अशोककुमार शिवारातो पासपोर्ट
कर्म, प्राप्तिको लागि गरिनु हुन्न भन्ने गीताको सार त हो तर प्राप्तिको लागि कर्म नगरे के ले खाने नि ? खानको लागि त चाहियो नि केही त । नभए सभासदहरूले किन रातो पासपोर्ट बेच्थे बित्थामा । डेढ करोड प्राप्ति हुनु भनेको चानचुने हो ? भोलि पर्ने भनेको देखाजाएगा ! हिम्मत गरेको खण्डमा अकुत सम्पत्तिको मालिक छिन्भरमा । फेरि परिहाले पनि जाबो पन्ध्र लाख तिरे त भईगो एक करोड पैंतिस लाख त बचिहाल्छ । जेल हाले पनि सभासदलाई अरु ठिनेमिनेहरूलाई कोचेको झैं कोच्न मिल्ने हो र ? ससम्मान बस्छन्् जति राख्छन् । फेरि जरिमाना बढी भो भन्न पनि त पाइन्छ ।
ह्याउ हुनेले बेचिहाले, नहुने राल काड्दै दोधारमा । के थाहा फेरि जीवनमा रातो पासपोर्ट छुन पाइन्छ कि पाइन्न । केको दोधारमा परेको होला म त छक्क पर्छु । अख्तियारको काम नै छानविन गर्ने हो, गरिरहन्छ के भा छ र ? सुडान काण्ड केही भो ? यस्ता कति काण्ड त्यसै सेलाएर गो । यो त एउटा उदाहरण मात्र हो । बरु जसले किन्ने हो तिनलाई चाहिँ अलिक राम्ररी सम्झाउन सक्नु पर्यो, ठाउँ कुठाउँ पोल नखोल है भनेर । पासपोर्ट दिएर पठाउनु पनि छ उल्टै पोल्ने ? घोर अनर्थ । अबदेखि रातो पासपोर्ट बेच्नेले हेमबहादुर मल्लको नीति अपनाउनु पर्छ । कसरी हेम बहादुरले आफ्ना मतदातालाई बागमतीको पानी समातेर कसम खुवाउँथे सुन्या त पक्कै होला । यसरी कसम खुवाए पछि पोल्ने त कुरै आउँदैन ।
यस्ता उपायहरू कति छन् कति । बिचरी गायत्री साह सबभन्दा कान्छी सभासद अनि ती बि.पि.यादव । खप्पराँ त लेखेरै ल्या रहेछन् दामको दाम, नामको नाम । कार्वाहीमा परेर के लछारपाटो लाग्यो र । गणतन्त्र आएकै यस्तैको लागि त हो । तर यहाँ गणतन्त्रलाई कसैले गाँडतन्त्र त कसैले भाँडतन्त्र बनाउन खोज्दैछन् । गाँडतन्त्र र भाँडतन्त्र त हुनदिनु भएन नि गणतन्त्रलाई । बरु कराऊ आफ्नै पार्टीका अध्यक्षलाई सत्तो सराप गर के थाहा भोलि अध्यक्ष पड्काईहाल्न पाइन्छ कि । ओलीजी त्यै भएर कराका कराई छन् । हिजो आफ्नै पार्टीको प्रधानमन्त्रीलाई राजीनामा देऊ भनेर कराएकै भरमा झलनाथजीले आज पद पड्काएका त हुन् नि भनेर त्यै सिको गर्या रे आलीले । बजारमा त्यै छ हल्ला । आफू मात्र कराएर नपुगेर अब त आफ्ना धुपौरेहरूलाई पनि लाईन लगाएका छन् रे ! सबैले त्यसै गरे त भैगो । अरु केही गर्न नसके पनि रातो पासपोर्ट त हातैमा छ नि हैन कि कसो ? बेचे भैगो बरु ढिला नगरे हुन्छ । भोलि अचानक संविधान सभाको म्याद थपिएन भने परेन फसाद ? कोरिया जान निवेदन दिनेहरूको घुइँचो छ, एम.आर.पि. समयमा पाइँदैन बिचराहरू बिचल्ली हुन्छन् । बरु सबै ६०१ ले नै बेचिदिए समयमा नै त्यता जाने चाँजापाँजो मिलाउँथे कि ! मेरो त सामान्य सल्लाह मात्र हो कर्म गर्ने त सभासदहरू नै हो ।
हुन त गर्ने भन्दा गराउनेलाई बढी सजायको व्यवस्था छ क्यार डर पनि लाग्छ । म जाबो सल्लाह दिनेले जरिमाना तिर्नु पर्यो भने के गर्ने? बरु म पनि सभासद भैदिएको भए हुन्थ्यो । रातो पासपोर्ट त भेटिन्थ्यो । थुक्क राजनीति नगरेर म कता जागिरमा लागेको होला ।
जे काम गर्न सभासद भएको हो त्यो काम गर्नु पनि नपर्ने क्या मज्जा ! शीर्ष नेताहरूलाई देखाइदियो भइगयो । देश विदेश घुम्न पनि पाइने विदेशी चुम्न पनि पाइने । तर चुम्ने कुरामा भने होसियार है । कानलाई जस्तो होला फेरि बिचरा कान भविष्यमा राष्ट्रको पति हुन्छु भन्ने कत्रो आशामा थियो । एक चुम्मीले स्वाहा । भएन त बरवाद ?
गल्कोपाखा, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest


































