टिपनटापनवामदेवको बठयाइँ
चुनावका बेला थियो । आफ्नो चुनावी क्षेत्रका केही स्थानमा वामदेव गौतमलाई भाषण गर्नु थियो, भोट माग्नु थियो । तर, उनको घाँटी नराम्ररी दुखिरहेको थियो । त्यसैले उनी धेरै बोल्न चाहँदैनथे ।
एक ठाउँमा आमसभा सुरु भयो । ठूलो भीड थियो । वामदेव बोल्न थाले, ‘आदरणीय जनसमुदाय, आज म यहाँ जुन विषयमा बोल्न गइरहेको छु, तपाईंहरू सबैलाई थाहै छ ।’
‘थाहा छ, थाहा छ’ भीडबाट आवाज आयो ।
‘जब तपाईंहरूलाई सबै थाहा छ भने मैले किन बोल्नु ? धन्यवाद !’ यति भनेर वामदेव गए ।
भोलिपल्ट अर्को ठाउँमा आमसभा थियो । भीडमा हिजो वामदेवले बोलेको कुराको चर्चा थियो । ‘वामदेवजीले ‘म के विषयमा बोल्न गइरहेको छु, तपाईंहरूलाई थाहै होला’ भनेर सोध्दा ‘थाहा छ’ भन्यो भने भाषण गर्दैनन् । सबैले ‘थाहा छैन’ भन्नुपर्छ । मानिसले सल्लाह गरे ।
वामदेव आए । र, भाषण सुरु गरे– ‘आज म जुन विषयमा बोल्दै छु, त्यसबारे तपाईंहरू सबैलाई थाहै होला ।’
‘थाहा छैन, थाहा छैन ।’ सम्पूर्ण भीडले एकै आवाजमा भन्यो ।
‘अब तपाईंहरूको यत्रो भीडलाई त थाहा छैन भने मलाई कसरी थाहा हुन्छ त ? धन्यवाद !’ वामदेव यति बोलेर हिँडे ।
तेस्रो दिन अर्को ठाउँमा कार्यक्रम थियो । चर्चा थियो वामदेवकै भाषणको ।
‘थाहा छ भन्यो पनि जान्छन्, थाहा छैन भने पनि जान्छन् ।’ भीडमा सल्लाह हुन थाल्यो, ‘त्यसैले अब वामदेवले सोध्दा आधाले थाहा छ भन्ने, आधाले थाहा छैन भन्ने । हेरौँ के गर्दारहेछन् ?’
वामदेव बोल्न थाले, ‘आदरणीय जनसमुदाय, आज म कुन विषयमा बोल्दै छु, तपाईंहरूलाई थाहै होला ।’
‘थाहा छ, थाहा छ’ भीडको आधा हिस्साबाट जवाफ आयो ।
‘थाहा छैन, थाहा छैन’ भीडको अर्को भागले भन्यो ।
वामदेवले एकछिन दायाँ–बायाँ हेरे । र भने, ‘त्यसो भए थाहा हुनेले थाहा नहुनेलाई भनिदिनुहोला । धन्यवाद !’
टिपनटापन
Subscribe
Login
0 Comments
Oldest





































