भूपिन खड्काकवि कुनाको अँध्यारो चेपबाट
कवि कुनाको अँध्यारो चेपमा बसेर
गफको बाँसुरी बजाइरहेछन्
केही थान कविहरू ।
हत्केलाको खाँबोमा भीरजस्तो चिउँडो टेकाएर
म सुनिरहेछु ध्यानले
काव्यको नयाँ धुन ।
अस्मिता भाउजु !
थप्नू अलिकति भटमास, सुकुटी, चिउरा
र कविताको अर्गानिक झोल
कविहरूको गिलास रित्तिइसकेछ ।
यो सहरमा
लहरे खोकिका क्रोनिक रोगीजस्ता
केही कविहरू
कविताको बारेमा खुब खोकिरहन्छन् ।
कवि भूपिन
प्रेमका कविताको दलदलेमा फसेको छ
ऊ सहरभरि
सबैभन्दा झुर कविता लेख्ने कवि हो ।
कवि ईश्वर कँडेल
र कवि प्रसन्न
मेटाफिजिकल कविताको धङ्धङीमा छन्
कवि सुमनराज श्रेष्ठ
कविताको एकल वाचन गर्न डराउँछ
कवि बालकृष्ण थपलिया
विश्व सम्पदा सूचिमा परेको
कविताको सांस्कृतिक गाउँमा
मात्र पर्यटकीय पाईला टेक्छ
कवि रमेश प्रभात
फसिरहन्छ, रदिफ काफियाको जाममा
घरिघरी ।
पाहूनाझैं आउने कवि अस्तफल र श्रमण
कविताको नयाँपनप्रति त्यती उत्साहित देखिन्नन् ।
यो सहरलाई चाहिएको छ
एक सार्थक विद्रोह र घर्षण
तर मध्यकालीन स्तुतिको आइल्याण्डमा
केही कविहरू अझै बुढो घुँडा धसिरहेछन् ।
उनीहरूको दादागिरी चर्को छ सहरमा ।
सहरको बायाँ किनारतिर
कविताको एक पुरानो कविला छ ।
र ती कविहरूको आँखामा
स्क्रेच भएको सिडीजस्तो पुरानो चस्मा छ ।
त्यो चस्मा लगाएर उनीहरू
सहरका अरू सबै कविहरूलाई
पश्चगामी देख्न अभ्यस्त छन् ।
उनीहरूको कवितामा
हरियो झिड्गाले अण्डा पारेको
पार्टीको बासी नारा मात्र देखिन्छ ।
केही कविहरू छन्
जो लेख्छन् केवल
स्त्रीको तिघ्रा, स्तन र ब्युटिबोनको सौन्दर्य ।
उनीहरूसँग
सबैभन्दा महंगा क्यामेरा छन्
र ती क्यामेराको लेन्स
केवल कवयित्रीको छातीको खोंचमा
चिप्लेटी खेल्न मन पराउँछन् ।
केही थप गनगने कविहरू
हरेक पुरुषलाई पापी देख्ने
नारीत्वको एकपाखे चिन्तन गर्छन् ।
तर सहरमा
कविताले समात्नुपर्ने
केही चोखा मुद्दाहरू अझै छुटेका छन् ।
लेख्न अनिवार्य दुखहरू छन् मानिसका
ती पनि छुटेका छन् ।
न्याय र मुक्तिका पैतलामा
काँडाहरू बिझेका छन्
र खिल परेका छन्
कविहरू
फेरि
सत्यको उत्खनन जरूरी भएको छ ।
कविहरू भन्दैछन् कवि कुनामा–
काव्यका थोत्रा मानकहरूप्रति
तर्कपूर्ण शङ्का गर्न ढिला भैसक्यो
कविताको प्रयोगशालामा
समयका दुखहरूलाई
नयाँ विधिले परीक्षण गर्न अबेला भैसक्यो
अब कवितामा कुनै नयाँ धक्काको
चर्चा गर्ने बेला भइसक्यो ।
आऊ
कविकुनाको रहस्यले तानिएका
नन्दन, विनोदी, अज्ञात र रामबाबु ।
विरही, पोषराज, खुमनारायण र हरिहर
होमनाथ, सङ्गीत, सरिता र उषा
एल बि, सिर्जन, किसान र धनराज
इन्द्र, मोदनाथ, प्रभाकर र लकास
रेवतीरमण, अञ्जली, रेशमलाल र नवराज
धनेश्वर, एकनारायण, चेतकान्त र प्रकाश
नारायण, केदार, गायत्री र सरस्वती
ज्ञानु, सामना, द्वारिका र चिराग
सरला, राधा, गोर्खे र घायल
नमुना, विश्व, रामहरि र सुदेश
(र अरू थुप्रै थप्न सकिने नामहरू)
यहाँ कविहरू
शुद्ध कोदोको अर्गानिक कविता पिउँन आउँछन्
तोड्बा पिउन आउँछन्
र नयाँ मात लिएर घर फर्कन्छन् ।
(तर यहाँ तिनीहरू नआऊन्
जोसँग केवल
कविताको ब्रान्डेड व्हिस्कीको तलतल छ ।)
कविहरू
आखिर हामीले नै
उपचार गर्ने हो बिरामी कविता
कविताका घाउहरू ड्रेसिङ गरेर
हामीले नै खुवाउने हो
समयले लेखिदिएको ओखती ।
हामीले नै दिने हो सिरिन्ज
हामीले नै बनाउने हो कवितालाई स्वस्थ ।
समयको पानी
आफै पुग्दैन कविताको खेतमा हरियो कुची लिएर ।
अब थप एउटा कुलो बनाऊँ
कोही अकविले लगेको पानीले
सप्लाउँदैन कविताको बाली ।
कविहरू अलिकति तिखारौं कविताको धार
ताछ्न पुराना चिन्तनका गाँठाहरू ।
सिरक डसना बनाउँदा
डोरीको चोट खाएर
कुनै टेलरले उडाइरहेको हलुका उनझैं
नउडोस् अब कविता मधुरो बतासमा ।
निस्कौं अब जीवनको जङ्गलमा
केही पाइला गम्भीरता लिएर
लटरम्मै फलेका ऐसेलु, बयर र चुत्रो टिप्न ।
र टिपेर तिनीहरूलाई जुस बनाउँन ।
अचार बनाउँन ।
जीवनको करेसाबारीमा
हुर्किएको छ विसङ्गतिको बाक्लो झाडी
त्यसलाई जरैदेखि उखेल्न ।
आऊ कविहरू कविकुना
यस्तै अर्गानिक कविता बारे
टेबुल गफ गर्न ।
कविहरू
नलेखौं
मेटासिड वा कुनै रसायन जरामा हालेर
फलाएको कुनै विकासे कविता
जसको सेवन गरेर
फेल भएका छन्
जवान समयका दुवै मृगौलाहरू ।
समाजलाई पक्षघात हुने सम्भावना छ
डायग्नोसिस हुन बाँकि कुनै नयाँ रोग बोकेर
बग्न थालेको छ–
कविताको रगत ।
अस्मिता भाउजू
थप्नू अलिकति भटमास, सुकुटी, च्युरा
र कविताको अर्गानिक रक्सी
कविहरूको गिलास रित्तिइसकेछ ।
कविहरूलाई थाहा छ
रक्सीले पिउँछ मानिसको उमेर तन्तनी
र मार्छ ।
तर आज कविहरूलाई
यस्तो रक्सी पिलाउनुस् अस्मिता भाउजू
जसले उनीहरूलाई देओस् नयाँ जीवन
र देओस्–
यसअघि दिएको भन्दा धेरै बढी
कुनै गहिरो मात ।
कोही न कोही अलिकति नमातिकन
कोही न कोही हल्का उत्ताउलो नभैकन
कोही न कोही अलिकति अराजक नबनिकन
आएको छैन कहीँ कतै मुक्ति
झुस पलाएको समयको ढोका खोल्न ।
चितवन
Subscribe
Login
0 Comments
Oldest








































