साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दसबर्से अनुभवी गफाडी

उहाँको चोपिलो कुरा पत्याउन कति मज्जा हुन्थ्यो होला भनेर हामीले आफ्ना तिखुले पुर्पुरा समायौं र थकथकायौं, सेनाका नाइकेलाई हटाउन नसकेको तोडमा सत्ता छोड्न पुगेका गौरवशाली दलका नाइके पछि फुर्सदमा थकथकाएजस्तै गरेर ।

Nepal Telecom ad

युगल बसेल :

मेरो नातामा एकजना अत्यन्त रोचक व्यक्तित्व भएका महान् दाइ हुनुहुन्थ्यो । हामीहरु उहाँलाई प्राय ठूल्दाइ भनेर सम्बोधन गर्थ्यौं । सन्तानमध्ये जेठा भएकाले मात्र होइन व्यक्तित्व पनि ठूलै भएकाले उहाँको नामको सार्थकता वा भनौं उहाँलाई सम्बोधन गरिने शब्द ‘ठूल्दाइ’को सार्थकता घामजत्तिकै छर्लङ्ग भएको थियो । त्यसो त उहाँको न्वारानको नाम जीवलाल थियो तर जीवलाल नभएर उहाँको नाम ‘जीवनलीलालाल’ भएको भए उपयुक्त हुन्थ्यो भन्ने म अकिञ्चन लठुवाको ठम्याइ छ । उहाँको मुखारविन्दवाट प्रकट भएअनुसार उहाँको जीवनलीला हाँडीगाउँमा हुने जात्राभन्दा पनि विचित्रको भएकोले मेरो गाजेमाजे मगजले त्यस्तो ठहर गरेको हो ।

उहाँको सामिप्यमा बस्दा दस वर्षकै आयुदेखि मलाई टनाटन गौरव र दनादन रोमाञ्चको अनुभूति हुन्थ्यो । मैले उहाँसित परिचित हुन नपाउँदै इतरिएर ‘घर कहाँ हो ?’ भनेर सोधेको थिएँ किनकि मेरो घर मानिसहरु ओहोरदोहोर गरिरहने मूल बाटोमा नै भएकोले नौला मानिसहरु देख्दा मेरो मनमा कौतुहलता पैदा हुन्थ्यो र सबैलाई नसोधे पनि खासखास व्याक्तित्वका धनीलाई मैले त्यही एउटै प्रश्न सोधिहाल्थेँ । उहाँले ओठे जवाफ दिदैँ भन्नुभएको थियो – ‘खाँबो गाडेको ठाउँमा ’ जोसुकैसँग जिज्ञासा राख्न सक्ने मेरो व्यक्तित्वको सोह्रै आना मूल्याङ्कन गर्दै भन्नुभएको थियो – “केटो त गज्जबको सूरो रहेछ गाँठे ! कुकुर खायो भने त यो पक्कै बाघ बन्छ । नाल नझर्दै बटुवाको घर र जहान सोध्नु मामुली कुरो हुँदै होइन ।”

उहाँले पूर्वानुमान गरेजस्तो गरी,भविष्यवाणी गरेजस्तै गरी म बाघ त के बिरालो पनि बन्न सकिनँ किनकि बिरालो बन्न पनि उहाँका अनुसार दूध खाएर पुग्दैनथ्यो, मूसासमेत खानुपर्थ्यो।

ओहो ! म त आग्राको कुरा गर्दागर्दै गाग्रातिर पो मोडिन पुगेछु ! ठिक त्यसै गरी जसरी दुई वर्षको भाका मागेर आएका सभासद्हरु चार वर्षसम्म संविधान बनाउनुको साटो सुनधान(सुनको धान) बनाउन मोडिएका थिए ।

उहाँ लगभग सर्वज्ञ हुनुहुन्थ्यो र सबै कुराको मर्मज्ञ हुनुहुन्थ्यो । जहाँ नपुगे रवि त्याहाँ पुगे कवि भन्ने उखानमा केही पदावली थपेर यस्तो उखान बनेको भए बेस हुन्थ्यो – जहाँ नपुगे रवि, त्याहाँ पुगे जेबी (जीवलाल बसेल)

बोरिङको प्रसङ्ग निक्लियोस् कि बोइङ्को , रुईको कुरा होस् कि सुइको , उहाँले त्यससम्वन्धी संस्था वा कार्यमा दस वर्षको अनुभव हासिल गरेको कुरा बताइ हाल्नुहुन्थ्यो । सुनकारखानादेखि नुनकारखाना , जुत्ता व्यापारदेखि फित्ता व्यापारसम्मको तजुर्बा उहाँलाई थियो । त्यो पनि चानचुने होइन, पूरै दशवर्ष लामो ! उहाँको खासियत वा विशेषता के थियो भने आफ्नो दावेदारीलाई अरुले हावादारी ठान्छन् भन्ने संकोच उहाँले कहिलै सञ्चित राख्नुभएन मनमा । प्रसङ्गवश निस्कने हरेक कुरामा दसबर्से अनुभव आफुले बोकेको गौरवशाली अफ्नो विगत अवगत गराउन उहाँ कहिलै चुक्नुभएन । एकै समयमा आठ आठ घन्टा समय दिएर चारवटा संस्थाको अनुभव हासिल गरेको कुरा मान्ने हो भने पनि मैले सुनेका उहाँका दसबर्से अनुभवको गणितीय हिसाब मेरै कानले सुनेमुताविक व्यष्टिमा निकाल्दा कम्तीमा उहाँको उमेर हजार वर्षको हुनुपर्ने हो । समष्टिमा हिसाब गर्ने हो भने त कति हजार पुग्थ्यो त्यसको अनुमान मजस्ता लठुवाले गर्न सम्भव छैन ।

उहाँ दिवङ्गत हुनुभन्दा दशवर्षअघि र आजभन्दा बीस वर्षअघि उहाँलाई अन्तिम पटक भेट्ने साइत जुरेको थियो मेरो । हामीबीच भेटघाट नभएको दस वर्षभन्दा बढी भइसकेको थियो र दसबर्से तजुर्बाको बखान गर्ने बानी उहाँको फेरियो होला कि भन्ने खुलदुली मेरो मनभित्र हुँडलिइरहेको थियो । सिमेन्ट भित्तामा पोत्ने (प्लास्टरको) कुरा प्रसङ्गवश निस्कनासाथ आफुले सिमेन्ट पोतारेहरुलाई दस वर्षसम्म कजाएको दाबी गर्दै उहाँले आफ्नो नानीदेखिको बानी नफेरिएको छनक मलाई दिईहाल्नुभएको थियो र म दङदास परेको थिएँ । अजब अनुभव भएका गजब मान्छे भएकाले अहिले पनि उहाँ मेरो आँखा वरिपरि नाचिरहनुहुन्छ, बाँचिरहनुहुन्छ ।

उहाँको मुखजबानी अनुसारका अनुभवलाई दसले गुणा गरेर उहाँलाई अष्टचिरञ्जीवीतुल्य साबित गर्ने मेरो मक्सद कदापि होइन । उहाँका अनुभवका गाँठाहरु जोड्दा उहाँभन्दा धेरै ज्येष्ठ नरनारीहरु पनि आफू उनीभन्दा कान्छो वा कान्छी रहेछु कि भन्ने भ्रममा पर्थे भन्ने गुप्त कुराको भेद खोल्ने नियत पनि मेरो होइन । त्यो गुप्त कुरा म गुप्त नै राख्न दृढप्रतीज्ञ छु । बरु म त उहाँसितका एक दुई रोचक प्रसङ्ग प्रस्तुत गर्न तम्सिएको छु ।

एकपटक हाम्रो केटौले उमेरको जमातले पाठशालाबाट फर्कने बाटो हिड्दै थियो । हिँडिरहँदाको समयको सदुपयोग गर्न हामिले भूगोल विद्याको चर्चा गर्दै थियौँ । अक्षांश, देशान्तर, अनुलोम, विलोम, समुद्री धार, समताप वा समवर्षा रेखा आदि भूगोलका दुरुह विषयवस्तु भएको ठोकुवा हामी गर्दै थियौँ । त्यस्तैमा उहाँ टुप्लुक्किइहाल्नुभयो । उहाँले हाम्रो ओठबाट फुस्केको भूगोल भत्रे शब्द सुनिहाल्नु भएछ । अनि त आफ्नो तर्जुबाको बखान गर्न उहाँ तम्सिहाल्नुभयो, उद्यत भइहाल्नुभयो र भन्नुभयो –‘बुझ्यौ केटाहरु हो, त्यो तिमीहरुको भूगोल भन्ने ठाँउमा त म दस वर्षसम्म बसेको छु । त्यहाँका काफल भन्छौ भने चौपट्टै ठुला हुन्छन् । सप्रेका असिनाका दानाभन्दा पनि ठूला काफलका दाना पाइन्छन् त्यहाँ, झन्डै लोकल कुखुराका अण्डा जत्रा ! रसिला पनि उत्तिकै ! म त काफलको रुख भनेपछि पातपात पुग्ने मान्छे परेँ । तर मेरो एउटा साथी भने रुख चड्न सक्दिनँ, भुईँका काफल खान्न भन्ने खालको थियो । त्यसैले मैले ताजा पाकेका काफल टिप्दै रुखमुनि बसेको साथीलाई दिन्थेँ । उसले विकेट किपरकै भाँती, चुम्बकले फलाम समाते जस्तै गरेर मैले फ्याँकेका काफल समाउँथ्यो । एकपटक कसोकसो पर्न गएछ कुन्नि, काफलको एक दाना उसको पन्जाको साटो पुर्पुरोमा ठोकिन पुगेछ, बजारिन पुगेछ । ऊ त ढनक्कै ढली पो हाल्यो, अल्पमतको प्रजातान्त्रिक वा लोकतान्त्रिक सरकार ढलेजस्तै गरेर ।

जनयुद्धबाट गौरवशाली पार्टी मतयुद्धमा हाम फालेजस्तै गरी मैले टुप्पाबाटै फेदतिर हाम फालेँ । जनविरोधीलाई ताकेको निशानामा परेर बेकसुर अल्पबोधी छटपटाएजस्तै साथी छटपटाइरहेको थियो । मैले कँधेसोमा बोकेर उसलाई अस्पताल पुर्याहइहालेँ । मेरो यो बोकाइ बलशाली वायुले जस्तै आँधीबेहेरी ल्याएर विकृति हुत्याउन तम्सिएकालाई नथ्याएर भैरवनाथ गणमा बेपत्ता पार्ने अकाजु बस्नेत वा जनआन्दोलन दबाउन टुप्पीदेखि पैतालासम्मको बल लगाएर क्रूर दमन गर्ने ठोकमानसिंह कार्कीलाई दाहाल दाइ र भट्टराई भान्दाइले काँधमा बोकेर अख्तियारको हतियार सुम्पेजस्तो घिनलाग्दो थिएन, चोखो र चाखलाग्दो थियो । त्यसरी मैले गरेको उद्धारको तोडको झल्को अहिलेसम्म पनि तीनचार दिन झरिबादल हुँदा यस काँधले उकल्झिँदै बल्झिँदै दुख्दै गरेर अझै दिलाइरहेको छ, बुझ्यौ ? तिमी काउडाहरुलाई त “भूगोल” पढ्न र बुझ्न समेत गाह्रो परेको होला, हैन ? ” प्रसङ्ग टुङ्गाउँदै हाम्रो सहमति खोज्नुभयो उहाँले । कागले कान लग्यो भन्दा कान नछामी कागको पछि दगुर्ने हामी विचराहरुले ‘होइन’ भन्न के सक्थ्यौं र ? ‘हो’ भन्दै टाउको झड्कारीहाल्यौं । तीन तोलाको जिब्रो फड्कार्नु भन्दा गिदीको गुफाको रुपमा रहेको तीन धार्नेको टाउको झड्कार्न सजिलो पनि त हुन्छ ।

सम्झनलायकको अर्को उहाँसितको भेटघाट बाँगी खोला र ध्वाँसे खोला (एक स्थानीय खहरे खोला)को दोभानमा भएको थियो । त्यस दोभानमा बनेको तीन हात गहिरो रहलाई हामी तीन सल्ला डुबाउने रह भनेर बढाइचढाइका साथ चर्चा गर्थ्यौँ । उत्थानको नारा लगाएर सुरापान र फिलातानमा तल्लीन रहँदै आलिसान भवन निर्माण गर्न त नेता र तिनका संगठनलाई छुट छ भने ल्वाङफुलीलाई हिउँचुली भनेर दाबी गर्न हामीले नपाउने कुरा के थियो र ?
अँ त, हामी त्यस रहमा रमाईरमाई पौडीमा रल्लिइरहेका थियौँ । त्यति नै बेला हामीमध्येको बुज्रुक ठिटो पारास्वरले भन्यो – ‘ पानीमा हात खुट्टा नफन्काई पानीमाथि उत्रिन त मृत सागरमा मज्जा हुन्छ रे । नुनको मात्रा धेरै घुलेको ज्यादै घनत्वयुक्त पानी भएकोले त्यहाँको पानीले मान्छेलाई पानीको सतहतिरै धकेल्छ रे ।’

उसको कुरा भुइँमा खस्न नपाउँदै सबैले एक स्वरमा भनिहाल्यौँ – “आहा ! मृत सागरमा मस्तिसित मन्दाउले पौडी खेल्न क्या मज्जा हुन्थ्यो होला ! ”

गाईगोरु चराउन बेँसी झरेका जिबा ठूल्दाइले रोमान्चका साथ चर्चा गरेको मृत सागर शब्दलाई आफ्ना कर्णकुहरमा छिराइहाल्नुभएछ । अनि त उहाँ वाइन्ड मिलजस्तै तुरुन्तै स्टार्ट भइहाल्नु भो –‘ तिमी नाथेहरु मृत सागरमा पुग्न त सपनामा पनि सकोइनौ ! यो ज्यानले भने मृत सागरको किनारामा डेरा जमाएर दस वर्ष बिताएको छ, बुझ्यौ ? आहा ! त्यहाँ हुने माछाको के कुरा गर्नु ! चुत्थो माछा पनि दस धार्नीभन्दा कमको नहुने गाँठे ! माछा मिठा काँडा तीता भन्छन् तर त्यहाँका त माछाभन्दा काँडा नै मिठा हुने । सम्झँदा पनि मुखै रसाउँछ !’ नभन्दै उहाँको मुख दस तोला र्या लले भरियो र उहाँले प्याच्च प्याच्च दस पटकसम्म थुक्नुपर्यो ।

आफ्नो फाँटबारी जारी राख्दै उहाँले अगाडि भन्नुभयो — ‘मेरा यी दर्शन ढुङ्गा पनि चपाएर मिहिन पार्ने बुता भएका दाँतले ती काँडा त नादी (ठाउँ विशेष ) को जाँताले जस्तै धुस्नु पार्थे । माछा खाँदाखाँदै मिच्छिएर कहिलेकाहीँ त हलहले वा जलुकेको झोल खान मन कल्पिन्थ्यो । सिन्की वा सुकेसाग ( गुन्द्रुक ) पाए त कवाफ भन्दा स्वादिलो होला जस्तो लाग्थ्यो । माछा लमर्काउँदा लमर्काउँदै यो जीउ त थाक्सिएर चिउरी पेल्ने कोलको पाथीभन्दा पनि दसगुना ठूलो भएको थियो,बुझ्यौ ? बोसो धेरै बढेकाले डाक्दरले भुँडी च्यातेर दस धार्ने बोसो निकालीदिएको थियो मेरो ! अहिले पो सुईँखट्टे भइयो र !’ उहाँले कुखुरे छाती फुलाउँदै फलाक्नुभएको थियो ।

दस वर्षदेखि नै आफू परदेसिएको दावी गर्ने दाइ मृत सागरमा पुगे होलान् भन्ने कुरामा शङ्का जीवन नगर्न सकिन्थ्यो तर कुनै पनि प्राणीको जीवनवृत्ति टिक्न नसक्ने खारिलो पानी भएको समुद्र भएकोले नै त्यसलाई मृत सागर भनिएको हो भन्ने थाहा हामीले नपाएको भए उहाँको चोपिलो कुरा पत्याउन कति मज्जा हुन्थ्यो होला भनेर हामीले आफ्ना तिखुले पुर्पुरा समायौं र थकथकायौं, सेनाका नाइकेलाई हटाउन नसकेको तोडमा सत्ता छोड्न पुगेका गौरवशाली दलका नाइके पछि फुर्सदमा थकथकाएजस्तै गरेर ।

उहाँको दसबर्से अनुभवको बखान गर्ने बानीले उहाँ आफैलाई बेलाबेलामा तातो भौरो आफूमाथि खनिएको अनुभव गराउँथ्यो तापनि नानीदेखि लागेको बानी फेर्ने गल्ती उहाँले गर्नुभएन । महान् नरनारी तिनै हुन् ,जसले उत्पन्न चुनौतिपूर्ण स्थितिको सधैँ सामना गर्छन् तर बानी फेर्दैनन् ।

एकपटक उहाँले जिजुआमा बनिसकेको र जिब्रो टोक्ने घडी सँघारैमा आइपुगेको पितृजस्तो भैंसीलाई परार ब्याएको थोरे भनेर दाबी गर्दै बेच्नुपर्ने अवस्था आएछ । उहाँले जोसिएर छाती ठोक्दै ग्राहकसित भन्नुभएछ – “यस गुनी भैँसीले दुइटाभन्दा बढी पाडा फालेको कसैले साबित गर्छ भने मेरो जुँगा मुडिदिनू । खन्चुवा कस्तो छ भने दस मुठी पीठोमा दसै माना गोबर रेगटेको कुँडो दिए पनि थुतुनो नझिकी दस सेकेन्डमै ताउलो रित्याउँछ । दूध घिउको त राजा नै छ साँढी । छेलोखेलो हुने गरी गोरस खाएर पनि हरेक बेतको दसदस टिन घिउ त यिनै हातले बेचेको हो भन्ने कुराको देखी जान्ने साछी ठूटीपिपलको साप्रे न्यार (नेवार) छ । हरेक बेतको दसै टिन घिउ उसैले बेसाएर बटौली (बुटवल) पुर्याउने गर्थ्यो, नपत्याए सोधे हुन्छ । के गर्नु, यस्तो गुनी भैंसी थाम्न सकिएन !”

भैँसीको तारिफै तारिफ सुनेपछि गाहकी पनि लोभिएछ । बोल्नेको पीठो बिकेछ ,भलै नबोल्नेको चामल नबिकोस् । मोलतोल थितिएछ, नौ नगद तेह्र उधार भन्दै दस बीस (दुई सय) महेन्द्रमल्ली खुरमै गनिदिएमा ठूल्दाइले भैँसी फुकाइदिने भएछन् । मालले मोल खान्छ भनी चित्त बुझाएर खन्खनी धन गनी गाहकीले भैँसी फुकाउन लगाएछ ।
आधा बाटोभन्दा दस फल्र्याङ्ग बढी बाटो के नाघेको थियो, दाइको कुरा झलक्क सम्झेर गाहकी झसङ्ग भएछ, डरलाग्दो सपना देखेर बिउँझेजस्तो भएछ । दस बेतसम्म दसदस टिन घिउ यिनै हातले बेचेको भन्ने दाइको जोसिलो उद्गार साइरनजस्तै गरेर उसको दिमागमा गुन्जीएछ, मथिङ्गलमा कचिङ्गल मच्चिएछ । अनि त डिङ्नाले भैँसी ठटाउँदै सो भैँसी फिर्ता गर्ने सुरले बाटो तताउन उसलाई निमेषभरको समय पनि लागेनछ । दाइको थरीमा भैँसी नपुगुन्जेल उसले राम्ररी सास पनि फेरेनछ ।

किलामा भैँसी अल्झाएपछि पाखुरा सुर्कँदै दाइका दलानतिर लागेछ ऊ । दाइ भने खलाँती परेको बुढो भैंसी पन्छाएँ भनेर केही छिन दनादन काखी बजाएपछि भर्खर सुस्ताएका रहेछन् । यतिबेला गाहकीले भैँसी आफ्नो थरीमा पुर्यााइसकेको होला भनेर मनमनै खित्किरहेका दाइ उसलाई देख्नासाथ मसानसित जम्काभेट भएजस्तो गरी तर्सिएछन्, छाँगाबाट खसेजस्तै भएछन् । गाहकी गर्जिएछ –“दस बेतसम्म दस दस टिन घिउ बेचेँ भनेर पनि आफै धाक लाउने अनि दुइटा मात्र पाडा फालेको भनेर त्यही पितृ डाम्नु मलाई भिराउने ? चाहिँदैन तिम्रो साँढी मलाई ! टिनका टिन घिउ तिमी नै खाऊ, तिमी नै बेच !”

एकछिन त दाइ इन्तु न चिन्तु, अक्क न बक्क भएछन् तर तुरुन्त सम्हालिँदै कुर्लिएछन् – मैले दुईओटा भन्दा बढी पाडा फालेको छैन भनेर के बिराएँ ? बाँकी त पाडी पो जन्माएको हो यसले । बेचेको माल फिर्ता हुन्न मियाँ ! सापटी लगेको हो र फिर्ता ल्याउनलाई ? तीर कमानबाट, बात जमानबाट फुत्केपछि फुत्क्यो फुत्क्यो । एकपटक बेचेपछि भैँसी तिम्लाई बेचेँ बेचें । गर्धन सेर्छु, अपहत्ते गर्छु भन्छौ भने पनि बेपार अब उल्टिन्न । दुईजिब्रे होइन म, कुरो फेर्नलाई । जसरी ल्याएथ्यौ उसैगरि लैजाऊ तिम्रो जेमदान ! बरु दुइबेते भनेको त दस बेते भैँसीमा पो ठगिएछु भन्दै औरन फलाक्दै नहिँडे, नत्र इजेत तिम्रै जानेछ । व्यापारमा हारेको र स्वास्नीले जारेको कुरा अरूसित भन्दै हिँड्दा आफू नै नामर्दमा दरिइन्छ भन्ने अर्ती अधेलो नलिई दस वर्षदेखि बाँड्दै आएको छु मैले, तिमीलाई पनि बाँड्छु । म आफैलाई मेरी स्वास्नीले दिनमा दसपटक जारे पनि मैले यसबारेमा कसैसित आँ गरेको रहेछु भने मरिजाम् !

“के रे ? के रे ?” भन्दै गुन्यु माथितिर सुर्कँदै दाइको झेँको झार्न भाउजू कुर्लदै चुलोबाट बुर्कुसी मारेर दलानमा दाखिल भइछन् । गाहकी भने अब भाउजूको समेत झपाराइ खानुपर्ने भो भनेर तर्सिएछ र लोप्रे कान लगाउँदै मरेको बिरालो काखी च्यापेर उकालो चढ्ने बटुवाजस्तै भैँसी फुकाएर बाटिएछ ।

०००
सन्धिखर्क–१ तुम्कोट, अर्घाखाँची
´छक्का` निबन्धसंग्रह (२०७०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x