
चाहियो चाहियो चाहियो
जति जति म चाहन्छु, देओस् खुशी उति उति रातोदिन खटोस् तेही, म त खाऊँ सुती सुती । जन्ती लिएर मै जाऊँ, ली आओस् दाइजो पति बङ्गला कार टीभी र अरु अपार सम्पति ।

टेकनारायण रिमाल ‘कौशिक’
मलाई चाहियो यस्तो, सोझो र सजिलो पति
जसले घर धन्धामा, देओस् साठी घडी मति ।१।
चुपचाप सुनोस् खालि,मैले गाली गरूँ जति
उभिई भूइँमा हेरोस्,जवाफ नगरोस् रति ।२।
पति धर्म बुझी मेरै, गरोस् अर्चन आरती
छ यसैमा भनी ठानी, उत्तरोत्तर उन्नति ।३।
फुर्सदमा घसोस् गोडा, नझर्किई अलिकति
लोभियून् लोकका स्वास्नी, अहा ! क्या गतिलो पति।४।
पत्नीव्रता बनी पुण्य, कमाओस् कति हो कति
त्यै पुण्यले गरी जन्मैपिच्छे मेरै बनोस् पति ।५।
बाँचुञ्जेल गरी सेवा, मरी पाओस् परंगति
म मरे विधिवत् जाओस्, मेरो चिता चढ़ी सति ।६।
ल्याएँ सौतो भने राखोस्, भाइ सम्झेर पीरति
पत्नीका पतिको सेवा, कलीको यै छ सम्मति ।७।
जति जति म चाहन्छु, देओस् खुशी उति उति
रातोदिन खटोस् तेही, म त खाऊँ सुती सुती ।८।
जन्ती लिएर मै जाऊँ, ली आओस् दाइजो पति
बङ्गला कार टीभी र अरु अपार सम्पति ।९।
म सुत्केरी हुँदा बच्चा, सह्यारोस स्वयं पति
हुर्काओस दिई शिक्षा, दीक्षा संस्कार सन्मति ।१०।
०००
याङ्गुन म्यान्मा (बर्मा)