जेबी खत्रीनेताको घर
त्यो अधबैंसे मानिस घिस्रँदै केही पर्तिर गएर बस्यो र मनमनै भन्यो, यति सुन्दर र यति राम्रो घर कसको होला भनेको त हाम्रै नेताको पो रहेछ।

जेबी खत्री :
पात्राका कममा हिंड्दाहिँड्दै म बाटोमा टक्क रोकिएँ । सानाठूला गाडी सडकमा तँछाडमछाड गर्दै दौडिरहेका थिए। अगाडि ठुलो चौडा सडक । पछाडि गगनचुम्बी अत्याधुनिक महल। वरिपरि सुन्दर बगैंचा, बगैंचामा त्यस्तै रङ्गीबिरङ्गी फूल मुस्कुराइरहेका । आहा ! कस्तो सुन्दर ठाउँमा कस्तो सुन्दर घर । वरपरका अन्य परहरू भन्दा बिलकुल फरक । बनावट फरक, रङरोगन फरक, झ्यालढोका फरक । भर्खर बनेको नयाँ घर । सबै कुरा नाँ, चमकदार । अहिले उड्ला जस्तो लाग्ने ।
त्यो बाटो भएर हिंड्दा त्यस घरमा आँखा नठोकिने यात्री को होला। एक पटक त सबैका आँखा तान्थ्यो । ध्यान खिच्थ्यो आफूतिर त्यो घरले बटुवाहरूको । आहा कति राम्रो, कति ठुलो मनै लोभ्याउने घर। कसको होला यो घर ! थाहा नहुनेलाई स्वाभाविक रूपमा उत्सुकता हुन्थ्यो । कतिले कसैमाथि प्रश्न तेर्स्याएर आफ्नो उत्सुकता मेट्थे । कतिले आ… अर्काकाे घरको के खोजीनीति गर्न भनेर त्यो उत्सुकता मनमै राखेर हिँड्थे । कोहीलाई लाग्दो हो कुनै उद्योग वा दल व्यापारीको घर हुनु पर्छ । कतिले सोधखोज गर्ने आँट गर्दैनथे । कहिल्यै बाहिर मान्छेको चालचुल नदेखिने । सधैं झ्यालढोका बन्दको बन्द । रित्तो घर जस्तो । हिँड्दाहिँड्दै थकित, कति दिनदेखि भोकै झुत्रेझाम्रे मैला लुगा लगाएको, खाली खुट्टा भएको एक अधबैंसे मानिस आएर त्यो घरको बाहिर पेटीमा सुइय्य काढ्दै थचक्कै बस्यो ।
उसले थकाइ मार्न पनि पाएको थिएन । भित्रबाट पाले कराउँदै आयो उसलाई। यो नेताको घर हो। यहाँ नबस्न भन्दै पर्तिर गएर बस्न मन्यो। त्यो अधबैंसे मानिस घिस्रँदै केही पर्तिर गएर बस्यो र मनमनै भन्यो, यति सुन्दर र यति राम्रो घर कसको होला भनेको त हाम्रै नेताको पो रहेछ।
०००
मधुपर्क (२०८२ मङ्सिर)
Subscribe
Login
0 Comments
Oldest






































