साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुरो र कुलो

Nepal Telecom ad

‘मरेपछि डुमै राजा’ भनेर कुरो शुरु गर्न मन लागेको थियो । एक्कासी मेरा गायकमित्र खेमराज गुरुङलाई सम्झन पुगें । ‘पोडे होलान्, चमार होलान्, ए तिमै्र माया लाग्छ’ भनेर उहिल्यै देखि चलिआएको गीत उनले गाएका थिए । तर, ‘पोडे’ र ‘चमार’ दुईवटा शब्दका लागि उनले सारा क्यासेटको रुपरंग र हुलिया नै परिवर्तन गर्नुपरेको थियो । नत्र प्रजातन्त्रवादीहरूले के के गर्ने थिए, थाहा छैन ।

मैले उनको गीतको गतिबाट सबक सिकिनँ भने आफ्नो अनुहारकै हुलिया नै बदल्नु पर्न सक्छ । आखिर कुरो र कुलोलाई जता लगे पनि लान त सकिन्छ नि । मरेपछि डुम नै राजा वनुन् है भन्ने कामना हुनसक्थ्यो । ज्युँदैमा त भएन, मरेछु भने पनि डुम राजा भएरै छाडून् भनेर डुम समुदायप्रति सद्भावना व्यक्त गरिएको पनि हुनसक्थ्यो । तर, अहिले त जेमा पनि राजनीति पसिहाल्छ, मैले प्रयोग गरेको ‘डुम नै राजा’ शब्दले मेरो सात पुस्तालाई लखेट्न पनि बेर छैन । शब्दको लखेटाईबाट मैले आफू र आफ्ना पुस्तालाई त जोगाउनै पर्छ । त्यसैले म आज यो उखानको परिमार्जित रुपबाट कुरो सुरु गर्दछु– ‘मरेपछि जोसुकै राजा !’

काल नआउन्जेल त बाँच्नै पर्यो, बाँच्नका लागि मैले पनि कहिलेकाहीँ लेख्ने गरेको छु । लेख्नु भनेको हातमा कलमको हलो बोकेर कापीको खेतमा जोत्नुमात्रै होइन । लेख्नलाई कुरो चाहिन्छ, कुरोको चुरोसम्म पुगेर विषयको जुरो समात्नु पर्छ र शब्दको घोडा दौडाउनुपर्दछ । अनि मात्रै लेख्नुको अर्थ हुन्छ ।

केही समयदेखि मेरा सारा लेखाइहरू ‘अर्थ न वर्थ गोविन्द गाई– बाख्री वुढीकी नातिनीले छोरी पाई’ जस्तो भइरहेका छन् । साँच्चै भन्ने हो भने यो सङ्कटकाल लागेपछि लेख्ने विषयवस्तुहरूको अनिकाल परेको छ । केही लेखहरू भ्रष्टाचारको बारेमा लेखिएका छन् । कसैले ‘सांसदको पजेरो’ शीर्षकमा बक्तव्य बर्साउने गरेका छन् !

सङ्कटकालमा सांसदको पजेरोको कुरो आग्रामा पुगेर रानीपोखरीको बयान गरेजस्तो लाग्दो रहेछ । भटटट…. भएर मान्छेहरू अचार बनिरहेका बेला जाबो भ्रष्टाचारको विषय ‘कामकुरो एकातिर– परेवा बोकी रोल्पातिर’ भइरहेको जस्तो लाग्दछ । सङ्कट र काल भन्ने कुरा सरकारी कृपामा भर पर्ने कुराहरू हुन्, हामीले किन ढाड दुखाउने ! तर ढाड दुखे पनि भन्नै पर्ने कुरो के हो भने, सङ्कट र काललाई एकै चोटी नल्याएको भए हुन्थ्यो ।

सङ्कट मात्रै लागू हुँदो हो त समाधानको उपायबारे लेख्न सकिन्थ्यो । ‘काल’लाई एक्लै लागू गरिएको भए पनि आखिर काल नै आउने निश्चित भइसकेपछि आफ्नो किरिया आफै गर्न पनि सकिन्थ्यो । तर, ‘सङ्कटकाल’ एकै धर्कामा जोडिएर आएपछि यसले मेरो सातोमात्रै खाएन, सारा बिषयवस्तु पनि क्वाप्लाक्कै पो पारिदियो !

समस्या संयुक्त शव्दकै हो । लेख्ने विषय जाबो कति छन् कति ! निकाल,दमनकाल, झूठकाल, लुटकाल, भुटकाल र अकालजस्ता विषयमा कवितादेखि मुक्तक, हास्यव्यङ्ग्यदेखि रोदनव्यङ्ग्यसम्म कोर्न सकिन्थ्यो । यस्ता विषयहरू सयवटाभन्दा बढी मेरा दिमागमा दौडिइरहेका छन् । विषय दिमागमा दौडिएरमात्रै पाठकमा पुग्ने भए त कुरो अर्कै हुन्थ्यो । त्यसका लागि त कलम, कापीमाथि दौडनुपर्दछ । तर, विचरा कलमको पनि त डाढ हुँदो हो, लेख्ने काममा पटक्कै सर्दैन । ढाड जोगाउनकै लागि कापीमा दौडनु त परै जावस खल्तीबाट निस्कनसमेत मान्दैन । सरकारी मान्छेहरूले बेलाबेलामा भन्ने गरेका छन्– सङ्कटकाल आतङ्ककारीप्रति मात्रै लक्षित छ ! तर, आजकाल सबैथोक आतङ्ककारी बनेको खबर रेडियो टि.भी.ले भन्ने गरेको छ । आतङ्ककारी गीत पक्राउ ! आतङ्ककारी कपडा र पुस्तकहरू जफत ! आतङ्ककारी तस्वीर र भाँडाकुँडाहरू प्राप्त !
अब यस्ता समाचार सुन्दासुन्दै कसरी लेख्नु ? के थाहा, मैले समाइरहेको कलम पनि आतङ्ककारी हो कि ! लेखिरहेको कापी पनि त आतङ्ककारी हुनसक्छ ! आतङ्ककारी कापीमाथि आतङ्ककारी कलम समाउने मेरा हात नै पो आतङ्ककारी हुने हुन् कि ! म बारम्बार झस्किने गर्छु ।

विषयमात्रै भएर भएन क्यारे । विषयलाई अर्थ आउने बनाउन बस्तुको जरुरी पर्छ । वस्तुजति सबै आतङ्ककारी भएपछि विषयको के काम ! त्यसैले मेरा सारा विषयहरू वस्तुको अभावमा नाजवाफ भएर दिमागबाट ट्वाल्ल परेर हेरिरहेका छन्, म छक्क पर्दै कलम समाई रहेको छु ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x