हरिशंकर परसाईंन्यायको ढोका
यी त्यत्तिकै फँसाइएका जुन तीनचार मानिसहरू छन् नि, ती सडकको छेउमा टाटी र बोराको छाप्रो बनाएर बसेका छन् । यिनीहरूले फाँसीमा झुन्डिनका लागि पैसा पनि खर्च गरेका छन् – वकिल गरेका छन् र प्रहरीलाई पनि पैसा खुवाएका छन् ।

हरिशंकर परसाईं :
व्यङ्ग्यानुवाद : रमेश समर्थन
अब त उखानहरू उल्टा उल्टा लाग्न थाले ।
उखानअनुसार त असत्यको पर्दा उठेपछि सत्य नाङ्गो देखिन्छ र सत्यलाई असत्यलाई भन्दा बढी लाज लाग्छ ।
मैले पनि भर्खरै न्यायको ढोका ढक्ढक्याएको त यस उखानलाई पनि उल्टै पो पाएँ । केही गरिबहरूमाथि झुट्टा फौजदारी मुद्दा थियो । मैले उनीहरूका तर्फबाट न्यायको ढोका ढक्ढक्याएँ । सोचेको थिएँ, न्याय त ढोकानिरै चौकिदारी गरेर बसिरहन्छ होला र ढक्ढक्याउनुनासाथ बाहिर आउला । निकै बेरसम्म ढक्ढक्याउँदा पनि जब ढोका उघ्रेन अनि चिन्ता लाग्न थाल्यो । के रहेछ त कुरो ? कतै न्याय ‘सिक लिभ’ अर्थात् बिरामी बिदामा त बसेको छैन ? बुढो पनि भएको छ र प्रायः बिरामी पनि भइरहन्छ ।
अन्तमा म ढोका फोरेरै भित्र पसेँ । सुनसान थियो । बाथरूमको ढोका उघारेको एकजना नाङ्गै नुहाउँदै रहेछ ।
मैले भनेँ, ‘तिमी नै न्याय हौ नि ! छिटो लुगा लगाऊ त । तिमीसित कुरा गर्नु छ ।’
उसले भन्यो, ‘म न्याय होइन, अन्याय हुँ । म नाङ्गै बस्छु । अन्यायलाई केको लाज ? न्याय र म जुम्ल्याहा दाजुभाइ हौँ । अनुहार पनि उस्तै छ । मानिसहरू उसलाई भेटेँ भनेर मलाई भेट्छन् ।’
मैले सोधेँ, ‘दुबैमा केही त अन्तर होला नि ?’
उसले भन्यो, ‘हो, छ । हेर न, म डेरो छु । तिमीलाई लाग्दो हो, म अरूलाई हेर्दै छु, तर तिमीलाई नै हेरिरहेको छु । मेरो भाइ न्याय कानो छ । एकातिर मात्र हेरिरहन्छ । अब त ऊ बहिरो पनि भइसकेको छ ।’
मैले भनेँ, ‘उसो भए ढोका ढक्ढक्याउँदा ढोका कसले उघार्छ त ?’
उसले भन्यो, ‘म उघार्छु । यही त रमाइलो छ । मानिसहरू मलाई नै न्याय मान्दछन् ।’
मैले सोधेँ, ‘तिमीहरू दुबै भाइ कसका छोरा हौ त ?’
उसले भन्यो, ‘एभिडेन्स एक्ट’ हाम्रो बाउ हो र ‘इन्डियन पेनल कोड’ हाम्री आमा हो ।’
मैले भनेँ, ‘म त न्यायलाई भेट्न आएको हुन । त्यो कहाँ छ ?’
उसले भन्यो, ‘भर्खरै जस्केलो ढोकाबाट प्रहरी चौकी गएको छ । आउँदै होला ।’
ए.., के खलिल जिब्रान बन्न खोजेका हौ ? हैन, न्याय बस्ने घर खोज्दै छु । न्यायका ढोका ढक्ढक्याउनेहरू हो ! तिमीहरू अगाडिको ढोका ढक्ढक्याउँछौ तर ऊ भने जस्केलो ढोकाबाट प्रहरीसित सुझाव लिन जान्छ । न्याय बहिरो छ । ढक्ढक्याएको पनि सुन्न सक्दैन । त्यो जुन डेरोले ढोका उघार्छ नि, त्यो त अन्याय पो हो । केवल ढोका ढक्ढक्याएर पाइने भनेकै अन्याय हो । न्याय त ढोका नफुटालेसम्म भेटिँदैन ।
ए.., अब के त नक्सलवादी बन्ने प्रयास गर्दै छौ ? हैन, यो उपाधि त प्रयासै नगरी टाँसिइन्छ । भर्खर मैले अखबारमा प्रहरीले छात्रावासमा पसेर निर्दोष छात्रहरूलाई किन पिट्यो भनेर लेखिदिएको थिएँ कि ‘यो पनि नक्सलपन्थी रहेछ’ भन्ने गाइँगुइँ सुरु भइहाल्यो । उडुसले टोके पनि त्यो नक्सलपन्थीकै बदमासी लाग्छ । बच्चा दुधका लागि रुँदा उसको बाबुले उसकी आमासित भन्छ, ‘यसलाई दुध नचुसा । यो भोकाएको हैन, नक्सलवादी भएको छ अनि आतङ्क सिर्जना गर्दै छ ।’
पोल त यदाकदा सत्यको पनि खुलिहाल्छ । अदालतमा भगवान्लाई साक्षी राखेर जति झुट बोलिन्छ त्यति त भगवान्का पछाडि पनि बोलिन्न । मान्छे निडर भएको छ अनि सत्यनारायणका अगाडि पनि झुट सुन्ने रहर बढाएको छ । धर्मले पनि राम्रालाई कायर र खराबलाई निडर बनाउँदो रहेछ । असत्य अलिकति पवित्रताको लिस्नोमा टेकेर माथि गई सत्यको बिछ्यौनामा लम्पसार परिदिन्छ चाहे त्यो लिस्नो गङ्गाको होस्, जनैको होस्, धर्मको होस् या ईश्वरको होस् ।
यो साक्षीको कठघरामा उभिएको जुन मान्छे छ नि, उसले, ‘आउनुहोस् प्रभु, म तपाईंका समक्ष झुट बोल्नका लागि उत्सुक छु’ भनेर भगवान्लाई साक्षी मानिसकेको छ । प्रहरीले जब यस्तो झुट्टा गवाही दिने मान्छे भेटाउँछ अनि प्रहरीवृत्तको हनुमानका सामु नरिवल फोरिन्छ । हनुमान पनि अचम्मैका छन् । ती कैयौँ प्रकारका छन् : जस्तै – ‘शत्रु फटकार हनुमान’, ‘सङ्कटमोचन हनुमान’, ‘प्रहरी महावीर’ अनि पुनाको वेश्याटोलमा जुन हनुमान छन् तिनको नाम हो, ‘चरित्रहीन मारुति’ । यो हिन्दुस्थानी मान्छे पनि अद्भुतै हुन्छ । यससँग चरित्रहीन मारुति पनि छन् र हिजडा मस्जिद पनि छ । कुरो हनुमानको नभएर झुट्टा गवाहको हो । इन्सपेक्टरले उसलाई लिएर यसरी बरन्डामा ओहोरदोहोर गर्दै थियो मानौँ उसले झुट्टा गवाहीका लागि हरिश्चन्द्रलाई नै ल्याएको छ ।
गवाहले आफू साँचो देखिने पुरापुर कोसिस गरिरहेको थियो । यदि उसले विधि पुर्याएर झुट बोल्न सक्यो भने त्यो सत्य मानिनेछ । ठिक तरिकाले बोलिने झुटलाई सत्य मानिन्छ । ऊ आत्मविश्वास बटुलेर चारैतिर हेर्दै छ । आत्मविश्वासपूर्ण झुटलाई सत्य मानिन्छ भने आत्मविश्वासहीन सत्य पनि झुट नै हुन्छ । सत्य देखिनका लागि झुटले ‘मेकप’ पनि माग्छ । उसले अनुहारमा किरिमपाउडर दलेको छ । उसले राम्रो सुट लगाएको छ । आखिर सत्य हो पो के ? उही राम्रा लुगा लगाएको झुट त हो नि !
म उसको मुख हेर्छु । ओठ बढी नै च्यातिएका छन् । दाँत सधैँ बाहिर निस्किन तयार भएजस्ता देखिन्छन् । झुट्टा र बकबके मान्छेको मुख यस्तै हुन्छ । झुट्टाहरू दुई प्रकारका हुन्छन् — गैँडे र बकबके । गैँडे परिपक्व झुट्टा हो । उसले एकदुई वाक्यमा नै झुटलाई स्थापित गरिदिन्छ । बकबके सोचिरहेको हुन्छ, ‘अझै झुट जमेन ।’ त्यसैले उसले त्यस झुटको समर्थनमा आठदश वाक्यहरू बतरबतर गरेर बोलिदिन्छ । यसैले उसका गिँजा च्यातिन्छन् । यसका गिँजा यसै कारणले तन्केका हुन् । यसको मुख पाकेको पिलोजस्तै छ जसमा पिप भरिएको छ । अलिकति चलाउनासाथ पिप बाहिर निस्किनेछ ।
उसले खोकेर घाँटी सफा गर्छ । रुमालले मुख पुछ्छ । यस्तो लाग्छ, ऊ गवाही दिन नभएर न्यायकी छोरीसित बिहे गर्न बेहुलो बनेर आएको हो ।
सरकारी वकिलले पहिले नै तयार पारिएका प्रश्नहरू गर्छ र उसले पनि तयार पारिएकै उत्तर दिन्छ — उसले अमुक मान्छेले मृतकलाई लाठीले हिर्काएको देखेको हो ।
उसलाई लाठी देखाइयो जसलाई उसले उसको कुनै पुरानो साथीलाई झैँ चिनिहाल्यो ।
उसलाई एउटा ढुङ्गाको टुक्रो देखाइयो । उसले ढुङ्गो पनि चिन्यो — हो, यही ढुङ्गो हो जुन त्यहाँ थियो ।
मैले छेवैमा उभिएको वकिल साथीलाई भनेँ, ‘यार, यो त दिउँसै अँध्यारो भएन र भन्या ? कसैले ढुङ्गाको टुक्रो पनि कसरी चिन्छ ?’
उसले भन्यो, ‘केही नबोल । ‘एभिडेन्स एक्टअन्तर्गत सबै सही छ ।’
गवाहलाई रगत लागेको माटो पनि देखाइयो । उसले माटो पनि चिन्यो ।
मैले वकिल साथीलाई भनेँ, ‘यो त साह्रै अचम्मको कुरो भयो त ! यसले त माटो पनि पो चिन्यो नि !’
उसले भन्यो, ‘चुप । एभिडेन्स एक्ट !’
मैले सोचेँ, अब वकिलले सिसीभित्र राखिएको एउटा माखो देखाउने छ र सोध्नेछ — ‘यो माखो चिन्छौ ?’ अनि उसले भन्नेछ — ‘यो त्यही माखो त हो जुन त्यहाँ मारपिट हुँदै गर्दा त्यहीँ घुम्दै थियो । मैले चिनेँ । यसको अनुहार मेरी आमाको अनुहारसित मिल्छ ।’
यो एभिडेन्स एक्टको चमत्कार हो ।
हरिश्चन्द्रले जुन ब्राह्मणलाई सपनामा दान दिएका थिए यदि उसले त्यो सम्पत्तिका लागि अदालत जानु परेको भए उसले पनि दुईचारवटा देखीजान्ने साक्षीहरूलाई उभ्याइदिँदो हो अनि उनीहरू भन्दा हुन् —‘राजा हरिश्चन्द्रले हाम्रै अगाडि यिनी बाहुनबाजेलाई दान दिइबक्सेको हो ।’ अनि वकिलले सोध्दो हो —‘त्यति वेला तिमीहरू कहाँ थियौ ?’ र उनीहरू भन्दा हुन् —‘हामी पनि महाराजको सपनामा नै थियाँै ।’
बचाउ पक्षको वकिल ‘क्रस एक्जामिनेसन’का लागि उठ्यो । यो भयानक कुरो हो । एक पटक त मेरो पलस्तर नै उप्केको छ । म सत्य बोल्दै थिएँँ तर वकिलले दुई मिनेटमै मेरो सत्यलाई पसिना कढाइदियो ।
साक्षी तयार हुन्छ । मुख पुछ्छ । फोक्साहरूमा अक्सिजन भर्छ ।
वकिलले सोध्छ, ‘घटनास्थलदेखि तिमी कति पर थियौ ?’
उसले मुख खोल्दै हुन्छ तर वकिलले बिचमै भन्छ, ‘कुनै हतार छैन, सोचेर भन ।’
‘सोचेर भन’ यसै सुझावले साक्षीको सोच बिग्रिन्छ । उसलाई लाग्छ, यो मामिला जति सरल लाग्थ्यो त्यति रहेनछ । प्रश्न जटिल छ । सोच्न त पर्छ नै !
उसले भर्खरै सरकारी वकिलसँग आफ्नो दुरी दश पाइलामात्र भनेको थियो ।
अब सोचेर भन्छ, ‘त्यही दशपन्ध्र पाइला टाढा थिएँ होला ।’
वकिल— ‘ए.., दशपन्ध्र पाइला पर थियौ ?’
साक्षी— ‘अँ, त्यस्तै पन्ध्रबिस पाइलाजति ।’
वकिल— ‘उसो भए पन्ध्रबिस पाइला टाढा थियौ, हैन ?’
साक्षी— ‘अँ, त्यही मान्नुस् न, बिसपच्चिस पाइला ।’
तीनवटा प्रश्नमै ऊ पन्ध्र पाइला पछि हटिसक्यो । यदि वकिलले प्रश्न सोध्दै गएको भए ऊ घटनास्थलबाट पाँच कोस टाढा पनि पुग्ने थियो । तर ऊ आफूले वकिललाई भ्रममा पारेको कुराले खुसी छ ।
—तिमी घटनास्थलमा कति बजे पुग्यौ ? हतार नगर । सोचेर भन ।
—साढे एक, दुई बजेतिर ।
—ए, साढे एक, दुईतिर ?
—अँ, त्यही दुई, साढे दुईतिर ।
—ए, दुइर्, साढे दुईतिर तिमी त्यहाँ पुगेका थियौ ?
—अँ, त्यही साढे दुइर्, तीन बजेतिर मान्नुस् न ।
—मृतकको उमेर कति थियो ?
—पच्चिस, तिस वर्ष ।
—ए, त्यो पच्चिस, तिस वर्षको थियो ?
—अँ, तिस, पैँतिस वर्षको हुँदो हो ।
—अर्थात् उसको उमेर तिस, पैँतिस वर्ष थियो ।
—अँ, त्यही पैँतिस, चालिसको हुँदो हो ।
मैले कैयौँ दिनसम्म यो साक्षी बकाउने खेल हेरिरहेँ । म कुन कुरामा हैरान थिएँ भने बाहिर त कोही पनि साँचो बोल्ने मान्छे भेटिन्न, तर अदालतमा यति साँचो बोल्ने मान्छेहरू कुन अनजान कुनाबाट निस्केर आउँछन् ? झुट बोल्नका लागि सबैभन्दा सुरक्षित ठाउँ भनेकै अदालत हो । त्यहाँ सुरक्षाका लागि भगवान् र न्यायाधीश उपस्थित हुन्छन् ।
मेरो वकिल साथी भन्छ, ‘यो जे भइरहेको छ त्यो कानुनबमोजिम नै भइरहेको छ । यदि न्यायाधीशले साक्षीमाथि विश्वास गर्यो भने त सोझै फाँसी हुन सक्छ र गरेन भने छुट्न सक्छ ।’
साक्षी एउटै हो, तर त्यसैका कुराले एउटा मान्छेलाई फाँसी पनि हुन सक्छ र ऊ छुट्न पनि सक्छ । त्यसै साक्षीका आधारमा एउटा न्यायाधीशले मान्छेलाई फाँसीको लागि उपयुक्त ठान्छ भने त्यसैका आधारमा अर्काले निर्दोष ठहर्याउँछ ।
वकिल साथी भन्छ, ‘मान्छेको यस न्यायलाई मेसिनले धेरै दिनसम्म सहन सक्दैन । कुनै दिन यहाँ न्यायालयका ठाउँमा एउटा ठुलो कम्प्युटर आउने छ जसमा वकिल, साक्षी र न्यायाधीश सबै अटाउने छन् । अनि कम्प्युटर चल्नेछ र तिमीमध्ये कसैको छालामा फैसला अङ्कित भएर आउने छ ।’
यी त्यत्तिकै फँसाइएका जुन तीनचार मानिसहरू छन् नि, ती सडकको छेउमा टाटी र बोराको छाप्रो बनाएर बसेका छन् । यिनीहरूले फाँसीमा झुन्डिनका लागि पैसा पनि खर्च गरेका छन् – वकिल गरेका छन् र प्रहरीलाई पनि पैसा खुवाएका छन् ।
अहिलेका यी यिशुहरूले सूली बोक्नुपर्ने वा उनीहरू सूलीमा झुन्डिनुपर्ने मात्र होइन । यिनलाई त आफ्नै हातले आफ्ना खुट्टामा किला ठोक्न विवश बनाइँदै छ । अनि उनी त्यही गर्दै छन् । हे पिता ! यिनीहरूलाई माफी त दिँदै नदिनू किनभने यी सालेहरूलाई यिनीहरू के गर्दै छन् भन्ने थाहा छ ।
०००
हरिशंकर परसाईं को ‘परसाईं रचनावली’–३ को ‘न्याय का दरवाजा’बाट नेपाली अनुवाद
Subscribe
Login
0 Comments
Oldest







































