जुङ्गा
जुङ्गाको महिमा ठुलो छ जहिले हाँस्य रसैको जडी, पालौँ यो सबले सधैँ रहरिलो माँन्छे त हाँस्ने गरी ।
क्षेत्रीको गहना थियो र पहिले जुङ्गा भयो शानको
हालैमा यसको महत्व किन हो देखिन्न सम्मानको
राख्दैनन् अहिले सफाचट सबै जुङ्गा हरायो कता
देखिन्थे पहिले सबैतिर अहो ओठै भरीमा छटा ।
जुङ्गा शासनको थियो र पहिचान राणाहरूको जहाँ
हिन्दूको पहिचान भित्र रहने बुझ्थे सबैले यहाँ
यो हाम्रो गहना समान बुझनूँ जुङ्गा र टुप्पी पनि
राख्नू पर्दछ साथ यी सबकुरा हिन्दू हुँदामा अनि ।
जुङ्गा हो गहना सबै पुरुषको देखिन्छ यो सुन्दर
व्यङ्ग्यको रचना हुनेछ जनमा देखेर जो अन्तर
मान्छेको अनुहार भित्र रहने यो ओठको आडमा
राखे बस्छ सधैँ भएर गतिलो जोगाउनू जाँडमा ।
छोक्रा लाग्दछ जाँडको वरिपरी चोरेर खाए सरी
देख्छन् जो अरुले र लाज नहुने हाँसेर मस्ती गरी
जुङ्गाको महिमा ठुलो छ जहिले हाँस्य रसैको जडी
पालौँ यो सबले सधैँ रहरिलो माँन्छे त हाँस्ने गरी ।
मान्छेको अनुहार सुन्दर हुने जुङ्गा भएमा उसै
चिन्छन् मानिसले सधैँ शहरमा जुङगे भनेरै उसै
लामो होस् कसिलो मुठे गजबको देख्दै महाभारको
टुप्पी होस् त अझैँ भँुई लतरिने मान्छे बनोस् प्यारको ।
मान्छेको रसिलो मिजास जसले जुङ्गा बनायो मुठे
बुझ्दैनन् अरुले कथा रहस्यको भोलि देखिन्छ ठुटे
भालेको पहिचान झैँ सिउरले जुङ्गा छ मान्छेतिर
साँढेको पहिचान जुरो छ जहिले बोको छ दाह्रीतिर ।
राम्रो हो गहना सुहाउँछ सधैँ ईमान होस् बैँशको
जुङ्गाको पहिचानले भुवनमा व्यक्तित्व होस् ऐसको
आ हा सुन्दर यो भनेर सबले ताली पिटेरै जहाँ
सम्मानै जहिले मिलोस् भुवनमा झ्याली पिटेरै यहाँ ।
शोभा हो पुरुषार्थको सफलता बाङ्गो भए जोकर
जुङ्गाको पहिचान हुन्छ सबमा साहेव वा नोकर
जो जे होस् पहिचान हुन्छ यसले जुङ्गा छ है अब्बल
साहेवी, गरिबी सबै जनहरू जुङ्गा सधैँ सब्बल ।
नाके फोहरको अडेस जसरी जुङ्गा बसेको छ है
बन्छौ नायक झँै समाज बिचमा जुङ्गा झरेको छ है
मोतीझैँ जहिले रहन्छ दिलमा जुङ्गा बनोस् खासमा
छेपारो जसरी नफेर विविधा जुङ्गा सधै साथमा ।
उदयपुर