लोकतन्त्रे उपलब्धि ?
ठ्याक्कै गिद्ध हुँडार स्यालहरूका, चल्दै गए उत्सव । हात्तीछाप धनाढ्य भै महलमा, झुम्दै गरे उत्सव ।
मिच्दै कानुन ऐन औ विधि सबै, छाडा चल्यो शासन ।
मात्रै फूट अटूट घोर झगडा, भाँडेर सद्भावना ।।
‘भ्रष्टाचार’ अचार तास भुटुवा, ब्रान्डी र हिस्की भए ।
सत्तारुढ बनेर देश लुछिने, खेला अनेकौँ चले ।।
देशै मर्ज हुने त गर्जन गरी, कौवा कराए यहाँ ।
नाका बन्द गराउँदै अझ कयौँ खेला चलेथे जहाँ ।।
ठ्याक्कै गिद्ध हुँडार स्यालहरूका, चल्दै गए उत्सव ।
हात्तीछाप धनाढ्य भै महलमा, झुम्दै गरे उत्सव ।।
बढ्दै धिक् किन क्षेत्र जात थर वा, लिङ्गीय दुर्भावना ?
घट्दै शान्ति सहिष्णुता दिनदिनै, टुट्दैछ सद्भावना ।।
पाएछौँ उपलब्धि द्वन्द्व—महँगी, चर्का विभेदी मन ।
मात्रै ‘त्वम् शरणम्’ गरेर कसरी चल्ला हरे शासन ।।
लाखौँ लाख युवा जमात अरुका, ढोके सुसारे भए ।
कन्या वा युवती कयौँ पर पुगी, दासी र भोग्या बने ।।
पञ्चैशील सुशील नीति सकिँदै, सम्लग्न धारा बहे ।
भत्की मूर्त तटस्थता दिनदिनै, अस्तित्व ढल्दै गए ।।
हाम्रा संस्कृति धर्म रीति रसमा, के घोलियो घोलियो ?
सत्ता पाउन टिक्न जोक्कर भई के बोलियो बोलियो ।।
माती नाच्छ तदर्थवाद यसरी देशै बन्यो जर्जर ।
खै प्यारो जनतन्त्र वायु कहिल्यै चल्दैन भै हर्हर ।।
धादिङ