नन्दलाल आचार्यआप्तरी पत्रकारलाई पत्र
म श्री ५ आप्तरी हतियारधिराजको प्रवक्ता हुँ । त्यही हैसियतले यत्ति लेखेकोमा चित्त नकुँड्याउनु होला । कुँडिए भलुवाई नदीमा गएर दाँत तिखार्नुहोला ।

नन्दलाल आचार्य :
मित्रहरू, तपाईंहरू कहाँ र कसको पाठशालामा पढ्नुभएको हो कुन्नि ? राज्य गर्दागर्दै अब हामी आप्तरी आइसकेका छौँ । विद्रोही बोली र ऊध्र्वगामी कलमी आवाज जति गुन्जाउनुभयो, भयो । अब तु. बन्द गर्नुस् । हामी सबैले कमाउनुपर्छ । सेवाग्राहीकै बढ्दो गुनासोका बिचमा घुसेर थुत्नुपर्छ । मोटो रकम हजम गर्नुपर्छ । किनभने हामीले पनि जहान बच्चा पाल्नुपर्छ । समाजमा प्रतिष्ठित नाम भएको आभास दिलाउनुपर्छ ।
अब भने कलम र वाणीको इज्जत राख्न हामीबाट सिक्नुस् । हाम्रो अकर्मण्यता सडकमा छर्न नखोज्नुस् । हाम्रा कर्तुतको बिस्कुन लगाएर जनता उकास्ने अपराध नगर्नुस् । सक्नुहुन्छ भने हात मिलाउनुस् र हामीले कमाएकोबाट थोरै कमिसन लिएर चित्त बुझाउनुस् । नभए सडकमै पछारिनुस् । वर्षायामको भ्यागुतो बन्नुस् । जंगलको रोदन सर्वत्र गुन्जाउनुस् । अनि थाकेर नुन खाएको कुखुरो बनी एक कुनामा थन्किनुस् ।
अँ, अझ सक्नुहुन्न भने चोकचोकमा भुक्नुस् । एकोहोरो भुकिरहनुस् । अनसन बसिरहनुस् । आप्तरीका मच्छडका लागि निःशुल्क रूपमा दशैँ डाकिदिनुस् ।
लेख्नुस् । कसैले सम्बोधन नगर्ने गरी लेखिरहनुस् । श्री ५ आप्तरी हतियारधिराजको कुनै लछारपाटो लाग्दैन । कुरो बुझे बुझ्नुस् । नबुझे पनि कुनै जहाज चाहिँ डुब्दैन । कुरो बुझ्दै जानुस् । अन्ततः गन्तव्यमा नपुगी कलम नालीमा फ्याक्नुस् । वाणी बोतलमा पसाउनुस् । नत्रभने आप्तरी गल्लीका भुसिया कुकुर हालतमा पुगेर रन्कनस्, रन्कनुस् । थाकेर कुनै उपाय नास्ती भएपछि चुपचाप थन्कनुस् ।
डिउटीमा खटेका प्रहरी साथीले रोक्ता त रोकिनुपर्छ नि । उनीहरुले उपरवालाको हुकुम तामेल गरेको बुझ्नुपर्छ नि । मौलिक हक र पेशागत अधिकारको दुहाई दिएर पत्रकार मित्रले मन दुखाउनुभएन नि । आप्तरीका लागि संविधानको मौलिक हक नै निलम्बनमा परेको जानकारी लिनुप¥यो नि । कठै, कलम घोट्दाघोट्दा पत्रकार मित्रको दिमाख पनि घोटिएर खिइएको थाहै रहेनछ ।
गाँठी कुरा भन्दै छु– लैङ्गिक हिंसाको मुद्दा नउठाउनुस् । संवेदनशील ठगीको कुरा नगर्नुस् । घरेलु हिंसाका जघन्य कुरा उठाएर हाम्रो दिमाग नगिजोल्नुस् । यस्ता मुद्दामा हामीलाई उघ्न दिनुस् । घुर्न दिनुस् । को कति गल्छ, जल्छ र सर्वस्व सुम्पन्छ । हेर्दै जानुस्, हेर्दै जानुस् । राहतको कुरा बन्दै नगर्नुस् । न्याय दिने र पाउने सपना नबुन्नुस् । जबसम्म हतियारधिराजको कार्यकाल रहन्छ, तबसम्म सुनौलो अ्रक्षरले आप्तरी इतिहास रंग्याउन दिनुस् ।
इतिहासमा धब्बा लाग्यो भन्दै आवाज नदिनुस् । यदि दिनुभयो र दिइरहनुभयो भने एक्लाएक्लै पारेर हामी तपाईंहरुलाई अस्पताल बास गराइदिन्छौँ । मुतुनोले बिगार नगरेको भए पनि दोषी थुतुनोलाई सजाय दिन मुतुनोलाई नमस्कार गरिहिँट्दैनौँ । थुतुनो र मुतुनो दुबै भत्काइदिन्छौँ । सर्वदलीय आवाज गुन्जन थाले भत्काउनेलाई सरुवा गदिन्छौँ । लण्ठैसाफ ।
समानता र समतामूलक राज्यको परिकल्पना हाम्रो शत्रु हो । जब हामी हाँडीघोप्टे कदम चाल्छौँ तब तपाईंहरुका कलम अघि सर्छन्, वाणी उचालिन्छन्, क्यामेरा तेर्सिन्छन् । हामीले त्यसो गर्न दिइरह्यौ भने अरिगालको गोलो हामीमाथि नै खनिन्छ । अनि हामीलाई एकै चिहान बनाउँछ । तसर्थ हामी जानीजानी आफ्नै गोडामा बन्चरो चलाएर जगहँसाउन चाहनौँ । तसर्थ उचालेका हतियार तल झार्नुस् । आत्मसमर्पणका लागि रित्ता दुबै हात उचाल्नुस् । हामी हाम्रो मैलो धोती र कछाड धुन मात्र भन्छौँ । ओछ्यान मिलाइदेओ भनेर बन्दै भन्दैनौँ ।
आपत्सँगै त्राहीमाम् हुनुपर्ने हुनाले यस स्थललाई ‘आप्तरी’ भनिएको हो । हतियारको बलले जनबोली थिच्ने, किच्ने, मिच्ने, पिँध्ने गरेकाले ‘हतियारधिराज’ भनिएको हो । कुरा बुझ्दै जानुपर्छ । अगाडि भेटेजति सबै सोहर्नुपर्छ । खल्ती भर्नुपर्छ । बैँक खाता फुलाउनुपर्छ । आफू मरे पनि वा मामाघरमा सडे पनि सात पुस्तालाई पुग्दो कमाउनुपर्छ ।
कसैले अधिकारखानामा हाले, हाल्छन् । नहाले आफूलाई कसै गरेर हाल्न लगाउनुपर्छ । त्यसका लागि चम्चाहरुलाई बेलाबेलामा खानानास्ता खुवाउँदै गर्नुपर्छ । करोडमा खाएको कुरा सयमा सिमित पार्नुपर्छ । जस्तो– मैले दुई नम्बरी धन्दामा उत्तम एम्पायर बनेर दस करोड कमाएँ भने दस सयको बिगो उल्लेख गर्नुपर्छ । अनि गधालाई धोएर गाई बनाउने काम अधिकारखानाले गर्छ । हेर्दाहेर्दै मेरो निधारको कलंकको टीको मेटिन्छ । म सुधो गाई बनेर समाजमा उदाउने छु । त्यसपछि अर्को जन्ममा जे होस् यस जन्ममा स्वर्गाधिपति महाराजमा पदोन्नति ग्यारेन्टी हुन्छ ।
हामी पत्रकारलाई सम्बोधन गरेर आकाशपाताल एक पार्ने तँ को होस् भन्नुहोला । म श्री ५ आप्तरी हतियारधिराजको प्रवक्ता हुँ । त्यही हैसियतले यत्ति लेखेकोमा चित्त नकुँड्याउनु होला । कुँडिए भलुवाई नदीमा गएर दाँत तिखार्नुहोला । त्यहाँ त पानी हैन गन्देनाली मात्र बग्छ भनेर नाकनिक गर्नुहुन्छ भने विशाल खाडो नदीले छाती खोलेर स्वागत गर्ने छ । त्यही पुगेर दाँत उद्याउनु होला ।
०००
२०८०.०४.२७ सिद्धार्थटोल, उदयपुर । हाल– सिर्जनाकुटी, सिरहा ।
Subscribe
Login
0 Comments
Oldest










































