होम सुवेदी‘क’ र ‘ग’ बिताउन सकिन मैले
क बिताउने ग बिताउने गाँठो परे यस्तो कात्तिकमा डाँगा छाउरी गाँठो परेजस्तो । सधैं हरन बज्ने थोत्रो गाडी गुडाउँदैछ, ग बिताउन तुली गाँडो घोक्रो फुलाउँदैछ । लुते कुकुर बनेर आफू ता परबाट हेरेको हेरेकै ।

होम सुवेदी :
‘अ’ बिताउन सक्या होइन ‘क’ बिताउने कैले ? ‘क’ बिताउन नसक्नाले घाटा लाग्यो ऐले ।
मेरै आफ्नी बाहुनीले ‘क’ बिताउन थाली, मेरो कैले आउने होला ‘क’ बिताउने पालि ।
‘क’ बितायो फेदाङ्बा कान्छाले आफू भने हेरेको हेरेकै ।
‘क’ बिताउन जान्या भए सभापति हुन्थें गिजोल गाउन जान्या भए पर्मुख नै बन्थें
दुवै थोक नजान्नाले ठगिएछुु यस्तो बिहे गरी ब्यौली नली आउने बेउलो जस्तो ॥
गिजोल्यायो गोज्याङ्ग्रो कान्छोले आफू भने हेरेको हेरेकै ।
पल्ला गाउँको गोज्याङ्ग्राले गाँड कोर्दाकोर्दै ‘ग’ बिताउन सिकिसक्यो गिजोलगाजल गर्दै
गिजोलगाजोल गर्नेहरु पाखा पखेरीमा उम्रिए कि घरघर माझै मझेरीमा ।
गिजोल्याउने गाउँभित्र उम्रिए ‘क’ बिताउने हेरेको हेरेकै ॥
‘ग’ बिताउने गाजलेको भिड बढ्यो यस्तो साँझ पख भट्टीभित्र जाँड धोक्ने जस्तो
गेडो गुदी चाँहिदैन गबिताउनलाई चटारिइ हिंडेछ कि मानौ राघी गाई
गिजोल्याउनु सारै नै सस्तो छ बारै काल गाईजात्रा जस्तो छ ।
गोठगाउँको गाजलेले गिजोल्यायो यस्तो गड्तिरको गोज्याङ्ग्राले फलाकेको जस्तो
गज्याङ्गुजुङ् गिजोलोले गर्नु गरेको छ बारै काल गिजोलोको झरी परेको छ ।
गाँठो पर्छन् गिजोल्ने गाउँ भरि आफू भने हेरेको हेरेकै ॥
मैले पनि ‘ग’ बिताउने धामा गरेको थें ‘क’ को साटो गको केही बिउ छरेको थें
उम्रिएला भन्ने आश मार्नु पर्यो यस्तो मुस्किल भयो अक्कासको फल झार्नु जस्तो ।
ओल्लाघरे पल्लाघरे सबै गजल कोर्ने आफू भने के भएको आफ्नै गाँड कोर्ने
धुसेनीका कोक्ल्याँटाले गिजोल्यायो यस्तो पक्का भैंमा बूढो भैंसी छेर्दैछ कि जस्तो ।
उम्रदैका गिजोल्न थालेछन् आफू भने हेरेको हेरेकै ॥
खोल्याङको कुन्डलेले गजल गाउँन थालो यता हाम्रो मुन्द्रे पनि भन्छ मेरो पालो
घमासान पर्ने हो कि कसले कस्को सुन्थ्यो मेरो पालो ‘क’ बिताउने अर्को उता भन्थ्यो
मन्च भित्र मारामार चर्कियो आफू भने हेरेको हेरेकै ॥
हिजो पनि पल्लो गाउँमा यौटा गोष्ठी भाथ्यो सिरान् घरे रिठ्ठे पनि त्यतै तिर गाथ्यो
भूत पूर्व पन्च पर्धान् अर्कैतिर लागे रिठ्ठे लाई पर्मुखको आसनामा राखे ।
चानस परो गणैका लोग्नेलाई आफू भने हेरेको हेरेकै ॥
गाउँ घर्की सोत्तर् भन्ने नाम कमाएकी पर्धानका पञ्चज्यूले भुँडी बोकाएकी
आजभोलि भासनमा गजल गाउँछिन् यस्तो कलिजुगमा सीताजी नै पर्कट भैछिन् जस्तो ।
जँड्याहाले कविता गाउँछ आफू भने हेरेको हेरेकै ॥
हिजै मात्र धुसेनीमा अर्को गोष्ठी भाछ पर्मुखको आसनमा त्यहाँ खाँचो राछ
त्यहाँ पनि हतार् हतार् रिठ्ठे पुगिहालो फर्किएर नआउने भो अब मेरो पालो ॥
पर्जातन्त्र छाडी ऐले गनतन्त्र थाल्यौं छिंड् परेको सुर्वाललाई फेरि पनि टाल्यौं ।
यै मौकामा अञ्चलाधीश गजल गर्न थालो ध्वाँसो दली सेतो कुकुर भएछ कि कालो ?
पाङ्दुरले प्रर्मुख पाएछ, आफू भने हेरेको हेरेकै ॥
जखमले भाले कान्छो ओछ्यान ओछ्यान चार्थ्यो गाउँघरका चेली बेटी आच्छुआच्छु पार्र्थ्यो
उतिखेर चेलीबेटी बेच्न पल्केको थ्यो भन्थे उसकै बुहारीका साथ सल्केको थ्यो
उसले आजै ‘क’ बिताउँदा सम्मान पायो यस्तो साहित्यको ठेकापट्टा गर्दैछ कि जस्तो ।
सम्मान पत्र उसैलाई चढाए आफू भने हेरेको हेरेकै ॥
झिल्के काइँलो गाउँभरि किस्न लिला गर्थ्यो पर्सासन उसैलाई पुजा आजा गर्थ्यो
करनीको मुद्दा एउटा उसलाई लागेको थ्यो टाप ठोकी रातीराती पारि भागेको थ्यो
हिजो आज फर्किएर गोष्ठीतिर धाउँछ पर्खिने हो भनेदेखि सबको पालो आउँछ ।
पालो आउनु अरुलाई मात्र भो आफू भने हेरेको हेरेकै ॥
डन्डीबियो खेल्थ्यो हाम्रो झ्याम्ले बारी बारी डन्डीबियो खेल्दाखेल्दै नक्कलझक्कल पारी
लभलाभ गर्नलाई गजल गाउन थाल्यो आफ्नो भने फर्किएन गजल गाउँले पालो ।
झ्याम्ले पनि गजलमा छाएछ आफू भने हेरेको हेरेकै ॥
डिठ्ठा बाजे चिहानको आलो लास खन्थे त्यसैबाट ल्याप्चे लगाइ जग्गा जमिन तान्थे
गोष्ठीहरु जता हुन्छन् उतैतिर धाछन् आज उनै यस ठाउँका महाकवि भाछन् ।
मान पायो ग्याँचेका पोइले आफू भने हेरेको हेरेकै ॥
बल्ल बल्ल आउँदै थियो मेरो पनि पालि, के गर्नु र आइ पुगी मेरै आफ्नी साली
झगडाको बिउ होला भन्दै छाडें पालो टुप्लुकियो उसै बेला मेरो कान्छो सालो ।
आफ्नो पालो सालीलाई दिएर आफू भने हेरेको हेरेकै ।
कविताउन बल्ल मिल्यो साली चढी माथि अरु चढ्नु भन्दा बरु साली चढ्या जाती
मन्च तिर यौटा मान्छे यसै बेला आयो मैले साली पठाकोमा राता आँखा लायोे
पैली मेरी सालीतर्फ त्यसले आँखा हान्यो उसले त्यही निहूँ पारी मलाई आँखा तान्यो ।
सभालाई टाढैबाट अँठ्याउँदो रैछ, सभापतिज्यूको त्यो ता जेठो छोरो रैछ ।
भित्रैबाट डर लाग्यो भयो कस्तो कस्तो हेर्दा लाग्थ्यो भैं खोसिंदै मुत्ने राँगो जस्तो ।
पर्न लाग्यो कौरवको लडाइँ आफू भने हेरेको हेरेकै ।
झाङ्गलझुङ्गल पार्दैपार्दै सालीतर्फ आयोे त्यसै बेला मञ्चबाटै उसले मुड्की खायो
घम्साघम्सी परेजस्तो परबाट देखें लाग्यो मलाई कविताउन व्यर्थै केके लेखें ।
क बिताउने ग बिताउने गाँठो परे यस्तो कात्तिकमा डाँगा छाउरी गाँठो परेजस्तो ।
सधैं हरन बज्ने थोत्रो गाडी गुडाउँदैछ, ग बिताउन तुली गाँडो घोक्रो फुलाउँदैछ ।
लुते कुकुर बनेर आफू ता परबाट हेरेको हेरेकै ।
‘क’ बितायो फेदाङ्बा कान्छाले आफू भने हेरेको हेरेकै ।
०००
गाईजात्रा २०७०
भद्रपुर, झापा









































यो अ क र ग केकेका प्रतीक हुन् कुन्नि