नन्दलाल आचार्यछेपारे रङ्ग र कुर्सीको दङ्ग
लालित्य त देखिन्छ भित्ताका पोस्टरमा न्याय भने हरायो कि कतै रोस्टरमा ? हाँसेरै टार्ने हो कि अलिअलि सोच्ने हो ? व्यङ्ग्यको यो काउकुतीले आफैँलाई घोच्ने हो !

नन्दलाल आचार्य :
हातमा झोला, काँधमा झन्डा, गल्ली-गल्ली धाउने
जनतालाई चाहिँ आश्वासनको “पकौडा” ख्वाउने !
बिहानीको घामसँगै विचार फेरिने
कुर्सी देख्दा सिद्धान्तको जालो बेरिने !
हो… कुर्सी देख्दा सिद्धान्तको जालो बेरिने !
सपना बाँड्ने मेसिन छ, डिलिभरी छैन
सोझालाई झुक्याउने कुनै जुक्ति बाँकी छैन !
भाषणमा त स्वदेशमै दूधको नदी बग्छ
यथार्थमा युवाको लर्को विमानस्थलतिर लाग्छ !
नदीका ढुङ्गा बालुवा, नेताको खल्तीमा
जनता चाहिँ रुमल्लिने सधैँ एउटै गल्तीमा !
हो… जनता चाहिँ रुमल्लिने सधैँ एउटै गल्तीमा !
डिजिटल युग रे हजुर, अनलाइनमै कुरा हुन्छ
तर सरकारी अफिसमा सधैँ “भोलि” मात्र पूरा हुन्छ !
बजेट आउँछ हात्ती जस्तो, कार्यान्वयन झिँगा
विकासको नाममा सडकमा सधैँ ढिँगा र गिँगा !
सडकको खाडलमा माछा मार्ने बेला भो
देश बनाउने सपना त अर्कैको मेला भो !
हो… देश बनाउने सपना त अर्कैको मेला भो !
गठबन्धनको खिचडीमा नुन छ कि छैन ?
कुन दल कता ढल्कियो, कसैलाई पत्तो छैन !
बिहान एउटा देउता पुज्ने, बेलुका अर्कै थान
सौदाबाजीमा नै बित्ने भयो सान र मान !
सबै भन्छन् ‘देश बनाउँछु’, खल्ती मात्र भरिने
यो कस्तो जात्रा हो हजुर, कहिले नसरिने ?
हो… यो कस्तो जात्रा हो हजुर, कहिले नसरिने !
लालित्य त देखिन्छ भित्ताका पोस्टरमा
न्याय भने हरायो कि कतै रोस्टरमा ?
हाँसेरै टार्ने हो कि अलिअलि सोच्ने हो ?
व्यङ्ग्यको यो काउकुतीले आफैँलाई घोच्ने हो !
हो… आफैँलाई घोच्ने हो !
०००
२०८२ फाल्गुन २५ गते ।
उदयपुर
Subscribe
Login
0 Comments
Oldest







































