साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन लघु व्यङ्ग्यहरू

‘हजुर, हामी किसानहरूलाई तपाईं जमिन, पानी र बिउ उपलब्ध गराइदिनहोस् र आफ्ना अधिकारीहरूबाट हामीलाई बचाउनुहोस् । अनि मात्र हामीले देशका लागि अन्न उब्जाउन पाउने छौँ ।’

Nepal Telecom ad

हरिशंकर परसाईं :

व्यङ्ग्यानुवाद : रमेश समर्थन

१. जात (जाति)

कारखाना खुल्यो, कर्मचारीहरूका लागि आवास बन्यो ।
क्षत्रियनगरबाट काजीसाहेब र ब्राह्मणपुराबाट पण्डितजीले कारखानामा काम गर्न थाले अनि नजिकैका ब्लकमा बस्न थाले ।

काजीसाहेबको छोरो र पण्डितजीकी छोरी, दुवै तन्नेरी तरुनी भइसकेका थिए । उनीहरूमा परिचय पनि बन्यो । अनि त्यो परिचय झ्याङ्गिँदै जाँदा बिहे गर्नुपर्ने अवस्थामा पुग्यो र त्यसका लागि दुबै तयार पनि भए ।
जब कुरो चल्यो अनि पण्डितजीले भने, ‘यस्तो पनि कहीँ हुन सक्ला ? ब्राह्मणकी छोरीले छेत्रीसित विवाह गर्ने ? हाम्रो जात जाँदैन ?’

काजीसाहेबले पनि भने, ‘यस्तो त हुनै सक्दैन । अन्य जातिमा विवाह गरेपछि त हाम्रो जात जान्छ ।

कसैले उनीहरूलाई सम्झाउँदै भन्यो, ‘केटाकेटीको उमेर पुगेको छ, पढेलेखेका पनि छन् र बुझ्ने भएका छन् भने उनीहरूलाई विवाह गर्न दिनुस् न ! यदि उनीहरूको सोझो तरिकाले विवाह भएन भने पनि लुकीलुकी त उनीहरूको भेट भइहाल्छ अनि त्यसपछि उनीहरूमा सम्बन्ध पनि स्थापित होला । त्यो त झन् व्यभिचार हुन्छ नि ।’

यसमा काजीसाहेब र पण्डितजीले एकै स्वरमा भने, ‘हुन देऊ । व्यभिचारले जात जाने होइन, विवाहले जाने हो ।’

२. लिफ्ट

उनीहरू दुबैजना एउटै विभागको समान पदमा थिए । उनीहरूको कार्यालय दोस्रो तलामा थियो । उनीहरू प्रायः मूलढोकामै भेटिन्थे र सँगै भर्‍याङ उक्लेर आफ्नो कोठामा जान्थे ।
विभागमा एउटा माथिल्लो पद रिक्त भयो , त्यसका लागि दुबैले प्रयास गर्न थाले ।
माथिल्लो पदको कार्यालय चौथो तलामा थियो ।

उनीहरूमध्ये एउटालाई विदा लिएर गाउँ जानुपर्‍यो । अर्काले भने प्रयास जारी राख्यो । उसको प्रयासका बारेमा कार्यालयका खासुखुस चल्न थाल्यो । जब पहिलो विदा सकेर आयो अनि उनीहरूका बारेमा कार्यालयमा खासखुस हुने गरेको कुरो उसका कानमा पनि पुग्यो ।

उनीहरू फरि पनि मूलढोकामा भेटिए । पहिलोचाहिँ भर्‍याङतिर लाग्यो भने दोस्रो लिफ्टतिर लाग्यो ।
पहिलोले भन्यो, ‘किन ? आज भर्‍याङबाट नजाने ?’

दोस्रोले भन्यो, ‘मलाई त अब चौथो तलामा जानुपर्ने हुन्छ नि ! त्यहाँ त भर्‍याङबाट गइँदैन, लिफ्टबाटै गइँदैन ।’
पहिलोले भन्यो, ‘हो त नि ! लिफ्टैबाट जाऊ । मेरो लिफ्ट त ३५ वर्षको अनि मोटो पनि भएको छ ।’

३. खेती

सरकारले ‘अब हामी बढीभन्दा बढी अन्न उत्पादन गर्नेछौँ र एक वर्षमा खाद्यमा आत्मनिर्भर बन्नेछौँ ।’ भनेर घोषणा गर्‍यो ।

अर्को दिन कागजको कारखानालाई दश लाख एकड (जमिनको नाप) कागज उत्पादन गर्ने आदेश दिइयो ।
कागज आएपछि फाइलहरू तयार पारिए । प्रधानमन्त्रीको सचिवालयको फाइल खाद्य मन्त्रालयमा पठाइयो । त्यसमा खाद्य मन्त्रालयले यस फाइलबाट कति अन्न उत्पादन गर्नुपर्ने हो भन्ने जानकारी भरेर अर्थ मन्त्रालयमा पठायो ।

अर्थ मन्त्रालयले त्यसमा नोटहरू नत्थी गरेर कृषि मन्त्रालयमा पठायो ।
कृषि मन्त्रालयले पनि त्यसमा बिउ तथा मलखाद भरेर विद्युत् विभागमा पठायो ।
विद्युत् विभागले त्यसैमा बिजुली जडान गरेर सिँचाइ विभागमा पठायो ।
सिँचाइ विभागले त्यसै तिनै फाइलमा पानी पुर्‍याइदियो ।

यसपछि ती फाइलहरू गृह मन्त्रालयमा पठाइयो । गृह मन्त्रालयले त्यो प्रहरीको सिपाहीलाई सुम्प्यो र प्रहरीको निगरानीमा ती फाइलहरू राजधानीदेखि वडासम्मका सबै कार्यालयहरूमा पुर्‍याइए । हरेक कार्यालयमा फाइल पुगेपछि विधिपूर्वक त्यसको पूजाआरती गरेर अर्को कार्यालयमा पठाइन्थ्यो ।

अनि जब फाइलको सर्वकार्यालयीय महायात्रा विधिपूर्वक र निर्विघ्नतापूर्वक परिपूर्ण भयो अनि त्यसमा परिपाक पुगेको भन्ने ठानेर त्यसलाई ‘बाली पाकेको र भित्र्याउने समय भएको हुनाले समयमै बाली काटेर भण्डारण गर्नू’ भन्ने आदेशसहित खाद्य संस्थानको कार्यालयमा पठाइयो । यसरी दश लाख एकड कागजका फाइलहरूको खेती पाकेर खाद्य संस्थानमा पुग्यो ।

एक दिन एउटा किसानले सरकारलाई भेटेर भन्यो, ‘हजुर, हामी किसानहरूलाई तपाईं जमिन, पानी र बिउ उपलब्ध गराइदिनहोस् र आफ्ना अधिकारीहरूबाट हामीलाई बचाउनुहोस् । अनि मात्र हामीले देशका लागि अन्न उब्जाउन पाउने छौँ ।’

सरकारी प्रवक्ताले भने, ‘अब अन्न उत्पादनका लागि किसानको आवश्यकता नै रहेन । हामी दश लाख एकड जमिनमा अन्न उत्पादन गरि नै रहेका छौँ ।’

केही दिनपछि सरकारको बयान आयो, ‘यो वर्ष त सम्भव भएन, तर आगौँ त हामी अवश्य खाद्यमा आत्मनिर्भर भएरै छाड्नेछौँ ।’

अनि त्यसै दिन बिस लाख एक कागजको आदेश पनि दिइयो ।

०००
परसाईं रचनावली २ को ‘लघु कथाएँ’ खण्डका  तीन रचनाहरूबाट अनुवाद ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
लडाइँ

लडाइँ

हरिशंकर परसाईं
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x