हरिशंकर परसाईंतीन लघु व्यङ्ग्य
लासको पोस्टमार्टम हुँदा डाक्टरहरूले उसको छातीमा कतै पनि हृदय भन्ने कुरै पाएनन् । उनीहरू यो मान्छे हृदयविना कसरी बाँचिरहन सक्छ भनेर जिल्ल परिरहे ।

हरिशंकर परसाईं :
व्यङ्ग्यानुवाद : रमेश समर्थन
१. रोटी
प्रजातन्त्रका राजाले जहाँगिरले झैँ आफ्नो महलका अगाडि सिक्री झुन्ड्याएका थिए अनि जसले फिराद गर्नु छ उसले यो सिक्री तान्नुपर्नेछ र त्यसपछि राजासाहेब स्वयम्ले फरियाद सुन्नुहुनेछ भन्ने घोषणा पनि गराएका थिए ।
एक दिन अत्यन्त दुब्लो तथा कमजोर मान्छे धङधङाउँदै त्यहाँ आयो अनि उसले बल्लबल्ल सिक्री तान्यो । प्रजातन्त्रका राजाले तुरुन्तै महलको बार्दलीमा आएर भने, ‘भन याचक, के चाहियो तिमीलाई ?’
याचकले भन्यो, ‘राजा, तिम्रो राजमा हामी भोकै मर्दै छौँ । हामीले अन्नको दानो पनि पाएका छैनौँ । मलाई रोटी चाहियो । मैले कैयौँ दिनदेखि अन्न खान पाएको छैनँ । म रोटी माग्न आएको हुँ ।’
राजाले निकै सहानुभूतिपूर्वक भने, ‘भाइ, तिम्रो दुःखले त मेरो मनै पगाल्यो । म तिम्रो रोटीको समस्यालाई लिएर आजै एउटा उपसमिति गठन गर्छु । तर तिमीसित मेरो के अनुरोध छ भने उपसमितिको प्रतिवेदन नआउँदासम्म तिमी नमर्नू ।’
२. दुःख
एउटा कार्यालयका कर्मचारी त्यस दिन निकै दुःखी थिए । उनीहरूमध्येकै एक जनाको सरुवा भएको थियो । त्यो व्यक्ति निकै असल थियो । कर्मचारीहरूले उसको विदाइसमारोहको आयोजन गरे । कैयौँ साथीहरूले भाषण गर्दै भने, ‘आज हामीलाई हाम्रै साक्खै भाइ हामीसित टाढिँदै गरेको जस्तो अनुभूति हुँदै छ ।’
एउटा मान्छे एउटा कुनामा बसेर रुँदै थियो । उसका आँसु रोकिन मान्दैनथे ।
उसलाई कसैले भन्यो, ‘के हो यार, यो मान्छे जान लागेको कुराले सबैभन्दा बढी पिर त तिमीलाई नै परेजस्तो छ त ?’
‘अँ !’ उसले सुँकसुँक गर्दै भन्यो ।
‘उसो भए यिनलाई तिमी नै बढी मन पराउँथ्यौ होला नि !’
‘हैन, हैन । त्यो कुरो हैन ।’
‘उसो भए किन यति रोइरहेका छौ त ?’
उसले अवरुद्ध कण्ठले भन्यो, ‘यो साला त बढुवा भएर जाँदै छ के !’
३. हृदय
एउटा मान्छेले उसले जुनसुकै काम पनि हृदयको बोली सुनेर गर्छ भनेर भन्थ्यो । ऊ एउटा कलेजको प्रिन्सिपल थियो । उसले कुनै अज्ञात कारणवश एक जना योग्य प्राध्यापकलाई हटाएर त्यस ठाउँमा अर्को अयोग्य व्यक्तिलाई नियुुक्त गर्यो । जब उसलाई यसको कारण सोधियो अनि उसले भन्यो, ‘मेरो हृदयले नै यसो गरेमा संस्थाको हित हुनेछ भनेर भनेको थियो, त्यसैले यसो गरेको हुँ । उसले एउटा पिउनको एक साताको तलब काट्यो ।
हृदयकै आवाजमा उसले एउटी केटीको बिहे एउटा बुढासित गराइदियो । त्यसमा पनि उसले हृदयको आवाजलाई नै कारण बतायो । उसले हृदयको आवाज सुनेर गर्ने काम यस्तैखाले हुन्थे । उसको धाक पनि निकै थियो । कति मान्छे होलान् जसले हृदयको आवाज सुनेर काम गर्छन् होला ।
एक दिन एउटा दुर्घटनामा उनको मृत्यु भयो ।
लासको पोस्टमार्टम हुँदा डाक्टरहरूले उसको छातीमा कतै पनि हृदय भन्ने कुरै पाएनन् । उनीहरू यो मान्छे हृदयविना कसरी बाँचिरहन सक्छ भनेर जिल्ल परिरहे ।
पुरै शरीरमा खोजियो । निकै खोजीपछि बल्ल उसको हृदय उसको पैतलामा भेटियो ।
०००
लघु आकारका यी व्यङ्ग्य रचनाहरू ‘परसाई रचनावली– २’ अन्तर्गत ‘लघु कथाएँ’बाट अनुवाद गरिएका हुन् ।
Subscribe
Login
0 Comments
Oldest






































