साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सपनामा नोवल प्राइज देख्छु

कुनै पनि विधामा म नबिसाई लेख्छु, सोचि सोचि अब भित्तो पुऱ्याएरै लेख्छु ठानेको छु भाषालाई धनी पार्न मैले सपनामा 'नोवल प्राइज्' पाएको म देख्छु।

Nepal Telecom ad

लोकनाथ उपाध्याय चापागाईं :

साहित्यिक बन्धुहरू सुन मेरो गाथा
सानैदेखि कवितामा थियो मेरो नाता
भ्रामरीको दशा त्यसैदिनबाट लाग्यो
जहिलेबाट समाउँछु लेखनी र खाता।

बाको अर्ति-उपदेश मानिनछु मैले
जागिर, बेपार केही छानिनछु मैले,
यताउति सोच्ने शक्ति साहित्यमै खर्चें
पैसा कमाउन पनि जानिनछु मैले।

कविलाई लेख्न पाए केही चाहिँदैन,
गाउँघर, वरपर कतै जाइँदैन,
लौन मेरो पाण्डुलिपि छापिदेओ भाइ।
भन्दा पनि छापिदिने कोही पाइँदैन।

निम्तो पाए कवि गोष्ठीतिर पनि जान्थें,
लय हाली कविता म कण्ठस्थ नै भन्थें,
मेरो आफ्नै लय थियो मेरो आफ्नै शैली,
भित्रभित्रै आफूलाई ठूलो कवि ठान्थें।

यहाँ एउटा कुरो सबै साथी-भाइ जान,
साहित्यको भरपरी पाइँदैन खान,
यौटा यौटा गरी मेरा पाँचवटा कीर्ति
प्रकाशित भए पनि पाइएन मान ।

यौटी केटी थिइ राम्री झिम्क्याउँथी आँखा,
त्यसैले नै सिकाएकी पिरतीको भाका,
म ता कवि पो हुँ भनी जब उसले जानी
त्यसपछि ता तर्न थाली उसैले नै आँखा।

साहित्यिक भनेपछि तर्किहिँड्थे केटी,
कान्छी लग्यो जन्तरेले मलाई परी जेठी,
उमेर भिड्केपछि बिहे भयो बल्ल बल्ल,
गल्ढ्या‌ङ्ग्री छे, राम्री त लौ कसले दिन्थ्यो केटी।

छोरा छोरी भए, बढ्यो गृहस्थीको खर्च,
बेला बेला श्रीमतीको घुर्की सुनु पर्छ,
श्रीमतीले रोटी बेल्दा डर लाग्ने गर्छ
कहिलेकाहीँ बेल्नी मेरो टाउकैमाथि पर्छ ।

नानीहरू भल्ट्याङ भुलटुङ् स्कूल जान थाले,
तिनलाई कसरी तँ हुर्काउँछस् काले ?
कागज-कलम हातमा ली लेख्न मात्रै बस्छस्
यस्तो धन्धा किन गर्छस् ? भन्नुहुन्थ्यो बाले ।

मेरो साथी साइँलाले राजनीति थाल्यो,
थालनीमा उसले धेरै पैसा पनि फाल्यो,
चुनाउमा जितेपछि जाग्यो उसको भाग्य,
त्यसैबाट लाखौँ लाखौँ कमाउन थाल्यो।

मेरा साथीहरू भन्थे “छिंड परेको चुङ्गो,
खोजे पनि पाइँदैन कतै मेरो टुङ्गो”,
संघ-संस्थातिर लागे टाठा-बाठा जम्मै-
कुर्सी ओगटेर बसे, मर्दै भएँ बुङ्गो।

बल्ल अब जाने मैले के के गर्नुपर्छ-
ठूला ठूला संस्थातिर आँखा गाड्नु पर्छ
साहित्यका अनुरागी त्यति सोझा हुन्नन्
ती जम्मैको आन्द्रा-भुँडी छाम्न जानुपर्छ ।

धेरै धेरै कृतिहरू लेखेको छु भाई
पालैसित तिनलाई छाप्छु फाइ फाई।
जैले मेरो साहित्यले गम्काउँछ डम्फू
बल्ल मैले सम्वर्धना पाउनेछु दाई।

कुनै पनि विधामा म नबिसाई लेख्छु,
सोचि सोचि अब भित्तो पुऱ्याएरै लेख्छु
ठानेको छु भाषालाई धनी पार्न मैले
सपनामा ‘नोवल प्राइज्’ पाएको म देख्छु।

०००
सिलगढी, दार्जिलिङ
साउती, बाह्राैँ भाग (२०७३ चैत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मलाई नटेर्ने ??

मलाई नटेर्ने ??

होम सुवेदी
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
0
Would love your thoughts, please comment.x
()
x