हरिशंकर परसाईंतीन लघु व्यङ्ग्यहरू
‘हजुर, हामी किसानहरूलाई तपाईं जमिन, पानी र बिउ उपलब्ध गराइदिनहोस् र आफ्ना अधिकारीहरूबाट हामीलाई बचाउनुहोस् । अनि मात्र हामीले देशका लागि अन्न उब्जाउन पाउने छौँ ।’

हरिशंकर परसाईं :
व्यङ्ग्यानुवाद : रमेश समर्थन
१. जात (जाति)
कारखाना खुल्यो, कर्मचारीहरूका लागि आवास बन्यो ।
क्षत्रियनगरबाट काजीसाहेब र ब्राह्मणपुराबाट पण्डितजीले कारखानामा काम गर्न थाले अनि नजिकैका ब्लकमा बस्न थाले ।
काजीसाहेबको छोरो र पण्डितजीकी छोरी, दुवै तन्नेरी तरुनी भइसकेका थिए । उनीहरूमा परिचय पनि बन्यो । अनि त्यो परिचय झ्याङ्गिँदै जाँदा बिहे गर्नुपर्ने अवस्थामा पुग्यो र त्यसका लागि दुबै तयार पनि भए ।
जब कुरो चल्यो अनि पण्डितजीले भने, ‘यस्तो पनि कहीँ हुन सक्ला ? ब्राह्मणकी छोरीले छेत्रीसित विवाह गर्ने ? हाम्रो जात जाँदैन ?’
काजीसाहेबले पनि भने, ‘यस्तो त हुनै सक्दैन । अन्य जातिमा विवाह गरेपछि त हाम्रो जात जान्छ ।
कसैले उनीहरूलाई सम्झाउँदै भन्यो, ‘केटाकेटीको उमेर पुगेको छ, पढेलेखेका पनि छन् र बुझ्ने भएका छन् भने उनीहरूलाई विवाह गर्न दिनुस् न ! यदि उनीहरूको सोझो तरिकाले विवाह भएन भने पनि लुकीलुकी त उनीहरूको भेट भइहाल्छ अनि त्यसपछि उनीहरूमा सम्बन्ध पनि स्थापित होला । त्यो त झन् व्यभिचार हुन्छ नि ।’
यसमा काजीसाहेब र पण्डितजीले एकै स्वरमा भने, ‘हुन देऊ । व्यभिचारले जात जाने होइन, विवाहले जाने हो ।’
२. लिफ्ट
उनीहरू दुबैजना एउटै विभागको समान पदमा थिए । उनीहरूको कार्यालय दोस्रो तलामा थियो । उनीहरू प्रायः मूलढोकामै भेटिन्थे र सँगै भर्याङ उक्लेर आफ्नो कोठामा जान्थे ।
विभागमा एउटा माथिल्लो पद रिक्त भयो , त्यसका लागि दुबैले प्रयास गर्न थाले ।
माथिल्लो पदको कार्यालय चौथो तलामा थियो ।
उनीहरूमध्ये एउटालाई विदा लिएर गाउँ जानुपर्यो । अर्काले भने प्रयास जारी राख्यो । उसको प्रयासका बारेमा कार्यालयका खासुखुस चल्न थाल्यो । जब पहिलो विदा सकेर आयो अनि उनीहरूका बारेमा कार्यालयमा खासखुस हुने गरेको कुरो उसका कानमा पनि पुग्यो ।
उनीहरू फरि पनि मूलढोकामा भेटिए । पहिलोचाहिँ भर्याङतिर लाग्यो भने दोस्रो लिफ्टतिर लाग्यो ।
पहिलोले भन्यो, ‘किन ? आज भर्याङबाट नजाने ?’
दोस्रोले भन्यो, ‘मलाई त अब चौथो तलामा जानुपर्ने हुन्छ नि ! त्यहाँ त भर्याङबाट गइँदैन, लिफ्टबाटै गइँदैन ।’
पहिलोले भन्यो, ‘हो त नि ! लिफ्टैबाट जाऊ । मेरो लिफ्ट त ३५ वर्षको अनि मोटो पनि भएको छ ।’
३. खेती
सरकारले ‘अब हामी बढीभन्दा बढी अन्न उत्पादन गर्नेछौँ र एक वर्षमा खाद्यमा आत्मनिर्भर बन्नेछौँ ।’ भनेर घोषणा गर्यो ।
अर्को दिन कागजको कारखानालाई दश लाख एकड (जमिनको नाप) कागज उत्पादन गर्ने आदेश दिइयो ।
कागज आएपछि फाइलहरू तयार पारिए । प्रधानमन्त्रीको सचिवालयको फाइल खाद्य मन्त्रालयमा पठाइयो । त्यसमा खाद्य मन्त्रालयले यस फाइलबाट कति अन्न उत्पादन गर्नुपर्ने हो भन्ने जानकारी भरेर अर्थ मन्त्रालयमा पठायो ।
अर्थ मन्त्रालयले त्यसमा नोटहरू नत्थी गरेर कृषि मन्त्रालयमा पठायो ।
कृषि मन्त्रालयले पनि त्यसमा बिउ तथा मलखाद भरेर विद्युत् विभागमा पठायो ।
विद्युत् विभागले त्यसैमा बिजुली जडान गरेर सिँचाइ विभागमा पठायो ।
सिँचाइ विभागले त्यसै तिनै फाइलमा पानी पुर्याइदियो ।
यसपछि ती फाइलहरू गृह मन्त्रालयमा पठाइयो । गृह मन्त्रालयले त्यो प्रहरीको सिपाहीलाई सुम्प्यो र प्रहरीको निगरानीमा ती फाइलहरू राजधानीदेखि वडासम्मका सबै कार्यालयहरूमा पुर्याइए । हरेक कार्यालयमा फाइल पुगेपछि विधिपूर्वक त्यसको पूजाआरती गरेर अर्को कार्यालयमा पठाइन्थ्यो ।
अनि जब फाइलको सर्वकार्यालयीय महायात्रा विधिपूर्वक र निर्विघ्नतापूर्वक परिपूर्ण भयो अनि त्यसमा परिपाक पुगेको भन्ने ठानेर त्यसलाई ‘बाली पाकेको र भित्र्याउने समय भएको हुनाले समयमै बाली काटेर भण्डारण गर्नू’ भन्ने आदेशसहित खाद्य संस्थानको कार्यालयमा पठाइयो । यसरी दश लाख एकड कागजका फाइलहरूको खेती पाकेर खाद्य संस्थानमा पुग्यो ।
एक दिन एउटा किसानले सरकारलाई भेटेर भन्यो, ‘हजुर, हामी किसानहरूलाई तपाईं जमिन, पानी र बिउ उपलब्ध गराइदिनहोस् र आफ्ना अधिकारीहरूबाट हामीलाई बचाउनुहोस् । अनि मात्र हामीले देशका लागि अन्न उब्जाउन पाउने छौँ ।’
सरकारी प्रवक्ताले भने, ‘अब अन्न उत्पादनका लागि किसानको आवश्यकता नै रहेन । हामी दश लाख एकड जमिनमा अन्न उत्पादन गरि नै रहेका छौँ ।’
केही दिनपछि सरकारको बयान आयो, ‘यो वर्ष त सम्भव भएन, तर आगौँ त हामी अवश्य खाद्यमा आत्मनिर्भर भएरै छाड्नेछौँ ।’
अनि त्यसै दिन बिस लाख एक कागजको आदेश पनि दिइयो ।
०००
परसाईं रचनावली २ को ‘लघु कथाएँ’ खण्डका तीन रचनाहरूबाट अनुवाद ।
Subscribe
Login
0 Comments
Oldest







































