उत्तम विचारबाङ्गै हुने पुच्छर
लड्छन् आपसमा विचार नमिली मर्छन् भुस्याहाहरू आफ्नै इज्जतको लिलाम सहजै गर्छन् छुल्याहाहरू । काला कर्तुतले खराब भनिए सेताहरू ठान्दछन् सेता रङ्ग हुने कुकर्म गरिए काला स्वयम् बन्दछन् ।।

उत्तम विचार :
रक्षा गर्दछ द्वारको कुकुरले भन्दै पुजेको दिन
आयो याद तिहारको झलझली गाह्रो भयो बिर्सिनँ ।
लड्छौ हाड निमित्त श्वान जसरी बन्छौ बडा दुच्छर
ढुङ्ग्रोमा किन बाह्र बर्ष नरहून् बाङ्गै हुने पुच्छर ।।१।
गल्लीमा अति व्यस्त छौ सडकमा लागे सरी कार्तिक
हङ्गामा अति गर्दछौ सदनमा कोबाट छौ शासित ?
दाह्रा ङिच्च गरी चहार्छ जहिल्यै दैलो बिराओस् न त्यो
मान्छेको व्यवहार गर्छ कसरी जो भुक्छ त्यो श्वान हो ।।२।
हाली टाङ रहन्छ पुच्छर सदा देखिन्न लुक्ने भए
जो बस्ला चुपचाप टोक्छ त्यसले टोक्दैन भुक्ने भए ।
काढ्छन् र्याल निमित्त खान नछुटी छन् भोजमा दैनिक
छोराको छ बिबाह यो मुलुकमा सर्वत्र मागी भिक ।।३।
लड्छन् आपसमा विचार नमिली मर्छन् भुस्याहाहरू
आफ्नै इज्जतको लिलाम सहजै गर्छन् छुल्याहाहरू ।
काला कर्तुतले खराब भनिए सेताहरू ठान्दछन्
सेता रङ्ग हुने कुकर्म गरिए काला स्वयम् बन्दछन् ।।४।
गर्छन् कर्म महान् भने मुलुकले पुज्नेछ श्वानै पनि
मान्छे हुन् अथवा कुकर्म गरिँदा हुन् श्वान ठान्छन् अनि ।
आफ्नो द्वार ढुकी दिएर पहरा रक्षा गरेको भए
चिन्थे मानिसले गर्यौँ भुल भनी गर्थे बडा निश्चय ।।५।
०००
काठमाडाैं








































https://www.fitkauli.com/message/singouri/144268/