हरिशंकर परसाईंदुई लघु व्यङ्ग्य
अकस्मात् फरिस्ताले आफ्ना नक्कली दाह्रीजुँगा झिकेर फ्याँकिदियो अनि लेखकले उसलाई चिन्यो । ऊ त स्थानीय इन्टरमिडिएट कलेजको हिन्दीको शिक्षक पो थियो ।

हरिशंकर परसाई :
व्यङ्ग्यानुवाद : रमेश समर्थन
१. उपदेश (वसुधा, नोभेम्बर १९५७मा प्रकाशित)
‘सेवकजी’ नारी आन्दोलनका ठुला समर्थक थिए । नारीहरूको सामाजिक स्वतन्त्रताका लागि उनी कठोर सङ्घर्ष गर्थे ।
एउटा सभामा उनले भाषण दिँदै भने –‘…..हामीले नारीहरूलाई स्वतन्त्रता दिनुपर्छ । उनीहरूको अस्तित्वलाई स्विकार्नुपर्छ । उनीहरूलाई घर नामको झ्यालखानामा थुनेर हामीले सदियौँदेखि समाजको आधा भागलाई निष्क्रिय बनाएका छौँ । अब समय फेरिएको छ । हामीले नारीलाई बाहिर ल्याएर समाजका कल्याणकारी कामहरूमा हातेमालो गर्न दिनुपर्छ ।’
सबैले भाषणको प्रशंसा गरे ।
‘सेवकजी’ घर पुगे । केही बेरपछि छोराले आएर भन्यो, ‘बुवा, आमा नारी कल्याण समितिको कार्यक्रममा भाग लिन जान खोज्दै हुनुहुन्छ ।’
‘सेवकजी’का आँखिभौँ तन्किए । उनले भने, ‘कतै जानु पर्दैन भनेर भन्दे जा । जहाँ मनलाग्यो त्यहीँ थुतुनो उठाएर हिँड्नुपर्छ ? केही लाजसरम पनि छ कि छैन ?’
केटो चलाख थियो । उसले पनि भन्यो, ‘बुवा, भर्खरै तपाईंले सभामा नारीहरू पनि बाहिर आउनुपर्छ भनेर भाषण गर्नुभएको होइन ?’
‘सेवकजी’ले सम्झाउँदै भने, ‘तँ अझै केटाकेटी नै छस् । कुरो बुझ्दैनस् । बाबु, नारीहरू बाहिर निस्कनुपर्छ भन्नुको अर्थ आफ्नै घरका नारीहरू निस्किनुपर्छ भन्ने होइन, अरूका मात्र बाहिर निस्किनुपर्छ भन्ने हो । बुझिस् ?’
२. अमरता
लेखक राति अबू–बिन–आदमको एउटा कथा पढ्दापढ्दै निदायो जुन यस्तो थियो —‘एक रात आदमका छोरा अबूको कोठामा एकदम तेजिलो प्रकाश देखियो अनि एउटा फरिस्ता(देवता) प्रकट भयो । उसको हातमा एउटा बही थियो । उसले अबूलाई भन्यो, ‘म यसमा तिनीहरूको नाम लेख्दै छु जसलाई ईश्वरसित प्रेम छ ।’ अबू–बिन–आदमले भन्यो, ‘तिमी मेरो नाम तिनीहरूको सूचिमा लेख जो आफ्नै साथी मान्छेसित प्रेम गर्छन् ।’ फरिस्ता अदृश्य भयो । अर्को राति ऊ फेरि आयो अनि अबूले उसको बहीमा ईश्वरका प्रेमीहरूको सूचिमा सबैभन्दा माथि आफ्नो नाम देख्यो । आधा रातमा एक्कासि लेखक ब्युँझियो अनि उसले आफ्नो कोठामा तीव्र प्रकाश फिँजिएको देख्यो । उसले आँखा मिच्यो, त्यसपछि उसले कोठामा श्वेत वस्त्रधारी, सेतै दाह्री र कपाल भएको मुखमा स्वर्गीय आभा भएको फरिस्तालाई देख्यो ।
लेखकले सोध्यो, ‘हे दिव्य पुरुष ! हजुर को हुनुहुन्छ अनि यहाँ आउनुको प्रयोजन के हो ?’
फरिस्ताले भन्यो, ‘बाबु, म हिन्दी साहित्यको इतिहास हुँ अनि प्रतिभाहरूलाई अमर बनाउन निस्केको हुँ ।’‘
लेखक खुसी भयो अनि हात जोडेर भन्यो, ‘हे देव, म पनि साहित्यको सेवक हुँ । के हजुरले मलाई पनि अमर बनाउन सक्नुहुन्छ ?’
फरिस्ताले निर्मल मुस्कानका साथमा भन्यो, ‘त्यसैका लागि त म यहाँ आएको हुँ नि !’
उसले आफ्नो हातको बही खोलेर लेखकका अगाडि राखिदियो अनि भन्यो, ‘हेर, अब म जसलाई अमर हुनु छ तिनीहरूको नाम लेख्दै जानेछु । तिमी पनि यसमा आफ्नो नाम लेखिदेऊ ।’
लेखकले नामहरू पढ्न थाल्यो । पढ्दापढ्दै ऊ झसङ्ग भयो । उसको मुखमा विषाद पोतियो । त्यसपछि घृणा अनि रोष छायो ।
यता फरिस्ताले पेन्सिल दिँदै भन्यो, ‘यो लेऊ पेन्सिल र लेख आफ्नो नाम ।’
लेखले टाउको उठाएर सोध्यो, ‘तिमीसँग रबर छैन ?’
फरिस्ताले भन्यो, ‘छ, रबर पनि छ तर नियम के छ भने तिमीले रबर र पेन्सिलमध्ये एउटा मात्र प्रयोग गर्न पाउँछौ ।’
लेखकले अविचलित भावले भन्यो, ‘उसो भए तिमी मलाई रबर नै देऊ । पेन्सिल चाहिँदैन ।’
फरिस्ताले रबर दियो ।
लेखकले तीनचारवटा नामहरू मेटिदियो ।
फरिस्ता अदृश्य भयो अनि लेखक शान्त भएर सुत्यो ।
अर्को राति फरिस्ता फेरि आयो अनि बही खोलेर लेखकका अगाडि राखिदियो ।
लेखकले आफ्नो नाम युगप्रवर्तकहरूको सूचिमा पायो ।
ऊ निकै खुसी भयो ।
अकस्मात् फरिस्ताले आफ्ना नक्कली दाह्रीजुँगा झिकेर फ्याँकिदियो अनि लेखकले उसलाई चिन्यो । ऊ त स्थानीय इन्टरमिडिएट कलेजको हिन्दीको शिक्षक पो थियो ।
०००
यी लघु व्यङ्ग्यहरू हरिशंकर परसाईको ‘परसाई रचनावली२’ अन्तर्गत ‘लघु कथाएँ’ खण्डबाट अनुवाद गरिएका हुन् ।
Subscribe
Login
0 Comments
Oldest







































