसी मारेर खुसी उन्माद र हर्षको पर्यटकीय ताल टिकापो र पोकाकी मात्र होइन प्यासिफिक ओसियान नै बोकेर घर आइयो ।
०००
शिवशक्ति मार्ग, फूलबारी–११, पोखरा ।
फोन ९८०६६७७५९४
Subscribe
Login
0 Comments
Oldest







































