शिव नेउपानेपरेवाको धम्की….
खिर्की दैला सुलीका टाटा मलाई चल्यो के को छाँटा झटारो हाँने कसेर ड्याम्म खिर्कीको ऐना भयो झर्याम्म । धुरीबाट परेवा मलाई नै हेर्छ खुच्चिङ भन्दै अलिकति छेर्छ ।

शिवप्रसाद नेउपाने :
उप्पर छतमा परेवा बस्ता
तल तिर त्यसको सुली खस्ता
म उठें रिसले सहसा जागी
त्यसका खुट्टा भाँच्नका लागि ।
कसेर हाने खोयो उठाई
परेवा भाग्यो पंख फिँजाई
खोयाले लाग्यो नातीलाई
ताती आयो सुब रिसाई
किन कुटेको भन्छ मलाई
माफी माँगें लाज पचाई ।
यो घर तेरो हो या मेरो
खुब लगा है मनमा फेरो
भन्दै आयो परेवा फेरि
मेरो आँगनको विस्कुन हेरि ।
चिभे रूप्पी कीरा फटेङ्ग्रा
मिली बस्छौं मुसा छुचुन्द्रा
झिँगा मौरी यहीं छन् भन्भन्
हामी बस्ता के को गन्गन् ।
भन्दै आए परेवा एक हूल्
सबै बिगारे घरको तुलफूल्
खिर्की दैला सुलीका टाटा
मलाई चल्यो के को छाँटा
झटारो हाँने कसेर ड्याम्म
खिर्कीको ऐना भयो झर्याम्म ।
धुरीबाट परेवा मलाई नै हेर्छ
खुच्चिङ भन्दै अलिकति छेर्छ ।
यो सब देखी वाक्क भएर
बिन्ति बिसाएँ प्रभूमा गएर
साझा रेहेछ यो घर मेरो
भन्दै लगाएँ मनमा फेरो ।
०००
रुम्तेक, सिक्किम
Subscribe
Login
0 Comments
Oldest






































