सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

राजतन्त्र कि लोकतन्त्र ?

चुनिएको नेता राजधानी पुग्छ र उतै महल बनाउँछ, अनेक नैतिक अनैतिक धन्दामा डुब्छ । मानौ निर्धा नागरिकको भोट उसलाई राजस्व, घुस र भ्रष्टाचार गर्ने लाइसेन्स बनेको छ । लाइसेन्स प्राप्त लुटेराले देश र जनता नलुटेर के गरोस् त ?

Nepal Telecom ad

महेन्द्र उपाध्याय :

फित्काैलीकाे खित्काैली युटुव च्मानलमा हामी अर्को एउटा हास्य श्रृङ्खला लिएर उपस्थित भएका छौँ । यो नयाँ हास्यश्रृङ्खला समसामयिक राजनीतिक तथा सामाजिक पर्यावरणमा केन्द्रित हुनेछ । ‘गसिप विथ गरिमा’को यो दाेस्राे श्रृङ्खलामा गणतन्त्र भर्सेज राजतन्त्र सम्बन्धी अहिलेकाे युवा पुस्ताकाे धारणा समेटिएकाे छ । ट्वाक्कटुक्क ठट्यौलीको स्वरुपमा संयोजित यस किसिमको प्रस्तुतिले सबैलाई मिठो मनोरञ्जन दिनेछ भन्ने विश्वास हामीले लिएका छौँ । तपाइँहरूको लाइक, कमेन्ट, सेयर र सस्क्राइवले हामीलाई यसका अरु श्रृङ्खला प्रस्तुत गर्न हौसला प्नाप्त हुनेछ । यहाँ प्रस्तुत छ ‘गसिप विथ गरिमा’को यो दाेस्राे श्रृङ्खलाकाे स्क्रिप्ट । भिडियाे सामग्री हेर्न चाहिँ युटुव च्यानलकाे याे लिङ्कमा जानुहाेला ।  a8BqGb-JIyU 

हाम्रो देशको राजनीति के हो ? कहिले राजा नराम्रो देखिन्छन्, कहिले अब नेता नराम्रा भए । फेरि तिनै राजा नल्याइ भएन रे !
धन्न जनता राम्रा छन् र देश बचेको छ है ।

राजनीति भनेको ‘रीसाइकल बिन’ हो राजाको जमाना सकियो भने ‘गणतन्त्र’ भनेर रिसाइकल गर्छन् । अब नेताहरू बिग्रे रे ! ‘राजा ल्याऔँ’ भनी हिँड्या छन् । अनि जनता भने ‘प्लास्टिक झोलाजस्तै भएका छन्‌– जस्लाई चाहिन्छ उसैले प्रयोग गर्छ । फाल्छ ।

हिजो राजाले लुटे भनेर सडकमा नारा लगाउनेहरू नै आज ‘राजा फर्काऔँ’ भन्दैछन् ! यो उस्तै भयो, ‘पहिले पुरानो माया छोडें’ अनि पछि ‘फेरि ब्लक खोलेर हेलो’ भनेर म्यासेज गर्ने जस्तो ! अचम्मै छैन त ?

अहिले नेपालका जनता तीन किसिममा बाँडिएका छन्‌ः
एक राजवादी – जो भन्छन्‌– राजा आऊ देश बचाउ । हाम्रो हुत्ती छैन । राजा आऊ, देश बचाऊ ।
अर्का छन् गणतन्त्रवादी– जो भन्छन्, ‘लोकतन्त्रले हामीलाई स्वतन्त्र त बनायो । बनाएकै हो र ? कसैलाई थाहा छ कि हात उठाउनुस् त ?
अनि अन्तिम हुन्‌– ‘बिचरावादी’ । राजा आए पनि ठिक, गणतन्त्र भए पनि ठिक ।

अब फेरि अर्को खेमा पनि तयार हुँदैछ । अस्ति एउटा आईटी पढ्ने भाइ भन्दै थियो । दिदी, न राजा चाहिन्छ, न नेताहरू ! म चाहिँ ‘देश चलाउने सफ्टवेयर’ बनाउँछु ! त्यही सफ्‌टवेरले चलाइहाल्छ नि देश !

राजतन्त्रमा पनि रमाइलो थियो । राजालाई भगवान् मान्ने जमाना थियो । मान्थे सबैले । उहिले कर याने ट्याक्स हैन भेटी चढाउँथे है । राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरे ! राजा महेन्द्रले पञ्चायत ल्याए ! राजा ज्ञानेन्द्रले ‘कु’ गरे !

त्यो बेला राजा चोर देश छोड भन्थे है । अहिले राजा आऊ देश बचाऊ रे ! यही हो राजनीति । कुरो गजप लाग्दो छैन त ?

मलाई त लाग्छ नेताको अनुहार बेला बेला देखिरहनु पर्ने हुन्छ । त्यही औडाहाले राजा बोलाइरहेका छन् । एक चोटि राजा बनाएर पठाइदिए पछि त सदियौँ सदियौँसम्म भोट माग्न कोही आउन्न । आउनै पर्दैन । जनताको टाउकै दुख्दैन हैन र ?
तर राजा भने कहिल्यै भोट माग्न आउदैन ! गाली गर्नु पनि पर्दैन । राजा गाउँ पनि आउँदैनन् । है क्या मजा ।

“२०६२/६३ पछि गणतन्त्र आउदा पनि यस्तै त आश थियोे हैन र ? ‘राजा हुँदा देश टाट पल्टियो भनेका थिए है, अहिले आएर अब बाकी केही छैन !’

राजा आउन अलि ढिलो गरे भने नारायणाहिटी पनि लोकतन्त्रले खाइदिन सक्छ । लाईक अ ललिता निवास । लाइक अ बालुवाटार ।

यता लोकतन्त्रको पनि आफ्नै रमाइलो छ । हामीले चाहेकोलाई भोट दिन पुरै स्वतन्त्र छौँ ! र पाँच वर्षसम्म पछुताउन पनि पुरै स्वतन्त्र छौँ ! फेसबुकमा स्टाटस लेख्यो गाली गर्‍यो । रिलमा भिडियो क्लिप हाल्यो । ट्राेल गर्‍यो । बस् ।

के चासो हैन, दुनियाँको मलाई ?
दुनियाँले नगरोस्, अप्ठ्यारो मलाई ।

भो भो, पर्दैन, म यहीँ ठीक छु,
न सानो, न बन्नु छ ठूलो मलाई ।

राम्रो भनेको तिमी जस्तो हुनुपर्छ,
बन्नुनै छैन त्यति राम्रो मलाई ।

बनेँ आफैँ बरफ, मलाई छोएर,
जो जो भनी हिँड्थे, आगो मलाई ।

यतिमै बुझ्यो है ? तिम्रो पनि चित्त,
अलि बढी चाहिन्छ, अँध्यारो मलाई ।

मनै छु अहिले ईश्वरको निधारमा,
धन्यवाद जस्ले बनाए धूलो मलाई ।

ऊ दुख सुनाउँछ, म रोई बस्छु,
यहीँ बानी मन पर्छ, मेरो मलाई ।

तिमीलाई भेट्नुको यही कारण हो,
म खोजी रहन्छु, पुरानो मलाई ।

तिमीले जानै पर्छ, अर्काको जागिरमा,
किन भयो यति चाँडै, निको मलाई ?

तिमी बाहेक अरू को सक्ला कुन्नि ?
पार्न गुराँसजस्तै रातो मलाई ।

हैट, के के कुरो गर्दै थेँ गजलका सेर पो झरेछन् । अँ, सेरको कुरो गर्दा एउटा अर्को सम्झना भयो । छैटौँ सातौँँ पटक बागडोर समाउने जोग छ भन्ने जोगीहरूका सेर के गर्दैछन् हिजो आज ? तपाइँ देखिरहनु भएकै छ, मैले भन्नै परेन । घरी यताको गणतन्त्रे दौराको फेर समाउँछन्, घरी उताको गणतन्त्रे दौराको फेर समाउँछन् । गाह्रो छ यी बाबैलाई पनि । पाँचौ छैटौँ पटक गन्ती गर्दागर्दै राजा आऊ देश बचाऊको लहर शुरू भइसक्यो । हुरी बनेर सपना सबै उडाउँछ कि क्या हो ? अनि उडायाे सपना सबै हुरीले… गीत गाउँछन् बस्छन् त हाेला नि यी बाबै पनि ।

हामी बोल्न स्वतन्त्र भयौँ ! तर हाम्रो बोली सुन्ने कोही छैन । हामी जुलुस निकाल्न स्वतन्त्र भयौँ ! तर अधिकार उपयोग गर्न ?

खास गरेर लोकतन्त्रमा नेताका दुई चरित्र देखिन्छन् : चुनावअघि जनता भेट्न आउने नेता र चुनावपछि गायब हुने नेता ।
यहीँ काठमाडौमै आउँछन् रे । यो देशमा लोकतन्त्र जनतासम्म त पुगेको छैन । तर नेतासम्म चाहिँ पुगेको छ है । उनीहरूका भाइ, बहिनी, साला, साली, साला सालीका सालासालीसम्म पनि पुगेको छ । हामीसम्म पो पुग्नै बाँकी त ।

फेरि राजा आउने कुरा सुन्छु ? राजालाई पनि कति हतार हो फेरि ? जाऊ भन्नासाथ गइहाल्ने । अनि आऊ भन्न पा छैन आउन खोजिहाल्ने ।

तर मजाको कुरो यो हो कि लोकतन्त्रमा देख्न चाहिँ पाइने है ।
– न्यायाधीश कमिसनको बार्गेनिङ गरिरहेको ।
– आइएनजिओले पैसा बाँडेको ।
– गिरिबन्धु सकेको ।
– ललिता निवास खर्लप्पै । अलिअली टुक्रा फिर्ता भएको । बालुवाटर फिर्ता गरेको ।
– वाईड बडी नेपालसम्म आईपुग्दा न्यारो बढीमा बदलिएको ।
– सत्ताका मुख्तियारहरूले नेपाली नागरिकलाई भुटानी बनाएर अमेरिका पठाइरहेको ।
– प्रचण्ड जङ्गल जान्छु भनेको ।
– देउवा बोलेको देखिन्छ, तर बुझिँदैन ।
– अनि के पि बाले भ्रष्टाचार गर्दिन भनेको ।
यी एकसेएक नवीन जोक हैनन् त ? जो हामी देखिरहेका छौँ । सुनिरहेका छौँ र मज्जाले हाँसिरहेका छौँ

राजा हुँदा कसैलाई थाहा थियो त यति धेरै सुन नेपाल आउँछ भन्ने कुरा ? आम्मामामा ! आउने पनि कति हो सुन ?
५० किलो भन्दा तल त कहिले आउदै नआउने भन्या । तर यी हाम्रा नेता चाहिँ साह्रै लोभी ! एक किलाे सुन रे, तीस धुर जति ठुलो च्यादर (पाता) बनाउन सकिन्छ रे । ७० किलो सुन समात्दा पशुपतिलाई त सुनले नै मोड्न सकिने रैछ नि ।
त्यसो गरे गरेनन् । अनि पो भन्न पाइन्थ्यो होला– राजाले चोरेको सुन हामीले फिर्ता गरौं । सबै सबै झ्याप हान्छन् डाँकाहरू । अनि के हुन्थ्यो ? हो त्यै त भइरहेको छ ।

सन्नुस् त, तपाइँलाई के लाग्छ, राजतन्त्र फर्किन्छ ? अहिले केही मान्छे राजसंस्थाको फिर्तिका लागि सडक तताउँदै छन् है ।
कस्सिएर प्रसाईं दाइ लागेका छन् त ? तर उनको पनि पारा खै के खै के ! अघिल्लाे दिनसम्म मा कसम म भाग्दिन भन्दै थिए तिनकुनेतिर यस्सो २/४ सय अश्रुग्यास पड्केकाे के थियो दाइ त बेपत्ता पो हौ ? पुलिसले धुइँपताल खोज्दा पनि भेटिएका छैनन् त ।

के राजा फर्कन्छन् त ? यसै त कसरी फर्कने ? के मा टेकेर फर्कने । रातो कार्पेट टेकेर मात्रै त हुन्न होला । संविधानको कुन धारा टेक्ने ? छेक्नेहरू पनि छँदैछन्, तिनका ढाड कसरी सेक्ने ? यो सब नगरी सुरुक्क नारायणहिटी पसेर खुरुक्क सिंहासनमा बस्दा हुन्छ त ?

राजा फिर्ता ल्याउन पनि जनमत संग्रह’ गरिदिए हुन्थ्यो बरू ! यसो गर्न पनि कहाँ सक्छन् र फेरि ! ‘जोगीदेखि भैँसी डराउने, भैँसीदेखि जोगी डराउने’ उखान जीवितै छ क्यारे !

तर लोकतन्त्रले देशमा जनता कसैलाई बाँकी राखेकै छैन । नीति, नैतिकता, आचरण, बेहोरा सबै त सक्किइसकेकै छ ।
आजभोलि त मान्छेले डबल पार्टीको सदस्यता बनाएर राखेका हुन्छन् रे ! एउटा नयाँ पार्टीको अर्को पुरानो पार्टीको ।
यस्ता दोहोरो सदस्यता बोकेका नेताले जित्न देलान, के लाग्छ तपाईलाई कमेन्ट गर्नुस् है ।

राजालाई त अहिलेका नेताको भोटले नै हराउन सकिन्छ । हैन र ? आज बिहान एउटा नेता एउटा अलपत्रकारलाई भन्दै थियो
‘जनता नै सर्वोपरी हुन् !’ अनि ‘सर्वहारा’ कसरी बने त ? यो राजनीति भनेको पनि ‘नेटफ्लिक्स सिरिज’ जस्तै रैछ । पटक–पटक नयाँ सिजन आउँछ, तर अन्त्य चाहिँ कहिल्यै हुँदैन !

नेता फेरिन्छन्, नारा फेरिन्छन्, तर जनताको हालत कहिल्यै फेरिँदैन ! राजाको पञ्चायत फालेकै ३५ वर्ष भइसक्यो । औँलामा गन्न सकिने दुई चार हजार नेता बाहेक आम जनताको हबिगत फेरियो त ?

राजा आए पनि, नेता आए पनि, जनता चाहिँ ‘भोट बैंक’ मै सीमित रहन्छन् ! ३, ४ वर्षमा चुनाव आउँछ, भोट हाल्यो, नेता चुन्यो, चुनिएको नेता राजधानी पुग्छ र उतै महल बनाउँछ, अनेक नैतिक अनैतिक धन्दामा डुब्छ । मानौ निर्धा नागरिकको भोट उसलाई राजस्व, घुस र भ्रष्टाचार गर्ने लाइसेन्स बनेको छ । लाइसेन्स प्राप्त लुटेराले देश र जनता नलुटेर के गरोस् त ? यति नबुझेसम्म यस्तै त हो चल्ने ।

तर जाँदाजाँदै भन्नै पर्ने कुरा चाहि के हो भने देश बचाउने नेता होइन, सचेत जनता हुन् !! अनि यो एउटा प्रश्न “अब तपाईँहरूलाई सोध्छु— राजतन्त्र चाहिन्छ कि लोकतन्त्र ? जवाफ आउला ।

नेताहरूले जनता स्वतन्त्र बनाएका छन् रे— खासमा अहिले जनतालाई बोल्न नजान्ने बनाएका छन् ! र बोल्ने स्वतन्त्रता दिएका छन् । अनि उनीहरूले चाहिँ लुट्ने स्वतन्त्रता पाएका छन् । हेरौँ यो अवस्था कहिलेसम्म चल्दो रहेछ !!

०००
फित्कौलीको खित्कौली युटुव च्यानलमा प्रस्तुत ‘गसिप वीथ गरिमा’ भिडियो सामग्रीका निम्ति तयार गरिएको र सामान्य सम्पादन गरिएको स्क्रिप्ट अंश ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
को हुँ म ?

को हुँ म ?

महेन्द्र उपाध्याय
भिरबाट गोरू खस्ला

भिरबाट गोरू खस्ला

महेन्द्र उपाध्याय
तँ ईश्वर हैनस्

तँ ईश्वर हैनस्

महेन्द्र उपाध्याय
राम राम भन्दै, राम निलेको

राम राम भन्दै, राम...

महेन्द्र उपाध्याय
को हौ तिमी ?

को हौ तिमी ?

महेन्द्र उपाध्याय
मर्नु छ

मर्नु छ

महेन्द्र उपाध्याय
वास्तविक ऐना

वास्तविक ऐना

कृष्ण शर्मा सुमु
अनुहार देखिने ऐना !

अनुहार देखिने ऐना !

डा. छायादत्त न्यौपाने ‘बगर’
नाकार्षण

नाकार्षण

सञ्जय साह मित्र
कानुन

कानुन

सुरेशकुमार पाण्डे
नेता

नेता

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x