मनोज गजुरेलस्वास्थ्यका लागि
सिंहदरवारको गेटमा एक्कासी खप्परध्वजसँग जम्काभेट भयो । खप्परध्वज र म, त्यही पनि सिंहदरवारको गेटमा भेट भयो भनेको सुन्दा मानिसले विभिन्न अड्कल लगाउन सक्छन् । गेटमा बस्ने सुरक्षाकर्मीहरूलाई पनि भ्रम पर्न सक्छ यसले हामी ‘कराई–टोपी’ लगाउनेलाई पो खपरध्वज भनेको हो कि भनेर । कसैले अडकल काट्न सक्छन्– सायद यो मान्छे कांग्रेसको सरकारमा पस्ने पो हो कि ?
यहाँ अड्कल लगाउन जोसुकैलाई छुट छ । तर, असली कुरो सुरक्षाकर्मीहरूलाई बताइ दिऊँ– खप्परध्वज मेरो मःम पार्टनर हो, तपाईँ लाई खप्परे भनेको होइन । त्यसैगरी सरकारको चाकडी गर्न पो सिंहदरवारतिर धाउन थालेछ कि भनेर अड्कल काट्नेहरूलाई पनि प्रष्ट पार्नु उचित होला– त्यहाँ भित्र कतिजना मन्त्रीका गाडी छिर्छन भनेर गन्न मात्रै गएको हुँ । किनभने म उहिल्यैदेखि हिसाबमा कमजोर छु ।
हिसाब पनि सिकिने, मन्त्री पनि चिनिने, दुबै फइदाले म बेला–बेला सिंहदरवारको गेटमा जाने गर्दछु ।
अँ, यस पटक खप्परध्वजसँग जम्काभेट भयो । मलाई देख्नासाथ उसको मुख रसाएको अर्थ त तपाईँले पनि पक्कै बुझिहाल्नुभो होला–हामी मःम पार्टनर हांै । उसको अँगालोमा म ग्वाम्लाङ्ग हुत्तिदै गएँ ।
खप्परध्वजले पनि प्रेमसहित कम्मरको हड्डी सड्किने गरी मलाई च्याप्यो । हाम्रो नियमित प्रेम प्रक्रिया सकिएपछि आफ्ना खुद्रामसिना कुराहरूतर्फ लाग्यौं । ‘खप्पर, यो के अचम्म हँ ! तिमी सिंहदरबारमा किन नि ?’ मैले सोधें । उसले किच्च बत्तीस दन्त प्रदर्शन गर्दै भन्यो– ‘शेरबहादुर दाइलाई भेट्न ।’ हिजोसम्म खप्पर शेरबहादुर दाइको नाम सुन्दाखेरी ज्वरो फुट्ने गरी रिसाउँथ्यो । एक्कासी आज उसको ‘शेरबहादुर ज्वरो’ उत्रिएको देखेर छक्क परें– ‘के हो, आत्मसमर्पण गर्न आँट्यौ कि कसो ?’
मेरो प्रश्न भुइँमा खस्न नपाउँदै उसले पुनः किच्च गर्दै जवाफ दियो– ‘आत्मसमर्पण गर्न हैन, हातमा समर्पण गर्न चाहिँ क्या ।’ ‘हातमा समर्पण ! के हो यो नयाँ शब्द ?’ म मनमनै आफूलाई प्रश्न गर्दै थिएँ, खप्परध्वजले एउटा कागज आफ्नो खल्तीबाट निकाल्दै मेरो हातमा थमाइदियो र भन्यो– ‘यी यो चीज म हाम्रा आदरणीय शेरबहादुर दाइको हातमा समर्पण गर्न गइरहेको छु ।’
मैले कागज ओल्टाई–पल्टाई हेरें, त्यसमा न चीज थियो न नौनीघिउ । उता, खप्पर चाहिँ ‘यो चीज’ भन्छ –‘यो त चीज हैन, कागजमात्रै पो छ त यार ।’ मेरो हातबाट कागज खोस्दै उसले भन्यो– ‘हो यो चीज हैन, कागज हो र तर, यसभित्र लेखिएको जुन विषय छ, त्यो चीजभन्दा पनि मीठो छ । नौनीभन्दा पनि स्वादिलो छ । घिउ–मह भन्दा पनि गुलियो छ ।’ उसले पुनः कागज मेरो हातमा थमाइदियो ।
कागज पल्टाएर हेरें । त्यहाँ लोखिएको थियो– ‘जे गर्नुभो, ठीक गर्नुभो । ठीक बाहेक अरु केही गर्नु भएको छैन ।’ मैले सोधें– ‘यो कसलाई भनेको ?’ खप्परले भन्यो– ‘प्रधानमन्त्रीजीलाई ।’ मलाई झनक्क रीस उठ्यो– ‘तिमी सन्चै त छौ खप्पर ? प्रजातन्त्रको सबैभन्दा ठूलो अधिकार शान्तिपूर्ण सभा गर्न पाउने अधिकार प्रधानमन्त्रीले संकटकाल लगाएर प्रतिबन्ध गर्नुभएको छ, के यो पनि ठीक हो ?’
म आवेशमा आएको देखेर खप्परध्वज नरम भए तापनि आफ्ना कुरामा अभैm प्रतिबद्ध देखिन्थ्यो । ‘हो–हो, ठीक गर्नुभो । आमसभा गर्न किन प्रतिबन्ध गरेको थाहा छ ?’ उसको प्रश्नमा मैले जवाफ दिएँ– ‘किन नहुनु, प्रजातन्त्र मास्ने कामको थालनीका लागि ।’ बाँकी केही भन्न खोज्दै थिएँ, आफ्नो ह।त मेरो नाकै छेऊ ल्याएर हल्लाउँदै भन्यो– ‘हैन हैन । कुरो के हो भने–आमसभामा भाषण सुन्न बस्दाखेरि जनताको ‘भुइँ टेकाउने अङ्ग’ पिल्सिनथाल्यो । त्यसैले चाक पिल्सिने क्रम रोकियोस् भनेर सरकारले आमसभा गर्न प्रतिबन्ध गरेको क्या !’ ‘तर जुलुस लगाउन पनि त प्रतिबन्ध छ नि, यो त संविधानले दिएको अधिकार नै खोसियो । यो चाँहि के त ?’ मैले सोधें ।
खप्परध्वज मेरो कानैको छेउमा आयो र भन्यो– ‘जुलुस लगाउँदा साउण्ड पोलुसन बढ्यो । ध्वनि प्रदूषणबाट मुलुकलाई जोगाउन सरकारले यो कदम चालेको हो ।’ खप्परध्वजको कुरो एउटा स्वास्थ्यमन्त्रीले संकटकालको बारेमा बोलेको भाषण जस्तो लाग्दथ्यो । ‘तर शान्तिपूर्ण धर्नालाई त प्रतिबन्ध नै गर्नुपर्ने स्थिति त थिएन नि ।’ मेरो कुरो सकिनासाथ खप्परध्वज बोल्यो– ‘थियो, सडकको स्वरुप सफा राख्नका लागि मात्रै धर्नामा रोक लगाइएको हो, यसमा कुनै राजनैतिक कारण छैन ।’ उसले आफ्नो तर्क राख्यो ।
‘तर गीत गाउन पनि अहिले त निकै कडा गरिएको छ रे !’ मेरो यो प्रश्नको जवाफमा खप्परध्वज बोल्यो– ‘हो, क्रान्तिकारी गीत गाउँदाखेरी मान्छेहरूको ब्लड तातो भएर आउँछ । ब्लड धेरै तात्नु भनेको ब्लडप्रेसर, हर्टअट्याकलाई निमन्त्रणा दिनु हो । त्यसैले यो पनि जनताको स्वास्थ्यको हितलाई ध्यानमा राखेर गरिएको निर्णय हो ।’
मैले पुनः सोधें– ‘उता पत्रिका पढ्दा पढ्दै मान्छे पक्राउ गरिएका छन् । पत्रिका पढ्नै नपाउने सरकारी नीति पनि के स्वास्थ्यकै लागि हो त ?’ खप्परध्वजले थप्यो– ‘अवश्य ! नेपाली पत्रिका तिनै हुन् । मसिना अक्षर हुन्छन्् । त्यस्ता अक्षरहरू पढ्दा पढ्दा नेपालीका आँखा कमजोर भइसके । अझै तिनै पत्रिकाहरू पढिरहने हो भने कति नेपालीहरू अन्धा हुन्छन्, थाहा छ ?’ मैले असहमतिमा टाउको हल्लाएँ ।’
‘हो, स्वास्थ्यकै लागि पत्रिका प्रतिबन्ध गरिएको हो ।’ उसले थप्यो । मैले बल्ल कुरो बुझे झैं गरें । खप्परध्वजले थप्यो– ‘नेपालीको स्वास्थ्यलाई ध्यानमा राखेर सरकारले हाँस्न पनि प्रतिबन्ध लाउनु पर्छ बुझ्यौ ?’ मैले सोधें– ‘किन नि ?’ खप्परध्वजले जवाफ दियो– ‘किनभने, दाँत देखिन्छ नि त ।’ मैले बुझिनँ र पुनः प्रश्न गरें ‘दाँत देखिंदा कसरी स्वास्थ्य खराब हुन्छ ?’
खप्परध्वजले बेलि–विस्तार लगायो– ‘टन्न खान पाएका नेपालीका दाँत त ठीकै छन् । तर, राम्रो अन्न खान नपाएर कोदाको ढिंडो खाएका नेपालीहरू विदेशी पाहुना आएका बेला किच्च हाँसी दिए भने हाम्रो राष्ट्रको इज्जत जान्छ नि । इज्जत भनेको नाक हो, नाक जानु भनेको स्वास्थ्यको कुरो हो कि हैन ?’ उसले सोध्यो ।
मैले एकछिन् गमें र भनें– ‘हो हो, नेपाली जनता स्वाहा पार्ने डिस्ट्रोय अभियान पनि स्वास्थ्यकै लागि हो । नेपालीहरू खानै नपाएर मर्नुपर्दा हाम्रो मानसिक र शारीरिक स्वास्थ्य खराब हुनजान्छ । तर, गोली खुवाउनु भोकै मर्नु भन्दा त राम्रो हो नि स्वास्थ्यका लागि ।’
मेरो कुरो मन पराएर खप्परले मेरो हात समायो र कर्याप्प ‘गुड मर्निङ’ गर्यो अनि भन्यो– ‘बुझ्यौ, त्यसैले यो ‘स्वास्थ्यका लागि प्रजातान्त्रिक अभियानका फाइदाहरू म प्रधानमन्त्रीको हातमा समर्पण गर्न जाँदैछु ।’ यति भनेर खप्पर सिंहदरवार भित्र पस्यो । म चाहिँ मन्त्रीका गाडी गनी सकेर लुखुर–लुखुर हानिएँ घरतिर ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest










































